
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो ।
जीतका लागि २७१ रनको चुनौती पछ्याएको हङकङ ४०.५ ओभरमा १५१ रनमा समेटियो । उसका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए । बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए ।
यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो । कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । हङ्कङका अभिमन्यु गणेशन र डेनियल नक्साले २/२ विकेट हात पारे । आजको खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याचसमेत चुनिए ।
नेपालले यसअघि पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेकोे थियो । १४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साबिक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स आजको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनायो । एक सय ५६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले नौ विकेटको क्षतिमा एक सय ३० रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि वायने पर्नेलले अर्धशतकीय पारी खेले । उनले ३८ बल खेल्ने क्रममा चार छक्का र दुई चौका प्रहार गरे । यस्तै सञ्जय कृष्णमूर्तिले २५ तथा माज सदाकतले २० रन बनाए । बलिङतर्फ पोखराका विपिन खत्रीले चार, सुमित बर्माले दुई तथा कुशल भुर्तेल र जिम्मी निसमले एक एक लिए ।
यसअघि पोखराका लागि सुमित बर्माले अर्धशतकीय पारी खेलेका थिए । उनले २९ बल खेल्ने क्रममा चार छक्का र दुई चौकाको मद्दतमा अविजित ५० रन बनाए । यस्तै दिनेश खरेलले ३८, तृतराज दासले २९ तथा एडम रोसिङ्ग्टनले २४ रन बनाए ।
बलिङतर्फ जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले तीन तथा कप्तान अनिल साह र ललितनारायण राजवंशीले एक–एक विकेट लिए । यसअघि जनकपुर काठमान्डू गोर्खाजसँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो ।
पोखरा पहिलो खेलमा विराटनगरसँग ५३ रनले तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो । यसअघि आजै सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले परारिजत गरेको थियो ।
एनपिएलमा शुक्रबार पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ः०० बजे सुरू हुनेछ ।
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको खेलमा जित हासिल गरेसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि सात विकेटको जित निकाल्दै लगातार चौथो जित दर्ता गराएको हो ।
लुम्बिनीद्वारा जितका लागि पाएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८ दशमलव दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । आजको खेलमा सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै अविजित ६९ र आरिफ शेखले ३७ रन जोडे । सुदूरपश्चिमले ३९ रन जोड्दा दुई विकेट गुमाउँदा विनोद र शेखले ९९ रनको साझेदारी गर्दै जित दिलाएका हुन् । विनोद प्लेयर अफ द म्याचसमेत चुनिएका छन् ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार ओभरमा १४३ रनमा अलआउट भयो । जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले तीन, हर्मित सिंहले तीन, हेमन्त धामीले दुई विकेट झारे ।
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर आठ अङ्कका साथ शीर्ष स्थानमा छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले भने चारमध्ये एक खेल मात्रै जितेको छ । दुई अङ्क जोडेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ । प्लेअफमा पुग्न बाँकी रहेका तीन खेल जित्नैपर्ने दबाब लुम्बिनीलाई बढेको छ ।
चितवन । जापानमा दक्ष कामदार भएर काम गर्न चाहने युवाहरूलाई लक्षित गर्दै हानासाकिया टेक्निकल भोकेसनल एन्ड ल्याङ्वेज इन्स्टिच्युट प्रालि भरतपुर–३, कमलनगरमा सञ्चालनमा आएको छ ।
२०८० मा स्थापित यस संस्थाले जापानी भाषा तथा विशेष सीपमूलक तालिममार्फत जापान रोजगारीमा युवाको पहुँच बढाउने उद्देश्य राखेको छ ।
इन्स्टिच्युटले जापानी भाषाका एन५, एन४ र एन३ स्तरका कक्षासँगै जापानमा दक्ष कामदारका रूपमा जान आवश्यक ‘स्पेसिफाइड स्किल्ड वर्कर’ तालिम सञ्चालन गर्दै आएको छ ।
नर्सिङ केयर, कन्स्ट्रक्सन, ड्राइभिङ (ट्रक/ट्याक्सी), बिल्डिङ क्लिनिङ, इन्डस्ट्रियल प्रोडक्ट म्यानुफ्याक्चरिङ, अटोमोबाइल मेकानिक्स, एकोमोडेसन (होटेल÷रिसोर्ट), कृषि, खाद्य तथा पेय पदार्थ उत्पादन, फुड सर्भिस (रेस्टुरेन्ट)सहित विभिन्न क्षेत्रमा विशेष तालिम प्रदान गरिन्छ ।
जापानको ‘ब्लु स्काई जापान कर्पोरेसन’सँग आवद्ध इन्स्टिच्युटले जापानिज फाउन्डेसन टेस्ट (जेएफटी) र स्किल टेस्ट उत्तीर्ण गरेका विद्यार्थीलाई रोजगारी खोज्न सहयोग गर्दै आएको छ । चितवन, नवलपरासी, लमजुङ, तनहुँ र मकवानपुरका १०० भन्दा बढी विद्यार्थी यस संस्थामार्फत भाषा र सीप सिकेर जापान रोजगारी यात्रा सफल बनाइसकेका छन् ।
नेपालभर जेएफटी उत्तीर्ण दर २७.२ प्रतिशत रहेको अवस्थामा हानासाकिया इन्स्टिच्युटको उत्तीर्ण दर ८० प्रतिशत पुगेको संस्थाले जनाएको छ । जापानी शिक्षकसमेत संलग्न कक्षा दैनिक बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म, गरी ६ घन्टाको समयावधिमा सञ्चालन हुन्छ ।
संस्थाले अहिले ‘जनवरी सेसन’का लागि भर्ना खुला गरेको जनाएको छ । सीमित सिट भएकाले इच्छुक विद्यार्थीलाई शीघ्र आवेदन दिन आग्रह गरिएको छ ।
चितवन । गत असोज २१ गते बिहान ५ः१० बजे चौबिसकोठी–रामपुर सडकखण्डअन्तर्गत भरतपुर–४, सृष्टिचोकमा मर्निङवाक गरिरहेका ६० वर्षीय कृष्णप्रसाद कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालकलाई प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको छ ।
तत्काल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट कँडेल गम्भीर घाइते भएका थिए । दुर्घटनापश्चात् मोटरसाइकलसहित चालक फरार भएका थिए ।
सो घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सुरू गर्दै सयौँ सिसिटिभी फुटेज र दर्जनौँ मोटरसाइकलको विष्लेषण गरी फरार आरोपीको पहिचान गरेको हो । सो अनुसन्धानबाट भदौ २१ गतेको घटनामा प्रयोग भएको ना ३७ प ८५३० नम्बरको मोटरसाइकल र चालक गोरखा नगरपालिका वडा नं–१३ बस्ने २७ वर्षीय सुनिल गुरूङ रहेको पत्ता लागेको थियो ।
प्रहरी टोलीले काठमाडौँ, बौद्धमा लुकिछिपी बसिरहेका सुनिल गुरूङलाई मोटरसाइकलसहित मङ्सिर ९ गते नियन्त्रणमा लिएको हो । उनलाई चितवन जिल्ला अदालतमा सवारीसाधन अङ्गभङ्गसम्बन्धी कसुरमा पेस गरी ७ दिन म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटनापछि तदारुकताका साथ अनुसन्धान गरी फरार चालकलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
कालिका । कालिका नगरपालिका वडा नं–१०, सिद्धिस्थित तीनदोभानमा पक्की पुल निर्माणका लागि बुधबार एक समारोहबीच शिलान्यास गरिएको छ ।
कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले चार करोड ३८ लाख ६७ हजारको लगानीमा निर्माण हुने उक्त पुलको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख रेग्मीले सीमान्तकृत चेपाङ समुदायको दैनिकी परिवर्तन र जीवनस्तर उकास्न कयर खोलाको मुहानमा पुल निर्माण सुरू गरिएको बताए । उनले भने, ‘नगरवासीको सुरक्षा दायित्व स्थानीय सरकारको हो । तीनदोभानमा बर्सेनि खोलाले बगाएर मान्छे मर्न थालेपछि नगरपालिकाको आफ्नै लगानीमा पुल निर्माण सुरू गरेका हौँ ।’
उनले गुणस्तरमा ध्यान दिँदै पुल समयमै उद्घाटन गर्नेगरी निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
कयर खोलाको मुहान तीनदोभानमा पुल नहुँदा बर्खायाममा विद्यार्थीलाई विद्यालय आउन, बिरामीलाई अस्पताल लैजान र चेपाङले उत्पादन गरेका सामग्रीहरु बजारसम्म ल्याउन समस्या हुँदै आएको थियो । पुल सञ्चालनमा आएपछि वडा नं–१० अन्तर्गत पर्ने नान्दार, पाइमाराङ, देउजर, छेरवाङ, वाकताल, जिङलाव र वडा नं–११ अन्तर्गतको चेउराङका चेपाङ समुदायको जीवनशैली परिवर्तन हुने विश्वास लिइएको छ ।
पुल बनेपछि सोही सडकबाट इच्छाकामनाको चौकीडाँडा, हात्तीवाङ हुँदै मवाखोलास्थित राजमार्गसम्म पुग्न पनि सहज हुने कालिका–१० का वडाध्यक्ष नरजंग प्रजाले बताए । उनले पुल सञ्चालनमा आएपछि चेपाङ अकालमै मर्नु नपर्ने बताए ।
नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार विसं २०८२ असार १७ मा सम्झौता भई निर्माण कम्पनीले साउन १ गतेबाट काम सुरू गरेको जानकारी दिए । २०८३ पुस ३० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आइसिसी ब्रिज पुलको लम्बाइ ४० मिटर, चौडाइ ८ मिटर र उचाइ ७ मिटर हुने प्रमुख इन्जिनियर खतिवडाले जानकारी दिए ।




