२०८३ बैशाख १५ मंगलवार
२०८३ बैशाख १५ मंगलवार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ । विराटनगरका बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दा एक समय असम्भव लागेको जीत सम्भव भएको हो ।

कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

विराटनगरको सुरुआत भने राम्रो रहेन । ओपनर लोकेस बमले ६ रन र जर्ज मुन्से शून्यमा आउट हुँदा दबाबमा परेको विराटनगरका लागि साम हेजलेटले १६ र साहिल पटेलले १९ रन मात्रै बनाए । त्यसपछि आएका अहमलले उत्कृष्ट ६२ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । विराटनगरका लागि नारायण जोशीले पनि २५ रनको महत्त्वपूर्ण योगदान दिए ।

विराटनगरसामु जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । अहमदले पाँचौ बलमा छक्का प्रहार गर्दै विराटनगरको जीत सुनिश्चित गरे । १४औँ ओभरसम्म सुस्त गतिमा रन बनाएका विराटनगरले त्यसपछि भने गति बढाएको थियो । विराटनगरले अन्तिम पाँच ओभरमा दुई विकेट गुमाउँदै ७१ रन बनाएको थियो ।

कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले दुई/दुई विकेट लिए भने पवन सरार्फ, नन्दन यादव र विलियम बोसिस्टोले एकरएक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनाएको थियो । उसका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३ तथा विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान दिए । यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १/१ विकेट लिए ।

भरतपुर । विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गरी उनीहरूको प्रतिभा पहिचान गर्न तथा प्रस्तुति कला र सञ्चार क्षमताको विकास गर्न आयोजित चौथो संस्करण मास्टर एन्ड मिस अङ्कुरम्–२०८२ शुक्रबार सम्पन्न भएको छ ।

‘मञ्च प्रदक्षिणा चरण, परिचयात्मक चरण, प्रतिभा प्रदर्शनी चरण र प्रश्नोत्तर चरण गरी चार चरणमा गरिएको स्पर्धाबाट उदयराज वाग्ले मास्टर अङ्कुरम्–२०२५ र श्रृद्धि कर्माचार्य मिस अङ्कुरम्–२०२५ घोषित भएका हुन् । मञ्च प्रदक्षिणा चरणबाट सहभागीको बहिर्गमन सुरू भएको थियो । विद्यालयभरिबाट प्रतियोगिताका लागि १५ जना छात्रा र १५ छात्र गरी ३० जनाले स्पर्धा गरेको प्रतियिोगिताको मञ्च प्रदक्षिणा (पहिलो चरण)बाट पाँच जना छात्रा र पाँच जना छात्र गरी १० जना बहिर्गमनमा परेका थिए भने परिचयात्मक चरणबाट चार जना छात्रा र चार जना छात्र बहिर्गमनमा परेका थिए ।

प्रतियोगिताको तेस्रो चरण ‘प्रतिभा प्रदर्शनी’बाट उत्कृष्टता प्रदर्शन गर्ने चार जना छात्राहरू आरुषा गुरूङ, श्रृद्धि कर्माचार्य, समृद्धि भण्डारी र ग्रीष्मा पाण्डे तथा छात्रहरू स्वर्णिम घिमिरे, अनन्त पोख्रेल, रिवाज तिवारी र उदयराज वाग्ले गरी आठ जना अन्तिम चरणका लागि छनोटमा परेका थिए ।

अन्तिम चरणमको स्पर्धामा उत्रिएका आठ जना छात्राछात्राहरूले निर्णायकले सोधेका प्रश्नको गहिकिलो उत्तर दिएका थिए । निर्णायकले सोधेको फेसबुकमा विद्यार्थी र शिक्षक साथी बन्न हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा एक सहभागीले साथी बन्नु हुँदैन, शिक्षकको गोपनियता र व्यक्तिगत जीवनको कदर गर्नुपर्छ भन्ने उत्तर दिएकी थिइन् ।

तहप्रमुखद्वय अर्जुज जी शर्मा र सुमन शेर्पा लामाले सहजीकरण गरेको कार्यक्रममा शिक्षक समीरचन्द्र कोइराला र शुभेक्षा गुरूङ एवम् कलाकार तथा शिक्षक सुमन गुरूङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । तेस्रो संस्करणका विजेता आराध्या राउत र श्रीमन डल्लाकोटीले ताज तथा ढाका टोपी पहिराएका थिए । शिक्षक प्रमिला खातीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व विद्यालयका आवासीय निर्देशक नइम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

रत्ननगर । रत्ननगर वडा नं–१३, जयमंगलास्थित श्रीराम मन्दिर तथा वैदिक प्रज्ञाप्रतिष्ठानमा गुरूकुलम् सञ्चालनका लागि यही मङ्सिर १९ गतेसम्म १९औँ धनधान्याचल एवं वार्षिक मुठीदान महोत्सव तथा मत्स्य महापुराण ज्ञानमहायज्ञ सुरू गरिएको छ । महायज्ञको प्रदेश सांसद् कृष्णप्रसाद खनालले उद्घाटन गरेका हुन् ।

महायज्ञ उद्घाटनपूर्व जयमंगलामा भव्य कलशयात्रा निकालिएको थियो । कलशयात्रामा स्थानीय टोल विकास संस्था, आमा समूह, सहकारी तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समूहगतरुपमा सहभागी भएका थिए ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद् खनालले संस्कृत शिक्षा प्रदान गर्ने गुरूकुलम र मन्दिरको भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने बताए । धर्म–संस्कृतिको महत्त्व अहम् रहेको भन्दै उनले धर्म–संस्कृतिले समाजलाई अनुशासित बनाउने बताए ।

वैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा गुरूकुलम सञ्चालनका लागि मुठीदान सङ्कलन गर्न महायज्ञ आयोजना गरिएको अध्यक्ष हरिबहादुर खड्काले बताए ।

श्रीराम मन्दिर तथा वैदिक प्रज्ञाप्रतिष्ठानका संरक्षक भेषराज दुवाडीले श्रीराम मन्दिर र गुरूकुलमलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नेगरी पूर्वाधार निर्माण गरिएको भन्दै गुरूकुलमलाई सरकारी सहयोगमा संस्कृत विश्वविद्यालयको रुपमा विकास गर्ने बताए । गुरूकुलमा हाल ७० जना बटुकहरुलाई संस्कृत शिक्षा प्रदान गरिएको छ ।

गुरूकुलमका प्राचार्य बैकुण्ठ अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सचिव टोमराज भट्टराईले स्वागत मन्तव्यका क्रममा गुरूकुलम सञ्चालनका लागि वार्षिकरुपमा महायज्ञ आयोजना गर्दै आएको जानकारी दिए ।

अध्यक्ष हरिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महायज्ञमा कथा वाचन गर्ने पण्डित नारायणप्रसाद पोखरेल, शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगाल, टोल विकास संस्थाकी अध्यक्ष लक्ष्मी भट्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रत्ननगर । रत्ननगर वडा नं–१, निपनीस्थित गायत्री हरिहर मन्दिर संरक्षण समितिको आयोजनामा यही मङ्सिर १४ गतेदेखि २१ गतेसम्म भविष्य महापुराण तथा धनधान्याचल ज्ञानमहायज्ञ हुने भएको छ ।

मन्दिरको भौतिक पूर्वाधार निर्माण, गुरूकुलम सञ्चालन तथा धर्मशाला निर्माणमा आर्थिक सङ्कलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी महायज्ञको उद्देश्य र तयारीका बारेमा जानकारी गराएको छ ।

२०२८ सालमा स्थापित हरिहर मन्दिर धार्मिक आस्थाको केन्द्रविन्दुको रुपमा स्थापित रहेको छ । गायत्री हरिहर मन्दिर संरक्षण समितिद्वारा सञ्चालित गायत्री हरिहर गुरूकुलमा हाल ११५ जना बटुकहरु अध्ययन गर्दै आएका छन् । हरिहर मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न धर्मशाला निर्माण गरिएको छ ।

मन्दिर संरक्षण समितिका अध्यक्ष नीलकण्ठ शर्मा पौडेलले मन्दिरको सुन्दरता कायम राख्न, गुरूकुलम सञ्चालन र धर्मशाला निर्माणमा सहयोग सङ्कलन गर्न महायज्ञ आयोजना गरिएको बताए ।

महायज्ञ मूल समारोह समितिकी संयोजक सीतादेवी शर्माले वार्षिकरुपमा हुँदै आएको महायज्ञमा कथा श्रवण तथा आफूखुसी दान गर्न सकिने बताइन् ।

गुरूकुलम सञ्चालनका लागि मासिक ८ लाख तथा वार्षिक ९६ लाख रूपैयाँ खर्च हुँदै आएको छ । मासिक मुठीदान ५०० परिवारले गर्दै आएका छन् । शुभजन्मोत्सव, विवाह, व्रतबन्ध, पितृकर्म तथा ब्राह्मण भोजन सहयोग, वार्षिक अन्नदान, तीनै तहको सरकारी सहयोगबाट गुरूकुलम सञ्चालन हुँदै आएको गुरूकुलमका अध्यक्ष सोमप्रसाद भट्टले जानकारी दिए ।

धर्मशाला निर्माण समितिका संयोजक तथा मन्दिर संरक्षण समितिका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले हरिहर मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न धर्मशाला निर्माण गरिएको बताए । धर्मशाला निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको भन्दै अहिलेसम्म तीनै तहको सरकारबाट ५ करोड र मन्दिरको ३ करोड गरी ८ करोड लगानी भइसकेको उनले बताए ।

८ करोडको लगानीमा पाँचतले आयमूलक भवन, तीनतले आवासीय भवन र दुईतले धर्मशाला भवन निर्माण अन्तिम चरणमा पुगेको निर्माण समितिका संयोजक गिरीले बताए । मन्दिर संरक्षण समितिका निवर्तमान अध्यक्ष नेमराज शर्मा पौडेलले मन्दिर, गुरूकुलम र धर्मशालालाई गरेको सहयोग खेर नजाने बताए ।

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१५ मा बिहीबारदेखि ६० दिने लोकसेवा तयारी कक्षा सुरू भएको छ । वडाध्यक्ष आशिक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले तयारी कक्षाको उद्घाटन गरेका थिए । लोकसेवा सारथि प्रालि खैरहनीको सहजीकरणमा सुरू भएको कक्षामा २४ जना सहभागी छन् ।

वडा कार्यालयले युवाहरुलाई सरकारी सेवामा अवसर प्रदान गर्ने उद्देश्यले विगत चार वर्षदेखि लोकसेवा तयारी कक्षा चलाउँदै आएको छ । तयारी कक्षामा लोकसेवा परीक्षाका लागि आवश्यक पर्ने किताब निःशुल्करुपमा प्रदान गरिन्छ ।

प्रमुखअतिथि प्रमुख प्रशासकीय अधिकृत खनालले लोकसेवा परीक्षा पास गर्नु चानचुने विषय नभएको भन्दै सफलता हासिल गर्न पुस्तक अध्ययनसँगै अतिरिक्त ज्ञानसमेत आवश्यक पर्ने बताए । स्थानीय सरकारले युवाहरुलाई सरकारी सेवामा जागिरे होऊन् भनेर आयोजना गरेको लोकसेवा तयारी कक्षा नवीनतम काम भएको भन्दै उनले यसलाई अवसरको रुपमा लिएर जीवनरेखा सहज बनाउनेतर्फ केन्द्रित हुन प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

वडा नं–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंले वडा कार्यालयले लोकसेवा तयारी कक्षा सञ्चालन गर्दा प्रशिक्षार्थी नपाउने समस्या रहेको हुँदा यसको जड खोज्नुपर्ने भन्दै सरकारी सेवा गरेर देशमै बस्ने युवाहरुको चाहनामा कमी आएको आफूले पाएको बताए ।

लोकसेवा सारथि प्रालिका सञ्चालक महेश घिमिरेले स्थानीय सरकारसँग सहकार्य गरी चितवनमा लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको बताए । चितवनमा अहिलेसम्म करिब ७ हजार युवालाई लोकसेवाको तयारी कक्षा दिएको भन्दै तीमध्ये झन्डै तीन हजार ५०० जनाले नाम निकाल्न सफल भएको उनले जानकारी दिए ।

वडाध्यक्ष तामाङले वडा कार्यालयले हरेक वर्ष लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएका र अहिलेसम्म करिब १२० जना युवालाई लोकसेवा तयारी कक्षामा सहभागी गराइसकेको जानकारी दिए ।

तालिम, गोष्ठी र भ्रमण गर्दा रमाउने समाजले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्दा विरोध गर्ने परिपाटीको अन्त्य हुनुपर्ने भन्दै उनले कालान्तरसम्म लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने बताए । वडा सदस्य रूममाया परियारले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम इमप्रसाद पन्तले सञ्चालन गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।