२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव गर्न लागिएको हो ।

विसं २०५५ देखि सुरू भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा यस वर्ष हात्तीको शृङ्गार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिनेलगायत कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

महोत्सव संयोजक गुणराज थपलियाका अनुसार पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, हात्तीमैत्री प्रतियोगिताहरू, सफारी टुरिजम प्रवर्द्धनका लागि पाहुनालाई हात्ती, जिप तथा डुङ्गा सफारी गराइने छ । महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने उनले जानकारी दिए ।

चितवनको पर्यटन, सम्भावना र चुनौतीसम्बन्धी अन्तर्क्रिया, विभिन्न प्रतियोगितालगायत कार्यक्रमहरु गरिने संयोजक थपलियाले बताउनुभयो । उहाँका अनुसार चित्रकला प्रतियोगिता, मानव वन्यजन्तु सहअस्तित्व, पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हात्तीको महत्त्वबारे संरक्षकर्मी, वातावरणविद्, पूर्वसंरक्षण अधिकृतहरूको सन्देशमूलक सामग्री प्रदर्शन गरिने छ ।

महोत्सवले २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा वृद्धि हुने अनुमान आयोजकले गरेको छ । संयोजक थपलियाका अनुसार यस अवधिमा आएका पाहुनाका लागि क्षेत्रीय होटल संघ र रेवान सौराहामा आबद्ध सदस्यहरूले होटल तथा रेस्टुरेन्टमा आवास र खानामा १० प्रतिशत छूट गर्ने सहमति भएको छ ।

महोत्सवमा २५ वटा विभिन्न सामग्रीसहितका स्टल (कक्ष) रहने क्षेत्रीय होटल संघका अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिए । सो अवधिमा २० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको उल्लेख गर्दै उनले जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीका रूपमा रहेको चितवनमा सफारी पर्यटनको विकासका लागि हात्तीबिना कल्पना गर्न नसकिने धारणा राखे ।

चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार सौराहा हो । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक यहाँका होटलमा बस्ने गर्दछन् । यो निकुञ्ज सफारीका लागि विश्वमा प्रख्यात मानिन्छ । कम पर्यटक आउने समयमा पर्यटकीय गतिविधि बढाउनका लागि हरेक वर्ष यो समयमा महोत्सव गर्ने गरिएको आयोजकले जनाएको छ । यसले पर्यटन प्रवर्द्धनका साथै रोजगारीका अवसर सृजना हुने अपेक्षा आयोजकको छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबार भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ ।

जीतका लागि पाएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौँको जितका लागि गेरहार्ड इरास्मसले अविजित ४३, जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ रनको योगदान गरे । कर्णालीका नन्दन यादवले तीन, पवन सराफले एक विकेट लिए ।

यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो । जसमा गुल्सन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे ।

बलिङतर्फ काठमाडौँका राशिद खान सर्वाधिक दुई विकेट लिए । काठमाडौँ यो जीतसँगै आठ अङ्क जोड्दै ‘प्लेअफ’नजिक पुगेको छ । कर्णालीको भने यो चौथो हार हो ।

भरतपुर । विश्वभरका ७०० भन्दा बढी ह्याकर तथा क्लाउड सेक्युरिटी इन्जिनियर सहभागी रहेको प्रतिष्ठित ‘विच्ड क्लाउड सेक्युरिटी च्याम्पियनसिप’मा फोब्र्स कलेज चितवनका दुई प्रतिभाशाली विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीले उत्कृष्ट सफलता हात पार्दै क्रमशः विश्वकै २२औँ र २९औँ स्थान हासिल गर्न सफल भएका छन् ।

क्लाउड सुरक्षामा आधारित यो एकवर्षे वैश्विक प्रतियोगिता एडब्लुएस, जिसिपी, कुबेरनेटेजजस्ता प्लेटफर्ममा पहिचान हुने वास्तविक सुरक्षा कमजोरीका आधारमा हरेक महिना नयाँ ‘क्याप्चर द फ्ल्याग (सिटिएफ)’ चुनौती प्रदान गर्ने अत्यन्त प्रतिस्पर्धात्मक कार्यक्रम हो । अहिले प्रतियोगिताको छैटौँ महिना चलिरहेको छ ।

२४ वर्षीय रञ्जन मरासिनी ‘नोब इनजेक्टेड’ नामबाट प्रतिस्पर्धा गर्दै आएका छन् । सुरूवातमा ७०औँ स्थानभन्दा तल रहे पनि अघिल्लो महिनामा सबैभन्दा कठिन मानिएको कुबेरनेटेज चुनौती सफलतापूर्वक समाधान गरेपछि उनी २२औँ स्थान प्राप्त गर्न सफल भए ।

यस्तै, विदिशा सुवेदीले पनि उत्कृष्ट क्षमताको प्रदर्शन गर्दै २९औँ स्थान हासिल गरेकी छन् । हिमालबराबर चुनौतीपूर्ण मानिने क्लाउड सुरक्षा क्षेत्रमै महिला प्रतिस्पर्धीले यस्तो उपलब्धि हासिल गर्नु नेपालका लागि गर्वको विषय बनेको छ ।

सो प्रतियोगितामा नेपालबाट थोरै विद्यार्थीले विशेष निमन्त्रणा र छनोट प्रक्रियामार्फत् भाग लिन पाएका छन् । दुवै विद्यार्थीले फोब्र्स कलेज चितवनमा साइबर सिक्युरिटीमा अध्ययन गरेका हुन्, जहाँ उनीहरूले क्लाउड सुरक्षा, एथिकल ह्याकिङ, नेटवर्क डिफेन्सजस्ता विषयहरूमा शिक्षा प्राप्त गरेका छन् ।

प्रतियोगिता उत्कृष्ट प्रदर्शनकर्तालाई इजरायल र अमेरिकामा मुख्यालय रहेको विज्ड कम्पनीमा रोजगारीका अवसर, विश्वस्तरीय च्याम्पियनसिप बेल्ट तथा आकर्षक पुरस्कार प्रदान गर्नेछ । दुवैले आगामी चरणहरूमा अझ कडा प्रतिस्पर्धा गर्दै विश्वको शीर्ष १० भित्र पर्ने लक्ष्य राखेको बताएका छन् ।

फोब्र्स कलेज चितवनले दुवै विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीलाई बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल करियरका लागि शुभकामना व्यक्त गरेको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।