
रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा मङ्गलबार नगरस्तरीय मेलमिलाप समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
समितिको अध्यक्षमा अनिता अर्याल, सचिवमा सङ्गीता खनाल र कोषाध्यक्षमा सम्झना कोइराला चयन भएका छन् । यस्तै, सदस्यहरूमा ईश्वरी सिंखडा थापा, ध्रुवप्रसाद लामिछाने, बाबुराम गौतम, रञ्जना ढकाल सापकोटा, सुजता विष्ट र सीतादेवी शर्मा चयन भएका छन् ।
नवगठित समितिका पदाधिकारीलाई निवर्तमान मेलमिलाप समिति अध्यक्ष भूपेन्द्र अधिकारीले पदसहित माइन्युट हस्तान्तरण गरे । सो अवसरमा उनले आफ्नो दुई वर्षे कार्यकालको अनुभव सुनाउँदै मेलमिलाप समितिमा दर्ता भएका एक सयमध्ये ९२ वटा मुद्दा मेलमिलापमार्फत् टुङ्गो लगाइएको बताए । मेलमिलापमार्फत् दुवै पक्षको जीत हुने भएकाले कसैलाई पनि अन्याय भएको अनुभूति नहुने बताए ।
नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यादवप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि नगरप्रमुख प्रलाद सापकोटाले मेलमिलाप समितिमा रहनेहरु निष्पक्ष हुनुपर्नेमा जोड दिँदै आफूनिकटको दल र आफ्नो नजिकको मान्छे भनेर हेर्न नहुनेतर्फ सचेत गराउँदै अघिल्लो समितिले गरेको कामको खुलेर प्रशंसा गरे ।
न्यायिक समितिका सदस्य यशोदा अधिकारी पौडेलले स्वागत तथा कानुन शाखाका अधिकृत अस्मिता काफ्ले सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्षहरुका तर्फबाट रत्ननगर–५ का बालकृष्ण बालकृष्ण चापागाईं र प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष अनिता अर्यालले नवगठित मेलमिलाप समिति र वडा संयोजकहरुबाट छिटोछरितोरुपमा दुवै पक्षको जीत हुनेगरी मेलमिलापलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै अघिल्लो समितिप्रति आभार प्रकट गरिन् ।
यसैबीच, नगरका १६ वटै वडाका मेलमिलाप संयोजकहरूलाई जिम्मेवारी तोकिएको छ । रत्ननगर–१ देखि १६ सम्मका मेलमिलाप वडा संयोजकहरुमा ईश्वरी आचार्य, मानबहादुर रानाभाट, विपीनराज खनाल, लक्ष्मी चौधरी, श्रीराम चौधरी, माला दाहाल, द्रौपदी महतो, पदमप्रसाद वाग्ले, मणिप्रकाश खतिवडा, एकबहादुर जिसी, कमला पाठक, भरत पाण्डे, टोमराज भट्टराई, प्रल्हाद आचार्य, कोपिला कट्टेल पौडेल र दिलबहादुर थापा रहेका छन् ।
कार्यक्रममा नगरप्रवक्ता कुलप्रसाद सापकोटा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरे, पूर्वनगर मेलमिलाप समितिका अध्यक्ष पार्वती न्यौपाने, कार्यपालिका सदस्य देवेन्द्र भुलेजलगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खैरहनी । खैरहनी नगरपालिका वडा नं–१, तरकारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १ क ८४३१ नम्बरको ग्यास बोक्ने ट्रकको ठक्करबाट ना ६२ प ७२९६ नम्बरको मोटरसाइकल चालक राप्ती–६ बस्ने २२ वर्षीय आलोक चौधरी, सोही ठाउँ बस्ने १७ वर्षीय रिदम चौधरी र २६ वर्षीय प्रवेश चौधरी घाइते भएका हुन् ।
तीनै जना घाइतेको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचारपश्चात् सेन्टल अस्पताल भरतपुरमा थप उपचार भइरहेको र दुर्घटना गराइ फरार ट्रक चालक राप्ती–५ बस्ने ३८ वर्षीय राम तामाङ इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
राप्ती । राप्ती नगरपालिका वडा नं–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा कारको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
यही मङ्सिर १ गते बेलुकी ७ः०५ बजे भण्डाराबाट खैरहनीतर्फ जाँदै गरेको बा ४ च २२५७ नम्बरको कारले पैदलयात्री राप्ती–८, वीरेन्द्रनगर बस्ने ६२ वर्षीय अरुणराज अर्याल गम्भीर घाइते भएका थिए ।
घाइते अर्यालको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा मङ्सिर १५ गते बिहान ११ः१० बजे मृत्यु भएको हो । कार चालक सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।





