
काठमाडौँ । राजधानी काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ । बिहीबारको खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
काठमाडौँले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा अलआउट भयो । पोखराका ऋषि धवनले सर्वाधिक ५४ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा काठमाडौँका शाहब आलमले ह्याट्रिकसहित छ विकेट लिए ।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । काठमाडौँका बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेले । बेन ६४ र भीम ५५ रनमा आउट भए ।
पोखराका धनञ्जय लक्षनले चार, कप्तान कुशल भुर्तेलले दुई विकेट हात पारे । यो जितसँगै काठमाडौँ १० अङ्कसहित प्लेअफमा पुग्दा पोखराले छ खेलबाट चार अङ्क जोडेको छ । पोखराले अब एक खेल खेल्न बाँकी छ ।
रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजना एवम् रत्ननगर वाङ्मय प्रतिष्ठानको संयोजनमा ‘पूर्वी चितवनमा उच्च शिक्षाकोे वर्तमान अवस्था र आवश्यकता’ विषयक अन्तर्क्रिया गरिएको छ ।
कार्यक्रममा प्रमुखअतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. तीर्थराज खनियाँले विश्वविद्यालयभन्दा ठूलो प्राज्ञिक संस्था अन्य कुनै नरहेकाले मुलुकको समग्र विकासका निम्ति विश्वविद्यालयको आवश्यकता अनिवार्य रहेको उल्लेख गरे । पूर्वी चितवन धेरै दृष्टिले पछाडि परेको उल्लेख गर्दै गुणस्तरीय शिक्षासहितको जनशक्ति उत्पादनका लागि विश्वविद्यालय स्थापना जरूरी रहेको उनले बताए ।
उनले पूर्वी चितवनको शैक्षिक उन्नयनका लागि गुणराज पाठकको योगदान स्मरणीय रहेको उल्लेख गर्दै पूर्वी चितवनमा दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको स्थापनाका लागि सबैको प्रयत्न आवश्यक रहेको बताए ।
यस्तै, सप्तगण्डकी बहुमुखी क्याम्पसका डा. कपिलदेव सुवेदीले पूर्वी चितवनमा थुप्रै शैक्षिक प्रतिष्ठानहरु स्थापना भए पनि मानवीय क्षमताको विकास हुन नसकेको र उत्पादित जनशक्ति बजारमा बिक्ने अवस्था नरहेको भन्दै प्रविधिमैत्री शिक्षालाई अगाडि बढाउन आवश्यक रहेको बताए । उनले बकुलहर रत्ननगर अस्पतालमा मेडिसिन र नर्सिङ मोडलमा उच्च शिक्षा सञ्चालन गर्न सकिए पूर्वी चितवनका चार पालिकाका विद्यार्थीहरु अन्यत्र धाउन नपर्ने बताए ।
यस्तै, शिक्षाविद् रमाकान्त सापकोटाले हरेक मानिस अवसरको खोजीमा रहने र राम्रो अवसर पाउँदा विश्वका जुनसुकै ठाउँमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने बताउँदै उच्च शिक्षाका लागि बिदेसिनेहरु ‘विदेश पलायन’ भन्ने शब्द सुन्नै नचाहने उल्लेख गरे । अहिले एआई प्रविधिको जमानामा शैक्षिक प्रगति हासिल गर्न कुनै सिमानाले नरोक्ने जिकिर गर्दै देशभित्रै राम्रो प्रणालीको विकास र अवसर पाए बिदेसिएका जनशक्ति पनि स्वदेशमै फर्किएर पेसा गर्न तयार रहेको उनले बताए ।
देशमा २४ वटा विश्वविद्यालय सञ्चालनमा रहे पनि ७८ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमै अध्ययन गरिरहेको बताउँदै उनले शैक्षिक कारखाना बढी खुले पनि ग्राहक घटेका कारण अन्य विश्वविद्यालय चल्न नसकेको बताए ।
चितवनबाट ६५ हजारको संख्यामा विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशमा पढ्न र कमाउन गएको उल्लेख गर्दै उनले विद्यार्थीहरु नै पढ्न आएनन् भने विश्वविद्यालय स्थापना गर्नुको औचित्य नहुने बताए । उनले रामपुर कृषि विश्वविद्यालयले विद्यार्थी भर्ना नै नगरेको दृष्टान्त पेस गर्दै प्रविधिसँगै दक्ष जनशक्ति उत्पादन हुने खालको उच्च शिक्षा सञ्चालनका लागि सबैको ध्यान जानुपर्ने बताए ।
रत्ननगर नगरपालिकाका पूर्वनगरप्रमुख नारायण वनले पूर्वी चितवनमा इन्जिनियरिङ कलेज चलाउने प्रयास सार्थक हुन नसकेको बताए । उनले भने, ‘नगरपालिकाले बाघदेवी विद्यालय भएको ठाउँमा इन्जिनियरिङ कलेज सञ्चालन गर्न पोखरा विश्वविद्यालयसँग सम्झौता गरेको थियो । रत्ननगरमै प्राविधिक शिक्षा पढ्न पाउने भएपछि धेरै विद्यार्थी उत्साहित भएका थिए । तर, जति प्रयत्न गरे पनि प्रयास सफल हुन सकेन ।’ स्थानीय सरकारले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे पनि पोखरा विश्वविद्यालयलाई यहाँ ल्याउन नसकिएको तीतो अनुभव उनले पोखे ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले शिक्षा र स्वास्थ्यमा विकास गर्न नसकिएसम्म भौतिकरुपमा जति नै विकास भए पनि त्यसले उपलब्धि हासिल नगर्ने बताए । उनले बैरिया माविमा प्राविधिक शिक्षा सञ्चालन गरे पनि विद्यार्थीको रूचि नहुँदा कार्यक्रम बन्द गर्नु परेको बताए । सौराहाका कारण बछौली माविमा होटल म्यानेजमेन्ट मात्र सञ्चालन गर्न सकिएको उनले बताए ।
उनले यो शैक्षिक वर्षमा सामुदायिक विद्यालयको आधारभूत तहमा निःशुल्क शिक्षा लागू गरिएको र २०८३ को पहिलो शैक्षिक सत्रदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा सञ्चालनका लागि अध्ययन गरी जनशक्ति र बजेटको योजना बनाइरहेको बताए ।
उनले बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा दैनिक १२ सयको संख्यामा सेवाग्राही उपचारका लागि आउने गरेको, तर आर्थिक स्रोत नभएका कारण मेडिसिन र नर्सिङ कलेज सञ्चालन गर्न नसकिएको बताए । दक्ष जनशक्ति उत्पादनका लागि सो अस्पतालमा अपुग जग्गा खरिद गरी कलेज सञ्चालन गर्न धनधान्याचल महायज्ञ सञ्चालन गर्नेतर्फ नगरपालिका अघि बढेको उनले बताए ।
रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले कार्यक्रमको औचित्यबारे प्रकाश पारेको कार्यक्रमको सञ्चालन डा. चेतराज रेग्मीले गरेका थिए ।
कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पसप्रमुख एलबी क्षेत्री, श्यामजी अतिथि, धनराज गिरी, दुर्गा पुरी, गोकर्ण मल्ल, तिलकराज शर्मा, डिलबहादुर बोगटी, विष्णु पौडेल, नेमराज पौडेल, रुपनराज घिमिरे, खेमप्रसाद उप्रेती, अर्जुन पौडेल, बालकृष्ण चापागाईंं, सुन्दरमणि सुवेदी, सोहेन्द्रराज खरेल, केशवराज आमोदीलगायतले आआफ्ना भनाइ राखेका थिए ।
चितवन । शिक्षकलाई आधुनिक उपकरण र प्रविधि प्रयोग गरी शिक्षण पद्धति सुधार गर्न सक्षम बनाउने उद्देश्यले अङ्कुरम् एकेडेमीमा तीनदिने ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ सुरू भएको छ ।
कक्षाकोठाको सिकाइ प्रक्रियालाई डिजिटल प्रविधिबाट थप प्रभावकारी, सहभागितामूलक र सहज बनाउन विद्यार्थीकेन्द्रित शिक्षणविधि अपनाइ आलोचनात्मक सोच, सिर्जनशीलता र सहकार्यजस्ता सीपहरूको विकास गर्न सहयोग पुर्याउन भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमी र काठमाडौँ युनिभर्सिटीको संयुक्त आयोजनामा सो तालिम सुरू भएको हो ।
तालिमले प्रशिक्षार्थीहरूलाई डिजिटल शिक्षण पद्दतिमा सुधार ल्याउने, कृत्रिम बुद्धिमत्तामा आधारित ‘टुल’हरुको प्रयोगबारे सिकाइने, काठमाडौँ युनिभर्सिटीको प्रमाणिक शिक्षणविधिको अनुभव गर्न सकिने र कक्षाकोठमा शिक्षक–विद्यार्थीको संलग्नतामा सुधार ल्याउने प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनका डीन शेषकान्त पङ्गेनी र काठमाडौँ युनिभर्सिटी डिपार्टमेन्ट अफ स्टीम एजुकेसनका लेक्चरर प्रतीतराज गिरीले तालिम प्रदान गर्ने कार्यक्रममा अङ्कुरम् एकेडेमीसहित चितवन र नवलपुरका विभिन्न विद्यालयका ६७ जना प्रिन्सिपल तथा शिक्षकहरूको सहभागिता रहेको छ ।
प्रशिक्षणले डिजिटल पेडागोजीको मूल्याङ्कन, आधार र संलग्नताबारे जानकारी दिने, रणनीतिक विश्लेषणअन्तर्गत राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय मापदण्डबारे जानकारी दिने, कोल्याबोरेटिभ क्लाउडको गुगल डक्स, गुगल स्लाइड र गुगल फर्मको प्रभावकारी प्रयोग गर्न सिकाउनुका साथै च्याटजिपिटी, जेमिनी, डिपसिक तथा कोपाइलटको प्रयोगबारे प्रशिक्षार्थीलाई गहिरो ज्ञान दिने, एआई फर क्रिएसन : म्याजिक स्कुल एआईअन्तरगत लेसन प्लान जेनरेटर तथा रुब्रिक जेनेरेटरबारे जानकारी र प्रभावकारी प्रयोगबारे प्रशिक्षार्थीलाई दक्ष बनाउने लक्ष्य राखिएको छ ।
विद्यालय सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा उद्घाटित प्रशिक्षण कार्यक्रममा प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका आवासीय निर्देशक नइम चौधरीले धन्यवाद ज्ञापन गरेका थिए । पहिलो र दोस्रो दिनको प्रशिक्षण अङ्कुरम् एकेडेमीको बहुउद्देश्यीय सभा हलमा र तेस्रो दिनको प्रशिक्षण सौराहास्थित ल्यान्डमार्क फरेस्ट पार्कमा आवासीय सुविधासहित सञ्चालन हुनेछ ।




