
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा चितवनको स्कुल बसमा सवार २५ सहित ३५ जना घाइते भएका छन् ।
सात वटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
काठमाडौँबाट गजुरी जाँदै गरेको बागमती प्रदेश ००१ क ००११ नम्बरको (चितवनको कालिका–६ , श्रीमावि रेडक्रसमार्ग) स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको थिए ।
घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् । चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रत्ननगर । पूर्वी चितवनको प्रतिष्ठित शैक्षिक संस्था न्यू क्यापिटल कलेज, रत्ननगरमा भूतपूर्व विद्यार्थीहरूको साझा संगठन न्यू क्यापिटल कलेज एल्मुनाई एसोसिएसनको तदर्थ समिति गठन गरिएको छ ।
कलेजको पहिलो ब्याच २०५७ का भूतपूर्व विद्यार्थी प्रल्हाद पन्तको अध्यक्षता एवम् कलेजका प्राचार्य भूपेन्द्र धितालको प्रमुख आतिथ्यतामा बसेको संयुक्त बैठकले सात सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
एसोसिएसनको अध्यक्षमा प्रल्हाद पन्त, उपाध्यक्षमा रञ्जिता पण्डित र सचिवमा ई. केशव चालिसे चयन भएका छन् । यस्तै सदस्यहरूमा ई. सरोज पौडेल, सपना पाण्डे, प्रवीन बर्तौला र समीर चालिसे रहेका छन् ।
कार्यक्रममा कलेजका उपप्राचार्य ठाकुरप्रसाद पनेरु, डा. सञ्जयकुमार शाह, डा. ताराप्रसाद ढुङ्गाना र कलेजका भूतपूर्व विद्यार्थी डा. देवेन्द्र आचार्यको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य धितालले नवगठित एल्मुनाई एसोसिएसनले कलेज र पूर्वविद्यार्थीको सम्बन्धलाई अझ मजबुत बनाउने, सहकार्यका नयाँ मार्गहरू खोल्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले सम्पूर्ण भूतपूर्व विद्यार्थीलाई संगठनमा आबद्ध हुन आह्वान् गरे ।
नवगठित एल्मुनाई एसोसिएसनका अध्यक्ष पल्हाद पन्तले एल्मुनाइ एसोसिएसनको संरचना विस्तार, सदस्यता खुला गर्ने तथा विधान निर्माणको कामलाई पूर्णता दिई छिट्टै रचनात्मक र सिर्जनात्मक गतिविधिलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकको सहयोगमा चितवन राइनोजलाई आठ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा एक सय २१ रनको सामान्य लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा दुई विकेट गमाउँदै पूरा गर्यो ।
पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे । उनले ५३ बल खेल्दै एक छक्का र दुई चौका प्रहार गरे ।
पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाए । पोखराका धनन्जय लक्षनले ३ विकेट लिए ।
लिग चरणको अन्तिम खेल आइतबार दिउँसो ३ः३० बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ ।
चितवन । नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ नेपालभर प्रदर्शन भएको छ । तराईको पृष्ठभूमिमा तयार गरिएको उक्त चलचित्रमा सामाजिक सन्देशसहित मनोरञ्जनात्मक कथा प्रस्तुत गरिएको निर्माता विनोद पौडेलले बताए ।
उनले भने, “हामीले एउटा सन्देशमूलक कथालाई चलचित्रको शैलीमा रोमाञ्चक बनाएर प्रस्तुत गरेका छौँ । यसले मनोरञ्जन र सन्देश दुवै दिन्छ भन्ने हाम्रो विश्वास छ । नियमितरुपमा बनिरहेका चलचित्रभन्दा फरक बनाउने कोसिस गरेका छौँ ।”
निर्माता पौडेलसहितका समूहले निर्माण गरेको ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा ऐतिहासिक व्यापार गर्न सफल भएको थियो । यो उनले निर्माण गरेको दोस्रो चलचित्र हो । अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरसियाले कलाकारिता सुरू गरेको झन्डै सत्र वर्षपछि यही चलचित्रमा मुख्य भूमिकामा देखिएका छन् ।
“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेशको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भने ।
अभिनय यात्रामा पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेको अभिनेता चौरासियाले बताए ।
उक्त चलचित्रमा उनीसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरूङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गरेका छन् ।
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर भेट्टायो । जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । साम ५१ र फाफ ५० रनमा आउट भए । सुदूरपश्चिमका अविनाश बोहराले दुई र हर्मित सिंहले एक विकेट हात पारे ।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनायो । जसमा आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन र प्रतिश जिसीले दुई विकेट हात पारे । आजको जितले विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ । सुदूरपश्चिम यसअघि नै क्वालिफायर पुगिसकेको थियो । इलिमिलेटरमा काठमाडौं र लुम्बिनी खेल्नेछन् । अहिले ३ः३० बजे चितवन राइनोज र पोखरा एभेञ्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
रत्ननगर । २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा रत्ननगर नगरपालिकाका तीन उत्कृष्ट स्वयंसेविका सम्मानित भएका छन् ।
‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने नाराका साथ रत्ननगर नगरपालिकाको आयोजना एवम् जनस्वास्थ्य कार्यालय चितवनको समन्वयमा भएको कार्यक्रममा रत्ननगर–३ का दिलमाया विष्ट, रत्ननगर–५ का अर्चना दुवाडी र रत्ननगर–१६ का अनुराधा सुवेदी सम्मानित भएका हुन् ।
उनीहरुलाई आन्तरिक प्रतिस्पर्धा तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कृत गरिएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । उनीहरुलाई जनही तीन हजार रुपैयाँ र प्रमाणपत्रद्वारा उपप्रमुख यादवप्रसाद पाठक र जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले सम्मान गरेका हुन् ।
यस्तै, लामो समयदेखि स्वयंसेविका रहेर योगदान गर्ने रत्ननगर–७ का बिनाकुमारी थारुलाई जनही एक लाख रुपैयाँसहित बिदाइ गरिएको छ । थारु ६० वर्ष उमेर पुगेका कारण स्वतः अवकाश भएकी हुन् । उनलाई बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमार्फत प्रदान गरिएको २० हजार रुपैयाँ जनस्वास्थ्य कार्यालय चितवनले हस्तान्तरण छ ।
यसैगरी, रत्ननगरका १६ वटै वडामा योगदान गर्दै आएका ६० जना महिला सामुदायिक स्वयंसेविकालाई पनि सम्मान गरिएको छ । उनीहरुलाई बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयमार्फत जनही छ हजारका दरले सम्मान गरिएको हो ।
स्वयंसेविकाहरुलाई सम्मान गर्दै नगर उपप्रमुख यादवप्रसाद पाठकले समुदायमा जनचेतना फैलाउँदै सामाजिक कार्यमा अग्रसर हुने स्वयंसेविकाहरु साच्चै सम्मानको हकदार रहेको बताए । उनले भने, ‘सबै मानिसलाई समाजले सम्झँदैन, जसले राम्रो काम गरेको हुन्छ त्यसैलाई सम्झिन्छ ।’ त्यसैले हरेक स्वयंसेविकाहरुले समाजले सम्झने गरी काम गर्न उनले आग्रह गरे । उनले समाजमा नकारात्मक विषयले बढी प्राथमिकता पाउने गरेकोले त्यसलाई चिर्न आवश्यक रहेको बताए ।
सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले समुदायमा रहेर निरन्तर योगदान गर्दै आएका सबै स्वयंसेविकाहरु उत्तिकै सम्मानको हकदार रहेको बताउँदै यसपटक ६० जनामध्ये तीन जनालाई छनोट गरिएको बताए । स्वयंसेविकाहरुले समुदायमा गरेको योगदान कहिल्यै नबिर्सने र अझै उत्कृष्ट कार्य गर्न पुरस्कारले हौसला मिल्ने उनको भनाइ थियो ।
स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै स्वयंसेविकाको योगदानकै कारण सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । नगरवासीको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन र मातृमृत्युदर, बालमृत्युदरमा कमी ल्याउन पनि स्वयंसेविकाको योगदान अतुलनीय रहेको बताउँदै उनले नगरको स्वास्थ क्षेत्रको मेरुदण्डका रुपमा रहेका स्वयम्सेविकाहरु साँच्चै सम्मानको हकदार रहेको चर्चा गरे ।
कार्यक्रमको सञ्चालन गर्दै स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले स्वास्थ्य उपचारबाट कोही पनि वन्चित हुनु नपरोस् भन्नाका लागि रत्ननगर नगरपालिकाले बकुलहर रत्ननगर अस्पताल र भरतपुर अस्पतालमा विपन्न उपचार सहायता कोष स्थापना गरेको बताए । अस्पतालमा स्थापित कोषमार्फत नगरवासी मात्र नभई पूर्वी चितवनका चार पालिकाका जुनसुकै विपन्न नगरवासीले एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म निःशुल्क उपचार सेवा लिनसक्ने जानकारी दिए ।
यसैगरी, रत्ननगर नगरपालिकाले विपी मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको उपचारका लागि २५ हजार रुपैयाँ प्रदान गर्दै आएको र रक्तसञ्चार युनिट रत्ननगरमा पनि निःशुल्क ल्याब टेस्टको प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।
कार्यक्रममा कार्यपालिका सदस्य बबिताकुमारी चौधरी, सानु भण्डारी बस्नेत, डा. विवेक मालाकार, नर्सिङ अधिकृत अम्बिका पौडेल, जनस्वास्थ्य निरीक्षक दीपेन्द्र विक, स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।




