
चितवन । ‘आँखा चिम्म गरी सपनाको दुनियाँमा हराउनु पर्दैन, आफू सध्य छौँ भने कोहीसँग डराउनु पर्दैन’, जेनजी आन्दोलनका अगुवा अधिराज यादवले यो श्लोक वाचन गर्दा हलमा परर ताली बज्यो ।
जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना तथा भ्रष्टाचारविरुद्धको अभियान चितवन एवम् भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था, भ्रष्टाचारविरुद्ध जागरण अभियानले संयोजन कार्यक्रममा यादवले भ्रष्टाचारविरुद्ध सबैजना एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।
भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित सुशासन र सदाचार प्रवद्र्धनमा प्रतिबद्धता कार्यक्रममा उनले देशमा भ्रष्टाचार नियन्त्रण गर्न चाहने हो भने सुरूआत आफैँबाट गर्न आवश्यक रहेको बर्ताए । उनले भने, “राजनैतिक दलदेखि सरकारी कार्यालयसम्म र घरदेखि सहरसम्म जताततै भ्रष्टाचारको गन्धले गन्हाएको छ । यसलाई सुधार गर्न लाग्नुपर्छ ।” युवा पुस्ताले यो कुरा बुझेको बताउँदै उनले अहिलेको समयमा पनि भ्रष्टाचार नियन्त्रण गर्न नसके कहिल्यै नहुने बताए ।
जेनजी अगुवा आयुष पौडेलले सार्वजनिक खरिद ऐनलाई परिमार्जन गर्दै सरकारी सेवाहरु प्रविधिमैत्री बनाउन सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने धारणा राखे । गत भदौ २३ र २४ गते भएको प्रदर्शन भ्रष्टाचारविरुद्ध मात्रै नभएर अब युवा जागे है भन्ने सन्देश भएको बताए ।
हरेक स्थानमा जनताको सहभागितालाई आत्मसात् गर्दै अघि बढ्न सके भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनको भनाइ थियो । दलहरुले गरेका राजनैतिक नियुक्तिदेखि कर्मचारीहरुको कमिसनसम्म भ्रष्टाचारको जालो मौलाएको बताउँदै उनले यसलाई रोक्न सबै आ–आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताए ।
जेनजी समूहका चितवन संयोजक आशीष सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाजदेखि सबै एक हुन जरुरी रहेको बताए । अहिले देशमा केही परिवर्तन हुन्छ कि भन्ने आभाष भएको भन्दै उनले जनताको खबरदारीले नै देश बन्ने बताए । युवा पुस्ताको चाहनाअनुसार शासकहरु अघि नबढ्दा आफूहरु आन्दोलित बन्न बाध्य भएको उनको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले भ्रष्टाचार न्यूनीकरणका लागि युवा पुस्ताको भावनाअनुसार अघि बढ्न आवश्यक रहेको बताए । उनले भने, “सबैले जिम्मेवारी लिएर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्छ ।” युवा पुस्ताहरु यसमा चनाखो हुन आवश्यक रहेको उनको भनाइ थियो ।
सो अवसरमा बोल्ने वक्ताहरुले राजनैतिक दलका नेता एवं राज्य संयन्त्र चलाउने कर्मचारीहरु आफूबाट सुधार गर्दै जाँदा भ्रष्टाचार निवारण गर्न सहयोग पुग्ने बताए ।
त्यस अगसरमा संविधानसभा सदस्य विष्णुमाया परियार, भ्रष्टाचारविरुद्धको अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषाल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीलगायतले भ्रष्टाचार घर–घरबाट हटाउन आवश्यक रहेको बताए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजन–२ मा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।
मङ्गलबार सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पराजित विराटनगरले भने ‘इलिमिनेटर’ खेल्ने मौका पाउनेछ ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । जसमा फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन जोडे पनि हार टार्न सकेनन् । सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले दुई/दुई विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनायो । सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । यस्तै, आसिफ शेख र शेरडोन ज्याकसनले समान २०/२० रन जोडे । यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे ।
यता बलिङतर्फ विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुई/दुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एक/एक विकेट लिए ।





