२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

भरतपुर । ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी कोही कसैप्रति दूराग्रह बोकेर नहिँड्ने बताएका छन् । शनिबार पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले आफूहरुमाथि जस्तोसुकै आरोप आए पनि त्यसको प्रतिवादमा उत्रिनुको अर्थ नरहेको बताएका हुन् ।

‘हामी कसैले लगाएको आरोपको खण्डन गर्दैनौँ । किनकि आरोप लाग्छ, दुई महिनापछि त्यो आरोप सत्य हो कि आरोप मात्रै हो भन्ने कुरा पुष्टि भइहाल्छ,’ उनले भने, ‘त्यसकारण हामीले काम गरेर देखाउने हो । जनतालाई डेरिभरी दिने हो, बोल्ने होइन ।’

देश बदल्नको लागि सामाजिक काम या अभियान चलाएर मात्रै नहुने हुँदा दलमार्फत नै राजनीतिमा होमिएको पनि उनले बताए । ‘म नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि अब मैले के गर्ने त ? कि त घरमै बस्नुपर्‍यो । कि त धार्मिक संस्थामा जोडिएर काम गर्न पर्‍यो । कि त अरु सामाजिक संघसंस्थामा बसेर काम गर्नुपर्‍यो,’ उनले भने, ‘ती संस्थामा बसेर देशमा ठोस परिवर्तन गर्न सकिँदैन भनेर राजनीतिमा लागेँ ।’

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि देश दौडाहामा निस्किँदा पाएको प्रतिकिृयाका आधारमा पनि राजनीतिमा आउन सहज भएको उनले बताए । ‘धेरैले धेरैथरी प्रतिकृया दिनुभयो । त्यसैलाई आत्मसात गर्दै राजनीतिमा आएको हुँ,’ उनले भने, ‘धेरैजसोले राजनीतिमा आउनुपर्छ भन्ने सल्लाह दिनुभयो । केहीले चाहिँ राजनीति फोहोरी खेल हो तपाइँजस्तो मान्छे राजनीतिमा आउनु हुन्न भन्नु भएको थियो । तर, देश बदल्नको लागि नीतिगत तहमै पुग्नुपर्ने देखिएकोले मैले राजनैतिक बाटो समातेको हुँ ।’

जनस्तरको काम गर्न अथवा जनतालाई डेलिभरीसहितको सुविधा दिनको लागि कानुनीरुपमै बलियो हुनुपर्ने उनले बताए । ‘किसानले धान उत्पादन गर्छ । तर, मूल्य नपाएर गोदाममै थन्किएको छ । यता हामी भने बाहिरी मुलुकबाट आएको चामल किनेर खान बाध्य छौँ,’ उनले भने, ‘हो, यस्तो अवस्था आउन नदिनको लागि हामी कानुनी रुपमै बलियो हुन जरुरी छ । जबकि कुनै पनि किसानको धान बिक्री नहुँदा बिचौलियालाई आधा मूल्यमा बेच्न नपरोस् ।’

चितवन जिल्लालाई देशको ७७ जिल्लाभन्दा पनि पछिको जिल्ला मानिएको हुँदा चितवनको विकासमा हुनुपर्ने काम अझै बाँकी रहेको मन्त्री घिसिङको भनाइ छ । कृषि, उद्योग, व्यापार हरेक दृष्टिमा चितवन अगाडि रहेको हुँदा चितवनलई देशको प्रमुख शहरको रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । त्यसकारण चितवन जिल्लालाई नमुना जिल्लाको रुपमा विकास गर्न आवश्यक रहेको उनले बताए ।

यसैगरी, उज्यालो नेपाल पार्टीकी नेतृ रीमा विश्वकर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । एमाले नेतृत्वमाथि कसैले छुने आँट गरे देश ठप्प पार्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति केन्द्रित हुँदै उनले भनिन्, ‘के देश उहाँको कुटी हो र ठप्प पार्न र खोल्नलाई ?’ देश कसैको कुटी नभएको भन्दै जबर्जस्ती बन्द गराउने चेतावनी अस्वीकार्य भएको उनको भनाइ छ ।

संविधानको कुरा गर्ने एमालेले नै संविधानको पालना नगरे नागरिकता र उत्तरदायित्वमाथि प्रश्न उठ्ने उनले बताइन् । ओलीको अभिव्यक्तिले मानवीय संवेदना भड्काउनुका साथै देश र समाजलाई गलत दिशामा लैजाने भएकोले यस्ता अभिव्यक्ति दिनबाट सचेत हुन पनि उनले आग्रह गरिन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।