
भरतपुर । यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२ हुने भएको छ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।
पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने टेवा पुग्ने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ । आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी दिएको छ । प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहने चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा इच्छाकामनाका १०० जना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने तथा स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको छ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले नौ करोडदेखि १० करोड रूपैयाँको कारोबार गर्ने गरेको बताए । पछिल्लो समय केही बगैँचा नष्ट भएका कारण उत्पादनमा गिरावट आएको देखिएको उनले जानकरी दिए ।
सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न प्रत्येक वर्ष बीउबाट उत्पादन गरिएको सुन्तलाका बिरुवा वितरण गरिँदै आइएको छ । नयाँ प्रविधियुक्त सामग्रीको वितरण, टिपाइ, गोडमेल, गोठेमल तथा सिँचाइ व्यवस्थापनमा आवश्यक सहयोग गाउँपालिकाले गर्दै आएको उनले बताए ।
गाउँपालिकामा विभिन्न प्रकारका पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको उनले बताए । धार्मिकस्थल तथा प्राकृतिक रूपमा मनमोहक स्थान यहाँ रहेका छन् । त्यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न मद्दत पुर्याउन सक्ने उनले विश्वास व्यक्त गरे । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उनले बताए ।
काठमाडौँ । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्यसेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण भएको थियो ।
यस वर्ष जापानिज इन्सेफ्लाइटिसका एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए । जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एकपटक भएपछि अर्कोपटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्कोपटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उनको भनाइ छ ।
गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्युु भएका थिए । उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिसबाट मृत्युु हुनेको संख्या बढ्दै गएको बताए । गत वर्ष जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण ८६ जना देखिएको थियो । सन् २०१४ मा चार जना, सन् २०१७ मा एक जना र सन् २०२३ मा सात जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्युु भएका थिए ।
डा. गौतमका अनुसार यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका मानिसलाई जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । जापानिज इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिममा छन् ।
मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उनले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए । गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताए ।
यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ ।
जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ । नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देही जिल्लामा जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । रासस
चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरू गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरू गरिएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको एक समारोहबीच शुभारम्भ गरिन् । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरू गरिएको छ । नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा क्यामेरा जडानको काम सुरू गरिएको छ ।
महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ वटै वडाका २०० भन्दा बढी स्थानमा ४१८ क्यामेरा जडान गर्न लागिएको छ । चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर)सहित ४१८ उच्च क्षमताका भिएमएससहितका क्यामेरा जडान गर्न लागिएको छ । सिनजी आइटी सोलुसन प्रालिले रु पाँच करोड ५८ लाख २० हजार ६४९ को लागतमा क्यामेरा जडानको काम गर्दैछ ।
उद्घाटन गर्दै महानगर प्रमुख दाहालले आधुनिक सहर बनाउने अभियानअन्तर्गत सिसी क्यामेरा जडानको काम सुरू गरिएको बताइन् । सुरक्षित र भयरहित तवरले जनता बाँच्न पाउनुपर्ने भन्दै यो योजना अघि बढाइएको उनको भनाइ छ । उनले भनिन्, “सिसी क्यामेरा जडानसँगै सुरक्षित सहरको सपना सहाकार भएको छ ।”
महानगरपालिकाले २०६ किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडानको काम गरिएको उनले बताइन् । एकानब्बे वटा चोकमा हाइमास्ट लाइट जडान गरिएको छ । यस्तै महानगरका छवटा चोकमा ट्राफिक लाइट जडान गर्ने योजना पनि कार्यान्वयनमा ल्याउन लागिएको उनले जानकारी दिइन् । ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ ।
सो अवसरमा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा हुने हरेक घटनालाई निगरानी गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन महानगरपालिकाले क्यामेरा जडान गरेको बताए । यो योजनाले जनता सुरक्षित भएको महसुस गर्ने उनको भनाइ छ । सो अवसरम महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले जडान गरिएका क्यामेराको संरक्षण गर्न आवश्यक रहेको बताए ।
नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामेरा सञ्चालन गरिने छ । महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो । नेपाल टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सार्वजनिक बिदाको दिनसमेत मर्मतको काम नरोकेर कामलाई अघि बढाइएको बताए । सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले क्यामेराको प्रभावकारी कार्यान्वयनको पक्षमा आफूहरू लाग्ने बताए ।




