
रत्ननगर । रत्ननगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सचेतनामूलक अभिमुखीकरण तथा असल सन्तति सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ सुरू गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख प्रलाद सापकोटाले हरेक घरपरिवार र समाजले इतिहास बोकेका ज्येष्ठ नागरिकको सघैँ सम्मान गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘जसले आफ्ना अभिभावकप्रति आफूले गर्नुपर्ने कर्तव्य बिर्सन्छ, उसले देश र समाजका लागि कुनै योगदान गर्न सक्दैन ।’ आफ्ना अभिभावकप्रति स्याहारसुसार र पालनपोषण गर्ने उदाहरणीय सन्ततिलाई सम्मान गर्न पाउँदा खुसी लागेको उनले सुनाए ।
नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समिति रत्ननगरका अध्यक्ष छविलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा २२ जना असल सन्ततिलाई जनही तीन हजार रुपैयाँसहित प्रमाणपत्र र फूलमालाले सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा सीताराम तिमल्सिना, प्रेमकुमारी रानाभाट, किशुन/रीताकुमारी चौधरी, अर्जुन भट्ट/सावित्री लामिछाने, राजुराम/सुनिता चौधरी, शिवराज/मीरा आचार्य, धनराज/केशिया राउत, झलक/रिकिशा ढकाल, हस्तनारायण/सीता श्रेष्ठ, रोशन/नम्रता पाण्डे, पार्वती पौडेल, कृष्णकुमार डल्लाकोटी, सुनिता ढकाल पगेनी, होमबहादुर/फूलमाया गुरूङ, मोतिलाल/गंगादेवी भट्टराई, हरिप्रसाद/सीता अधिकारी, ऋषिराम सिलवाल/प्रमिला अधिकारी, मुकुन्द/अमला रिजाल, लेखनाथ/सीता घिमिरे, वीरबहादुर/रीता गुरूङ, सम्झना कुँवर र रुपनारायण चौधरी रहेका छन् ।
महिला विकास अधिकृत दीपा घिमिरेले सञ्ञ्चालन गरेको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा रत्ननगर–१ क वडाध्यक्ष एवम् नगरप्रवक्ता कुलप्रसाद सापकोटा, रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, रत्ननगर–६ का वडाध्यक्ष किरण महतो, रत्ननगर–८ का वडाध्यक्ष कृष्ण चौधरी, रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापा, कार्यपालिका सदस्यहरु सानु भण्डारी, यशोधा अधिकारी पौडेल, चन्द्रकला पनेरु, लक्षित वर्ग कार्यक्रम व्यवस्थापन समितिका सदस्य सम्झना लामिछाने, जमुना सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा ज्येष्ठ नागरिकका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको थियो । अभिमुखीकरण कार्यक्रमको सहजीकरण अधिवक्ता बलराम पौडेलले गरेका थिए । कार्यक्रममा रत्ननगरका १६ वटै वडाका करिब २०० जना ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।
सौराहा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
चितवनको सौराहामा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ उद्घाटन गर्दै उनले हात्तीलाई हाम्रो साथी भएको स्मरण गराए । विश्वमा घट्दै गएको हात्तीको संरक्षण अब मानवको जिम्मेवारी भएको र प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको बताए ।
उनले भने, “मानिसले आफ्ना छोराछोरीलाई जस्तै हात्तीलाई सीप सिकाएको छ । पशुप्रति अन्याय नभएको र संरक्षणमै जोड दिइएको छ ।” बानियाँले हात्ती संरक्षणको जिम्मेवारी अब मानिसकै काँधमा रहेको बताए । जमिन, जङ्गल र जलको संरक्षण गर्दै प्राणीको रक्षा गर्नु मानव सभ्यताको सुन्दर पक्ष भएको उनको भनाइ थियो ।
भविष्यमा हात्तीपालन र संरक्षण गर्ने व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उनले जानकारी दिए । उनका अनुसार, महोत्सवका कारण पर्यटकको संख्या ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको छ । विसं २०५५ देखि सुरू भएको यस महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याएको मुख्यमन्त्री बानियाँको धारणा थियो ।
बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री सूर्य श्रेष्ठले व्यवसायीहरुको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले चितवनको पर्यटन सफल बनाउन सबैलाई आग्रह गर्दै मेला महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे ।
पर्यटन तथा सस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले हात्ती महोत्सवलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवले सस्कृति र पर्यटनलाई अगाडि बढाउन सहयोग पुगेको बताए ।
महोत्सवमा हात्तीसग सम्बन्धित गतिविधिहरु सञ्चालन गरिएको छ । महोत्सव मूल समारोह समितिका संयोजक गुणराज थपलियाले हात्ती महोत्सव सफल बनाउन आग्रह गर्दै सौराहासहित चितवनको पर्यटन प्रबद्धनको लागि महोत्सव आयोजना गरिएको बताए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वन्यजन्तु र पर्यटनमैत्री महोत्सव भएको भन्दै हात्तीहरुलाई एकीकृत वासस्थानको माग उठिरहेको र कानुन बनाएरै घरमा पालिएका हात्तीलाई घाँस खान पाउने व्यवस्था भएको बताए ।
सौराहाको बाघमारा चौरमा १९औँ संस्करणको हात्ती महोत्सव सुरू भएको हो । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका छन् ।
महोत्सवअन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्तीको पूजा गर्ने कार्यक्रम रहने आयोजकले जनाएको छ । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी छन् ।





