
रत्ननगर । नेपाल जनप्रशासन संघ (पान) को २६औँ साधारण सभाका अवसरमा रत्ननगर नगरपालिकाका प्रशासन शाखा प्रमुख वरिष्ठ अधिकृत सविता अर्याललाई ‘पान उत्कृष्ट राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको छ ।
प्रशासन तथा संगठन व्यवस्थापन र सूचनाको हकअधिकारको कार्यान्वयनमा उल्लेख्य कार्य गरेबापत देशभरिका कर्मचारीहरुमध्ये उत्कृष्ट कर्मचारीका रुपमा अर्याललाई २५ हजार राशिको नगद पुरस्कारसहित ‘पान उत्कृष्ट राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको हो ।
संघीय मामिला तथा सामान्यमन्त्री रामेश्वरप्रसाद खनालले सो सम्मान गरेका हुन् । यस्तै, पान सचिवालयमा कार्यरत कार्यकारी प्रमुख जमुना दङ्गाललाई ३० हजार रुपैयाँको नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सो अवसरमा पुरस्कारको अक्षयकोष खडा गर्न योगदान गर्ने नेपाल सरकारका पूर्वसचिवहरू कृष्णहरि बाँस्कोटा र विद्याधर मल्लिकलाई पनि सम्मान गरिएको थियो ।
नेपाल जनप्रशासन संघ (पान) को २६औँ साधारण सभा तथा ‘युवा आकाङ्क्षा अनुसारको सुशासन’ विषयक २१औँ राष्ट्रिय सम्मेलनका अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री खनालले जनताको हितलाई केन्द्रमा राखेर सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्न कर्मचारी तथा सरोकार भएका सबैलाई आग्रह गरेका थिए ।
अर्थमन्त्रीसमेत रहेका खनालले कर्मचारीतन्त्रले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई माथि राखेर परिणाममूलक काममा लाग्नुपर्नेमा जोड दिए । उनले राजनीतिक नेतृत्व तथा प्रशासनमा इमानदारिता र व्यावसायिकता कायम भएका युवाद्वारा सुशासन र सुधार सम्भव रहेको धारणा राखे ।
सम्मेलनमा नेपालको समसामयिक राजनीतिक, सामाजिक र प्रशासनिक सन्दर्भमा युवाको बढ्दो असन्तुष्टि, सक्रियता र सुशासनसम्बन्धी अपेक्षामाथि छलफल गरिएको थियो । नेपालमा जेनजीपुस्ताको सक्रियता, असन्तुष्टि र वैचारिक हस्तक्षेप नयाँ चरणमा प्रवेश गरेकाले यसलाई लोकतान्त्रिक चेतना र शासन सुधारको मागका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको छ ।
छलफलपश्चात् लोकतान्त्रिक चेतना र शासन सुधारका पक्षमा युवापुस्ताको माग र चेतावनीका रूपमा जेनजी आन्दोलन भएको व्याख्या गर्दै शासन प्रणालीभित्रका संरचनागत कमजोरी, भ्रष्टाचार, बेरोजगारी, अवसरको असमान वितरण अन्त्य गर्नेलगायत ११ बुँदे सुझावसहितको अवधारणा जारी गरिएको छ ।
पारित प्रस्तावमा शासकीय वैधता बहुमत र संख्यामा मात्र नभई सारभूत र अर्थपूर्ण सहभागिता र समन्यायिक शासकीय लाभांश वितरणमा खोजिनुपर्ने, सुशासन कार्यान्वयन राष्ट्रिय प्राथमिकतामा पर्नुपर्ने, युवामैत्री शासन प्रणाली र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने, युवा आकाङ्क्षाको यथार्थपरक व्यवस्थापन र सम्बोधन हुनुपर्ने, तीव्र आर्थिक वृद्धिसहित देशभित्रै रोजगारी, उद्यमशीलता र युवा रोजगारी सिर्जनामा तत्काल प्रभावकारी कदम चालिनुपर्नेलगायत रहेका छन् ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा उतार्नुपर्ने, सार्वजनिक प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउन नवप्रशासनिक संरचना र काम सुधार गरिनुपर्ने, शान्तिपूर्ण नागरिक अभिव्यक्ति सुनिश्चित गर्दै संवाद र सहकार्यको संस्कृति प्रवद्र्धन गरिनुपर्ने, समावेशी र सामजिक न्यायमा आधारित शासन प्रणाली कायम गरिनुपर्ने, राज्य–समाज–नागरिकबीच नयाँ सामाजिक सम्झौता निर्माण गरिनुपर्ने, राजनीतिक स्थायित्वका लागि तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्नेलगायत सुझाव दिइएको छ ।
रत्ननगर । पञ्चकन्या माध्यमिक विद्यालय जयमंगलामा शिक्षक विद्यार्थी पुनर्मिलन कार्यक्रम गरिएको छ ।
विसं २०२४ सालदेखि २०३० सम्मका पञ्चकन्या राप्रावि, निमावि र माविका तत्कालीन शिक्षक तथा विद्यार्थीबीच पुनर्मिलन भएको हो ।
रत्ननगर–१४ स्थित गुरू लेखनाथ कट्टेलको निवासमा आयोजित कार्यक्रममा विष्णुप्रसाद अर्याल, डिल्लीराम घिमिरे (कपिल), तीर्थराज न्यौपाने, भीष्मराज न्यौपाने, त्रिलोचन निर्मल पौडेल, हरिहर अधिकारी, सूर्यप्रसाद भट्टराई, गोपीप्रसाद अधिकारी, डा. विजयराज न्यौपाने, रामहरि आचार्यलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पञ्चकन्या माविमा अध्ययन गरेका पूर्वशिक्षक तथा विद्यार्थीहरुले विभिन्न भूमिकामा रहेर समाजमा गर्दै आएको योगदानबारे चर्चा गर्नुका साथै आगामी दिनमा गर्न सकिने गतिविधिका बारेमा छलफल गरिएको पूर्वशिक्षक तीर्थराज न्यौपानेले जानकारी दिए ।
भरतपुर । चितवन उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा तथा अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि चिरञ्जीवी सुवेदी र शिरीष पन्तले आआफ्नो प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । संस्थापन समूहबाट हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र संस्थापनबाहिरबाट निवर्तमान उपाध्यक्ष शिरीष पन्तको समूह चुनावी मैदानमा उत्रिएका हुन् । दुवै समूहले पदाधिकारीमा टुङ्गो लगाएका छन् ।
चिरञ्जीवी सुवेदीको समूहले हालका उपाध्यक्षहरुलाई नै एक तह माथि उठाउने प्रयास गरेको छ । जसअनुसार वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली, उपाध्यक्षहरुमा अशोक अधिकारी, नारायण प्रधान र राजन पियाको टुङ्गो लागिसकेको छ । ओली, अधिकारी र प्रधान अघिल्लो अधिवेशनमा चुनाव जितेर आएका पदाधिकारी हुन् भने हाल संस्थापन समूहभित्रबाट उमेदवार बनेका राजन पिया भने अघिल्लो निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीसँग वरिष्ठ उपाध्यक्षमा चुनाव हारेका व्यक्ति हुन् ।
शिरीष पन्त समूहमा वरिष्ठ उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा लोकबहादुर रानाभाट, उपाध्यक्षहरुमा शङ्करप्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले उमेदवारी दिएका छन् ।
शनिबार संघ परिसरमा उमेदवारी घोषणा गर्दै अध्यक्ष पदका उमेदवार शिरीष पन्तले आफ्नो समूहको उमेदवारी व्यक्तिगत पदका लागि नभई व्यवसायीको हकहित, क्षमता विकास, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुधार तथा नयाँ व्यावसायिक अवसरको खोजीका लागि भएको बताए ।
हरेक दुई–दुई वर्षमा हुने अधिवेशनमा यसपटकको निर्वाचन निकै रोचक हुने देखिएको छ । संस्थापन पक्षले सुवेदी नेतृत्वको समूहलाई अनुभवी मान्दै आएको छ भने पन्त समूहले कार्यक्षमताको आधारमा युवापुस्ताले पनि नेतृत्व सम्हाल्न सक्छ भन्ने स्पष्ट सन्देश दिने प्रयास गरेको छ । संघमा हालसम्मको नेतृत्व हेर्ने हो भने केही अधिवेशनबाहेक प्रायः सबैजसो अधिवेशनमा संस्थापन समूह नै अगाडि आएको देखिन्छ ।
आफूलाई संस्थापन समूह मान्नेहरुले पनि पालोअनुसार नेतृत्वमा जानुपर्ने विषय उठाउँदै आएको देखिन्छ । तर, यसपटक संस्थापनभन्दा बाहिरबाट निर्वाचनमा होमिएका शिरीष पन्त भने आफूलाई संस्थापनबाहिरको भन्ने विषय स्वीकार गरेका छैनन् । २० वर्षदेखि संघको सदस्यता लिएर नवीकरण गर्दै आएकाले आफूहरु संस्थापनभन्दा बाहिरको नरहेको उनको भनाइ छ । संघले तोकेको शुल्क बुझाएर सदस्यता लिने र नवीकरण गरेपछि आफूहरु पनि संस्थाभन्दा बाहिरका सदस्य नभएको उनले जिकिर गरे ।
पन्त समूहले जिल्लाका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि ‘मेड इन चितवन’को अवधारणा बनाइ प्रचारप्रसार गरिने, भित्री बजारहरुमा व्यवसायीको सल्लाह, सुझावको आधारमा यातायातमा प्रणाली लागू गराउन पहल गरिने योजनासमेत अघि सारेको छ ।
अध्यक्ष पदका उमेदवार चिरञ्जीवी सुवेदी समूहले मङ्गलबार दियालो फुडल्यान्डमा पदाधिकारीसहित सामूहिक उमेदवारी घोषणा गरेको थियो ।
यस्तै, पन्त समूहले पनि आइतबार पदाधिकारीसहित उद्योग वाणिज्य संघको हलमा उमेदवारी घोषणा गरेको हो । संघले यही मङ्सिर १९ गतेदेखि २१ गतेसम्म नयाँ नेतृत्वका लागि अधिवेशनको मिति तोकेको छ । सोहीअनुसार उमेदवारहरु व्यवसायीसमक्ष आआफ्नो पक्षमा मत माग्न र आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै घरदैलो अभियानमा व्यस्त छन् ।




