
भरतपुर । इलाका प्रहरी कार्यालय जुटपानीबाट खटिएको प्रहरी टोलीले जेनजी आन्दोलनका क्रममा फरार गैँडा मुद्दामा १० वर्ष कैद ठहर भएका एक कैदीलाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनका क्रममा फरार रहेका कालिका–९ बस्ने ३६ वर्षीय तारा चेपाङलाई लुकिछिपी बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति ११ः५० बजेको समयमा कालिका–९, शेरबासबाट नियन्त्रणमा लिएको हो । निज चेपाङलाई आइतबार कैद भुक्तान प्रयोजनको लागि जिल्ला कारागार भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
निज चेपाङ गैँडा मारी खाग बिक्री गरेको मुद्दामा २०७७ माघ ५ गतेदेखि थुनामा रहेका थिए । चितवन जिल्ला अदालतले २०८० फागुन १० गते १० वर्ष कैद सजाय सुनाएको थियो ।
उनी कैदबापत २०८७ माघ ४ गतेसम्म थुनामा रहनुपर्नेमा गत भदौ २४ गते जिल्ला कारागारबाट भागेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
चितवन । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला कार्यसमितिका मन्त्री स्व. राममणि खनालको १३औँ पुण्यतिथिको अवसरमा बृहत् रक्तदान तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाका सभापति कृपाकुमारी राजभण्डारीको सभापतित्वमा र भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा सभापति, प्रमुखअतिथि, नेपाल रेडक्रस चितवन जिल्ला कार्यसमितिका उपसभापति रत्नप्रसाद सापकोटा, सभापति हरिप्रसाद पौडेल, भरतपुर महानगरपालिका उपप्रमुख एवं प्रमुखअतिथि चित्रसेन अधिकारी, सभापति कृपाकुमारी राजभण्डारीले शोक मन्तव्य राख्दै मौनधारण र पुष्प गुच्छा अर्पण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए। यस्तै, आइतबार साँझ दीप प्रज्ज्वलन गरिएको थियो ।
कार्यक्रममा नेरेसो चितवन जिल्ला कार्यसमिति, मातहतका ४१ वटा उपशाखा र विद्यालयस्तरका सर्कलहरुको समेत उपस्थिति रहेको थियो।
वक्ताहरूले स्व. राममणि खनाललाई सामाजिक क्षेत्रमा होनाहार व्यक्ति र रेडक्रसमार्फत सेवा पुर्याउने तथा शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय र परिचित व्यक्तित्व भएको भन्दै सम्झना गरेका थिए ।
सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आइतबार अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ ।
महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी सुटआउटलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि सम्पन्न भएका छन् । साथै स्वदेशी तथा विदेशी पर्यटकको मागलाई ध्यानमा राख्दै विश्वप्रसिद्ध हात्ती पोलोको झल्को पनि शनिबार महोत्सवस्थल बाघमारा चौरमा प्रस्तुत गरिएको थियो ।
महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार हात्ती पोलोका केही सामग्री उपलब्ध भएकाले पर्यटकहरूको माग र उत्साह बढाउन खेलको झल्को प्रस्तुत गरिएको हो । “खेल पूर्ण रूपमा सञ्चालन हुन नसके पनि यसको झल्को देखाउँदा दर्शक तथा पर्यटक निकै उत्साहित भए”, उनले भने ।
संयोजक थपलियाले महोत्सवको अन्तिम दिन आज हात्ती पूजन गरिने जानकारी दिँदै हात्तीलाई भगवान्का रूपमा मानी पूजा गर्न लागिएको बताए । साथै आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको छ । “यसपटक हात्तीको वनभोज बफेट शैलीमा हुनेछ । हात्तीलाई मनपर्ने परिकारहरू राखिनेछन्, जसबाट हात्तीले आफूलाई मन लागेको जति खान पाउनेछन् । यसले हात्तीलाई रमाइलो महसुस गराउँछ”, उनले भने ।
हात्तीमाथि यातना गरिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उनले हात्ती पनि पीडा र खुसी महसुस गर्ने संवेदनशील जीव भएको उल्लेख गरे । “हात्तीलाई कसरी पीडा हुन्छ र कसरी खुसी हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । महोत्सवमा हामीले कुनै पनि प्रकारका यातनाजन्य गतिविधि गरेका छैनौँ”, उनले स्पष्ट पारे ।
सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेको छ । महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका छन् । आयोजक संस्थाले हरेक वर्ष यही समयमा महोत्सव आयोजना गर्दै आएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ ।
प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेखेका छन् । उनीहरूबीच आइतबार बिहान सहमति भएको हो । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले हस्ताक्षर गरेका छन् ।
सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख गरिएको छ ।
यस्तै, पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।
त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् ।
यस्तो छ– बृहत् एकतासम्बन्धी सहमति :




