२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

रत्ननगर । यही पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा १३औँ संस्करणको रत्ननगर महोत्सव आयोजना हुने भएको छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ हुन लागेको महोत्सवलाई भव्य बनाउन तयारी तीव्र पारिएको छ ।

रत्ननगर महोत्सवको तयारी र उद्देश्यका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष शंकर गिरीले यसपटकको महोत्सवमा मह, रोजगार मेलालाई प्राथमिकता दिँदै नौलो कार्यक्रमको रुपमा रामजानकी मन्दिरको झल्को दिने गरी गेट निर्माण गरिएको बताए ।

महोत्सवमा विशेष आकर्षणका रुपमा दोस्रो चितवन मह उत्सव आयोजना गरिँदै छ । त्यसका लागि महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिने यो उत्सवका कारण मौरीपालन र महजन्य उत्पादनलाई प्रोत्साहन मिल्ने अध्यक्ष गिरीले बताए । यसैगरी, युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न रोजगार मेला–२०८२ पनि सञ्चालन हुनेछ, जसले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने उनले जानकारी दिए ।

महोत्सवको प्रवेशद्वारमा पहिलोपटक जनकपुरको रामजानकी मन्दिरको आकृतिसहितको भव्य गेट निर्माण गरिने भएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।

विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको उनले बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ४५० स्टलहरु रहने छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा महोत्सव स्थलमा थारु, मगर, गुरूङ, दराई, माझी, तामाङ र कुमाल जातिका परम्परागत सांस्कृतिक घरहरु बनाइएका छन् ।

यसपटक रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए । महोत्सवमा बालबालिकाका लागि फन पार्क, विभिन्न जातीय खाना र परिकारसहितको ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ पौष २९ देखि माघ ४ सम्म सौराहा चोक, बसपार्कमा गरिने छ । टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रवद्र्धनका लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम् संयोजक ज्ञानबहादुर विसुरालले बताए ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले बेरोजगारी न्यूनीकरण गर्दै रोजगारी सिर्जना गर्न निजी क्षेत्रले गरेको योगदानलाई राज्यले भुल्न नहुने बताए । उनले ८७ प्रतिशत रोजगारी सिर्जना गरेको निजी क्षेत्रको लगानी सुरक्षामा राज्य जिम्मेवार हुनुपर्ने बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।