
रत्ननगर । रत्ननगर–९, चितवनमा रहेको कपरखोरी बालुवाटार विपद् जोखिम न्यूनीकरण समाजको आठौँ वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
समाजका अध्यक्ष रामचन्द्र पौडेलको सभापतित्व एवम् रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुखअतिथि वडाध्यक्ष अधिकारीले कपरखोरी बालुवाटार विपद् जोखिम न्यूनीकरण समाजले समुदायमा आधारित विपद् व्यवस्थापन, तटबन्ध निर्माण, स्वास्थ्य शिविर, जनचेतना अभिवृद्धिलगायतका कार्यक्रम गर्दै आएको जानकारी दिँदै सामाजिक क्षेत्रमा यस संस्थाले गरेको योगदान उदाहरणीय रहेको बताए ।
वडा सचिव सूर्यप्रसाद ढुङगानाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सल्लहकारहरु मणिप्रकाश खतिवडा, बलराम बगाले, कपरखोरी माविका प्रधानाध्यापक डा. विष्णु कट्टेल, मोहना माविका प्रधानाध्यापक दयाराम ढुङ्गाना, वडा सदस्यहरु कमानसिं चौधरी, लेखनाथ तामाङ, सुष्मा खड्काथोकी, रत्ननगर–९ स्थित नगर स्वास्थ्यकेन्द्र प्रमुख विदुर बस्ताकोटी, रत्नप्रिय क्लबका अध्यक्ष वसन्त रानालगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा रत्ननगर–९ का ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरण गरिएको थियो ।
यस्तै, संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा सहभागी सेवाग्राहीका लागि औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।
बकुलहर रत्ननगर अस्पतालको प्राविधिक सहयोग रहेको स्वास्थ्य शिविरमा अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. शशांककुमार सिंहको नेतृत्वमा डा. एन्जिला श्रेष्ठ, डा. अनुपमा घिमिरे, सिअहेव अधिकृत नारायणप्रसाद ढुङ्गाना नारायणप्रसाद ढुङ्गाना, विशाल सिलवाल र सुष्मिता पाण्डे संलग्न रहेका थिए ।





