
रत्ननगर । पौष २५ गतेबाट सुरू हुने रत्ननगर महोत्सवको १३औँ संस्करणको मुख्य आकर्षण रामजानकी मन्दिरको आकृति रहने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव आउन ६ दिनमात्रै बाँकी रहँदा ८५ प्रतिशत काम सकिएको संघले जनाएको छ ।
यसपटकको महोत्सवमा मह उत्सव, रोजगार मेला र रामजानकी मन्दिरको झल्को दिने गेट र जलपरी मुख्य आकर्षणको रुपमा रहेको संघका अध्यक्ष शंकर गिरीले बताए । महोत्सव परिसरमा महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ ।
युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न आयोजना गरिएको रोजगार मेला–२०८२ ले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने गिरीले बताए । महोत्सवको प्रवेशद्वारमा पहिलोपटक जनकपुरको रामजानकी मन्दिरको आकृतिसहितको गेट निर्माणको काम भइरहेको छ ।
कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको उनले बताए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टलहरु रहने छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा महोत्सव स्थलमा थारु, मगर, गुरूङ, दराई, माझी, तामाङ र कुमाल जातिका परम्परागत सांस्कृतिक घरहरु बनाइएका छन् ।
‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारासहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।
महोत्सवअन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहा चोकस्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ । टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रवद्र्धनका लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम् संयोजक ज्ञानबहादुर विसुरालले बताए ।
कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको छ । महिलाहरु, फरक क्षमता भएका व्यक्ति र स्थानीय कृषकका उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइने छ भने कृषि तथा पशुपालनसम्बन्धी कार्यशाला र गोष्ठीहरु सञ्चालन हुनेछन् । उद्घाटनका दिन विभिन्न संघसंस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा निकालिने छ ।
रत्ननगरमा आयोजना हुने १३औँ रत्ननगर महोत्सवमा दैनिक रक्तदान कार्यक्रम हुने भएको छ । ब्लड डोनर्स सोसाइटी रत्ननगरले महोत्सव अवधिभर हरेक दिन रक्तदान कार्यक्रम गर्ने भएको हो । सोसाइटीका अध्यक्ष रमेश नेपालका अनुसार पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव बढ्दै गएकाले यो कार्यक्रमले त्यसको पूर्ति गर्न मह¤वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । “रक्तदान जीवनदान हो भन्ने सन्देश प्रवाह गर्दै महोत्सव अवधिभर दैनिकरुपमा रक्तदान शिविर सञ्चालन गर्न लागेका हौँ”, अध्यक्ष नेपालले बताए ।
समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव यही पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा हुँदैछ ।




