२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा दोस्रो मह उत्सव सुरू भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ चितवनको आयोजनामा रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सव परिसरमा मह उत्सव सुरू भएको हो ।

महको गुणस्तरीयताको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उत्सवको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले मह चाखेर उद्घाटन गरेका हुन् । सो अवसरमा समन्वय प्रमुख अधिकारीले महोत्सवभित्र किसानको उत्पादनलाई बजारीकरण गर्न उत्सव राखेकोमा खुसी व्यक्त गरे । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै सरकारले यस्ता मेला महोत्सवलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘चितवनमा महको उत्पादन राम्रो छ,’ उनले भने, ‘यस्ता मेला महोत्सवले उपभोक्तासम्म किसानको उत्पादन पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्दछ ।’

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले अघिल्लो वर्ष सौराहाको हात्ती महोत्सवमा प्रथम मह उत्सवको आयोजना गरेको थियो । त्यो कार्यक्रम प्रभावकारी भएपछि चितवनको रत्ननगर महोत्सवमा मह उत्सवको आयोजना गरिएको कार्यालय प्रमुख महेश रेग्मीले जानकारी दिए ।

मह उत्सव माघ २ गतेसम्म चल्नेछ । रेग्मीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्री कक्ष राखिएको छ । उनले परिसरमा आउनेहरुलाई महको महत्त्व दर्शाउँदै निःशुल्क मह चखाइने बताए । ‘हाम्रो उद्देश्य महको गुणस्तरीयता र बिक्री वितरणका लागि बजारीकरण गर्नु हो,’ मह उत्सवको उद्देश्य बताउँदै रेग्मीले भने, ‘यहाँबाट विदेशी नागरिकसहित देशभरका नागरिकले मह चाखेर जानुभएको छ ।’

बजारमा नक्कली मह आएको अवस्थामा महको गुणस्तरबारे उपभोक्तालाई जानकारीसमेत गराउने उद्देश्य राखिएको उनको भनाइ छ । मह उत्सवमा मह चाखेर मह चिन्ने प्रतियोगिता, महको महत्त्व र मौरीसम्बन्धी जनचेतनामूलक समेटिएको हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको छ । मह चाखेर महको प्रकार पत्ता लगाउनेलाई मह उपहार प्रदानसमेत गरिने छ ।

चितवनमा उत्पादन भएको महको गुणस्तरसमेत राम्रो रहेको मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईंले जानकारी दिए । कार्यालयले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ लेबलिङ’मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो । चितवनमा वार्षिक करिब साढे छ टन मह उत्पादन हुँदै आएको छ ।

रत्ननगर । रत्ननगर महोत्सवअन्तर्गत पूर्वी चितवनस्तरीय शंखनाद प्रतियोगितामा कलात्मक शंखनाद गर्दै राप्ती–४ का भगवान आचार्य विजेता भएका छन् । उपविजेतामा राप्ती–४ कै विश्वामित्र आचार्य तथा रत्ननगर–१० का मुकुन्द शर्मा पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमको सुरूवात शंखनादबाट गरिएको हो । शंखनाद प्रतियोगिताका निर्णायक संयोजक एवम् रत्ननगर उवासंघका कार्यसमिति सदस्य वेदप्रसाद आचार्य, राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष टीकाराम लामिछाने तथा सञ्चारकर्मी रामु आचार्य निर्णायक सदस्य रहेको सो कार्यक्रम कला तथा संस्कृति प्रवर्द्धन समिति संयोजक प्रकाशमणि सापकोटाको सभापतित्वमा भएको हो ।

निर्णायक संयोजक वेदप्रसाद आचार्यले शंखनाद गर्नुको महत्त्वबारे प्रकाश पार्दै शंखध्वनि पृथ्वीमा गुञ्जिएको प्रथम शब्दध्वनि भएको जसबाट ॐ को शब्द निस्किएको र यसलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिने गरिएको धार्मिक मान्यता रहेको बताउँदै शंखको महत्त्व धार्मिक, सांस्कृतिक र वैज्ञानिक तीनै दृष्टिकोणबाट धेरै ठूलो रहेको बताए ।

शंखनादको बहुआयामिक महत्त्वलाई बुझाउन रत्ननगर महोत्सवको १२ औँ संस्करणदेखि शंखनाद कार्यक्रम गर्दै दोस्रो संस्करण गरिएको रत्ननगर महोत्सव–२०८२ का मूल समिति संयोजक शङ्कर गिरीले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।