२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवमा कलाकार समीक्षा अधिकारीलाई दर्शकले साथ दिएका छन् । आइतबार साँझ महोत्सवको स्टेज उक्लिएकी समीक्षालाई दर्शकहरुले करिब एक घन्टा साथ दिए ।

साँझमा नारायणीको चिसो बढ्दै जाँदा स्टेजमा उक्लिएकी समीक्षाका गीतले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान ग¥यो । उनले आफ्ना चर्चित गीतहरुद्वारा दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । छड्के गलबन्दी, दुस्मन हेरेको हेर्‍यै, बिजुली बालेर लगायतका गीत गाएर समीक्षाले मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार आइतबार महोत्सवमा समीक्षासँगै सरिता गुरूङ तथा आरसी पौडेल र दीपक खड्काले प्रस्तुति राखेका थिए । त्यसैगरी, महोत्सवमा भजन प्रतियोगितासमेत सुरू भएको छ । महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको भजन प्रतियोगितामा १८ वटा भजन समूहको सहभागिता रहेको छ ।

गैँडाकोट महोत्सवमा आइतबार १० हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार आइतबार सार्वजनिक बिदाको दिन परेकाले महोत्सवस्थलमा दर्शकहरुको उपस्थिति राम्रो देखिएको हो ।

महोत्सव सुरू भएको तेस्रो दिनमै १० हजार दर्शकले अवलोकन गर्नु सकारात्मक पक्ष भएको सापकोटाले बताए । आगामी दिनमा दर्शकहरुको संख्या अझै बढ्दै जाने सापकोटाले बताए । महोत्सवमा २५० व्यावसायिक स्टलसँगै जलपरी, फिस टनेल, ओपेरा हाउस, कृषि उपज प्रदर्शनी, मुस्ताङको याक राखिएको सापकोटाले जानकारी दिए ।

महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका महासचिव एवम् महोत्सवको सचिवालय संयोजक तेजनारायण पाण्डेले महोत्सवको सुरक्षा व्यवस्था कडा पारिएको बताए । महोत्सव स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजी सुरक्षाकर्मी तथा सिसीटिभी क्यामेराबाट निगरानी भइरहेको पाण्डेको भनाइ छ ।

माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा अवलोकनका लागि दुई लाख भन्दा बढी दर्शक आउने भन्दै पाण्डेले महोत्सवमा २५ करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए ।

महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको महोत्सव मूल संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले जानकारी दिए । कँडेलका अनुसार ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागतरुपमा सहभागी भएका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी रत्ननगर महोसत्सवको १३औँ संस्करणमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा सुरू भएको महोत्सवको तेस्रो दिनसम्म आइपुग्न दिनप्रतिदिन अवलोकनकर्ताहरुको संख्या बढ्दै गएको संघका अध्यक्ष शङ्कर गिरीले बताए । महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भव्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् ।

महोत्सव प्रवेश गरेका अवलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातिको घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । आइतबार चर्चित गायिक रचना रिमालसहितका कलाकारको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका थिए ।

सोमबार पछिल्लो समय चर्चित गायक अर्जुन सापकोटासहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक प्रकाशमणि सापकोटाले जानकारी दिए ।

यसपटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अवलोकन मुख्य आर्कषणको रुपमा रहेको छ । महोत्सव परिसरमा महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रर्वद्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न आयोजना गरिएको रोजगार मेला–२०८२ ले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने गिरीले बताए ।

कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।

विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको खनालले बताए ।

पर्यटन प्रर्वद्धनतर्फ खगेरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिएको छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरुसमेत रहेका छन् ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टलहरू रहेका छन् । महोत्सव महोत्सवअन्तर्गत पौष २९ देखि माघ ३ सम्म सौराहाचोकस्थित बसपार्कमा छैटौँ चिकेन एन्ड एग रत्ननगर सांस्कृतिक खाना महोत्सव–२०८२ आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम् संयोजक ज्ञानबहादुर विसुरालले बताए ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।

खैरहनी । थारू संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यही पौष २९ गतेदेखि ११ औँ खिचरा महोत्सव–२०८२ आयोजना गर्न लागिएको छ ।

थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।

माघी पर्वको अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेषभूषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारू खानाका परिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विसं २०७० सालदेखि हरेक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको अवसरमा खिचरा महोत्सव हुँदै आएको छ ।

महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न ३५१ सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ ।

‘राष्ट्रिय एकता र विविधता हाम्रो सान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा १५० स्टल रहनेछन् ।

त्यसमध्ये थारु जातिलगायत विभिन्न जातिका खानाका परिकारहरु बिक्री वितरणका लागि २४ वटा स्टल रहने चौधरीले जानकारी दिए । महोत्सवमा थारु आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा तथा ओपेरा हाउस निर्माणसमेत गरिने छ ।

महोत्सवलाई चितवनवासी थारू समुदायले मात्र नभई सम्पूर्ण जातजातिले गर्वका रुपमा लिने गरेको चौधरीले बताए । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रवर्द्धन, स्थानीयस्तरमा उत्पादित वस्तुको प्रवर्द्धन एवम् शैक्षिक, वित्तीय संस्था र विभिन्न संघसंस्थाका स्टलहरु रहनेछन् ।

माघ १ गतेबाहेक हरेक दिन दिउँसो १ः०० बजेसम्म निःशुल्क प्रवेशको व्यवस्थासमेत आयोजकले मिलाएको छ । त्यसपश्चात् प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश टिकटको व्यवस्था रहेको छ भने विद्यार्थीका लागि ७० रुपैयाँ शुल्क तोकिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।