
खैरहनी । खैरहनीको खिचरा महोत्सव स्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ । रङ–रेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६, बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी हुन् ।
विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आएकी चौधरीका लागि आर्ट केवल पेसामात्रै होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । पुस २९ गतेदेखि सुरू भएको खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिएकी उनले भनिन्, “थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती बिस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।”
ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छन् । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिकरुपमा पनि सक्रिय छिन् । चार–पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आएकी उनका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ ।
चितवनको राप्ती नगरपालिका–६, बेल्डियाकी कलाकार सोमिना चौधरीले खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि कोरेका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उनी भन्छिन्, “पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरूरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।”
सानैदेखि पेन्टिङप्रति रूचि राखेकी चौधरीले पढाइसँगै व्यावसायिकरुपमा आर्ट अघि बढाउने निर्णय गरिन् । क्याम्पस पढ्दाखेरि आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उनमा थियो । आज उनका चित्रहरु महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् ।
“आर्ट भनेको प्यासन हो”, उनले भनिन्, “यो जबर्जस्ती सिकिने कुरा होइन, भित्रैबाट आउनुपर्छ ।” यही सोचका साथ उनी अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आएकी छन् । सोमिनाले साना बालबालिकादेखि व्यावसायिकरुपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आएकी छन् । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिकरुपमा आर्ट गर्दै आएकी उनका कलाकृतिको माग बढ्दो छ ।
चौधरीले भनिन्, “खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ, किनभने म पनि थारु हुँ ।”
सोमिनाका अनुसार आर्टको मूल्य केवल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्त्वमा निहित हुन्छ । खैरहनीको महोत्सव स्थलको त्यो पर्खाल अहिले केवल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केवल कलामात्रै होइन थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ ।
रत्ननगर । रत्ननगरस्थित टिकौली चौरमा जारी रत्ननगर महोत्सवको १३औँ संस्करणअन्तर्गत मङ्गगलबारदेखि चिकेन एण्ड एग फुड फेस्टिबल सुरू भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्ननगर वडा नं–१, सौराहा चोकस्थित बसपार्कमा फेस्टिबल सुरू गरिएको हो ।
संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका निमित्त सचिव सुशील केसीले फेस्टिबलको उद्घाटन गरेका थिए ।
सो अवसरमा केसीले पोल्ट्री क्षेत्रमा सरकारको लगानी न्यून रहेको बताए । पोल्ट्री विकास बोर्ड गठनमा सरकार चुकेको भन्दै उनले लगानी पनि नगर्ने र पोल्ट्री क्षेत्रको समग्र विकासका लागि किसानहरुबाट माग भएको पोल्ट्री विकास बोर्ड गठनमा समेत सरकार गम्भीर हुन नसकेको बताए । नीतिगत सुधार र पोल्ट्री क्षेत्रलाई लयमा लैजान पोल्ट्री विकास बोर्ड आवश्यक रहेको भन्दै उनले यसका लागि आफूले पहल गर्ने बताए ।
संघका अध्यक्ष गिरीले टिकौलीमा महोत्सव चलिरहँदा टाँडी बजारलाई पनि चलायमान गराउन तथा कुखुराको मासु र अण्डाको प्रवद्र्धनका लागि फेस्टिबल आयोजना गरिएको बताए । फेस्टिबलमा विभिन्न जातजातिका खानाको परिकारसमेत प्रवद्र्धनका लागि परम्परागत तथा रैथाने खानाका परिकारका स्टलहरुसमेत राखिएको उनले बताए ।
संघका पूर्वअध्यक्ष तथा फेस्टिबल संयोजक ज्ञानबहादुर विसुरालले कुखुराको मासु र अण्डाको खपत बढाउन उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासु र अण्डाको विशेष परिकार तथा जनजातिका परिकारसहित फेस्टिबल आयोजना गरिएको बताए । फेस्टिबलमा १५ वटा खानाका स्टलहरु रहेका छन् । साँझ पाँच बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने खाना महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने संयोजक विसुरालले बताए ।
संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हेटौँडाकी पशु विकास अधिकृत डा. सुस्मिता भट्टराई, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।
उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, रत्ननगर उवासंघका वरिष्ठ उपाध्यक्ष निराजन खनाललगायतको उपस्थिति थियो ।
फेस्टिबलको प्रवर्द्धकमा पशुसेवा विभाग, राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय, बागमती प्रदेश, पशुपक्षी विकास मन्त्रालय, पशुसेवा कार्यालय, प्रायोजकमा नेपाल कुखुरा व्यवसायी मञ्च, चितवन र सहप्रायोजकमा याक ब्रुअरीको बाह्सिङ्गे, हिमालयन डिष्ट्रिलरी रहेका छन् ।
उता, संघको आयोजना र रत्ननगर नगरपालिका संरक्षक रहेको रत्ननगर महोत्सवको पाँचौँ दिनसम्म आइपुग्दा अवलोकनकर्ताहरुको संख्या बढ्दै गएको छ । महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भव्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अवलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातिका घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ ।
कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको छ ।
गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवको मङ्गलबार १५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार महोत्सवमा मङ्गलबार साँझ दर्शकको अत्यधिक भीड रहेको थियो ।
पुस २५ देखि सुरु भएको महोत्सवमा अवलोकनकर्ताहरुको आकर्षण बढ्दै गएको सापकोटाले बताए । अर्जुन सापकोटा जिल्लाकै कलाकार एवम् समकालीन साङ्गीतिक क्षेत्रमा सर्वाधिक रुचाइएका कलाकार भएकाले पनि महोत्सवमा धेरै दर्शकहरु आएका उनले बताए । महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए ।
सांस्कृतिक कार्यक्रममा अर्जुन सापकोटासहित सपना रोक्का र भरत क्षेत्रीसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको महोत्सवका सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए । लम्सालका अनुसार भजन प्रतियोगिता जारी रहेको छ । स्थानीय कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले भजन प्रतियोगिता सञ्चालन गरिएको लम्सालको भनाइ छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत बुधबार चर्चित गायिका प्रीति आलेसहितका कलाकारहरु आउने लम्सालले बताए । लम्सालका अनुसार बुधबार प्रीति आले, वृन्दा परियार, शङ्कर क्षेत्री, निलम ढुङ्गाना, दिपेन थापाको प्रस्तुति रहनेछ ।
स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अनुमान रहेको छ ।
महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।




