२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कालिका । खैरहनी र कालिका नगरपालिकामा सीमान्तकृत महिलाहरूको आर्थिक सशक्तीकरणका लागि मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । खैरहनी–३, बुद्धशान्ति टोलमा सम्पन्न तालिम नेपाल दलित महिला उत्थान संघ (एडवान)ले सञ्चालन गरेको थियो ।

एडवानकी कार्यवाहक अध्यक्ष पम्फा परियार गुरुङको अध्यक्षता एवम् खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कावा अध्यक्ष गुरुङले कार्यक्रममा सहभागीहरुलाई महिलाको जीवनस्तर सुधारका लागि सीप, पहुँच र अवसर आवश्यक रहेको बताइन् । उनले तालिमले महिलालाई आत्मनिर्भर बन्न र परिवारको आर्थिक अवस्था सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

नगरप्रमुख शशिकुमार खनियाले नगरपालिकाले विभिन्न तालिमलाई निरन्तरता दिँदै सीमान्तकृत समुदायको विकासमा जोड दिएको बताए । उपप्रमुख कविता उप्रेतीले महिलाहरुले तालिममा सिकेका सीप व्यवहारमा उतार्न सकेमात्र आर्थिक अवसर सिर्जना हुने र समुदायमा सकारात्मक परिवर्तन आउने बताइन् ।

तालिममा सहभागीका तर्फबाट सन्जु तमाङले प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । यस्तै, स्वागत मन्तव्य महिला समूहकी सचिव चन्द्रा सुनारले राखेकी थिइन् । एडवानकी सामाजिक परिचालिका सुनिता दराईले तालिम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै महिला समूहलाई १२ हजार ५०० रुपैयाँबराबरको बीउपुँजी हस्तान्तरण गरिएको बताइन् ।

यसैगरी, कालिका–७, जागरण महिला समूहका सीमान्तकृत महिलाहरूका लागि सञ्चालन गरिएको तालिमको समापन गरिएको छ ।

तालिममा एडवानकी कार्यवाहक अध्यक्ष पम्फा परियार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख तामाङले महिलाहरू आर्थिकरूपमा सक्षम भएमात्र परिवार र समाज सशक्त बन्ने बताइ्न । तालिममा सिकेका सीप व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिइन् ।

यस्तै, वडाध्यक्ष कमलराज मोक्तानले वडाभित्रका सीमान्तकृत महिलाहरूलाई उत्पादनमूलक कार्यमा जोड्नु स्थानीय सरकारको प्राथमिकता भएको बताए । यस्ता तालिमहरूले महिलाको आयआर्जन बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा सामाजिक तथा सूचना शाखा अधिकृत प्रकाशचन्द्र पौडेल, प्रशिक्षक शिवप्रसाद पौडेल, एडवान उपाध्यक्ष तीर्थकुमारी विक, महिला समूह अध्यक्ष सुनमाया रुम्बा र सचिव रमिता महाजुलगायतले बोलेका थिए ।

एडवानकी सामाजिक परिचालिका कमला पन्थीले तालिम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै महिला समूहलाई १२ हजार ५०० रुपैयाँबराबरको बीउपुँजी हस्तान्तरण गरिएको बताइन् ।

रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औँ संस्करणको छैठौँ दिन बुधबारसम्म आइपुग्दा एक लाख ५५ हजारले महोत्सवको अवलोकन गरेका छन् ।

पौष २५ गतेबाट सुरु भएको महोत्सव ३० गतेसम्म आइपुग्दा अवलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । संघका कोषाध्यक्ष विनोद घिमिरेले टिकट बिक्रीको संख्या अपेक्षाकृत रहेको र महोत्सव अवलोकनकर्ताको संख्या बढ्दै गएको बताए ।

संघका अध्यक्ष शङ्कर गिरीले माघ १ गतेबाट महोत्सवमा अवलोकनकर्ताको संख्या झनै बढ्ने दाबी गरे । ‘माघ १ गतेबाट अवलोकनकर्ताको संख्या थेग्नै नसक्नेगरी बढ्ने अनुमान गरेका छौँ’, उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ ।’

महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भव्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अवलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातिको घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ ।

यसैबीच, रत्ननगर महोत्सवअन्तर्गत बुधबार आयोजना गरिएको भविष्यको खेतीपातीको चुनौती र अवसर तथा गीर गाई प्रवद्र्धनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कृषि विज्ञ र अनुभवी किसानहरुले सरकारको असहयोगका कारण अनेक प्रयत्न गर्दा पनि अर्गानिक उत्पादनलाई अगाडि बढाउन मुस्किल भएको बताएका छन् ।

रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा भविष्यको खेतीपातीका अभियन्ता डा. कृष्णप्रसाद पौडेलले खानाका लागि खेतीपाती, भविष्यको खेतीपातीको चुनौती र अवसरका विषयमा कार्यपत्र तथा अनुभवी पशुपालक किसान लक्ष्मण घिमिरेले नेपालका गीर गाईपालनको सम्भावना र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. पौडेलको कार्यपत्रमाथि बोल्दै बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले पैसा कमाउने नाममा रैथाने तथा अर्गानिक खेतीतर्फ किसानको ध्यान जान नसकेको बताएका थिए । व्यावसायिक खेती गर्ने नाममा बिहान–बेलुका हातमुख जोर्ने खानाको उत्पादनप्रति बेवास्ता हुने गरेको भन्दै उक्त कार्यले भविष्यमा सङ्कट पैदा हुने उनले बताए ।

सोही कार्यपत्रमाथि बोल्दै कृषि विज्ञ शारदा शर्मा पौडेलले अर्गानिक उत्पादनको प्रमाणीकरण र बजारीकरणको समस्या रहेको बताइन् । अर्गानिक उत्पादनलाई बिहान–बेलुका हातमुख जोर्ने माध्यम बनाउनुपर्ने भन्दै उनले अन्नबालीमा विषादीको प्रयोगले माटो जर्जर बनेको उल्लेख गरिन् ।

गीर गाईपालन सुरू गरेका खैरहनीका घिमिरेले नेपालमा गीर गाईको संख्या ५० को हाराहारीमा रहेको उल्लेख गर्दै चितवनमा ९ वटा मात्र रहेको जानकारी दिए । तराईमा गीर गाईपालनको सम्भावना उच्च रहेको भन्दै उनले यहाँको हावापानीमा गीर गाई सजिलै हुर्कन सक्ने बताए । अनुभवी किसान हरि अधिकारीले खाद्यबालीमा रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति शून्यमा झरिसकेको बताए । ‘रासायनिक मलको प्रयोगले माटो बिग्रियो’, उनले भने, ‘सुधार गर्न राज्य गम्भीर देखिएन ।’

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले रत्ननगर महोत्सवमा रैथाने बाली र पशुपालन विकासका लागि प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए । संघका पूर्वअध्यक्ष तथा गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले रत्ननगर महोत्सवमा कृषि र पशुपालनको व्यावसायिक विकास तथा बजारीकरणको पाटोलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै यसपटक महको उत्पादन र बजारीकरण, रैथाने बालीको संरक्षण र गीर गाईपालनलाई स्थापित गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताए ।

रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रविन लामाले चितवनको तरकारीखेतीमा ६० प्रतिशत बढी विषादीको प्रयोग हुँदै आएको भन्दै न्यूनीकरणमा नलागे सङ्कट उत्पन्न हुने बताए ।

कार्यक्रममा पूर्वमन्त्री केशवलाल श्रेष्ठ, किसान हरिप्रसाद पौडेल, विजय अर्याललगायतले मन्तव्य राखेका थिए । महोत्सवको गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, रत्ननगरका संस्थापक मेयर नारायण वन, समाजसेवी बलराम खनाललगायतको उपस्थिति थियो ।

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा रत्ननगर–१४, डुम्रीचोकस्थित नगर स्वास्थ्यकेन्द्रमा एआई प्रविधिबाट निःशुल्क छातीको एक्स–रे परीक्षण शिविर सम्पन्न भएको छ ।

नगर स्वास्थ्यकेन्द्र डुम्रीचोकका इन्चार्ज भेषकुमारी न्यौपानेका अनुसार कुल २२६ जनाको छातीको एक्स–रे परीक्षण गरिएकोमा दुई जनामा पिसिडी केस (छातीको क्षयरोग) पत्ता लागेको छ । यस्तै, एक्स–रेमा नदेखिएका शंकास्पद १० जनाको खकार सङ्कलन गरी थप जाँचका लागि बकुलहर रत्ननगर अस्पतालमा ‘जिन एक्सपर्ट’ परीक्षणका लागि पठाइएको उनले जानकारी दिइन् ।

रत्ननगर–१४ का वडाध्यक्ष एवम् नगर स्वास्थ्यकेन्द्र व्यवस्थापन समितिका अध्यक्ष होमनाथ रानाभाटले छातीको एक्स–रे परीक्षण परी कार्यक्रमको उद्घाटन गरेका हुन् । सो अवसरमा वडाध्यक्ष रानाभाटले सकभर रोग लाग्न नदिनेतर्फ हरेक व्यक्ति सचेत हुनुपर्ने र रोग लागेमा पनि उपचार गरे पूर्णरुपमा निको हुने भएकाले क्षयरोगका शंकास्पद व्यक्तिले परीक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले क्षयरोग लागेका बिरामीहरुका लागि वडा र कार्यपालिकाको तर्फबाट पौष्टिक आहार उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले क्षयरोग लाग्दैमा डराउनु नपर्ने र छ महिना नियमित औषधि सेवन गरेमा पूर्णरुपमा निको हुने बताए । रत्ननगर नगरपालिकाले सम्भावित जोखिमको क्षेत्रहरु पहिचान गरी रत्ननगर–१४ मा एआई प्रविधिबाट निःशुल्क छातीको एक्स–रे गरी क्षयरोगको स्क्रिनिङ शिविर सञ्चालन गरिएको जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत पौडलले क्षयरोग सरुवा रोग भएकाले हरेक व्यक्ति आफू सुरक्षित हुनुपर्ने बताए । भीडभाड बढी हुने स्थानमा सामाजिक दूरी कायम राख्दै क्षयरोग, कोभिडजस्ता सरुवा रोगबाट बच्न उनले सचेत गराए ।

कार्यक्रममा प्रमुखअतिथि सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले एआई प्रविधिको माध्यमबाट एक्स–रे गर्दा फोक्सोको अवस्था, श्वासप्रश्वासको अवस्था, धूँवा–धूलोको असर र मुटुको आकारबारे थाहा पाइने भएकाले यो प्रविधि निकै प्रभावकारी रहेको बताए । उनले उपचारबाट क्षयरोग निको हुने भएकाले कसैले पनि रोग लुकाउन नहुने बताए ।

रत्ननगर । रत्ननगर–९ वडा कार्यालयको आयोजनामा आधारभूत स्वास्थ्यकेन्द्र मोहनामा गर्भवती, सुत्केरी तथा क्षयरोगीहरुलाई पौष्टिक आहार वितरण गरिएको छ ।

स्वास्थ्यकेन्द्रमा नियमित सेवा लिनेमध्येबाट ६२ जना गर्भवती, सुत्केरी तथा क्षयरोगीहरुलाई पौष्टिक आहार वितरण गरिएको आधारभूत स्वास्थ्यकेन्द्र मोहनाका प्रमुख विदुर बस्ताकोटीले जानकारी दिए ।

उनका अनुसार १४ जना क्षयरोगका, एक जना कुष्ठरोगका र अन्य गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरिएको हो । चामल, दाल, तेल, अण्डा/घिउ, केराउ, चना, नुन, नुहाउने र लुगाधुने साबुन गरी जनही तीन हजार रुपैयाँबराबरको सामग्री वितरण गरिएको उनले बताए ।

रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले वडा कार्यालयले साङ्केतिकरूपमा स्वास्थ्य सचेतनाका लागि पोषण र सरसफाइ सामग्री वितरण गरेको बताए । रत्ननगरले आठपटक गर्भवती परीक्षण र ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको र तीन सरकारी अस्पतालमा ७५ लाखबराबरको मेडिकल कोष खडा गरी नागरिकलाई स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

सो अवसरमा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले पोषण शारीरिक वृत्तिविकासका लागि महत्त्वपूर्ण रहेकोले गर्भवती अवस्थादेखि नै पोषणयुक्त खानेकुरा खानुपर्ने बताए । सुनौलो हजार दिनसम्म बच्चाको तौल परीक्षण गरी कुपोषण हुनबाट जोगाउनसमेत गर्भवती तथा सुत्केरी महिलाहरुलाई आग्रह गरे ।

वडाध्यक्ष अनन्त अधिकारीले स्वास्थ्यकेन्द्रमा नियमित परीक्षण गर्ने गर्भवती तथा सुत्केरी महिलाका लागि वडा कार्यालयले हरेकवर्ष पौष्टिक आहार वितरण गर्दै आएको बताए । वडामा भविष्यका कर्णाधारहरु स्वस्थ जन्मिओस् र वडावासीले नियमित सेवा लिन सकून् भनेर स्वास्थ्य शिविरका कार्यक्रमहरु सञ्चालन गरिँदै आएको उनले बताए । उनले भने, ‘अब कसैले पनि रोग पालेर बस्नुपर्दैन । उपचारको अभावमा कोही मर्नुपर्दैन । वडावासीको स्वास्थ्य सरोकारका विषयमा हामी अत्यन्त संवेदनशील छौँ ।’

वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य कमानसिङ चौधरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्य लेखबहादुर तामाङ, सबिता चौधरी, सुष्मा खड्काथोकी, मोहना माविका प्रधानाध्यापक दयाराम ढकाल, समाजसेवी रामचन्द्र पौडेल, मणिप्रकाश खतिवडा, स्वास्थ्यकर्मीहरुलगायतको उपस्थिति रहेको थियो ।

भरतपुर । सात वर्षअघि सुरू गरिएको भरतपुर चक्रपथको उद्घाटन भएको छ । भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने सडक ‘भरतपुर चक्रपथ’ (एनएच–७७) उद्घाटन गरिएको हो । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरिएको हो ।

स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माण कार्य विभिन्न चरणमा सम्पन्न हुँदै आएको थियो । उक्त सडकको अधिकांश खण्डमा काम सम्पन्न भइसकेको छ । केही स्थानमा कालोपत्र तथा अलाइनमेन्ट मिलाउने काम बाँकी रहेको छ ।

उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तह आएपछि भरतपुरमा उल्लेखनीय विकास कार्य भएको बताइन् । उनले भनिन्, ‘महानगरपालिकाको गौरवको प्राथमिकता प्राप्त योजनाका रूपमा हामीले यसलाई अघि बढाएका हौँ, देशकै सबैभन्दा लामो महानगरस्तरीय ‘रिङरोड’ अहिले राष्ट्रिय राजमार्ग (एनएच)का रूपमा विकास भएको छ ।’ केन्द्रीय सडकका रूपमा सूचीकृत भएसँगै अब यस सडकलाई केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर हेर्ने उनले बताइन् ।

अरबौँ रुपैयाँको लगानीमा संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा यो सडक निर्माण गरिएको हो । सडक पूर्ण रूपमा पक्की भइसकेको छ, कतिपय स्थानमा व्यवस्थापनका काम बाँकी रहेको छ । ‘जहाँ जसरी सम्भव हुन्छ, त्यसैअनुसार निर्माण गरिएको छ, जनतालाई मर्का पर्नेगरी बाटो विस्तार गरिएको छैन’, दाहालले थपिन् ।

सडकको मापदण्ड ३० मिटर कायम गर्ने महानगरपालिकाको निर्णय रहेको र वडाबाट आएका सुझावका आधारमा छलफल गरी व्यावहारिक ढङ्गले काम अघि बढाइएको उनले बताइन् । आगामी दिनमा यस सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख दाहालले भरतपुरमा भौतिक विकासले फड्को मारेको उल्लेख गरिन् । अब सामाजिक विकास र रोजगारी सिर्जनालाई महानगरले प्राथमिकतामा राख्ने बताइन् ।

कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको समग्र विकासमा चक्रपथले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भौतिक र सामाजिक विकासलाई सँगसँगै अघि बढाउन महानगरपालिका निरन्तर लागिपरेको जानकारी दिए ।

संघीय, प्रदेश र स्थानीय तहको लगानीमा निर्माण भएको रिङरोडको शिलान्यास २०७५ असार २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढको पुलचोकमा गरेका थिए । महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार चक्रपथ सुरू भएको सात वर्षमा अधिकांश स्थानमा कालोपत्र सम्पन्न भएको छ भने केही खण्डमा ‘अलाइनमेन्ट’ स्पष्ट नभएकाले काम बाँकी रहेको छ ।

चक्रपथका केही भाग राष्ट्रिय राजमार्गसँग समेत जोडिने उनले बताए । चक्रपथको एउटा खण्ड नारायणगढको पुलचोकबाट नारायणी नदीतर्फ गोलाघाटसम्म पुग्छ । उद्घाटन भएको अर्को खण्ड गोन्द्राङबाट जंगलको किनारैकिनार पटिहानी–जगतपुर हुँदै पुनः गोलाघाटमै जोडिन्छ ।

यसैबीच, भरतपुर महानगरको केन्द्र भाग हुँदै विभिन्न वडा भएर बग्ने ३० दशमलव दुई किलोमिटर लामो केरुङ्गा खोलाको सौन्दर्यीकरण कार्यअन्तर्गत भरतपुर–९ र १२ मा सम्पन्न भएका कामको पनि उद्घ्घाटन गरिएको छ । महानगर प्रमुख दाहाल र उपप्रमुख अधिकारीले उक्त कार्यको संयुक्त रूपमा उद्घाटन गरिएको हो ।

प्रमुख दाहालले महानगर क्षेत्रभित्र बग्ने खोलालाई चरणबद्ध रूपमा सौन्दर्यीकरण गर्ने काम थालिएको बताइन् । उनले केरुङ्गा खोला महानगरको गौरवको आयोजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै भौतिक विकाससँगै सौन्दर्यीकरण र वातावरणीय सुधारका कामलाई पनि प्राथमिकता दिइएको बताइन्

पुङ्गी खोला र केरुङ्गा खोलालाई सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम सुरू भइसकेको उनले जानकारी दिइन् । उपप्रमुख अधिकारीले महानगरको भित्री भागमा बग्ने खोलालाई व्यवस्थित गर्नु महानगरको दायित्व भएको बताए । खोलालाई व्यवस्थित गर्दै करिडोरका रूपमा विकास गर्दा वातावरणीय सन्तुलनमा समेत सकारात्मक प्रभाव पर्ने उनले उल्लेख गरे ।

भरतपुर । भरतपुर–३, कमलनगरमा मुख्य कार्यालय रही महानगरका विभिन्न वडामा शाखा कार्यालय रहेको जनता कृषि सहकारी संस्थाले आफ्नो नवौँ साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाले नारायणगढमा १५ सय बढी सदस्यहरुका बीचमा आफ्नो साधारण सभा सहकारीको मुख्य कार्यालयको सभाहलमा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष क्या. हुमनाथ ढकालको अध्यक्षता एवम् भरतपुर महानगरपालिकाका रोजगार प्रवद्र्धन शाखाकी उपप्रमुख रोजी केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

असल ऋणीहरु र असल बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन राजन पौडेलले गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।