२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एक दिन छाडा छोडिएको भुस्याहा एउटा कुकुर उनीहरू नजिकै पुग्यो ।

पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिँदै चोट लाग्ने गरी कुकुरलाई लखेटे । त्यो देखेर ती आमाछोरीलाई निकै नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे ।

सोही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिए । आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरे । माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लैजाने निधो गरे ।

ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पुर्‍याएका विनोद ढकालले उक्त कुकुर यसै साता अमेरिका पुगेको बताए । उनका अनुसार, अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उनकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लगेका हुन् ।

ढकालले भने, ‘कुकुरलाई पिट्दा रोएका ती आमाछोरीले अमेरिका लैजान्छौँ भनेपछि सबै प्रक्रिया पुर्‍याएर पठाएको हुँ । गत आइतबार त्यहाँ पुगेको खबर पाउँदा निकै खुसी लागेको छ ।’

गत जुनमा उनीहरू यहाँ आएका थिए । दुई साता सोही होटलमा बस्ने क्रममा यो घटना भएको थियो । ढकालका अनुसार त्यतिबेला दुवै जना पूर्वनिर्धारित कार्यसूचीका कारण कुकुर रेखदेखका लागि एक जना व्यक्तिलाई जिम्मा लगाएर गए । उनले भने, ‘पशु चिकित्सकको परामर्शमा नियमित स्वास्थ्य परीक्षण गर्दै कुकुरलाई राखियो । पछि फिट टू फ्लाइटको अनुमति र पेट पासपोर्ट बनाएर कतार एयरलाइन्समार्फत कुकुरलाई पठाइयो । उक्त कुकुर अमेरिकाको कोलोराडोमा पुगेको छ।’

कुकुर अमेरिका पुर्‍याउने सबै प्रक्रिया पूरा गर्दा अमेरिकन आमाछोरीले १० हजार अमेरिकन डलरभन्दा बढी खर्च गरेको ढकालले सुनाए । ‘मानिसलाई जनावरको माया कतिसम्म हुँदोरहेछ भन्ने उनीहरूबाट थाहा पाएँ । अमेरिका पुगेपछि दुई दिन क्वारेन्टिनमा राखेको खबर र स्वास्थ्य परीक्षण गरेर बाहिर हिँडाइएको तस्बिर र भिडियो पठाएपछि म पनि ढुक्क भएको छु,’ ढकालले भने ।

रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी रत्ननगर महोत्सवको १३औँ संस्करणमा बिहीबार दर्शकको भीड देखिएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरू भएको उक्त महोत्सवको बिहीबार मात्र ४५ हजार बढीले अवलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

महोत्सवको सातौँ दिनसम्म आइपुग्दा करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गरेको उनको दाबी छ । संघका कोषाध्यक्ष विनोद घिमिरेले बिहीबार माघेसङ्क्रान्ति परेकाले महोत्सवमा उत्सहाजनक उपस्थिति देखिएको भन्दै आगामी दिनमा अवलोकनकर्ताको संख्या अझै बढ्ने दाबी गरे ।

महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भव्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अवलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ ।

यसपटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अवलोकन मुख्य आर्कषणको रुपमा रहेको छ । महोत्सव परिसरमाझ महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ ।

विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । पर्यटन प्रवर्द्धनतर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव माघ ६ गते सम्म चल्ने छ । यता महोत्सवअन्तर्गत रत्ननगर वडा नं–१ सौराहाचोकमा चिकेन एण्ड एग फुड फेस्टिबल जारी रहेको छ ।

कुखुराको मासु र अण्डा तथा स्थानीय विभिन्न जातजातिको खानाको प्रवर्द्धनको लागि फुड फेस्टिबल आयोजना गरिएको संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुरालले बताए । फेष्टिबल माघ ३ गतेसम्म चल्ने छ । साँझ ५ बजेबाट सुरू हुने फेस्टिबलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।