
गैँडाकोट । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन भएको चौथो गैँडाकोट महोत्सव–२०८२ सकिएको छ । करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गर्दा २० करोड बढीको कारोबार भएको जनाइएको छ ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले आर्थिक मन्दीका कारण महोत्सवमा अपेक्षित कारोबार नभए पनि महोत्सव सफल भएको दाबी गरे ।
“हामीले २५ करोडको कारोबार हुने अनुमान गरेका थियौँ”, उनले भने, “आर्थिक मन्दीका कारण करिब २० करोडको कारोबार भएको प्रारम्भिक तथ्याङ्क निकालेका छौँ ।” यद्यपि, गैँडाकोटमा आयोजना भएको महोत्सवले जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सघाएको पाण्डेले बताए ।
पुस २५ देखि सुरू भएको महोत्सव शनिबार १६औँ दिनमा समापन गरिएको हो । महोत्सवले जिल्लामा उत्पादन भएका कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन र बजारीकरणमा सघाएको संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल संयोजक छवि कँडेलले बताए ।
“कृषि तथा उद्योगको क्षेत्रमा नवलपुर गण्डकी प्रदेशकै अग्रणी जिल्लाको रुपमा रहेको छ”, कँडेलले भने, “यस महोत्सवले यहाँको कृषि उपजलाई प्रवद्र्धन गर्न सघाउँदै कृषक र उद्यमीहरुको हौसला वृद्धि गरेको हामीलाई महसुस भएको छ ।”
महोत्सवका क्रममा कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषकले उत्पादन गरेका बन्दा, गाजर, मुला, काउली, ब्रोकाउली, भेडेखुर्सानीसहितका कृषि उपजहरुको निःशुल्क प्रवद्र्धन गर्दै प्रदर्शनी गरिएको संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले बताए ।
महोत्सवमा औद्योगिक उत्पादनसँगै अटो, रेस्टुरेन्ट, घरायसी र उपभोग्य वस्तु गरी २५० स्टल तथा बाल उद्यान र जलपरी शो राखिएको उनले बताए । महोत्सवमा स्थानीय अदुवाको जामलाई प्रवद्र्धन गर्ने गरी प्रदर्शनीमा राखिएको भन्दै यसले नवलपुरको उत्पादनको पहिचान बनाउन मद्दत पुगेको उनले बताए ।
महोत्सव उद्घाटनका दिन आयोजित शोभायात्रामा सहभागीमध्ये उत्कृष्ट १७ समूहलाई समापनका क्रममा शनिबार पुरस्कृत गरिएको महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।
विभिन्न धार्मिक, शैक्षिक, सामाजिक संघसंस्था तथा खेलकुद, सामुदायिक वनलगायत पालिकामा क्रियाशील ३५० भन्दा बढी समूहको सहभागिता रहेको शोभायात्रामा सहभागीमध्ये १४ जनालाई सान्त्वना पुरस्कार तथा तीन समूहलाई पहिलो, दोस्रो र तेस्रो गरी पुरस्कृत गरिएको उनले बताए ।
महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय कला र संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय भजन प्रतियोगिता आयोजना गरिएको थियो ।
महोत्सव समापनका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले महोत्सवले गैँडाकोटको मात्रै नभई समग्र जिल्लाको धार्मिक, पर्यटकीय गतिविधि बढाएको बताए । स्थानीयस्तरमा हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै रोजगारी र उत्पादन वृद्धिमा सघाउ पु¥याउने अधिकारीको भनाइ थियो ।
महोत्सवमा हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुले साङ्गीतिक प्रस्तति राखेका थिए ।
खैरहनी । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ को आयोजनामा शनिबार निर्वाचनकेन्द्रित विशेष भेला आयोजना गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले बदलिँदो परिवेशसँगै रुपान्तरणसहित देश बदल्ने संकल्प बोकेर कांग्रेस चुनावी मैदानमा होमिएको बताए । जनताको भरोसाको पार्टी बनेर देशको समुन्नतिका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेर कांग्रेस एकढिक्का भएर अगाडि बढेको उनको भनाइ थियो ।
उनले नयाँ परिवर्तनसँगै पुरानो अनुभव भएका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई क्षेत्र नं १ को उमेदवार बनाएर अगाडि बढेको र उनले यस क्षेत्रका मतदाताको आशा र अपे्क्षा पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले युगअनुरुप कांग्रेसमा रुपान्तरण भएको र सिंगो पार्टी अझै मजबुत भएर आफ्ना उमेदवारलाई जिताउन अगाडि बढेको बताए । दशकौँसम्म कांग्रेसमा रहेर इमानको राजनीति गरेका र सामाजिक क्षेत्रमा योगदान गरेका बुर्लाकोटीलाई क्षेत्र नं १ का मतदाताले न्याय गर्ने विश्वास व्यक्त गर्दै बधाई तथा शुभकामना दिए ।
कांग्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराका साथ कांग्रेस चुनावमा होमिएको र स्थानीयका समस्यादेखि, विद्यार्थी, युवा–तरुण, किसान र जेनजीका समस्या निराकरणका लागि भावी प्रधानमन्त्री गगन थापाको नेतृत्वमा कांग्रेस सरकारमा जानुपर्ने बताए । देशलाई समृद्धिको दिशामा लैजान कांग्रेसका उमेदवारलाई जिताउनुपर्ने उनले बताए ।
आफूलाई पार्टीले उच्च मूल्याङ्कन गरेर मैदानमा उतारेको बताउँदै आफूले जनताको भोट खेर जाने अवस्था आउन नदिन्ने बताए । उनले भने, मलाई पैसा कमाउनु छैन । ५० वर्षदेखि सामाजिक क्षेत्रमा योगदान दिँदै आएको मान्छे हुँ । मलाई कुनै पनि लोभ छैन ।’
कांग्रेस धादिङका सभापति एवम् पूर्वमन्त्री रामनाथ अधिकारीले राजेन्द्रप्रसाद बुर्लाकोटी आफ्नो मित्र एवम् राजनीतिक सहयात्री रहेको बताउँदै राजनीतिमा परिपक्व र समाजसेवामा प्रतिबद्ध रहेका बुर्लाकोटीलाई क्षेत्र नं १ का मतदाताले यसपटक न्याय गर्ने बताए । कुनै लोभ, मोह र व्यक्तिगत महत्त्वाकाङ्क्षा नभएका यस्ता व्यक्तिलाई विजयी गराउनु लोकतन्त्रकै जीत हुने उनको भनाइ थियो ।
क्षेत्र नं १ का क्षेत्रीय सभापति एवम् निर्वाचन परिचालन मूल समितिका संयोजक किरणभूषण ओलीको सभापतित्वमा सम्पन्न भेलामा कांग्रेस नेता एवम् पूर्वमन्त्री शेषनाथ अधिकारीले सचेत मतदाताले सुधारिएको कांग्रेसका उमेदवारहरुलाई मतदान गरी विजयी गराउनेमा आफू आशावादी रहेको बताए ।
क्षेत्रीय सचिव उमेश गिरीले सञ्चालन गरेको कार्यक्रममा जेनजी युवा नवीन थापाले परिवर्तनलाई आत्मसात् गरेको कांग्रेसका उमेदवारलाई जिताउन युवाको साथ र समर्थन रहने प्रतिबद्धता जनाए ।
चितवन । अरुण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भूषाल चयन भएका छन् ।
चौथो अधिवेशनबाट ९ जनाको कार्यसमिति र ३ जनाको लेखा समिति निर्विरोधरूपमा चयन भएको निर्वाचन संयोजक मेघनाथ पौडेलले जानकारी दिए ।
अधिवेशनबाट उपाध्यक्षमा मोहदत्त पौडेल (सुरज), सचिवमा शिवराज दुवाडी (माधव), कोषाध्यक्षमा ध्रुवराज लामिछाने र सदस्यमा क्रमशः महेश पाण्डे, सुरेश भूषाल, रमाकान्त पौडेल, दुर्गाप्रसाद घिमिरे र विष्णुहरि आचार्य निर्विरोधरूपमा चयन भएका हुन् ।
यस्तै, लेखा समिति संयोजकमा रामचन्द्र देवकोटा सदस्यमा क्रमशः विष्णु श्रेष्ठ र डिल्लिराम रखाल सर्वसम्मत चयन भएका छन् ।





