२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

भरतपुर । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ का उमेदवार मीना खरेलले चुनावी अभियान सुरू गरेकी छन् । भरतपुरको लङ्कूस्थित उनको घरबाट सुरू भएको चुनावी अभियानमा राजनितिक दलका विभिन्न महिलाहरुले उनको घरमै पुगेर स्वागत गरेका हुन् ।

कार्यक्रममा जिल्ला, प्रदेश, क्षेत्र, वडा, टोललगायत सबै तहका महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । जसमा उनीहरुले खरेललाई आशीर्वाद दिँदै जितको शुभकामना व्यक्त गरे । चितवन क्षेत्र नम्बर २ का लगभग सबै क्षेत्रबाट महिलाहरूको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रममा माहोल उत्साहपूर्ण बनेको थियो ।

यस्तै, मीना खरेलले आफ्नै निवासमा आएर महिला दिदीबहिनी, आमाबुवाहरुबाट आशीर्वाद पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले महिलाहरूको उत्साहजनक उपस्थितिले आफ्नो जीत भएको अनुभव गराएको बताइन् ।

उनी भन्छिन्, बालमस्तिष्कदेखि राजनीतिक चेत भोगेर राजनीतिक बुझाइलाई समाजसेवाको पाटोबाट निरन्तर महिला बालबालिकाको सेवामा खटिरहेँ । त्यसको मूल्याङ्कन गर्दै पार्टीले दिएको टिकट, मेरो उमेदवारीमा पार्टीका साथी र पार्टीमा आबद्ध नभएका अन्य स्वतन्त्र महिलाहरु मीनाको उमेदवारी हाम्रो उमेदवारी हो भन्नुभएको छ । जसले गर्दा समग्र महिलाको प्रतिनिधित्व गर्दै कानुन निर्माण गर्ने ठाउँमा पुगेर समाजको सेवा र विकासमा हिजोजसरी भोलिका दिनहरूमा पनि निरन्तरता दिन चाहन्छु ।’

संविधानले ३३५ महिलाको व्यवस्था गरे पनि हाल पार्टीका तर्फबाट ११ प्रतिशत मात्रै महिला उमेदवार भएकाले निर्वाचनमा होमिन लागेका महिला उमेदवारहरूलाई जिताउनुपर्ने चुनौती पनि रहेको उनको भनाइ थियो ।

खरेलले चितवन क्षेत्र नम्बर–२ मा आफ्नो प्रतिस्पर्धी अरू कोही नभई आफू स्वयम् भएको दाबी गर्दै यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशतभन्दा बढी महिलाहरू रहेको कारण चितवनका महिलाहरूले आफूलाई मतदान गर्ने पूर्ण विश्वास व्यक्त गरिन् । महिलाहरूको न्यायका लागि सधैँ अग्रपङ्क्तिमा रहने बताउँदै उनले यस क्षेत्रबाट विजयी भएमा महिलामाथि हुने अन्याय, हिंसा र विभेदका मुद्दा संसद्मा सशक्तरूपमा उठान गर्ने बताइन् ।

विजयपश्चात् चितवन क्षेत्र नम्बर २ को पहिचान मजबुत बनाउँदै राष्ट्रियस्तरमै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै खरेलले आफ्नो व्यावहारिक अनुभव र विगतको कामका आधारमा आफू जिम्मेवारी वहन गर्न पूर्णरूपमा सक्षम रहेको बताइन् ।

–केशव भट्टराई

रत्ननगर । सङ्घर्ष, उद्यम र समाजसेवा क्षेत्रमा अग्रणी नाम हो– गीता देवकोटा । दर्जनौँ सामाजिक संघसंस्थामा रहेर कुशल नेतृत्व गरिसकेकी उनी महिला नेतृका रुपमा उनले राजनीतिक क्षेत्रमा पनि उत्तिकै योगदान दिएकी छन् । कांग्रेस महासमिति सदस्य रहेकी देवकोटा बागमती प्रदेशबाट राष्ट्रिय सभामा विजयी भएकी छन् । मौरीपालन पेसालाई अँगाल्दै नेपाली कांग्रेसको राजनीतिलाई अगाडि बढाएकी देवकोटा चितवनकी सफल नेतृ हुन् ।

कांग्रेसले बागमती प्रदेशतर्फ नेतृ देवकोटालाई एकमात्र उमेदवार बनाएको थियो । आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा देवकोटाले बागमती प्रदेश सभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको समर्थनमा मनोनयन दर्ता गराएकी थिइन् ।

देवकोटाको जीवन–सङ्घर्ष

विसं २०२८ सालमा रत्ननगर–१२, जमुनापुरमा जन्मिएकी गीता रत्ननगर–१४, डुम्रीचोक निवासी विलभद्र देवकोटासँग वैवाहिक बन्धनमा बाँधिइन् । पहिलो सन्तानको रुपमा विगेश देवकोटालाई जन्म दिएको छोटो समयमै टिकौली जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा परी श्रीमान्को निधन भयो । उनका श्रीमान् विलभद्र नेपाल वायुसेवा निगममा कार्यरत थिए ।

आफ्नो जीवनमा अकल्पनीय बज्रपात परेपछि गीताले दुधेबालकको पालनपोषण गर्दै एकल महिलाका रुपमा सङ्घर्ष गरिन् ।

कहालीलाग्दो विगतलाई आशामा परिणत गर्दै उनी राजनीति र समाजसेवासँगै उद्यमशीलतासँग जोडिइन् । सुरूवातमा दुई घार मौरीबाट उद्यम सुरू गरेकी उनले व्यवसायबाट कसरी मनग्य आम्दानी गर्न सकिन्छ भन्नेमा आफ्नो सम्पूर्ण ध्यानकेन्द्रित गरिन् । फलस्वरुप, व्यवसाय सुरू गरेको पाँच वर्षभित्रै ५० घार मौरी हुँदै २०० घारसम्म मौरीपालन गर्न सफल भइन् ।

तत्कालीन समयमा मौरी र मह उत्पादनसँगै अघि बढाउन धेरै कठिन अवस्था थियो । मौरी चरन क्षेत्रको अभाव, मौरीजन्य उपजको बजारीकरण हुन नसकेको अवस्थामा मौरी चरनको लागि स्थानान्तरण गरी बाहिरी जिल्ला जानुपर्ने अवस्थामा एकल महिलालाई हेर्ने दृष्टिकोण र लैङ्गिक विभेद समाजमा चर्को रुपमा थियो । जस्तोसुकै अवस्थामा पनि बिचलित नभईकन उनी अगाडि बढ्दै गइन् ।

विसं २०५५ सालमा नेपाल मौरीपालक महासंघ स्थापना भएपछि सदस्यमा आवद्ध भइन् । उनी संस्थाले दिएको जिम्मेवारी वहन गर्दै २०६१ सालदेखि केन्द्रीय महासंघको उपाध्यक्ष रहेर काम गर्दै आएकी छन् । मौरीपालन व्यवसायले नै उनलाई नेतृत्व तहसम्म पुर्‍याएको हो । छोराको लालन–पालन, शिक्षा–दीक्षादेखि उच्च शिक्षा अध्ययनका लागि विदेश र परिवारको सम्पूर्ण खर्च यही व्यवसायले नै धानेको छ ।

अहिले उनले ‘गीता वी फर्म’मार्फत कन्चन मह उत्पादन गरी स्वदेश र विदेशमा समेत निर्यात गर्दै आएकी छन् । २० वर्षको कलिलो उमेरमै श्रीमान् गुमाउनुपरेको पीडा र सन्तान हुर्काउनुको सङ्घर्ष कम्ती चुनौतीपूर्ण थिएन । तर, जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई बिचलित नहुन सल्लाह सुझाव दिने र सहयोग गर्ने अभिभावक, सामाजिक व्यक्तित्व, राजनीतिककर्मी तथा व्यावसायिक साथीहरुप्रति उनले आभार प्रकट गरेकी छन् ।

सामाजिक संघसंस्थामा आवद्धता

विसं २०५९ सालमा सृजनशील बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेकी उनले ९ वर्षसम्म चार कार्यकाल पूरा गरिन् । संस्थालाई उचाइमा पुर्‍याउन उनको महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । यस्तै, उनले दीपज्योति महिला उत्थान संस्था पिठुवामा २०५७ सालदेखि १० वर्षसम्म तीन कार्यकाल अध्यक्षका रुपमा कार्य गरिन् । महिला सशक्तिकरणका लागि एकल महिला र आवाजविहीनको आवाज बनेर उनले उल्लेख्य योगदान गरिन् ।

नेपाल रेडक्रस सोसाइटी जुटपानीको कार्यसमिति सदस्य रहेकी उनी हाल नेरेसो पिठुवामा कोषाध्यक्षको जिम्मेवारीमा छन् । रेडक्रसमार्फत मानवीय कार्य, उद्धार, राहत र रक्तदानमार्फत उनले समाजमा उल्लेख्य भूमिका खेलेकी छन् ।

यस्तै, गणेश मन्दिर व्यवस्थापन समिति पिठुवामा दुई कार्यकाल अध्यक्ष रहेकी उनले द्वारिकादास माविको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेकी छन् । रत्ननगर–१४ को वडा सदस्य रहेकी उनी एकल महिला नगरस्तरीय समन्वय समितिको अध्यक्ष रहेर एकल महिलालाई संगठित गर्दै उनीहरुको हकअधिकार र समस्या निराकरण गर्दै आएकी छन् ।

–केशव भट्टराई

सौराहा । क्षयरोगको रोकथाममार्फत क्षयरोग अन्त्य गर्ने परियोजनाको समीक्षा र योजना कार्यशाला पर्यटकीय नगरी सौराहामा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले सरकारको महत्त्वाकाङ्क्षी लक्ष्यअनुरुप सुषुप्त क्षयरोगको परीक्षण, स्क्रिनिङ र प्रभावकारी उपचारमार्फत सन् २०३५ सम्ममा क्षयरोगीको संख्या ३५०० भन्दा कम र सन् २०५० सम्ममा ५० भन्दा कम गरी लक्ष्य हासिल हुनेगरी काम गर्न आवश्यक रहेको बताए ।

सुषुप्त क्षयरोगको निदान र उपचारका लागि पाइलट प्रोजेक्टका रुपमा चितवन र प्युठान जिल्लामा विराट नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी नेपाल) र रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले आर्थिक सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा स्थानीय तह र प्रदेशहरुबीच समन्वय गरी क्षयरोग नियन्त्रणका लागि बजेट बढाएर ७७वटै जिल्लामा कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मेडिकल सिटीका रुपमा विकास भइरहेको चितवनमा ड्रग रेसिस्टेन्ट (डिआर) टिबी सेन्टर स्थापनाका लागि आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता उनले जनाए ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा नवीन प्रकाश शाहले क्षयरोगको उपचार गरेर मात्र नहुने भन्दै पाँच वर्षमाथिको निवारक उपचार गर्नका लागि लगानी बढाउनुपर्नेमा जोड दिए ।

डा। शाहले नेपालमा आर्थिक वर्ष २०८१–०८२ मा कुल ६७ हजार क्षयरोगी पत्ता लगाउनुपर्नेमा ३९ हजार १५१ जना अर्थात् ६० प्रतिशत मात्र उपचारको दायरामा आएको र डिआर टिबीका २४०० बिरामी पत्ता लाग्नुपर्नेमा ६२५ जना अर्थात् २५ प्रतिशत मात्र पत्ता लागेकोले क्षयरोग नियन्त्रणमा चुनौती बढेको बताए । यस्तै, सुषुप्त अवस्थामा रहेको ल्याटिन टिबीका ४५ प्रतिशत बिरामी लुकेर रहेकाले उनीहरुको खोजी गरी उपचार गर्नुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न चाँडो निदान गर्ने, उपचार गर्ने र सुषुप्त अवस्थामै रोकथामका कार्यक्रम गर्न आवश्यक रहेको बताए । स्वास्थ्य कार्यालय चितवनले सङ्क्रमित व्यक्तिको परिवारलाई लक्षित गरी स्क्रिनिङ कार्यक्रम गर्दै आएको जानकारी दिए । योजना कार्यशालाबाट प्राप्त सुझावअनुरुप कार्यान्वयनमा लाग्न र चितवनमा डिआर टिबी सेन्टर स्थापनाका लागि पनि आवश्यक पहल गरिदिन राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशकसँग आग्रह गरे ।

चितवनमा लागू भएको क्षयरोगको रोकथाममार्फत क्षयरोग अन्त्य गर्ने परियोजनाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै जनस्वास्थ्य कार्यालय चितवनका टिबी फोकल पर्सन जयराम दुवाडीले चितवनमा १२९ वटा स्वास्थ्य संस्था, १०७ वटा डट्स सेन्टर र तीनवटा डिआर सबसेन्टरमार्फत टिबीको उपचार भइरहेको बताए ।

उनका अनुसार चितवनमा आर्थिक वर्ष २०८१–०८२ मा १०८९ जना सक्रिय क्षयरोगी दर्ता रहेका छन् । जसमा भरतपुर महानगरमा ५७०, रत्ननगर नगरपालिकामा १३४, राप्ती नगरपालिकामा १०६, खैरहनी नगरपालिकामा १०२, कालिका नगरपालिकामा ९१, माडी नगरपालिकामा ४८ र इच्छाकामना गाउँपालिकामा ३८ जना रहेका छन् । चितवनमा तीन प्रकारका क्षयरोगीले उपचार गराइरहेकामध्ये पिबिसी केसका ५९९, पिसिजी केसका २७१ र इपिसी केसका २१९जना रहेको टिबी फोकल पर्सन दुवाडीले जानकारी दिए ।

कार्यक्रममा बिएनएमटी नेपालका प्रबन्ध निर्देशक रघु धितालले क्षयरोगको रोकथाम गर्ने लक्ष्यअनुसार उच्च जोखिममा रहेका ल्याटिन टिबीका १५०० जनालाई थ्रिएचपी औषधि, यातायात खर्चसहित उपचार गराउँदै आएको बताए ।

कार्यक्रममा प्युठानमा लागू भएको क्षयरोगको रोकथाममार्फत क्षयरोग अन्त्य गर्ने परियोजनाको विषयमा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय दाङका जनस्वास्थ्य प्रशासक डा अच्यूत शर्मा, स्वास्थ्य मन्त्रालय बागमतीका योजना, मूल्याङ्कन तथा अनुगमन शाखा प्रमुख कपिल तिम्सिना, बकुलहर रत्ननगर अस्पतालका टिबी फोकल पर्सन डा शशांककुमार सिंह, शिवनगर स्वास्थ्यचौकी इन्चार्ज भानुशङ्कर पौडेल, खैरहनी नगरअस्पतालका डा। सरिता गौतम बर्तौैला, टिबी फोकल पर्सन पिताम्बर पन्त, मङ्गलपुर स्वास्थ्यचौकीका सरिता तिवारी, कविलास स्वास्थ्यचौकीका अशोककुमार भुजेल, भण्डारा नगरअस्पतालका डा काजोल पाण्डे, रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका पूर्वअध्यक्ष फोकल पर्सन पारस राणालगायतले आआफ्ना रायसुझाव व्यक्त गरेका थिए ।

कार्यक्रममा क्षयरोगको औषधि सेवनपश्चात् स्वास्थ्यलाभ गरेका अभियन्ताहरुले आआफ्ना अनुभव सुनाएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।