२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

चितवन । चितवनमा रहेका दलहरूले चुनावी प्रचारको पूर्वतयारीका कामहरू धमाधम गरिरहेका छन् । कार्यकर्ता भेटघाट, समिति निर्माण, आर्थिक सङ्कलनलगायत काममा दल र उम्मेदवारहरू लागेका हुन् ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति बनाइएको बताए । उनले जिल्लामा एउटा, प्रत्येक निर्वाचन क्षेत्र र वडा तहमा समेत निर्वाचन परिचालन समिति बनाएर प्रचारप्रसारको तयारी थालिएको बताए । उनले भने, “सबै खाले आन्तरिक तयारीमा लागेका छौँ, आन्तरिक तयारी पूरा गरेर प्रचारमा लाग्छौँ ।”

विशेष महाधिवेशनसँगै कांग्रेसहरू एक भएर निर्वाचनमा परिचालित भएको भन्दै उनले विगतको जस्तो गुटगत समस्या कांग्रेसमा अहिले नरहेको बताए ।  

नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल पाठकले जिल्लास्तरीय, क्षेत्रस्तरीय, वडास्तरमा निर्वाचन परिचालन, स्वयंसेवक, आर्थिक सङ्कलन समिति बनाइसकिएको बताए । घोषणापत्र र प्रतिबद्धतापत्र बनाउने काम भइरहेको जानकारी दिँदै उनले भने, “क्षेत्रगत समस्या पहिचान गरी तीन वटै क्षेत्रका छुट्टाछुट्टै प्रतिबद्धतापत्र बनाउने काम भइरहेको छ ।” कार्यालय सञ्चालनका लागि तयारी गरिएको उनको भनाइ छ ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य घनश्याम दाहालले जिल्लाका तीनवटै क्षेत्रका उम्मेदवारहरूले कार्यकर्ता भेटघाट कार्यक्रम थालेको बताए । तीनवटै निर्वाचन क्षेत्रका सम्पर्क कार्यालय खुलेको, उम्मेदवारका प्रतिबद्धतापत्र छाप्ने तयारी गरिएको र जिल्ला, क्षेत्र र वडा तहमा निर्वाचन परिचालनका लागि विभिन्न समिति बनेको उहाँको भनाइ छ । धेरै पार्टीहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको भए पनि सबै सङ्गठित भएर थप ऊर्जाका साथ प्रचार अभियानमा जुटेको उनले बताए ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य राजन गौतमले पार्टीका उम्मेदवारले कार्यकर्तालाई भेटघाट गर्ने काम गरिरहेको बताए । स्थानीय र राष्ट्रिय मुद्दाहरूको पहिचान गरी त्यसलाई सम्बोधन गर्नेगरी घोषणापत्र बनाउने काम भइरहेको उनको भनाइ छ ।

क्षेत्रीयस्तरमा भएका समस्याहरूलाई घोषणापत्रमा समावेश गर्न त्यहाँका कार्यकर्तासँग घनिभूत छलफल गरी काम गरिएको गौतम बताउँछन् । क्षेत्र नं १ र ३ मा प्रचार समिति बनाइसकिएको भन्दै उनले क्षेत्र नं २ मा पार्टी सभापतिसँग परामर्श गरेर मात्रै समिति बनाइने भएकाले बाँकी रहेको बताए ।

तीनवटै क्षेत्रमा प्रचार कार्यालय खोल्ने तयारी गरिएको छ । यसअघि दुईवटा क्षेत्र चुनाव जितेको रास्वपाले यसपटक तीनवटै क्षेत्र जित्ने गरी तयारी गरिरहेको गौतमको दाबी छ । तीन वटा क्षेत्र रहेको चितवनमा यसअघि दुई वटा क्षेत्र रास्वपा र एउटा क्षेत्रमा राप्रपाले जित हात पारेका थिए ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्नेछन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमशेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताए ।

क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवम् एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटा स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् । क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् ।

चितवन । नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर २ बाट उमेदवारी दिएकी मीना खरेलले आफ्नो उमेदवारी नै सम्पूर्ण महिलाहरुको उमेदवारी भएको बताएकी छन् । उनले महिलाहरूको उत्साहजनक समर्थन, साथले आफ्नो जीत भएको अनुभव गराएको बताइन् ।

नेतृ खरेल विगत करिब ३६ वर्षदेखि चितवनका ग्रामीण तथा सहरी क्षेत्रमा महिला तथा बालबालिकाको पक्षमा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहदै आएकी छन् । महिलामाथि हुने अन्याय, हिंसा, अत्याचार तथा विभेदका घटनामा साथ दिँदै अनाथ तथा टुहुरा बालबालिकाका लागि निरन्तर काम गर्दै आएकी खरेलको यही सामाजिक योगदानको पृष्ठभूमिबाट उनी अहिले राजनीतिमा अग्रसर भएकी हुन् ।

खरेलले बाल्यकालदेखि नै राजनीतिलाई बुझ्दै सामाजिक कार्यलाई आफ्नो जीवनको निरन्तर यात्राकारूपमा अगाडि बढाएको भन्दै पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर निर्वाचनका लागि टिकट दिएकोमा आभार व्यक्त गरिन् । उनले यो उम्मेदवारी व्यक्तिगत नभई समग्र चितवन क्षेत्र नम्बर २ का महिलाहरूको प्रतिनिधित्व गर्ने उम्मेदवारी भएको उल्लेख गरेकी छ्न् ।

खरेलले क्षेत्र नम्बर २ का महिलाहरू, पार्टीमा आबद्ध महिला कार्यकर्ताहरू तथा स्वतन्त्ररूपमा क्रियाशील महिलाहरूको समर्थनले आफूलाई जीतको अनुभूति गराएको बताइन् । विजयी भएर सरकारमा पुगेपछि महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरू संसदमा सशक्तरूपमा उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।

विजयपछि चितवन २ को पहिचानलाई राष्ट्रियस्तरमा मजबुत बनाउँदै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने विश्वाससमेत खरेलले व्यक्त गरिन् । महिलाहरूको ठूलो उपस्थिति र उत्साह देखेर आफू गौरवान्वित भएको बताउँदै उनले रुख चिह्नमा मतदान गरी विजयी गराउन मतदातासँग अपिलसमेत गरेकी छ्न् ।

–केशव भट्टराई

रत्ननगर । नेताहरुले चुनावी प्रतिस्पर्धाका लागि टिकटको आकाङ्क्षा राख्नु अनौठो कुरा होइन । तर, जसले टिकट पाए पनि एकजुट भएर टिकट पाएका उमेदवारलाई सहयोग गर्नु असल राजनीतिक संस्कार हो ।

चितवन क्षेत्र नं १ मा कांग्रेसका दर्जन बढी आकाङ्क्षीले उमेदवार बन्ने चाहना राखेका थिए । जसमध्ये तीन जनाको नाम बढी चर्चामा रहेको थियो– राजेन्द्रप्रसाद बुर्लाकोटी, इन्द्रकमल बुढाथोकी र वासुदेव ढुङ्गाना ।

तीनैजना चितवन–१ का लोकप्रिय कांग्रेस नेता हुन् । बुर्लाकोटी पाँच दशक अनुभव बोकेका र समाजसेवी व्यक्तित्व हुन् । यस्तै, चार दशक बढी राजनीतिमा योगदान दिएका इन्द्रकमल बुढाथोकी र वासुदेव ढुङ्गाना चिरपरिचित राजनीतिकर्मी हुन् ।

विद्यार्थी राजनीतिबाट आफ्नो छवि बनाएका बुढाथोकी युवामाझ लोकप्रिय छन् भने विभिन्न सामाजिक संघसंस्थामा योगदान दिएका ढुङ्गाना पर्यटन व्यवसायी पनि हुन् ।

जेनजी आन्दोलनपछि परिवर्तित समयमा बदलिएको कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेको छ । यसबीचमा तीन आकाङ्क्षीमध्ये अन्तिम समयमा टिकट पाउन सफल भएका हुन्, बुर्लाकोटी । उमेदवार मनोनयनपत्र दर्ताको समय सकिन केहीबेर बाँकी रहँदा कांग्रेसबाट बुर्लाकोटीले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताकै लाइनमा थिए, दुई नेता बुढाथोकी र ढुङ्गाना ।

बुर्लाकोटी कांग्रेसबाट तेस्रोपटक चुनाव लड्दै गर्दा टिकट पाउन वञ्चित दुई आकाङ्क्षीले असहयोग पो गर्ने हुन् कि ? थोरै संशय कांग्रेसजनमा पर्नु अस्वाभाविक थिएन । प्रतिकूल अवस्थाका बीच दुई आकाङ्क्षीबाट कस्तो प्रतिक्रिया आउला, त्यो प्रतीक्षाको विषय थियो ।

यही क्रममा ढुङ्गानाले फेसबुकमा लेखे– ‘हार्दिक बधाई छ, राजेन्द्र दाइ । सम्पूर्ण सामर्थ्यका साथ मैदानमा हामी तपाईंसँगै खट्ने छौँ ।’ यसबाट के प्रस्ट हुन्छ भने टिकटमा प्रतिस्पर्धा भए पनि आफ्नो उमेदवारलाई सम्पूर्ण सामर्थ्यका साथ सहयोग गर्छु भन्ने भाव व्यक्त गरिनु लोकतान्त्रिक संस्कार हो । र, लोकतन्त्रको विशिष्ट परम्परा ।

अर्का प्रत्याशी बुढाथोकीले पनि फेसबुकमा लेखेका छन्, ‘समय, परिस्थिति जे भए पनि चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद बुर्लाकोटीलाई जिताउनका लागि दिलोज्यान दिएर लाग्ने छु र सबैलाई सहयोग गर्न अनुरोध पनि गर्दछु ।’

बुढाथोकीले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘टिकटमा प्रतिस्पर्धा आफ्नो ठाउँमा छ । टिकट नपाउँदासम्म लडियो, अब त्यो लडाइँलाई बिर्सेर नेपाली कांग्रेस क्षेत्र नं १ मा राजेन्द्रप्रसाद बुर्लाकोटीलाई अत्यधिक मतले जिताउनुछ । सबैजना आफ्नो ठाउँबाट लागौँ र कांग्रेसलाई जिताऔँ । जय नेपाल !’

तीनैजना नेता हातमा हात मिलाएर चुनावी अभियानमा जुटेका छन् । चितवन क्षेत्र नं १ का क्षेत्रीय सभापति किरणभूषण ओली भन्छन्, ‘कांग्रेसभित्र प्रतिस्पर्धा हुन्छ । र, कांग्रेसभित्रै सहयोगको प्रतिबद्धता पनि हुन्छ । रुपान्तरणसहित चुनावी मैदानमा आएको कांग्रेस लोकतान्त्रिक पार्टी हो । र, हाम्रा साथीहरुमा लोकतान्त्रिक संस्कार छ ।’

उनले क्षेत्र नं १ मा कांग्रेसले पुरानो साख फर्काउने गरी परिपक्व र सामाजिक व्यक्तित्व राजेन्द्र बुर्लाकोटीलाई नयाँ उत्साहका साथ मैदानमा उतारेको बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।