२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका–४ निवासी ६३ वर्षीया सुकमाया देवी तामाङको हत्याका आरोपी पक्राउ गरी सार्वजनिक गरेको छ । तामाङको गत पुस २६ गते आफ्नै घरमा हातखुट्टा र मुखमा कपडाले बाँधी हत्या गरिएको थियो । 
 
हत्यामा  संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउपर्नेमा बारा, जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भनिने शुक्रबहादुर भोलन, सोही ठाउँमा घर भई हाल ललितपुर महानगरपालिका–१० च्यासल बस्ने ४२ वर्षीय सूर्यमान वाइबा, धादिङ थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा छन् । 
 
यस्तै, स्याङ्जा बिरुवा गाउँपालिका–८ पेल्का स्थायी घर भई हाल रत्ननगर नगरपालिका–४ बस्ने ३१ वर्षीय कौबहादुर गुरूङ र मकवानपुर थाहा नगरपालिका–१२ घर भई हाल काठमाडौँ थानकोट बस्ने ४७ वर्षीय हिराबहादुर स्याङ्तान रहेका छन् ।
 
उनीहरुलाई रत्ननगर नगरपालिका, नवलपरासी (बर्दघाट, सुस्तापूर्व), इच्छाकामना गाउँपालिकाको फिस्लिङ र थानकोटबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले केही समयअघि तामाङको घरमा भाडामा बस्दै आएका भोलानसहितको योजनामा हत्या गरिएको बताए । पक्राउ परेकाहरुको साथबाट ना २५ प ६९६५ नम्बरको पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल, पर्स र सात थान मोबाइल बरामद् गरिएको छ । 
 
तामाङको घरबाट दुई तोला ५० लालको सुनको सिक्रीसहितको काँडावाला माडवरी एक थान, एक तोला २५ लालाको सुनको बाला, ५० लालको सुनको औँठी, एक तोलाको सुनको जन्तर, मोती माला, मोबाइल दुई थान र रु एक लाख गरी रु १५ लाख ३६ हजार ७०० बराबरको नगद लुटपाट गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ । 
 
पक्राउ परेका सबैलाई कर्तव्य ज्यान र चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको पुरीले जानकारी दिए । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष भट्ट नेतृत्वको अनुसन्धान टोलीले दुई साता लगाएर अनुसन्धान गरी दोषी पहिचान गरेर निजहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

भरतपुर । प्रगतिशील पत्रकारहरुको साझा संस्था प्रेस सेन्टर नेपालले चितवनसहित देशैभर विभिन्न कार्यक्रम गरिएको आफ्नो २२ औँ स्थापना दिवस भव्यरूपमा मनाएको छ । क्रान्तिकारी पत्रकारका अग्रज एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अजिता अधिकारीको प्रमुख आतिथ्यतामा चितवनमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो ।

प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्तरूपमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी मनाएको जिल्ला उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नवीनबाबु मरहट्ठाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुखअतिथि केन्द्रीय सदस्य अजिता अधिकारीले प्रेस सेन्टर श्रमजीवीहरुको सङ्गठन बन्न सफल भएको बताउँदै सधैँ सत्य, तथ्य र जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरिन् । प्रेस सेन्टरले भष्ट्राचारविरोधी अभियानलाई पनि कलमको माध्यमबाट खबरदारी गर्दै जनपक्षीय पत्रकारितामार्फत देशको समृद्धि र सामाजिक न्यायका सधैँ अग्र स्थानमा रहेको बताइन् ।

कार्यक्रममा पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीले श्रमजीवी पत्रकारहरुको हकहित र सुरक्षाका लागि सेन्टरसँगको सहकार्य थप सशक्त बनाउने बताए ।

कार्यक्रममा प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्यले विगत २२ वर्षको इतिहास बोकेको प्रेस सेन्टरको चितवन समिति जनपक्षीय पत्रकारिताको बलियो माध्यमका रूपमा अगाडि बढिरहेको बताए । सत्य, तथ्य र निष्पक्षतामा आधारित रहेर नागरिकका हकअधिकार र न्यायका लागि आफूहरु सधैँ अग्र स्थानमा लडिरहेको उनको भनाइ छ ।

‘नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको छ अध्यक्ष आचार्यले भने, ‘अबको समयमा प्रेस सेन्टरले तथ्यपरक रिपोर्टिङ गर्दै राष्ट्रनिर्माण र समानतामूलक समाज निर्माणमा ठोस योगदान पुर्‍याउनुपर्ने आवश्यकता छ ।’

जिल्ला उपाध्यक्ष तथा कार्यक्रम संयोजक नवीनबाबु मरहट्ठाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम भरतपुर महानगर कमिटीका उपाध्यक्ष रवि अधिकारीले सञ्चालन गरेका थिए ।

रत्ननगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रचारप्रसारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पर्क कार्यालय स्थापना गर्दै घरदैलो अभियान सुरू गरेको छ ।

सो अवसरमा प्रमुखअतिथि राप्रपा जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले राष्ट्रिय सम्पदा र अखण्डतामाथि बढ्दो आक्रमणप्रति राप्रपाको ध्यानाकर्षण भएको बताउँदै राष्ट्रिय जनावर गाईको दर्शन मात्र गर्दा पनि पुण्य प्राप्त हुने देशमा समाजलाई भड्काउने अभिव्यक्ति दिने उमेदवारविरुद्ध निर्वाचन अयोगले कारबाही गर्नुपर्ने बताए ।

आफ्नो पार्टीले हिन्दुराष्ट्र कायम हुनुपर्ने पक्षमा वकालत गर्दै आएको परिप्रेक्ष्यमा पश्चिमा संस्कृतिको प्रभाव र दबाबमा हिन्दु सनातन धर्ममाथि भएको प्रहार क्षम्य नहुने बताए । आफ्नो पार्टीले ‘अपराधको राजनीति र राजनीतिमा अपराधिकरण’ गर्न नहुनेतर्फ सचेत रहेको भन्दै निर्वाचनमा यस्ता विकृत मानसिकता बोकेका व्यक्तिहरुलाई मतदाताले चिन्न सक्नुपर्ने बताए ।

राप्रपाका क्षेत्र नं १ का उमेदवार बलराम खनालले संसद् भवनमा आफ्नो गाउँको समस्या राख्दा कार्यान्वयन नहुनुको कारण बुझेर समस्या समाधानका लागि आफूले उमेदवारी दिएको बताउँदै संवैधानिक हिन्दु अधिराज्यसहितको राजसंस्था स्थापनाका लागि राप्रपाका उमेदवारहरुलाई जिताउनुपर्ने बताए ।

उनले घरदैलो अभियानका क्रममा आफूलाई क्षेत्र नं १ का जनताले सद्भावपूर्वक मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै यसपटक राष्ट्रवादी शक्तिलाई जनताले जिताउने जिकिर गरे ।

राप्रपा रत्ननगर–१५ का अध्यक्ष प्रितम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपा नगरअध्यक्ष सन्तोष लामाले भने, ‘म लामाको छोरा भएर पनि हिन्दुराष्ट्र कायम हुनुपर्छ भनिरहेका छु, राष्ट्र बचाउन अब हिन्दु अधिराज्यसहितको राजसंस्था स्थापनाको विकल्प छैन, यो कुरा देशलाई माया गर्ने स्वाभिमानी नेपालीहरुले मनन गर्नुपर्छ ।’

उनले थपे, ‘तीन दशक बढी समय समाजसेवामा समर्पित भई स्वच्छ छवि बोकेर हिँड्नुभएका हाम्रा उमेदवार बलराम खनाल चुनाव जितेर कतै भाग्नुहुन्न । जनताका समस्या नजिकबाट बुझेर काम गर्ने हुटहुटीमा हुनुहुन्छ । उहाँलाई यसपटक क्षेत्र नं १ का जनताले पक्कै न्याय गर्ने आशा लिएको छु ।’

राप्ती । राप्ती नगरपालिकामा मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरणसम्बन्धी नगरभित्रका सरोकारवाला र विद्यालयहरुबीच समन्वयात्मक छलफल गरिएको छ ।

थ्री एन्जल्स नेपाल, चितवन शाखाको आयोजनामा भएको कार्यक्रममा राप्ती नगरपालिका र मनहरी गाउँपालिकाभित्रका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्थानीय संघसंस्थाका प्रतिनिधिहरुबीच छलफल भएको हो ।

थ्री एन्जल्स नेपालका एसइओ विवेक ढकालको अध्यक्षता सम्पन्न कार्यक्रममा बोल्दै प्रमुखअतिथि बागमती प्रदेश सभा सदस्य जेएन थपलियाले मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराध जरैदेखि निर्मूल पार्न गाउँ, टोल, समाज, स्थानीय तह र सिङ्गो राज्य नै एक भएर लाग्नुपर्नेमा जोड दिए ।

राप्ती–२, गड्यौलीमा आयोजित कार्यक्रममा राप्ती–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती–३ का वडाध्यक्ष शिवकान्त ओली, मनहरी गाउँपालिका वडा नं–७ का वडा सदस्य नवराज सुवेदी, श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालय राप्तीका सहायक प्रधानाध्यापक साधुराम रिजाल, बुद्धशान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक नमराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अस्थायी प्रहरी पोस्ट लोथरका प्रमुख गोपीबहादुर ब्लोनले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणमा सबैको हातेमालो र सहकार्य हुन जरूरी रहेको बताए । उनले आफ्नो टोल, छरछिमेकमा त्यस्ता शङ्कास्पद गतिविधि कहीँकतै भटिएमा तुरुन्त प्रहरी कार्यालय वा वडामा खबर गर्नसमेत अनुरोध गरे ।

कार्यक्रममा उपस्थित राज्यका निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक समाजका प्रतिनिधिहरुले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागि सदैव लागी पर्ने भन्दै सङ्कल्प पत्रमा हस्ताक्षरसहित संयुक्तरूपमा साझा प्रतिबद्धता व्यक्त गरे ।

सो प्रतिबद्धतासँगै महिला, किशोरी तथा बालबालिकाको गरिमा, सुरक्षा र अधिकार संरक्षणका लागि नीति कार्यान्वयन, समन्वय, पीडितकेन्द्रित संरक्षण र दिगो पुनःस्थापनामा सबै पक्षको संयुक्त भूमिकाको अपरिहार्यता रहेको साथै परिणाममुखी र जवाफदेही सहकार्य हुनेमा विश्वास लिइएको छ ।

‘उद्धार, रोकथाम र पुनस्र्थापनाको माध्यमबाट मानव बेचविखनको अन्त्य गरौँ’ भन्ने मूल उद्देश्य लिई स्थापना भएको सो संस्थाले मानव बेचबिखनविरुद्ध विगतदेखि नै जनचेतनामूलक विविध कार्यक्रम गर्दै आएको छ ।

थ्री एन्जल्स नेपालकी एएफटी म्यानेजर ममिला गुरूङले सहजीकरण गरेको कार्यक्रम थ्री एन्जल्स नेपाल, चितवन शाखाका अध्यक्ष सुनिता सिलवालले सञ्चालन गरेकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।