
चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ यतिबेला देशकै चासोको केन्द्र बनेको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी नेत्री तथा सामाजिक अभियन्ता मीना कुमारी खरेलबीच तीव्र प्रतिस्पर्धा हुँदैछ । तर, चुनावी माहोलसँगै यतिबेला क्षेत्र नम्बर २ मा सबैभन्दा बढी चर्चा भने खरेलको सामाजिक योगदान र जनआधारको भइरहेको छ ।
१५ वर्षको किशोरावस्थादेखि नै सामाजिक कार्यमा होमिएकी खरेलले आफ्नो जीवनका झन्डै ३५ वर्ष असहाय महिला, हिंसापीडित महिला र टुहुरा बालबालिकाको संरक्षण, शिक्षा र पुनर्स्थापनामा समर्पित गर्दै आएकी छन् ।
महिलाको हकअधिकार, सम्मान र आत्मनिर्भरता सुनिश्चित गर्न उनले निरन्तर आवाज उठाउँदै विभिन्न सामाजिक अभियान सञ्चालन गरेकी छन् । स्थानीयस्तरमा सङ्कट पर्दा सबैभन्दा पहिले पुग्ने अनुहारका रूपमा उनको छुट्टै पहिचान बनेको छ ।
चितवन २ कै स्थानीय बासिन्दा भएकाले गाउँ–टोलका समस्या प्रत्यक्ष बुझ्ने, जनताको दुःख–सुखमा साथ दिने र सधैँ उपलब्ध रहने नेतृका रूपमा मतदाताले उनलाई ‘आफ्नै मान्छे’को रूपमा लिने गरेका छन् । यही कारण खरेलप्रति महिला, युवा र अभिभावक वर्गको समर्थन बढ्दो देखिएको छ।
यतिबेला नेपाली कांग्रेसले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित अभियानलाई तीव्र बनाइरहेको छ । सोही नारासँगै खरेलको घरदैलो कार्यक्रम र जनसम्पर्क अभियानले थप गति लिएको छ । स्थानीयका अनुसार उनको लामो सामाजिक सेवा, विश्वासिलो छवि र बलियो जनसम्पर्कका कारण यसपटक चितवन २ मा मीना खरेलको जित्ने सम्भावना उच्च देखिएको छ ।
यस्तै, अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका रवि लामिछाने पनि आफ्नो राजनीतिक एजेन्डासहित मैदानमा छन् । राष्ट्रिय प्रभाव बोकेका लामिछाने र स्थानीय समाजसेवाबाट उदाएकी खरेलबीचको प्रतिस्पर्धा हुने देखिन्छ । यसपटकको निर्वाचनले चितवन २ का मतदाताले कस्तो नेतृत्व रोज्छन् भन्ने विषयमा सबैको ध्यानकेन्द्रित भएको छ ।
रत्ननगर । नेपाली कांग्रेसले चितवन क्षेत्र नं १ मा घरदैलो कार्यक्रम सुरू गरेको छ । प्रतिनिधिसभा उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी गाउँटोलमा पुग्दा मतदाताहरु उत्साहित देखिएका छन् ।
आठ दशक इतिहास बोकेको लोकतान्त्रिक पार्टी जेनजी विद्रोहपश्चात् रुपान्तरित भई नयाँ दृष्टिकोणका साथ जनताको माझमा पुग्दा वृद्धवृद्धा, महिला र युवाहरु उत्साहित देखिएको र समाजसेवामार्फत जनताको दुःखसुखमा जोडिएका स्वच्छ र स्पष्ट छविका राजेन्द्रप्रसाद बुर्लाकोटीको पक्षमा जनलहर बढेको निर्वाचन परिचालक मूल समितिका संयोजक किरणभूषण सिंह ओली बताउँछन् ।
राष्ट्र र संविधानको रक्षाका लागि यसपटक नेपाली कांग्रेसलाई मतदान गर्न चितवन १ का जनता उत्सुक रहेको उनको भनाइ छ । उमेदवार बुर्लाकोटी घरदैलोमा पुग्दा वृद्धवृद्धाहरुले आर्शीवाद दिँदै ५० वर्ष राजनीति र समाजसेवामा जीवन सपर्पित गरेका बुर्लाकोटीलाई यसपटक जिताउने प्रतिबद्धता गरेका थिए ।
उमेदवार बुर्लाकोटी भन्छन्, ‘यसपटक मतदातामा उत्साही छन् । गाउँबस्तीमा पुग्दा धेरै आमाबुबाले आर्शीवाद दिनुभयो । जेनजी युवाहरुले तपाईंले यस क्षेत्रको परिवर्तन गर्न सक्नुहुन्छ भनेर विश्वास गरेका छन् । महिला दिदीबहिनीमा रौनक छाएको छ । म निकै उत्साहित भएको छु ।’
कांग्रेस क्षेत्र नं १ ले राप्ती नगरपालिकाबाट औपचारिक घरदैलो कार्यक्रम थालनी गर्ने जनाएको छ । संयोजक ओलीका अनुसार, माघ १९ गते राप्ती–८ मा बिहान ११ः०० बजे र राप्ती–७ मा दिउँसो २ः०० बजे घरदैलो कार्यक्रम हुनेछ ।





