
भरतपुर । चितवन क्षेत्र नम्बर २ मा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ ।
दल तथा उमेदवारहरू जनतामाझ आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका बेला नेपाली कांग्रेसकी उमेदवार मीनाकुमारी खरेल सामाजिक सेवा र महिला अधिकारका सवालमा गरेको योगदानका कारण मतदाताको रोजाइमा पर्न थालेकी छन् ।
खरेल लामो समयदेखि महिलाहरूको हकहित र न्यायका लागि निरन्तर सक्रिय रहँदै आएकी हुन् । घरेलु हिंसा, विभेद र अन्यायमा परेका महिलाहरूको उद्धार, कानुनी सहयोग र पुनस्र्थापनाका लागि उनले प्रत्यक्ष रूपमा काम गरेकी छन् । पीडित महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानमा उनको भूमिका उल्लेखनीय मानिन्छ ।
यस्तै, असहाय तथा टुहुरा बालबालिकालाई संरक्षण, पालनपोषण र शिक्षाको अवसर दिलाउँदै सक्षम नागरिक बनाउने काममा पनि उनी समर्पित रहँदै आएकी छन् । धेरैका लागि उनी नेतृभन्दा पनि अभिभावक र भरोसायोग्य सहाराको रूपमा चिनिन्छिन् ।
राजनीतिक पदभन्दा बढी सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएकी खरेलले आफ्नो जीवन नै सेवा र समर्पणमा खर्चिएकी छन् । शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र रोजगारीलाई मुख्य एजेन्डा बनाएर उनी अहिले मतदातामाझ पुगेकी छन् ।
कांग्रेसको महासमिति सदस्यसमेत रहेकी खरेल सङ्गठन निर्माण र जनसम्पर्कमा उत्तिकै सक्रिय छन् । स्थानीय समस्या र विकासका आवश्यकता नजिकबाट बुझेकी उनको अनुभवले उनलाई व्यावहारिक र जनमुखी उमेदवारका रूपमा स्थापित गरेको छ ।
स्थानीय बासिन्दाहरू भन्छन्, ‘मीनाकुमारी खरेल नेतृ मात्र होइनन्, सङ्कटमा साथ दिने संरक्षक हुन् ।’ यही विश्वास र जनसमर्थनका कारण चितवन क्षेत्र नम्बर २ मा उनको उमेदवारी दिनप्रतिदिन थप सशक्त बन्दै गइरहेको छ ।
चितवन क्षेत्र नम्बर २ का विभिन्न स्थानहरूमा भइरहेका क्रियाशील भेला तथा मतदाता भेटघाट कार्यक्रमहरूमा उल्लेख्य जनसहभागिता देखिएको छ । मतदाताहरूले खरेललाई आगामी निर्वाचनमा सफलताको शुभकामना दिँदै, विगत ३५ वर्षदेखि यस क्षेत्रका लागि पु¥याएको योगदानको कदर गर्दै जितको विश्वास व्यक्त गरेका छन् ।
रत्ननगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले जेनजी उमेदवार विकास कामी ‘स्नेही’लाई अघि सारेको छ ।
युवा राजनीतिक नेता तथा सामाजिक अभियन्ताका रूपमा परिचित कामीले ‘मिसन चितवन–१ : ४० दिने विजय सङ्कल्प’नामक रणनीतिक चुनावी कार्ययोजना सार्वजनिक गर्दै नयाँ पुस्ताको नेतृत्व र जनमुखी विकासको एजेन्डा प्रस्तुत गरेका छन् ।
चितवन क्षेत्र नं १ का रत्ननगर, खैरहनी र राप्ती नगरपालिकालाई केन्द्रमा राखी तयार गरिएको यस योजनाले भौगोलिक केन्द्रलक्षित मतदाता र कार्यक्षेत्रअनुसार रणनीति तय गरेको छ ।
सहरी इन्जिन र युवामैत्री मतदातालाई लक्षित रत्ननगर, जातीय र कृषि मत निर्णायक मानिने खैरहनी तथा विकास र सिँचाइका मुद्दा प्रमुख रहेको राप्ती नगरपालिकामा फरक–फरक अभियान सञ्चालन गरिने बताइएको छ ।
योजनाअनुसार घरदैलो, साना बैठक, डिजिटल प्रचार, प्रभावशाली व्यक्तिको सार्वजनिक समर्थन र विपक्षी भ्रमको तत्काल खण्डन मुख्य रणनीति हुन् । युवालाई डिजिटल अभियानको अग्रपङ्क्तिमा राख्दै टिकटक, फेसबुक लाइभ र तथ्यमा आधारित सन्देश प्रवाह गरिने छ । अन्तिम चरणमा स्वयम्सेवक तालिम, ‘गो टु होम’ अभियान र मतदान दिन मतदाता परिचालनलाई प्राथमिकता दिइएको छ ।
विकास कामीको राजनीतिक एजेन्डा भूमिहीन बसोबासीलाई लालपुर्जा वितरण, किसानका लागि वडास्तरमा मल बैंक स्थापना, युवाका लागि स्थानीय रोजगारी र उद्यमका अवसर सिर्जनाजस्ता व्यावहारिक समाधानमा केन्द्रित छ । इमानदार नेतृत्व, पारदर्शी शासन र श्रमिक वर्गलाई प्रत्यक्ष लाभ पुग्ने नीतिको पक्षमा उभिएका उनी सामाजिक न्याय, युवा सशक्तीकरण र दिगो विकासप्रति प्रतिबद्ध छन् ।
नयाँ पुस्ताको विश्वास जित्ने उद्देश्यसहित अघि बढेको यस अभियानले चितवन–१ मा वैकल्पिक र जिम्मेवार नेतृत्वको बहसलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
राप्ती । आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस चितवन क्षेत्र नं १ ले घरदैलो कार्यक्रम सुरू गरेको छ ।
सोमबार राप्ती–८ र राप्ती–७ का मतदातासँग भेटघाट गर्दै चितवन १ का कांग्रेस उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले बदलिएको कांग्रेसले जेनजी युवाले उठाएको मुद्दा बोकेर चुनावमा आएको बताए ।
उनले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । घरदैलोका क्रममा मतदाता उत्साहित भएको बताउँदै उनले वृद्धवृद्धा, महिला र जेनजी युवाहरुबाट सकारात्मक प्रतिक्रिया आएको बताए ।
‘घरदैलो कार्यक्रममा म जहाँ पुगेँ त्यहाँ राजेन्द्र बुर्लाकोटीलाई भोट दिनुपर्छ भन्ने माहोल पाएँ’, उनले भने, ‘थुप्रै आमाबुबाहरुले शिरमा हात राखेर आर्शीवाद दिनुभएको छ । विगतमा गरेको समाजसेवा र मानवीय सेवाका कारण मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।’
घरदैलोमा किसान, युवा, संघसंस्था, शिक्षक र महिलाहरुले स्थानीयस्तरमा गर्नुपर्ने विकास, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका समस्या राखेका थिए ।
व्यक्तिगत आकाङ्क्षा र लोभ नभएका र पाँच दशकदेखि आफूले सकेको योगदान गर्दै आएका राजेन्द्रप्रसाद बुर्लाकोटीको पक्षमा खुलेरै मतदाता देखिएको बताउँदै निर्वाचन परिचालन मूलसमितिका संयोजक किरणभूषण सिंह ओलीले ‘लोकतन्त्र, विचार, सिद्धान्त र स्थानीयका मुद्दालाई राम्रोसँग बुझेका उमेदवार बुर्लाकोटीको पक्षमा जनलहर बढेको बताए ।
उनले भने, ‘जनता भोट हाल्न आतुर छन् । हाम्रा उमेदवार शालिन ढङ्गले प्रस्तुत हुनुभएको छ । ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने मूल नाराका साथ एकताबद्ध भएर कांग्रेसका साथीभाइ लागेका छौँ । हामी सफल हुन्छौँ ।’




