२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

रत्ननगर । रत्ननगर–१, बकुलहरमा कांग्रेस चितवन क्षेत्र नं १ ले सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सो अवसरमा प्रमुखअतिथि राष्ट्रिय सभा सदस्य गीता देवकोटाले चितवन १ का कांग्रेस उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी आफू पदमा नरहँदा पनि जनताकै सेवामा समर्पित रहेको र दुईपटक पराजित भइसक्दा पनि बिचलित नभईकन पार्टीलाई योगदान दिएको भन्दै यसपटक हार्ने छूट नभएको बताइन् ।

उनले भनिन्, ‘सरल, शालिन स्वभावका उहाँले समाजमा गरेको योगदानकै कारण यतिबेला मतदाताको रोजाइमा हुनुहुन्छ । उहाँको प्रतिस्पर्धी उहाँ आफैँ मात्र हो । कांग्रेसका जनप्रतिनिधिहरुले गरेका जनमुखी कामको मूल्याङ्कन गरेर उहाँलाई भारी मतका साथ जिताउन लागौँ ।’

उमेदवार बुर्लाकोटीले जेनजी आन्दोलनपछि रुपान्तरित भएको पार्टी कांग्रेस भएको र कांग्रेसले १६५ वटै क्षेत्रमा कुनै पनि दाग नलागेका उमेदवार उठाएको भन्दै बहुमत आउने गरी कांग्रेसलाई जिताउन आग्रह गरे ।

उनले भने, ‘मलाई व्यक्तिगतरूपमा कसैले चिन्नु पर्दैन । कांग्रेसलाई चिने पुग्छ । कांग्रेसको चुनाव चिह्न रुखलाई चिने पुग्छ । मत बदर नहुने गरी रुखमा मतदान गरी गगन थापालाई प्रधानमन्त्री बनाउन लाग्नुहोस् ।’

क्षेत्रीय समितिबाट सम्पर्क कार्यालयमा खटाइएका प्रतिनिधि ओम डल्लाकोटीले निर्वाचनमा महिलाको भूमिका बढी हुने भएकाले आफ्नो घरपरिवार, टोलछिमेक र वडामा मत खेर नजाने गरी मतदातालाई सिकाउन आवश्यक रहेको बताए । कांग्रेसको जिम्मेवारीमा रहेका हरेकले आआफ्नो भूमिका निर्वाह गरी मत संरक्षण गर्न र आफ्ना उमेदवारलाई जिताउन हरसम्भव प्रयास गर्न आग्रह गरे ।

कार्यक्रममा कांग्रेसका पुराना नेता हरिलाल सुवेदी, नेमराज पौडेल, त्रिलोलन रिजाल, बाबुराम गौतम, भागीरथी चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रत्ननगर–१ कांग्रेस वडा सभापति एवम् वडाध्यक्ष कुलप्रसाद सापकोटाले वडावासीलाई निःशुल्क खानेपानी, पूर्वाधार विकास, शैक्षिक विकासलगायतका कामको मूल्याङ्कनका आधारमा पनि कांग्रेस उमेदवारका पक्षमा मत आउने अपेक्षा रहेको बताउँदै आफू उमेदवार रहँदा जत्तिकै मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दमौली । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं १ का उमेदवार गोविन्द भट्टराईले नयाँ दलका नेताले छरेको भ्रममा नपर्न आग्रह गरेका छन् ।

नयाँ राजनीतिक दलका नेताहरुले भ्रम छरेर मतदातालाई झुक्याउने काम गरिरहेको भन्दै उनले स्टन्टबाजी र चटकेहरुको फैलाएको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस १ नम्बर वडा कार्यसमितिद्वारा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ भनिएका राजनीतिक दलहरुसमेत पटक—पटक निर्वाचनमा लडिसकेको हुँदा अब नयाँ र पुरानो भन्ने भाष्य नरहेको बताए । आफू पदमा नरहँदासमेत तनहुँ क्षेत्र नं १ को विकासका लागि मरिमेटेर लागी परेको र निर्वाचित भएपछि पनि यहाँका समस्या र विकासका लागि अझै प्रतिबद्ध भएर लाग्ने उनको भनाइ थियो ।

तनहुँमा भएका अधिकांश विकास निर्माण कांग्रेसको अगुवाईमा भएको भन्दै उनले मतदाताले यसपटक कांग्रेसलाई नै भोट दिन आग्रह गरेका थिए ।

वडा कार्यसमितिका सभापति दिलबहादुर दरैको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य प्रकाश पन्त, वडा कार्यसमितिका उपसभापति सोमराज सिग्देललगायतले बोलेका थिए । भेलामा सहभागीहरुले विभिन्न किसिमका सुझाव दिएका थिए ।

गोरखा । गोरखा क्षेत्र नं २ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस उमेदवार प्रकाशचन्द्र दवाडीको पक्षमा जनलहर बढेको छ ।

अजिरकोट गाउँपालिका वडा नं–४ सिमजुङ (झ्यावाँ) निवासी प्रकाशचन्द्र दवाडी गोरखाको राजनीतिमा चिरपरिचित नाम हो । उनी गोरखा क्षेत्र नं २ को भूगोल मतदातामाझ परिचित उमेदवार हुन् । व्यवसायसँगै समाजसेवा हुँदै राजनीतिमा उदाएका दवाडी गण्डकी प्रदेशका पूर्वसांसद् हुन् ।

दवाडीले गोरखा क्षेत्र नं २ का विभिन्न आमा समूह, युवा क्लब, विद्यार्थीलाई छात्रवृत्ति, गरिब तथा विपन्न नागरिक सहयोगलगायतका सामाजिक उत्तरदायित्वका थुप्रै काम गर्दै आएका छन् ।

प्रदेश सांसद् हुँदा उनले सांसदबापत पाउने तलबभत्ता र सेवा–सुविधा आफ्नै क्षेत्रको सामाजिक काममा लगाउँदै आएका थिए । गण्डकी प्रदेशमा बलियो पहुँच बनाएका दवाडीले गोरखा क्षेत्र नं २ मा मोटरबाटो निर्माण, सिँचाइ, पर्यटन, कृषिलगायतलाई मुख्य प्राथमिकतामा राखेर सयौँ योजना पार्न सफल भएका थिए ।

दवाडीले गोरखाको विकासमा गरेको लोभलाग्दो कामको कदर गर्दै कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बलियो दाबेदारका रुपमा प्रस्तुत गरेको छ । क्षेत्रको भूगोल चिनेका र विकासप्रेमी छवि बनाएका दवाडीका पक्षमा गोरखावासी रहेका छन् ।

भूगोल चिनेका र स्थानीय समस्या नियालेका उनले गोरखा २ मा घरदैलोका क्रममा मतदाताहरु उत्साहित भएको र आफूलाई मतदान गर्न आतुर रहेको प्रतिक्रिया पाएको बताएका छन् । अन्य उमेदवारहरुले स्टन्टबाजी र चटक देखाउँदै गर्दा उनी शालिन तरिकाले मतदाताका गुनासो सुन्न व्यस्त देखिएका छन् ।

विभिन्न गाउँबस्तीका मतदाताहरु भन्छन्, ‘हामीलाई यहाँको समस्या नजिकबाट बुझेको र यही क्षेत्रमा काम गर्दै आएको नेता चाहिएको हो । प्रकाशचन्द्र दवाडी हाम्रो मनमा बस्न सफल हुनुभएको छ । उहाँलाई भारी मतसहित जिताउन हामी प्रतिबद्ध छौँ ।’

राप्ती । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उमेदवार बलराम खनाल घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।

उमेदवार खनाल घरदैलोमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न व्यस्त भएका हुन् । सोमबार राप्ती–५ मा घरदैलो गर्दै उमेदवार खनालले मतदातासँग भेटघाट गर्दै जनताका गुनासा र समस्याहरु सङ्कलन गरिरहेका छन् ।

घर–घरमा पुगेर मतदाताको गुनासो, सुझाव र अपेक्षा सुन्दै उनले राष्ट्रियता, परम्परा र सुशासनलाई केन्द्रमा राखेर आफ्ना राजनीतिक प्रतिबद्धता प्रस्तुत गरेका छन् ।

उनको यस अभियानले स्थानीयस्तरमा उत्साह बढाएको छ । राष्ट्र, राष्ट्रियता र जनताको पीरमर्का बुझ्ने पार्टी राप्रपा भएको भन्दै उनले स्वाधीनताको रक्षा र संवैधानिक राजसंस्थासहितको सनातन हिन्दु राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ आफू मैदानमा उत्रिएको उनले बताए ।

मुलुकलाई विभिन्न स्वार्थ समूहको क्रियास्थल बन्नबाट रोक्न राप्रपालाई जिताउन जरूरी रहेको उनको भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।