
रत्ननगर । रत्ननगर नगरपालिकाद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८२ मा श्री आधारभूत विद्यालय बेल्सीबाट पदक विजेता खेलाडीलाई एक समारोहबीच विद्यालय व्यवस्थापन समितिले सम्मान गरेको छ ।
तीन हजार मिटर छात्रा दौडमा स्वर्ण र पन्ध्र सय मिटर छात्रा दौडमा कास्य पदक बिजेता कक्षा ६ मा अध्ययनरत शिरीषा तामाङलाई विद्यालयले पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । यस्तै, रत्ननगर–१० का राजेन्द्रप्रसाद कट्टेलबाट दुई हजार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि शर्मा खनालले पाँच सय र सदस्य विमला सुवेदीले पाँच सय रुपैयाँ प्रदान गरेका थिए ।
रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, व्यवस्थापन समितिका अध्यक्ष रामहरि खनाल, प्रधानाध्यापक रामचन्द्र महतो र शिक्षकहरुले संयुक्तरूपमा सम्मान गरेका हुन् ।
रत्ननगर । राजेन्द्रप्रसाद बुर्लाकोटी नेपाली राजनीतिमा समाजसेवा, सङ्घर्ष र योगदान बोकेका व्यक्तित्व हुन् । विसं २०१६ भदौ १२ गते चितवनको काउलेमा कृषक परिवारमा जन्मिएर जीवनका हरेक कठिनाइलाई आत्मसात् गर्दै आफ्नै पौरखबाट सफल उद्यमी बन्न सफल उनी इमानदार, शालीन, सादगी र सरल स्वभावका जनप्रिय नेता हुन् । चितवन क्षेत्र नम्बर १ का जनताको आवश्यकता, समस्या र सम्भावनालाई नजिकबाट बुझेका उनी परिपक्व नेताका रुपमा स्थापित भएका छन् ।
विसं २०३२ सालदेखि नेपाली कांग्रेसको सदस्यता ग्रहण गरेका उनी ५० वर्षदेखि निरन्तर पार्टीमा सक्रिय रहँदै आएका छन् । विसं २०५० देखि पाँचपटक महासमिति सदस्य र छपटक महाधिवेशन प्रतिनिधि भइसकेका उनी विभिन्न राजनीतिक परिवर्तनका साक्षी र प्रजातान्त्रिक योद्धा हुन् । उनी पञ्चायती व्यवस्थादेखि लोकतान्त्रिक परिवर्तनसम्मको राजनीतिक यात्रामा विचलित नभईकन सधैँ परिवर्तन, न्याय र समानताको पक्षमा आफ्नो स्पष्ट अडान राख्दै समाजवादउन्मुख रूपान्तरणका लागि निरन्तर क्रियाशील रहे । सत्ता र पदभन्दा माथि रहेर जनताको सेवामा समर्पित रहनु उनको राजनीतिक प्रतिबद्धताको प्रमाण हो ।
उनी भाषणमा मात्रै सीमित रहने नेता होइनन्, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यमशीलता र पूर्वाधार विकासमार्फत समाजको समग्र उन्नतिका लागि अहोरात्र खटिएर जनताको दुःखपीडा र समस्यामा सारथि बनेका जनप्रिय नेता हुन् ।
पाँच दशक समाजसेवामा तल्लीन रहेका उनले राप्ती–८ मा स्वास्थचौकी बनाउनुपर्छ भनेर भूमिदान गरे । साना सहरी खानेपानी विकास आयोजनाको संस्थापक अध्यक्ष रहेर गाउँलेलाई शुद्ध पिउनेपानी खुवाए । थारु समुदायमा समान शैक्षिक पहुँचको लागि कठार माविको भवन निर्माण गर्न पहलकदमी लिँदै आर्थिक सहयोग गरे । खुरखुरे–ठकुरी भञ्ज्याङ सडक निर्माणमा पहलकदमी लिए । विभिन्न मठ–मन्दिर, विद्यालय–कलेज, स्वास्थ्यचौकी–अस्पतालको उन्नयनमा सक्रिय योगदान दिँदै आर्थिक सहयोग गरे । जनजातिका धर्म–संस्कृतिको जर्गेना गर्ने काममा समेत उनले भूमिका खेलेका छन् ।
उनी दीनदुःखीको सहारा बन्दै सामाजिक कार्यमा प्रतिबद्ध भई खटिएका योद्धा हुन् । राजनीतिक सेवाको पद धारण नगरी पनि जनता र समाजकै लागि काम गर्दै आएका इमानदार र दूरदृष्टि भएका नेता यतिबेला चितवन क्षेत्र नं १ ले खोजिरहेको छ । जनतालाई सपनाको खेती गर्ने र तिलस्मी आश्वासनका पोका बाँडेर होइन, लोकतन्त्रको विकास, समाजवादउन्मुख समृद्ध नेपाल र चितवनको उज्ज्वल भविष्यका लागि कांग्रेसले उनलाई उमेदवार बनाएको छ । बोलेर होइन काम गरेर परिणाम देखाउने नेतृत्व आज जनताले खोजिरहेका छन् । जनताको त्यही आशा, भरोसा र विश्वासलाई पूरा गर्ने सामर्थ्य उनमा छ ।
जेनजी विद्रोहपश्चात् रुपान्तरित कांग्रेसले ‘बदलियो कांग्रेस : बदल्छौँ देश’ भन्ने नाराका साथ नयाँ भिजनका साथ अगाडि बढिरहेको सन्दर्भमा समाज बदल्ने सोच बोकेर उनी जनताको सेवा गर्न आतुर छन् ।
उनी स्टन्टबाजी गर्दैनन् । छलकपट र वैरभाव उनको चरित्र होइन । चटक देखाउने, भ्रम फैलाउने र सस्तो लोकप्रियता कमाउने लोभ उनमा छैन । कांग्रेसको जिउँदो इतिहास बोकेका उनी परिचालित व्यक्ति होइनन्, स्वचालित, स्थापित र परिपक्व नेता हुन् । जिम्मेवारीलाई बोझ होइन कर्तव्य ठान्ने पूर्वी चितवनका धरोहर राजेन्द्रप्रसाद बुर्लाकोटी तेस्रोपटक चुनावी परीक्षणमा होमिएका छन् ।
चितवन क्षेत्र १ का जनतामाझ विश्वासिलो र जिम्मेवार नेताका रूपमा स्थापित भइसकेका उनलाई यसपटक हार्ने छूट छैन । र, मतदाताले मनमस्तिष्कबाट उनको योगदानको मूल्याङ्कन गर्ने समय आएको छ । किसानका छोरा, जो किसानकै समस्या नजिकबाट महसुस गर्न सक्छन्, उनलाई अत्यधिक मतका साथ विजयी गराउन कुनै कन्जुस्याइँ गर्नुपर्दैन ।
भरतपुर । नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले घरदैलो कार्यक्रम गरिरहेको छ । मङ्गलबार भरतपुर–२५ को घरदैलो सकिएपछि भरतपुर–२४ को घरदैलो सुरू भएको छ । चितवन क्षेत्र नं ३ का कांग्रेस उमेदवार टेकप्रसाद गुरूङले बदलिएको कांग्रेसले जेनजी युवाले उठाएको मुद्दा बोकेर चुनावमा आएको बताए । आइतबार उनले भरतपुर–१३ मा मतदाता भेटघाट कार्यक्रम गरेका थिए ।
नेपाली कांग्रेसको मूल्य र सिद्धान्तअनुसार दलित, जनजाति र सबै समुदायका साथीहरुसँग संवाद गर्दै उनीहरुको सुख–दुःख, समस्या र आवश्यकतालाई सम्बोधन गर्दै आवाज संसद्सम्म पु¥याउने एवं विकास र समृद्धिको मार्गमा साथ दिने वाचा गरेको उनले बताए ।
लोकतन्त्र, विचार, सिद्धान्त र स्थानीयका मुद्दालाई राम्रोसँग बुझेका कारण उनको पक्षमा जनलहर बढेको नेपाली कांग्रेसको दाबी छ । पार्टीका सबै शुभचिन्तक र मतदाताको मन जित्न सक्ने ठानेर नै कांग्रेसले आफूलाई मैदानमा पठाएको उनले बताए । ‘जनप्रतिनिधि हुँदै आएको पुरानो अनुभव र पार्टीमा अहिलेसम्म पनि सक्रिय नै रहेका कारण सबैको भावना बुझेको हुँदा मतदाताको मन पनि जित्छु भन्ने आशा छ’, उमेदवार गुरूङले भने ।
विगतमा पार्टीको राम्रो आधार मानिएको हाल चितवन–३ अन्तर्गतको क्षेत्रमा पुरानो विरासत फर्काउने जिम्मेवारी पुराना नेताको काँधमा सुम्पिएको उनी बताउँछन् । ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने मूल नाराका साथ एकताबद्ध भएर कांग्रेसका साथीभाइ लागेकाले आफू विजेता हुने उनले बताए ।
उनले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको पक्षमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । घरदैलो कार्यक्रममा मतदाता उत्साहित भएको भन्दै उमेदवार गुरूङले वृद्धवृद्धा, महिला र जेनजी युवाहरुबाट सकारात्मक प्रतिक्रिया आएको बताए । घरदैलोमा किसान, युवा, संघसंस्था, शिक्षक र महिलाहरुले स्थानीयस्तरमा गर्नुपर्ने विकास, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका समस्या राखेको उनले बताए ।
चितवन–३ मा संविधान जारी भएपछि पहिलोपटक कांग्रेसले उमेदवार उठाएको छ । भरतपुर महानगरपालिकाको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँग दुईपटक नै गठबन्धन गरेर कांग्रेसले मेयर उठाएन । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उमेदवारलाई समर्थन गर्यो ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोविता गौतम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट रेनु दाहाल र नेकपा एमालेबाट शंकर थपलिय प्रतिस्पर्धामा छन् ।
चितवन । चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलले नेतृत्वलाई पद, हैसियत वा शक्ति प्रदर्शनसँग नभई जिम्मेवारी, सेवा र कर्मसँग जोडेर बुझ्नुपर्ने धारणा राखेकी छन् ।
चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेला तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भनिन्, नेतृत्व पद होइन, जिम्मेवारी हो, हैसियत होइन, कर्म हो ।’
कांग्रेस चितवनले यतिबेला चुनावी अभियानलाई मध्यनजर गर्दै चितवन क्षेत्र नम्बर २ का विभिन्न वडा, टोल, गाउँपालिकाहरुमा क्रियाशील भेला तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिरहेको छ ।
सोही कार्यक्रमअन्तर्गत कालिका नगरपालिकाको भेलामा उनले नेतृत्व भनेको अधिकारको प्रयोग गरेर आफूमाथि उभिनुमात्रै नभएर जनताको भरोसालाई सम्मान गर्दै उनीहरूसँगै हिँड्नु भएको बताएकी छन् । यस्तै उनले जनताले विश्वास गरेर दिएको जिम्मेवारीलाई सेवा गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै, त्यो सेवा गर्न आफू तयार भएको उनको भनाइ छ ।
उनी भन्छिन्– राजनीतिमा इमानदारी र पारदर्शिताबिना परिवर्तन सम्भव नहुने उल्लेख गर्दै “जनताको समस्या बुझ्ने, उनीहरूको आवाज सुन्ने र समाधानका लागि निरन्तर लाग्ने प्रतिबद्धता नै नेतृत्वको असली परिचय हो ।” लामो समय राजनीतिकसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएको हुनाले आफूले चुनाव जित्दै गर्दै सबै नागरिकलाई समेटेर काम गर्ने बताइन् ।
‘म निरन्तर जनताको दुःख सुखमा साथ दिएर अगाडि बढ्न चाहन्छु । यसपटक जनताले सही नेतृत्व छान्ने बेला हो, उहाँहरुले सही नेतृत्व र सही पाटीलाई अमूल्य मतदान गर्नुहुन्छ त्यसमा म विश्वस्त छु’, उनले भनिन् ।
यस्तै, खरेलले चितवन–२ मा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरूलाई संसदमा प्रभावकारी र सशक्तरूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।





