२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा नेपाली लोक भजन तथा संस्कृति संरक्षणका लागि भजन तथा शङ्ख ध्वनि प्रतियोगिता आयोजना गरिएको छ ।

माधवपुर मठमन्दिर तथा धार्मिक संघसंस्था समन्वय समिति रत्ननगर–१५ द्वारा आयोजित प्रतियोगिताको उद्घाटन नगरप्रमुख प्रलाद सापकोटाले गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले युवा पुस्ताले बिर्सिँदै गएको नेपाली लोकभजन संस्कृतिको संरक्षण तथा जगेर्ना गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘हाम्रा संस्कृति र मूल्य–मान्यताहरुको संरक्षण गरिनुपर्दछ । नेपाली लोकभजन संस्कृतिको ऐतिहासिक महत्त्व रहेकाले यसको संरक्षणका लागि रत्ननगर नगरपालिका गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यस्तै, नगर उपप्रमुख यादवप्रसाद पाठकले पछिल्लो समय पश्चिमा प्रभावका कारण हाम्रा लोकसंस्कृतिमाथि प्रहार हुन थालेको बताउँदै नेपाली समाजको आस्था, आध्यात्मिक चेतना र सांस्कृतिक पहिचानलाई पुनर्जागरण गर्नका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए ।

नेपाली संस्कृति संरक्षणका लागि माधवपुर मठमन्दिर तथा धार्मिक संघसंस्था समन्वय समिति रत्ननगर–१५ ले गरेको जमर्कोप्रति सहाराना व्यक्त गर्दै रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङले वडा कार्यालयबाट १ लाख ५० हजार सहयोग गरिएको जानकारी दिए ।

माधवपुर क्षेत्रलाई भक्तिमय सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने योजना रहेको समितिका सचिव पुरुषोत्तम कट्टेलले बताए । माधवपुर खेलकुद विकास समितिको खेलकुद मैदानमा हुने प्रतियोगितालाई भव्य बनाउन ५०५ सदस्यीय मूल आयोजक समिति गठनसमेत गरिएको छ । देशभरका भजन समूह तथा शङ्ख वादकहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ ।

प्रतियोगितामा एक समूहमा अधिकतम २० जना सहभागी हुन सक्नेछन् । समूहगत पोसाक अनिवार्य गरिएको छ । भजन प्रस्तुति अवधि १० मिनेटको हुने आयोजकले जनाएको छ ।

भजन प्रतियोगितामा प्रथम हुने समूहलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्रदान गरिने छ । त्यसैगरी शंख ध्वनि प्रतियोगितातर्फ प्रथम, द्वितीय र तृतीय हुने वादकहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ ।

कार्यक्रम व्यवस्थापनका लागि कुल करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा गीतकार तथा सङ्गीतकार अर्जुन पोख्रेल र लोकप्रिय गायिका बबिता बानियाँ रहेकी छन् ।

चितवन । चितवनमा तीन वर्षपछि ‘नेपथ्य’ ब्यान्डको प्रस्तुति हेर्न पाइने भएको छ । सन् १९९० मा स्थापना भई नेपाली लोक–रक ब्यान्डको फराकिलो परिचय बनाएको नेपथ्यले नेपाल डायरिज प्रालिको आयोजनामा नारायणगढको क्याम्पाचौरमा साङ्गीतिक प्रस्तुति दिन लागेको हो ।

नेपालको लोकप्रिय ब्यान्ड नेपथ्य साङ्गीतिक कार्यक्रममार्फत देश दौडाहामा रहेको बेला नारायणगढमा पनि कार्यक्रम गर्ने तयारी गरिएको हो । यही माघ २७ गते नारायणगढस्थित क्याम्पाचौरमा हुने कार्यक्रम चितवनमा तीन वर्षपछि फर्किएको हो ।

साँझ सबा ६ बजेदेखि सुरू हुने कार्यक्रमबाट दर्शकले सङ्गीतमय साँझको अनुभूति गर्न सक्ने नेपाल डायरिजका निर्देशक विनेश थापाले बताए । कार्यक्रम अवलोकन गर्नका लागि करिब आठ हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ ।

कार्यक्रमका लागि भिआइपी ३०००, रेगुलर १५०० र विद्यार्थी १००० दरका टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई लक्षित गर्दै सहुलियत दरका अर्ली बर्ड टिकटसहित रेगुलर र भिआइपी टिकट उपलब्ध गराइएको छ । सहुलियत दरका अर्ली बर्ड टिकटको कोटा सीमित रहेको र अन्य टिकटहरु पनि सीमित सङ्ख्यामा बिक्रीमा रहेको आयोजकले जानकारी दिएको छ ।

यसक्रममा चितवनका विभिन्न ठाउँमा क्याम्पेन सञ्चालन गरी त्यसबाट प्राप्त प्रतिक्रियाले नेपथ्यसँग पुनः भेट हुन दर्शक उत्साहित देखिएको नेपाल डायरिजका निर्देशक थापाले जानकारी दिए ।

उनका अनुसार चितवनसँगै नवलपरासी, बर्दघाट (सुस्तापूर्व तथा पश्चिम), तनहुँ, मकवानपुरलगायत आसपासका जिल्लाबाट पनि दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपथ्यको सङ्गीत सबै उमेर समूहका स्रोता, दर्शकले रूचाउने भएकाले दर्शक पनि सबै उमेर समूहका रहने आयोजकले जनाएको छ ।

चितवन । चितवनमा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरे पनि अनुमति लिएका हतियार अपेक्षाकृत रुपमा बुझाइएको छैन ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा १४१ जनाले हतियार राख्न अनुमति लिएका छन् ।

स्थानीय प्रशासनले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण र विश्वसनीय बनाउन अनुमति लिएर राखिएका हतियार बुझाउन गत माघ ६ गते सूचना प्रकाशित गरेको थियो । पन्ध्र दिनभित्र हतियार बुझाउन भनिए पनि सो अवधि सकिँदासमेत सम्पूर्ण हतियार फिर्ता गरिएको छैन ।

“हतियार राख्ने अनुमति लिएर जिल्ला बाहिर राखिएको पनि हुन सक्छ, अन्य जिल्लामा बुझाइएको तथ्याङ्क आउने क्रम जारी छ”, प्रजिअ अर्यालले भने । उनका अनुसार बैंकिङ क्षेत्रमा रहेका हतियार बैंकको सुरक्षाका लागि राखिने हुँदा ती हतियार फिर्ता गर्नुपर्दैन । अन्यको हकमा अनुमति लिएर राखिएका हतियार निर्वाचनको समयमा फिर्ता गरी निर्वाचनपछि पुनः लिन मिल्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

चितवन । भरतपुर महानगरपालिका–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय एक समारोहबीच उद्घाटन गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त पारिएको उक्त कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याइएको हो । कार्यालयको उद्घाटन नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ की उमेदवार मीना खरेलले गरेकी हुन् ।

चितवन क्षेत्र नम्बर २ मा निर्वाचन नजिकिँदै गर्दा पार्टी संगठनलाई थप सशक्त र सक्रिय बनाउने उद्देश्यसहित कार्यालय पुनः सञ्चालनमा ल्याइएको नेताहरूले बताएका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले आगामी निर्वाचनलाई लक्षित गर्दै सबै क्रियाशील सदस्यहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै नेतृ मीना खरेललाई अत्याधिक मतका साथ विजयी गराउने विश्वास व्यक्त गरे ।

पार्टी कार्यालय उद्घाटनसँगै चुनावी गतिविधि थप सक्रिय बनाउने र जनतासँग प्रत्यक्ष संवादलाई तीव्रता दिने खरेलले बताइन् । नेतृ खरेलले मतदाता, शुभेच्छुक तथा कार्यकर्ताहरूको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै जनताको सेवा र विकासका कामलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो भने वडा नम्बर २ का क्रियाशील सदस्य तथा स्थानीय कार्यकर्ताहरू सहभागी थिए ।

चितवन । लोकप्रिय नेपाली कलाकार थुमन शर्मा र मिनु गैरेको स्वरमा तयार भएको नयाँ गीत ‘मायाको असर’ सार्वजनिक भएको छ । नेपाली सङ्गीतप्रेमीहरूका लागि विशेष आकर्षण बनेको यो गीतले प्रेमको मिठास र जीवनका सुखद भावनाहरूलाई समेट्दै दर्शक–स्रोतालाई भावनात्मकरूपमा मन्त्रमुग्ध बनाउने लक्ष्य राखेको छ ।

यस गीतको शब्द रचना सफल गीतकार शिवराज गौतमले गरेका छन् भने सङ्गीत आफैँले तयार पारेका छन् । गीतको सङ्गीत संयोजन रुविन मगरले गरेका छन् भने मिक्सिङ र मास्टेरिङचाहिँ किशोर थापाले गरेका हुन् । आधुनिक प्रविधिको प्रयोग गर्दै उत्कृष्ट ध्वनि गुणस्तर सुनिश्चित गरिएको छ ।

गीतसँगै सार्वजनिक भएको भिडियो पनि अत्यन्तै आकर्षक बनेको छ । भिडियोका निर्देशक प्रकाश धिताल हुन् र भिडियोमा उनको आफ्नै कन्सेप्ट प्रयोग गरिएको छ । भिडियोमा मुख्य कलाकारको रूपमा प्रवीन डी।सी। र अनिता गिरी प्रस्तुत छन् ।

भिडियोको सिनेमाटोग्राफी सुविन गोदरले गरेका छन् भने सम्पादन राकेश दाहालले गरेका छन् । मेकअप आर्टिस्टको रूपमा सीमा मगर र प्रोडक्सन म्यानेजरको भूमिकामा सुर्य ओलीले आफ्नो योगदान दिएका छन् ।

भिडियोमा दुई प्रेमीको कथालाई प्रस्तुत गरिएको छ, जो विद्यालयको प्रमोसनपछि अझ नजिकिँदै प्रेममा झुमिरहेका छन् । यसरी उनीहरूको माया र मिलनको यात्रा दर्शक–स्रोतालाई अत्यन्तै मन छुने रूपमा देखाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।