
चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला मतदाताको सङ्ख्या आधाभन्दा बढी छ । यहाँ उम्मेदवार हुने महिलाको सङ्ख्या भने निकै कम रहेको छ ।
पूर्वी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन् । तीमध्ये ५० दशमलव ७० प्रतिशत अर्थात् ७५ हजार ८६० महिला मतदाता रहेका छन् । पुरुषको सङ्ख्या ७३ हजार ७६१ रहेको छ । यो ४९ दशमलव ३० प्रतिशत हो ।
महिला मतदाताको सङ्ख्या बढी भए पनि १८ जना प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार भए पनि दुई जना मात्र महिला रहेका छन् । ती साना दलका हुन् ।
राष्ट्रिय जनमोर्चाले सीतादेवी क्षेत्री र नेश्नलरिपब्लिक नेपालले ईश्वरी गुरूङलाई उम्मेदवार बनाएको छ । यसअघि निर्वाचन जितेका ठूला दलले महिला उम्मेदवार दिन सकेका छैनन् । यस क्षेत्रबाट १५ राजनीतिक दलका उम्मेदवार छन् भने स्वतन्त्र तीन जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशत खश आर्य रहेका छन् । ३३ दशमलव ३३ प्रतिशत आदिवासी जनजाति छन् भने निर्वाचन आयोगको तथ्याङ्कअनुसार थारु, दलित र मधेशी ५ दशमलव ५६ प्रतिशतका दरले रहेका छन् ।
यस क्षेत्रमा ५६ वटा मतदानस्थलमा १६८ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रको राप्ती नगरपालिकाको केही भूभाग पहाडी क्षेत्रमा पर्दछ भने बाँकी समथर क्षेत्र पर्दछ ।
चितवन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
कांग्रेस चितवनले सोमबार सिएमटी रिसोर्ट भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कुरा प्रष्टरूपमा राख्न अरुलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गरेका हुन् ।
उपसभापति शर्माले भने, “हामीले कसैलाई गाली नगरौँ । आफ्ना कुरा जनतालाई बुझाऔँ, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ । हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा लागौँ ।”
उनले पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै देश बदल्ने सङ्कल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिए ।
“पार्टीले फागुन २१ लक्षित गर्दै २१ दिने अभियान सञ्चालन गर्न लागेको छ । अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रले खटाएका नेताबाहेक अन्य नेताहरू आफ्नै वडामा २१ दिन खटिन स्पष्ट निर्देशन छ”, उपसभापति शर्माले भने, “अभियानका क्रममा आफ्नो वडामा सक्रिय भएर काम गरौँ । आफ्नो वडा छाडेर अर्काको वडामा जानु आवश्यक छैन । आफ्नै क्षेत्रमा पार्टी र देश बदल्न कांग्रेसले लिएको नीति घर–घरमा पुर्याऔँ ।”
कार्यक्रममा केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले पार्टीले हाल देशभर ७५ प्रतिशत हाराहारी युवा र नयाँ उम्मेदवार लिएर चुनावमा गएको उल्लेख सबैलाई जिताउने गरी खट्न आग्रह गरे ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा चितवन प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ का उम्मेदवार मीनाकुमारी खरेल र क्षेत्र नं ३ का उम्मेदवार टेकप्रसाद गुरूङले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए ।
कांग्रेसले गरेका कामबारे जानकारी गराउँदै सबैलाई गोलबद्ध गर्न र मतदाता जोड्ने अभियान सञ्चालन गर्न आवश्यक रहेको उनीहरूको भनाइ थियो ।





