२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

भरतपुर । चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै चितवन–२ बाट नेपाली कांग्रेसकी उमेदवार मीना खरेललाई ज्ञापनपत्र बुझाएका छन् । पीडितहरुले एक कार्यक्रमबीच खरेललाई १३ बुँदे माग पेस गरेका छन् ।

विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम लामो समयदेखि फिर्ता नपाएको गुनासो गर्दै तत्काल प्रभावकारी पहल गरिदिन पीडितहरूले आग्रह गरेका छन् । सहकारी व्यवस्थापन तथा नियमनको कमजोरीले हजारौँ सर्वसाधारण मारमा परेको उनीहरूले जनाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै सहकारीपीडित संघर्ष समितिका संयोजक शालिग्राम दुवाडीले बचत रकम फिर्ता नपाउँदा आफूहरू पीडामा रहेको बताए । ‘हामीले जीवनभरको कमाइ सहकारीमा राख्यौँ । तर, अहिले आफ्नो रकम फिर्ता नपाएर आर्थिक तथा मानसिक पीडामा छौँ’, दुवाडी भन्छन्, ‘हाम्रो रकम सुरक्षितरूपमा फिर्ता गराउन सम्बन्धित निकायसँग पहल गरिदिन अनुरोध गर्दछौँ ।’

उमेदवार खरेलले पीडितहरूको मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन् । समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । सहकारी क्षेत्रको समस्या समाधान गर्न आवश्यक कानुनी तथा नीतिगत पहलका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनले बताइन् ।

चितवनमा पछिल्लो समय केही सहकारी संस्थामा देखिएको अनियमितताका कारण बचतकर्ताहरू आन्दोलित हुँदै आएका छन् । पीडितहरूले छिटो छानबिन गरी दोषीमाथि कारबाही र बचत रकम फिर्ताको सुनिश्चितता गर्न माग गरेका छन् । सो कार्यक्रममा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठ, भरतपुर–१० का जनप्रतिनिधि स्थानीय र सहकारी पीडितहरूको उपस्थिति रहेको थियो ।

रत्ननगर । माधवपुर मठमन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समिति, रत्ननगर–१५, माधवपुर, चितवनको आयोजनामा सम्पन्न ‘राष्ट्रिय भजन तथा शङ्खवादन प्रतियोगिता–२०८२’ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । गत माघ २४ गते सम्पन्न कार्यक्रमको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो ।

समितिका अनुसार कार्यक्रममा कुल ६ लाख ९१ हजार रुपैयाँ नगद सहयोग सङ्कलन भएको छ भने कार्यक्रम सञ्चालनका लागि ५ लाख ८९ हजार रुपैयाँ खर्च भएको जानकारी दिइएको छ । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न व्यक्ति, संघ–संस्था तथा सहयोगीहरूबाट महत्त्वपूर्ण सहयोग प्राप्त भएको थियो ।

पत्रकार सम्मेलनमा रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङ प्रमुखअतिथि रहेका थिए । कार्यक्रममा वडा सदस्यहरू इमप्रसाद पन्त, लीकादेवी पोखरेल, रुकमाया परियार लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष मुक्तिप्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मूल आयोजक समिति सदस्य भूबहादुर गुरूङले स्वागत मन्तव्य राखेका थिए भने समिति सल्लाहकार कृष्ण पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसअघि माधवपुर खेलकुद विकास समितिको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा भजनतर्फ ७ जिल्लाका १८ समूहको उल्लेखनीय सहभागिता रहेको थियो भने शङ्खवादनतर्फ विभिन्न जिल्लाबाट २१ जना प्रतियोगी सहभागी भएका थिए । कार्यक्रमले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिको विश्वास छ ।

भरतपुर । भरतपुर–४ स्थित होली भिजन पब्लिक स्कुलको आयोजना तथा चितवन स्मार्ट स्काउटको सहकार्यमा चौथो स्मार्ट स्काउट नमन क्याम्प सञ्चालन हुने भएको छ ।

‘अनुशासित अभ्यास, शक्तिशाली भविष्य’ भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त क्याम्प यही फागुन ६ देखि ८ गतेसम्म सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार क्याम्पमा चितवन र आसपासका जिल्लाभित्रका विद्यालयका स्काउट विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहनेछ । सहभागीहरूलाई स्काउटसम्बन्धी व्यावहारिक ज्ञान, अनुशासन, नेतृत्व विकास तथा टोलीमा काम गर्ने सीप अभिवृद्धि गराउने उद्देश्य राखिएको छ ।

क्याम्प अवधिभर गाँठो सम्बन्धी ज्ञान, मार्चपास, नृत्य प्रतियोगिता, टनेल तथा चिम्नीजस्ता साहसिक गतिविधि, टायर वाल, टार्गेट टच, क्याटरपिलर रेस, इनभिजिबल मेज लगायतका विभिन्न खेल तथा अभ्यास सञ्चालन गरिने छ । साथै, क्याम्प फायर, सांस्कृतिक प्रस्तुति र टोलीगत प्रतिस्पर्धाले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकको भनाइ छ ।

क्याम्पको नेतृत्व शिवप्रसाद बराल (क्याम्प चिफ)ले गर्नेछन् भने ईश्वर गुरूङ (क्याम्प निर्देशक), दुर्गा थापा (क्याम्प संयोजक) र प्रेमन ढकाल (सह–संयोजक) लगायतको टिमले व्यवस्थापन गर्नेछन् । त्यस्तै, शैलजा अधिकारी, अभिषेक क्षेत्री, सागर सापकोटा, कुशल न्यौपाने, धीरज राउत कुर्मी, निरजला श्रेष्ठ र रुपेश थपलियालगायतले विभिन्न जिम्मेवारी सम्हाल्नेछन् ।

आयोजकका अनुसार क्याम्पमा सहभागी हुन प्रतिस्काउट एक हजार ६०० रुपैयाँ शुल्क तोकिएको छ, जसमा खाना तथा आवश्यक व्यवस्थाहरू समावेश गरिने छ । सहभागी विद्यार्थीहरूले स्काउट पोसाकसहित आवश्यक व्यक्तिगत सामग्री अनिवार्यरूपमा ल्याउनुपर्ने जनाइएको छ ।

उक्त क्याम्पले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ ।

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’माथि भरतपुरको आँपटारीमा समीक्षा गरिएको छ ।

नेपाली लेखक संघ चितवनले विशेषगरी विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरेको सो कार्यक्रमका वक्ताहरुले बखान उपन्यास इतिहासको साक्षी भएको बताए । उनीहरुले उपन्यासले चितवनको पुरानो समाज प्रस्तुत गरेको टिप्पणी गरेका थिए ।

स्मल हेभन स्कुलका विद्यार्थी असीम सिलवालले कृतिमाथि समीक्षा गर्दै उपन्यासले सहकारी अभियन्ता एवम् समाज सुधारक बखानसिंह गुरूङको जीवनी उपन्यासमा पढ्न पाइएको सुनाए । उनले भने, ‘चितवनको इतिहास झल्काउन यो पुस्तक सफल भएको छ ।’

कार्यक्रममा बोल्दै विद्यार्थी विनिशा दवाडीले बखान पुस्तक बखानसिंह गुरूङको जीवनी मात्रै नभएर चितवनको बस्ती विकासको रुपरेखा देखाउने दस्तावेज भएको बताइन् । ‘उपन्यासले चितवनको इतिहास बोल्छ । समाज बोल्छ’, उनले भनिन् ।

साहित्यकार सुरेन्द्र अस्तफलले चितवनको बस्ती विकासदेखि सहकारी यात्राको विषयमा यस पुस्तकले समेटेको बताए । उनले भने, ‘यस पुस्तकले चितवनको इतिहास समेटेको छ ।’ चितवनमा बस्ती विकाससँगै नेपालमा विसं २००७ सालदेखि विसं २०४० सालसम्मका आन्दोलन र भएका उपलब्धिका विषयलाई समेटिएको उनले जनाए ।

सो अवसरमा पत्रकार सरिता पौडेलले चितवनका लागि यो कृति एतिहासिक कृति भएको बताइन् । सो अवसरमा स्मल हेभन स्कुलका प्रधानाध्यापक विमल क्षेत्रीले पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेर चितवनको बारेमा विद्यार्थी वर्गमा समेत ज्ञान दिन आवश्यक रहेको बताए ।

नेपाली लेखक संघकी अध्यक्ष शान्ति शर्माले चितवनको बारेमा गरिएको अध्ययनका कारण यो उपन्यास सार्थक भएको बताईन् । यस पुस्तकले साधारण विषयवस्तुलाई समेत गहन तवरले व्याख्य गरिएको उनले बताइन् ।

कार्यक्रममा लेखक पराजुलीले यो पुस्तक चितवनको इतिहास भएको बताए । उनले कक्षा १० देखि कक्षा १२ सम्म नेपाली र अङ्ग्रेजी विषयमा परीक्षामा समेत कृति समीक्षा आउने हुँदा विद्यार्थीहरुलाई यसमा यस्ता कर्यक्रमले सहज हुने बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।