
चितवन । अन्तरराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतनामूलक एवं सिर्जनात्मक कार्यक्रम गरी मनाएको छ । अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो ।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर बाल क्यान्सर दिवस मनाएको हो । कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बाल क्यान्सरसम्बन्धी तालिम, अभिभावकसँग समस्या र समाधानका विकल्प विषयक छलफल र बालबालिकाको विशेष समारोह गरी बाल क्यान्सर दिवस मनाइएको हो ।
सो अवसरमा चित्रकला प्रतियोगितासमेत गरिएका थियो । अस्पतालको वार्डमा रहेका बालबालिकालाई मास्क, सेनिटाईजर, कापी कलम, रङ्, प्रोटिनयुक्त खाना र पानीका बोतल जस्ता सामग्री वितरण गरिएको थियो । कार्यक्रममा अस्पतालमा उपचाररत बालक प्रेश्टा श्रेष्ठ र उनका अभिभावकले अस्पतालमा आफ्नो उपचार र भोगाइका बारेमा बोलेका थिए ।
सो अवसरमा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट पिड्यिाट्रिक हेमाटो अङ्कोलोजिस्ट डा कृष्णसागर शर्माले समायमानै रोग पहिचान भए उपचारबाट धेरै रोग निको पार्न सकिने बताए । उनले भने, “समायमानै सचेत भएर उपयुक्त उपचार गर्न सके रोग निको पार्न सकिन्छ ।”
चितवन। विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु (भन्ते)हरुको टोली लुम्बिनीतर्फ लागेको छ।
आइतबार ४ः४५ बजे भरतपुरको महाबौद्ध गुम्बा तीनखोले आइपुगेको २५ जना भिक्षुको टोली आज बिहान नारायणगढको पुलचोक हुँदै गैँडाकोटको बाटोबाट लुम्बिनीतर्फ लागेको हो।
थाइल्यान्डबाट सुरू गरेको यात्रा ५२ दिनपछि आइतबार चितवन आइपुगेको थियो। आज ५३ औँ दिनमा यहाँबाट लुम्बिनीतर्फ लागेको हो। बौद्ध धर्म सेवा समिति तिनखोलेले उहाँहरुलाई आइतबार स्वागत गरी गुम्बामा राखेको थियो। समितिका अध्यक्ष दलबहादुर गुरुङ्का अनुसार आज बिहान उनीहरुलाई बिदाइ गरिएको हो।
गुरुङका अनुसार थाइल्यान्डबाट भारतको आसाम, त्रिपुरा हुँदै नेपालको लुम्बिनीसम्मको यात्रामा टोली यहाँ आइपुगेको हो। यात्राको संयोजन गरिरहेका भिक्षु मेधङ करेस्थ स्थवीरका अनुसार ‘शान्तिका लागि धम्म यात्रा, भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने नारासहित भन्तेको टोली नेपाल यात्रामा आएको हो।
विश्व यात्रामा निस्किएका पाँच समूहमध्ये एउटा समूह नेपाल आइपुगेको उहाँले जानकारी दिए। विश्वमा विभिन्न कारणले हुँदै आएको हत्या, हिंसा तथा आपराधिक गतिविधि रोक्नका लागि शान्तिको कामनासहित उहाँहरु यात्रामा निस्किएका हुन्। उनले भने, “भन्तेहरुले यतिका दिनसम्म बडो कष्टपूर्ण यात्रा गरिरहनुभएको छ। हामी प्राणी जगत्कै हितका लागि उहाँहरुले कठोर यात्रा गरिरहनुभएको छ। यसबाट शान्ति, अहिंसा र नैतिक जीवनको सन्देश फैलाउन मद्दत पुग्छ।”
नेपाल प्रवेश गरेको सातौँ दिनमा चितवन आइपुगेको टोलीले नेपालमा मात्रै लुम्बिनीसम्मको ३१९ किलोमिटर पदयात्रा तय गर्नेछ। नेपाल भित्रिएको १५औँ दिनअर्थात् २२ फेब्रुअरीसम्म हुने यात्राका लागि बाटोमा पर्ने गुम्बा तथा बौद्ध विहारहरुसँगको समन्वयमा ठाउँ–ठाउँमा भेटघाट तथा विश्राम गर्दै आएका छन्।
एकदिनमा करिब ३५ किलोमिटर यात्रा तय गर्दै आएका उनीहरुलाई चितवनको बसाइमा महाबौद्ध गुम्बाले व्यवस्था गरेको थियो। समितिका अध्यक्ष गुरुङ्ले विश्व यात्रामा निस्किएका भन्तेहरुलाई ऐतिहासिक गुम्बामा स्वागत गर्न पाउँदा गुम्बा परिवार असाध्यै खुसी भएको बताए।
थाइल्यान्डबाट करिब पाँच हजार किलोमिटर यात्रामा निस्किएका भन्तेहरुलाई चितवनवासी शुभेच्छुकहरुले भरतपुरको गोन्द्राङबाट स्वागत गरेर गुम्बासम्म पैदलयात्रासँगै गरेका थिए। यहाँबाट पुलचोकसम्म आज पुर्याएका हुन्।
गण्डकी । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताका लागि अदालतमा दिएको निवेदनमाथि सोमबार भएको सुनुवाइपछि अदालतले उक्त मुद्दा तत्काललाई ‘होल्ड’ गर्ने आदेश गरेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरूद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो । जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णयका विषयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले सर्वोच्च अदालतबाट आउने आदेशपछि मात्र जिल्ला अदालतले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
“मुद्दा फिर्ता गर्ने वा नगर्ने भन्ने आदेश भएको होइन, यो विषयमा सर्वोच्चमा पनि रिट परेकाले सर्वोच्चको आदेश नआउञ्जेलसम्म होल्डमा राख्ने कुनै प्रक्रिया अगाडि नबढाउने आदेश भएको हो”, स्रेस्तेदार खनालले भने ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थियो ।
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछाने प्रतिवादी रहेको सहकारी ठगी मुद्दा यथावत राख्दै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
भरतपुर । भरतपुर महानगरका निवर्तमान प्रमुख रेनु दाहालको पक्षमा चितवन क्षेत्र नं ३ मा जनसमर्थन बढ्दै गएको देखिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवार बनेकी दाहाल सोमबार भरतपुर–१६ मा घरदैलो अभियानमा सहभागी हुँदा स्थानीयवासीको उल्लेख्य उपस्थितिसहित स्वागत पाएकी हुन् ।
दुई कार्यकालसम्म भरतपुर महानगरपालिकाको नेतृत्व सम्हालेकी दाहालले संघीय राजनीतिमा प्रवेश गर्ने उद्देश्यसहित उमेदवारी दिएको बताएकी छन् । जेनजी आन्दोलनका कारण निर्वाचनको मिति अगाडि सारिँदा दोस्रो कार्यकाल पूरा हुन करिब १५ महिना बाँकी रहँदै उनले प्रमुख पदबाट राजीनामा दिएकी थिइन् । ‘निर्वाचन समयअगावै घोषणा भएपछि राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो’, दाहालले भनिन् ।
घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै उनले महानगर प्रमुखका रूपमा कार्यरत रहँदा सबैलाई समान व्यवहार गर्दै विकास निर्माणका काम अघि बढाएको दाबी गरिन् । ‘कसले के भन्यो भन्ने भन्दा पनि कहाँ कति काम गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहेँ’, उनले भनिन्, ‘विकासका काममा कहिल्यै पक्षपात गरिनँ ।’
उनले स्थानीय तहमा हासिल अनुभवलाई संघीय संसद्मा नीति निर्माण तहमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । चितवनको समग्र विकासका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अवसर दिन मतदातासँग आग्रहसमेत गरिन् ।
भरतपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर–२ ले चुनावी अभियानलाई औपचारिकरूपमा तीव्र बनाएको छ । सोमबार केन्द्रीय उपसभापति पुष्पा भुसालद्वारा क्षेत्रीय प्रचार–प्रसार समितिको कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनसँगै पार्टीले औपचारिकरूपमा घरदैलो कार्यक्रमको पनि शुभारम्भ गरेको छ ।
उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले नेपाली कांग्रेस सधैँ परिवर्तन, लोकतन्त्र र जनअधिकारको पक्षमा अग्रणी शक्ति रहेको बताइन् । उनले २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना, २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना तथा २०६३ सालको जनआन्दोलनपछि राजतन्त्र अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कांग्रेसले ऐतिहासिक नेतृत्व गरेको उल्लेख गरिन् ।
‘देशमा जब–जब परिवर्तनको आवश्यकता परेको छ, नेपाली कांग्रेस अगाडि उभिएको छ । अहिले पनि राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि कांग्रेस नै विश्वसनीय विकल्प हो’, उनले भनिन् ।
भुसालले क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मीनाकुमारी खरेल स्वच्छ छवि, कुनै विवाद वा मुद्दामा नमुछिएकी तथा सामाजिक सेवामा निरन्तर सक्रिय महिला नेतृ भएको उल्लेख गरिन् । ‘यदि योग्य, इमानदार र जनताको पक्षमा उभिने नेतृत्वलाई विजयी गराइयो भने बारम्बारको अस्थिरता र चुनावी झन्झटबाट मुक्ति मिल्छ’, उनले भनिन् ।
महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गर्दै उनले महिलाको प्रतिनिधित्व सुदृढ बनाउन उनको विजय आवश्यक रहेको बताइन् । ‘क्षेत्र नम्बर–२ बाट मीनाकुमारी खरेललाई विजयी गराउनु आजको आवश्यकता हो भन्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु’, उनले थपिन् ।
कार्यक्रममा बोल्दै चितवन सभापति राजेश्वर खनाल, केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ, गरिबी निवारण तथा सहकारी मन्त्री बिनु रायमाझी पौडेल, प्रदेश सभा सदस्य उत्तम जोशी तथा महानगर प्रमुख चित्रसेन अधिकारीलगायतका नेताहरूले कांग्रेसलाई विजयी गराउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर घरदैलो अभियानमा सक्रिय हुनुपर्नेमा जोड दिए ।
उमेदवार खरेलले आफू सधैँ महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैँ सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘नागरिकको आवाज संसदमा मजबुतरूपमा उठाउन, कानुन निर्माण गर्न मैले उमेदवारी दिएकी हुँ’, उनले भनिन् ।
नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सेमिफाइनलका खेल सम्पन्न भएका छन् । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा भएको सेमिफाइनल प्रतिस्पर्धाबाट लुम्बिनी प्रदेश र मधेश प्रदेशको टिम फाइनल प्रवेश गरेका छन् ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक गैँडाकोट मेयर्स ११ लाई ४४ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले फाइनलमा आफ्नो यात्रा सुरक्षित गरेको हो । टस हारेर ब्याटिङको निम्ता पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८१ रन बनायो । लुम्बिनीले दिएको १८२ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको गैँडाकोट मेयर्स ११ ले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सफल भयो ।
लुम्बिनीको जितका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ६ छक्का र पाँच चौकाको मद्दतले ७४ रनको योगफल तयार पारे । त्यस्तै, प्रज्वल थापाले १९ बलमा तीन छक्का र दुई चौकासहित ३८, सम्राट भुसालले २३ बलमा एक छक्का र तीन चौकासहित २७ तथा दीपेश रोक्काले १० बलमा एक छक्का र एक चौकासहित १५ रनको योगदान दिँदा अन्य ब्याटरहरुले दोहोरो अङ्क जोड्न सकेनन् ।
बलिङतर्फ मेयर्स ११ का बलर चन्द्रकान्त पौडेलले चार ओभरमा २० रन खर्चिदै लुम्बिनीको चार विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै, गौतम केसीले तीन तथा अपराजित पौडेलले एक विकेट लिए ।
गैँडाकोट मेयर्स ११ का लागि दीपक बोहोराले ४० बलमा एक छक्का र चार चौकासहित ४४ रनको योगफल तयार पारे । त्यस्तै, हरि चौहानले ३४ बलमा तीन छक्का र चार चौकासहित ४२, कप्तान गौरव विश्वकर्माले १२ रन बनाउँदा अन्य व्याटरले दोहोरो अङ्को योगफल तयार पार्न सकेनन् । प्रतियोगितामा व्याटिङमा उत्रिएका मेयर्स ११ का सन्नी विक, आरिफ खान, चन्द्र्कान्त पौडेल र अपराजित पौडेलले खाता नै नखोली पेबिलोन फर्किए ।
मेयर्स ११ लाई पाखा लगाउने क्रममा लुम्बिनीका सलाउद्दिन खानले चार ओभर बलिङ गर्दै १९ रन खर्चिएर पाँच विकेट लिन सफल भए । त्यस्तै, वीरबहादुर घर्ती मगरले ३ दशमलव पाँच ओभर बलिङ गर्दै २३ रन खर्चिएर चार विकेट लिँदा कृष्ण कार्कीले एक विकेट लिए ।
सोमबार नै भएको दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध मधेश प्रदेश तीन विकेटले जित निकाल्दै फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशले दिएको १५३ रनको चुनौती मधेसले १८ दशमलव दुई ओभर खेल्दै सात विकेटको क्षतिमा पूरा गर्न सफल भयो । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।
मधेश प्रदेशको जितका लागि पवन सर्राफले अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ३४ बलमा पाँच छक्का र एक चौकाको मद्दतले ५१ रनको योगफल तयार पारे । त्यस्तै मयन यादवले २७ बलमा तीन छक्का र दुई चौकासहित ३८, कप्तान अनिलकुमार शाहले १४ बलमा तीन छक्का र तीन चौकासहित ३३, अविशेख तिवारीले १२ बलमा १० रन बनाउँदा अन्य ब्याटरहरुले दोहोरो अङ्क जोड्न सकेनन् ।
मधेशका अविशेक कार्की, मोहमद आदिल आलम, हरिशङ्कर साह अङ्कविहीन रहँदै पेबिलोन फर्किए । बलिङतर्फ सुदूरपश्चिमका कैलाश ऐरले तीन एवम् मिलन बोहोरा, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले एक÷एक विकेट लिएका थिए ।
सुरुवाती व्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेशका कप्तान किरन ठगुन्नाले २३ बलमा एक छक्का र चार चौकासहित ३४ रनको योगफल तयार पारे । त्यस्तै, रोशन साउदले २५ बलमा दुई छक्का र दुई चौकासहित २९, दीपक टमटाले २४ बलमा दुई छक्का र दुई चौकासहित २७, टेक रावतले १० बलमा एक छक्का र दुई चौकासहित २० रनको योगफल तयार पारे । लोकेन्द्र चन्द र कैलाश ऐरले १०÷१० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् ।
बलिङतर्फ रञ्जित कुमारले चार तथा अविशेख तिवारीले तीन विकेट लिए । प्रतियोगिताको उपाधिका लागि मङ्गलबार बिहान मधेश प्रदेश र लुम्बिनी प्रदेश आमनेसामने हुने भएका छन् ।
जिल्लाकै ठूलो धन राशिको पाँचौँ गैँडाकोट टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सातवटा तथा आयोजक एक गरी आठवटा टिमको सहभागिता थियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्र्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको म्यान अफ द सिरिजले २५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवम् किपरले १५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट क्याच अफ द टुर्नामेन्टले १० हजार एवम् प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार रुपैयाँ र नवप्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाको भनाइ छ ।




