२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

भरतपुर । अघिल्ला वर्षहरूमा झैँ यस वर्ष पनि आरम्भ कलेज पुनः चितवन प्रथम एवं चितवन द्वितीय हुँदै उत्कृष्ट नतिजा प्रदर्शन गर्न सफल भएको छ ।

शैक्षिक हबको रुपमा विकासित हुँदै गरेको चितवन जिल्लाको भरतपुरमा रहेको आरम्भ कलेजले स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल कलेज साबित गरिरहेको छ । आरम्भ कलेजको बिएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) र बिआइटिएम (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट)तर्फ सेकेन्ड सेमेस्टर ९ब्याच २०२४० का तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

आरम्भ कलेजले बिआइटिएमतर्फ चितवन जिल्ला प्रथम र जिल्ला द्वितीय तथा बिएचएमतर्फ जिल्ला द्वितीय स्थान हासिल गरेको छ । बिआइटिएमकी छात्रा सेजल खड्गी ३.८४ एसजिपिए ल्याई चितवन टपर हुन सफल भएकी छन् भने छात्र सौरभ पौडेल ३.७६ एसजिपिए ल्याएर चितवन सेकेन्ड टपर भएका छन् । यसैगरी, बिएचएमका छात्र सबिन श्रेष्ठ ३.८३ एसजिपिए ल्याएर चितवन सेकेन्ड टपर भएका छन् । कलेजका प्राचार्य सुरज शिवाकोटीले आरम्भ कलेज यसअघि त्रिविको बिएचएमतर्फ नेपाल पाँचौँ, नेपाल चौथो हुँदै नेपाल तेस्रो बन्न सफल भएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकायतर्फ ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी म्यानेजमेन्ट (बिआइटिएम) र ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) को पढाई सञ्चालन गरेको छ । गत वर्ष बिएचएमको पहिलो सेमेस्टरकोे परीक्षामा सबिन श्रेष्ठ ३.९८ एसजिपिएसहित चितवन जिल्ला प्रथम र त्रिवि तेस्रो भएका थिए । बिआइटिएमकी छात्रा सेजल खड्की अघिल्लो वर्ष पनि ३।८४ एसजिपिएसहित जिल्ला प्रथम भएकी थिइन् ।

कलेज स्थापनाको वर्ष पहिलो सेमेस्टरको परीक्षामा बिएचएमकी छात्रा ङवाङ बम्जन तामाङ ३।९२ एसजिपिए ल्याएर नेपाल पाँचौँ र चितवन प्रथम भएकी थिइन् । दोस्रो सेमेस्टरको परीक्षामा पनि उनले ३।९४ ल्याई नेपाल चौथो र चितवन दोस्रो भएकी थिइन् ।

उत्कृष्ट विद्यार्थीहरूको पहिलो रोजाई आरम्भ कलेज, अबको यात्रा गोल्डमेडलतिर

स्थापनाकालदेखिनै फरक शैली एवं उद्देश्यका कारण विद्यार्थी एवं अभिभावकको भर्ना एवं चासो प्रक्रिया हेर्दाखेरि पहिलो रोजाई आरम्भ भइरहेको देखिन्छ । चारवर्षे स्नातक तहको पाठ्यक्रममा आधारित बिएचएम र बिआइटिएम विषयमा वर्षका दुई सेमेस्टरका दरले कुल आठ सेमेस्टर पढाई हुने प्राचार्य शिवाकोटीले जानकारी दिए ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम्तीमा डी ग्रेड (एक दशमलव आठ जिपिए) ल्याएका विद्यार्थीले १२ कक्षा सकेपछि सिम्याट परीक्षा उत्तीर्ण गरेर यस कलेजमा सहजै भर्ना हुन पाउने उनले बताए । कलेज स्थापनादेखि अहिलेसम्मको नतिजाले आफूहरु निकै उत्साहित भएको र अबको यात्रा आफ्ना विद्यार्थीलाई त्रिवि प्रथम बनाएर स्वर्णपदक दिलाउने रहेको प्राचार्य शिवाकोटीले बताए ।

उनले बिएचएमको अन्तिम वर्षका दुई वटा सेमेस्टरमा इन्टर्नसीपको व्यवस्था गरिएको र त्यस्तो इन्टर्नसीपका लागि अमेरिकामा ४३ वटा पाँचतारे होटेलसँग सहकार्य गरिरहेको कम्पनीसँग सहकार्य गरिरहेको नेपाली कम्पनीसँग आरम्भले सम्झौता गरिसकेको प्राचार्य शिवाकोटीले जानकारी दिए ।

आरम्भ कलेजको बिएचएमका विभागीय प्रमुख दीपेन्द्र सुवेदी कलेजले क्रमशः नतिजामा सुधार गर्दै त्रिवि प्रथम हुने दिशामा अगाडि बढिरहेको बताए । उनले अहिलेको नतिजाको क्रमलाई हेर्दा भावी दिनमा सहजै त्रिवि प्रथम हुने सम्भावना रहेको दाबी गरे ।

कलेजको बिआइटिएमका विभागीय प्रमुख झविलाल भुसालले कलेज स्थापनाको वर्ष, गत वर्ष र यस वर्ष बिआइटीएमका विद्यार्थीले जिल्ला प्रथम भएकाले भावी दिनमा त्रिविकै उच्च स्थानमा नतिजा ल्याउन सक्ने प्रशस्त सम्भावना रहेको बताए । उनले आरम्भ कलेजमा बिआइटीएमतर्फ त्रिविको पाठ्यक्रमका अतिरिक्त आर्टिफिसियल इन्टिेलिजेन्सी, साइबर सेक्युरिटी, मेसिन लर्निङलगायत विषयमा पढाइ भइरहेको विभागीय प्रमुख भुसालले जानकारी दिए ।

शैक्षिक नेतृत्व लिँदै आरम्भ कलेज

आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालयबाट बिएचएमतर्फ ६६ र बिआइएमतर्फ ६६ गरी कुल १३२ जना विद्यार्थी पढाउन अनुमति पाएको छ । देशको मध्यभागमा रहेको चितवनको केन्द्र भरतपुरमा २०८० साल भदौ महिनाबाट आरम्भ कलेजले आफ्नो सेवा आरम्भ गरेको थियो । भरतपुर महानगरपालिका वडा नम्बर ११, नहरचोक नजिकै रहेको आरम्भ कलेजको स्थापना चितवनका पाँच र काठमाडौँका पाँच जना शिक्षाप्रेमीले २०७९ सालमा गरेका हुन् । कलेजको व्यवस्थापन र संचालनमा संलग्न व्यक्तिहरु दुई दशकभन्दा बढी शैक्षिक क्षेत्रमा काम गरिसकेका अनुभवी छन् । शिक्षकहरु पनि अनुभवी र ऊर्जावान छन् ।

व्यवस्थापन संकाय अन्तर्गतका बिआइटिएम र बिएचएम शैक्षिक कार्यक्रमले प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्णरुपमा योग्य, सक्षम र सफल तुल्याउने प्राचार्य शिवाकोटी बताउँछन् । उनले भने, ‘व्यावहारिक, सैद्धान्तिक र समयसापेक्ष अन्तर्राष्ट्रिय स्तरको सीप प्रक्षेपण गराई यस क्षेत्रका उद्योगहरुका लागि एक प्रमुख विकल्प बनाउने हुँदा यस संस्थाको समाजमा अलग पहिचान हुने र यसले चितवनको शैक्षिक नेतृत्व लिने कुरामा समेत हामी विश्वस्त छौँ ।’

उत्कृष्ट नतिजा, सन्तुष्ट अभिभावक

आरम्भ कलेजको परिचयलाई कलेजमा अध्ययनरत विद्यार्थीको उत्कृष्ट नतिजाले अझ फराकिलो बनाएको छ । आरम्भको यो स्तरको शैक्षिक प्राप्तिले अभिभावक पनि सन्तुष्ट छन् ।

आरम्भ कलेज सुरू भएकै वर्ष बिएचएम पहिलो सेमेस्टरको परीक्षामा कलेजकी छात्रा ङवाङ बम्जन तामाङले जिपिए ३।९२ ल्याएर जिल्ला टप गरिन् । देशैभरिमा उनले पाँचौँ स्थान हासिल गरिन् । यो प्राप्तिले आरम्भलाई उचाइमा पुर्याउने काम गरेको प्रिन्सिपल शिवाकोटी बताउँछन् ।

बिएचएम पहिलो सेमेस्टरमा आरम्भकी नेबिका मैनालीले जिपिए ३।९१ ल्याएर जिल्लामा दोस्रो स्थान हासिल गरिन् । उनकै ब्याचका ओजस्वी आचार्यले जिपिए ३।८१, अंगीता अधिकारीले जिपिए ३।७८, सन्ध्या गोलेले जिपिए ३।७५ र अर्सिया बानुले जिपिए ३।६९ ल्याएका छन् । यो नतिजाबाट अभिभावकहरू खुसी भएका छन् ।

सुविधासम्पन्न भवन

दस हजार वर्गफुटमा फैलिएको पाँचतले आरम्भ कलेजका सबै कक्षाकोठा पूर्ण वातानुकुलित छन् । दस हजार वर्गफुटकै अर्को भवन छ । कलेजमा सेमिनार हल, ल्याब र पुस्तकालय छन् । फुटसल, बास्केटबल र स्वीमिङ पुल निर्माणको योजना रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए । इन्टर्नसिपका लागि स्थानीय र अन्तर्राष्ट्रिय तहमा पहल भइरहेको उनले बताए । उनले भने, ‘पढ्दै कमाउँदै भन्ने कलेजको लक्ष्य छ । अहिलेको समय सूचना प्रविधिसहितको व्यवस्थापनको हो । त्यसैले विद्यार्थीहरुसामु आरम्भ कलेज एउटा अवसरका रुपमा आएको छ ।’

आरम्भ कलेज संचालक समितिका अध्यक्ष सुरेन्द्र सुवेदी काठमाडौँ मोडल कलेजका प्राचार्यसमेत हुन् । आरम्भ कलेजले विद्यार्थीहरुलाई मनोवृत्ति, सीप र ज्ञानको सम्मिश्रणबाट शिक्षा दिने उनको दाबी छ । चितवनमा उच्चशिक्षा लिन चाहनेलाई काठमाडौँ वा विदेश जान नपरोस् भन्ने उद्देश्यले भरतपुरमा कलेज संचालनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए । कलेजले शैक्षिक, नैतिक पक्षसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको बौद्धिक र शारीरिक विकासका लागि खेलकुद, साहित्य र सिर्जनात्मक कार्यक्रमहरु अगाडि सारेको उनले जानकारी दिए ।

सहकार्यमा जोड

आरम्भ कलेजले वडा, गाउँपालिका वा नगरपालिका वा महानगरपालिकासँगको सहकार्यमा जोड दिँदै छात्रवृत्तिको व्यवस्था गरेको छ । स्थानीय निकायले तोकेको छात्रवृत्तिलाई पूर्णरुपमा लागू गरिएको कलेजले जनाएको छ । स्वदेशमा नै प्रभावकारी शिक्षासँगै स्वरोजगारमा जोड दिन कलेज प्रतिबद्ध रहेको प्राचार्य शिवाकोटी बताउँछन् । कलेजले अभिभावकहरुसमक्ष पुगी सन्तानलाई विदेश पढ्न पठाउँदा हुने मानसिक तनावविरुद्ध परामर्श दिँदै आएको उनले बताए । कलेजले बिएचएम र बिआइएममा अध्ययनरत विद्यार्थीका लागि विशिष्टीकृत ल्याबको व्यवस्था गरेको एवं विद्यार्थीहरुलाई विषयगत तालिम तथा प्रशिक्षण दिँदै आएको कलेजले जनाएको छ ।

चितवन जिल्ला स्वास्थ्य तथा पर्यटनको हब बन्दै गइरहेको सन्दर्भमा अबका दिनमा यसलाई शैक्षिक हबका रुपमा विकास गरिनु पर्ने सोचका साथ आरम्भ कलेजले सरोकारवाला रोजगारदाता संघसंस्थाहरुसँग साझेदारी कायम गर्दै आएको छ । हालसम्म आरम्भ कलेजले आइडिया स्टुडियो, लिड एक्स नेपाल, फोर्थ भ्याली कन्साइज र रोबोटिक एसोसिएसन अफ नेपालसँग साझेदारी गरिएको प्राचार्य शिवाकोटीले जानकारी दिए । ‘आरम्भ कलेजले चितवनलाई आइटी हब र पर्यटकीय हब बनाउने कुरामा सहयोग पुर्याइरहेको छ’ उनले भने ।

फरक शिक्षा प्रणाली

वातानुकुलित कक्षामा रहेका विद्यार्थीलाई डिजिटल बोर्डमा पाठ्यसामग्री प्रस्तुत गरेर पढाउँदै आएको आरम्भ कलेजले टाढाबाट आउने विद्यार्थीलाई मध्यनजर गर्दै बसको व्यवस्था मिलाएको छ । बिहानको समयमा पढाई संचालन गरिने भएकोले दिउँसो काम गर्न चाहने विद्यार्थीहरुलाई आयआर्जनको लागि विषयगत संघसंस्थाहरुमा जोड्ने प्रयत्नस्वरुप ‘पढ्दै कमाउँदै’ भन्ने नारा तय गरिएको कलेजले जनाएको छ ।

कलेजमा आरम्भ इन्नोभेसन हब संचालनमा आएको छ, जहाँ विद्यार्थीहरुले १३ वटा समूह गठन गरी पढाइलाई बल पुग्ने विभिन्न कार्यक्रम गर्दै आएका छन् । विगतका दिनमा आरम्भ आइडिया स्टेसन अन्तर्गत सेफ सन्तोष साहलाई आरम्भ कलेजको ब्राण्ड एम्बेस्डर घोषणा गरी एकदिने कार्यक्रम गरिएको थियो । आरम्भ इन्टरप्रेनर्स फोरम अन्तर्गत चितवन उद्योग संघसँगको सहकार्यमा ‘क्रिएटिङ स्टार्टअप कल्चर’ विषयक कार्यक्रम गरिएको थियो ।

भरतपुर । चितवन क्षेत्र नम्बर ३ बाट तारा चिन्ह लिएर उम्मेदवारी दिएकी रेनु दाहालले आफूले जितेपछि चितवनलाई देशकै राजधानी बनाउने अठोट व्यक्त गरेकी छन् । आज नेपाली कम्युनिस्ट पार्टी चितवन क्षेत्र नम्बर ३ ले भरतपुर ९ को धारेचोकमा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन्।

सो अवसरमा दाहालले आफूले जितेपछि चितवनलाई आर्थिक विकासको केन्द्र, रोजगारीको अवसरको स्थल र व्यापारिक केन्द्र बनाउने अठोट समेत व्यक्त गरेकी छन् । आफू भरतपुर महानगरमा नौ वर्षसम्म मेयरको रुपमा काम गर्दा ठुलठुला विकास निर्माणका परियोजनाहरू सम्पन्न गरेको र बाँकी अधुरा योजनाहरू पनि जनताले जिताएर पठाएपछि सङ्घीय संसदबाटै बजेट विनियोजन गरी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

भरतपुर महानगरमा मेयर हुँदा भरतपुरमा ६ लेन सडक निर्माण, सिटीहल निर्माण, एक हजार ८८ किलोमिटर सडक कालोपत्रे लगायतका थुप्रै विकास निर्माणका कामहरू सम्पन्न गरेको चर्चा गर्दै रेनु दाहालले अधुरा रहेका योजना पूरा गर्ने वचनबद्धता व्यक्त गरिन् ।

आफ्नै कार्यकालमा भरतपुर एयरपोर्टको विस्तार, टर्मिनल भवन निर्माण ,नारायणी नदीमा सिक्नेचर ब्रिज, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका कार्य अगाडि बढेको चर्चा गर्दै विकासप्रेमी नेत्री रेनुले भनिन् बाँकी काम पूरा गर्न मेरो उम्मेदवारी हो, चितवनलाई अझै गुन लगाउन बाँकी छ र जनतालाई अझै न्याय दिनुपर्नेछ ।

बजार क्षेत्रको ढललाई दीर्घकालीन समाधान गर्न आफ्नै कार्यकालमा डिपिआर र इआइए पूरा भएको बताउँदै तारा चिन्ह लिएर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी रेनु दाहालले जनताले जिताएर पठाएमा ३ अर्बको ढल निकासको परियोजना पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् । महानगर प्रमुख हुँदा पनि जनताको सुख दुःखको साथी भएर काम गरेको चर्चा गर्दै रेनुले अब पनि जनताको सेवक भएर काम गर्ने अठोट व्यक्त गरेकी छन्।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कलाकार भूमिका गिरी, सरिता गुरुङ, पवित्रा यात्री र नवीन खड्का लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । कलाकारले गुन्जाएको गीत संगीतमा रेनु दाहालसँगै स्थानीय जनताहरू पनि छमछमी नाचेका थिए ।

चितवन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशैभर चुनावी माहोल तातिरहेको छ। उम्मेदवारहरूलाई मतदाताहरुको घर-घरमा पुगेर भोट माग्न भ्याईनभ्याई छ। निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र २ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल बीच कडा प्रतिस्पर्धा देखिएको छ।

विगत निर्वाचनमा उल्लेखनीय मतसहित विजयी भएका लामिछाने यसपटक आफ्नो प्रभाव कायम राख्ने दाउमा छन् भने कांग्रेस नेतृ खरेलले संगठनात्मक बल, पुरानो जनाधार र स्थानीय सक्रियताका आधारमा बलियो चुनौती प्रस्तुत गरिरहेकी छ्न् ।

दुवै उम्मेदवारले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय मुद्दा सुन्ने र समाधानको प्रतिबद्धता जनाउने क्रम बढिरहेको छ। लामिछानेले सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनले तर्क छ—“राजनीतिमा पुरानो अभ्यास तोड्दै परिणाममुखी काम गर्नुपर्छ।”

यता खरेलले भने कांग्रेसको दीर्घकालीन संगठन, अनुभव र विकासको निरन्तरतालाई प्राथमिकता दिँदै मत मागिरहेकी छ्न् । उनले स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार र महिला सशक्तीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएकी छ्न् ।

लामिछानेमाथि सहजै जीत हात पार्ने मीनाको दाबी छ ।आफू नयाँ र स्थानीय स्तरमा भिजेको उम्मेदवार भन्दै खरेल चितवन २ का मतदाताले आफूलाई जिताउनेमा ढुक्क देखिएकी छन् । उनले भनिन्, ‘मतान्तर मात्रै घटाउने होइन, यो पटक नेपाली कांग्रेससँग रिसाएका मतदाता, शुभेच्छुक पनि हामी स्थानीय उम्मेदवारलाई जिताउँछौँ भन्नेमा पुगिसक्नुभएको छ । त्यसैले मैले जित्ने निश्चित छ ।’

खरेल चितवनमा नै जन्मिएर ४० वर्षयता निरन्तर चितवनमा यौन हिंसा नियन्त्रण सञ्जाल नै बनाएर हिंसा प्रभावित महिला र बालबालिकाको न्यायको अगुवाइ पनि गरिरहेकी छन् ।आफू चितवन २ को २८ वटै वडाका क्षेत्रका समस्यासँग जानकार रहेको उनी बताउँछिन् । शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा अहिलेको मूल आवश्यकता भएको भन्दै उनले भनिन्, ‘दुई पटकसम्म निर्वाचन जितेका सांसदबाट अलिकति पनि विकास बजेट नपरेकोमा स्थानीय दुःखी छन् । म संसदमा कानून बनाउने मात्रै होइन स्थानीय विकास आवश्यकता पूरा गर्न समन्वयकारी भूमिका पनि खेल्न सक्छु ।’

उनले नेपाली कांग्रेसका क्रियाशील सदस्य मात्रै नभएर यसअघि निष्क्रिय रहेका सदस्य पनि आफ्नो उम्मेदवारीपछि पुनःजागृत भएको दाबी गरिन्। आफ्नै चुनाव चिन्हमा मत हाल्न सक्ने वातावरण भएका कारण पनि मतान्तर कम गराएर जित्न सहयोग गर्ने मीनाको तर्क छ । चितवन २ मा जितेका उम्मेदवार रवि लामिछानेले यसअघि नागरिकसँग भएका अपेक्षा र उत्साहलाई सम्बोधन गर्न नसकेको उनको टिप्पणी छ। अधिकांश नेता(कार्यकर्ता आ(आफ्नो पार्टीमा फर्किएको कारण पनि आफू जित्ने दाबी उनको छ।

कांग्रेस नेताहरूका अनुसार यसपटक पार्टीभित्र देखिएको एकताले पनि मीना खरेलको मत बढ्ने अनुमान गरिएको छ । ‘पार्टीभित्र एकता देखिएको छ। यसपटक सबै क्षेत्रमा रुखमै भोट हाल्न पाउने स्थिति बनेको छ,उम्मेदवार खरेल त चितवन–२ को नतिजा नै उल्ट्याउने दाबी गर्छिन् ।

‘जेनजी युवाहरूको भावना सम्बोधन गर्ने पार्टी कांग्रेस हो । भावी प्रधानमन्त्री गगन थापाले परिवर्तन भएको सन्देश दिइसक्नुभएको छ,’ खरेलले भनिन्, ‘म आफैँले पनि विगतमा गरेका कामहरू जनताले देख्नुभएको छ। मैले जित्ने पक्का छ ।’

स्थानीय मतदाताबीच उत्साह र चासो दुवै देखिएको छ। मतदाताले नयाँ राजनीतिक शक्ति र फरक शैलीको नेतृत्वलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।

मिना खरेलले वर्षौंदेखि अनाथका लागि आमा, पीडित र दुःखीका लागि भरोसायोग्य सहारा, समाज रुपान्तरणको दृढ र अनुकरणीय खम्बाको रूपमा परिचित समाजसेवामा आफ्नो जीवन समर्पित गर्दै आएकी छन् । शिक्षा, स्वास्थ्य, विपन्न सहयोग र सामाजिक न्यायका क्षेत्रमा उनले पुर्‍याएको योगदानका कारण चितवनवासीको मनमा विशेष स्थान बनाउन सफल भएकी छन्।

समाजका लागि निस्वार्थ भावले समर्पित जीवन बिताएकी यस्ती उम्मेदवारलाई मतदानमार्फत सम्मान गर्ने अठोटका साथ चितवनका मतदाता उत्साहपूर्वक जुटिरहेका छन्। “सेवा, समर्पण र परिवर्तन”को स्पष्ट दृष्टिकोण बोकेकी मिना खरेललाई विजयी गराई चितवनलाई सकारात्मक दिशामा अघि बढाउने दृढ संकल्प जनतामा देखिएको छ।

दुई पटकसम्म चितवन २ बाट निर्वाचित भएका रवि लामिछानेको विकल्पमा मतदाताले भने यसपाली मिना खरेललाई लिएका छन्। एक स्थानिय मतदाता भन्छिन्, जनताको हरेक दुःख सुखमा साथ दिने जनतालाई परेको समस्याको समाधान गर्न सक्ने चितवनको छोरी, स्थानीय उम्मेदवार मिना खरेल हो। हामीले उहाँलाई नै जिताउनुपर्छ । लोकप्रियता होइन, वास्तविक योगदान दिने पात्र नै चितवन २ का लागि मिना दिदी हो ।

त्यसकारण पनि यसपाली जनताहरुले स्थानीय नेतालाई चुन्ने निर्णय गरेका छन्। जसमा मतदाता स्थानीय उम्मेदवारलाई जिताउने तरखरमा छन्। उनिहरु भन्छ्न्, विगतमा हामीले घन्टी घन्टी भन्दै रवि लामिछानेलाई भोट हाल्यो तर सो क्षेत्रको कुनै पनि विकास भएको छैन । निमुखा, गरिब, सुकुम्बासी भएको बस्तीमा परेका समस्याको समाधान हुन सकेको छैन ।

खैरहनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतनारायाण श्रेष्ठले चितवनको १ नम्बर क्षेत्र कांग्रेसको गढका रुपमा स्थापित गर्नेगरी लाग्न थारु समुदायलाई आग्रह गरेका छन् ।

नेपाल थारु संघ चितवन क्षेत्र नं १ ले आयोजना गरेको बृहत् थारु भेला तथा उमेदवार भेटघाट कार्यक्रममा बोल्दै उनले थारु र कांग्रेसको सम्बन्ध पुरानो रहेको भन्दै चितवनमा थारु अगुवाले कांग्रेसको नेतृत्व गरिसकेको र मेयर र सांसद् बन्न सक्ने थुप्रै महिला र युवाहरु रहेकाले बदलिएको कांग्रेसले सम्बोधन गर्ने बताए ।

बदलिएको कांग्रेसले वडादेखि सांसद्सम्म थारु समुदायलाई अवसर प्रदान गर्ने बताउँदै यसपटक राजेन्द्रप्रसाद बुर्लाकोटीलाई चुनाव जिताउन आग्रह गरे ।

चितवन १ का प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले आफू सदनमा गएपछि निःशुल्क औषधि उपचारको ग्यारेन्टी गर्ने बताए । कांग्रेसले ‘भिजन टेन’ नारामा आधारित प्रतिज्ञापत्र सार्वजनिक गरेको बताउँदै कांग्रेसले नै देशलाई समृद्धिको दिशामा लैजाने विश्वास व्यक्त गरे ।

सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्किने नेपाल निर्माणका लागि कांग्रेसलाई जिताउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ थारु नेता राजेन्द्रकुमार चौधरी, चन्द्रविक्रम चौधरी, कार्यक्रमका सभापति मनोज चौधरी, थारु महिला नेतृ चन्द्राकुमारी चौधरी, बबिताकुमारी चौधरी, जोखा चौधरी, टिकेन्द्र चौधरीलगायतले थारु संघ र समग्र थारु समुदायले कांग्रेस उमेदवार राजेन्द्र बुर्लाकोटीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।