
भरतपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवनमा क्षेत्रीय महिला भेला सम्पन्न भएको छ । निर्वाचनलाई लक्षित गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २ की उमेदवार मीना खरेललाई विजयी गराउने उद्देश्यका साथ क्षेत्रीय महिला भेला सम्पन्न भएको हो ।
भेलामा वक्ताहरूले निर्वाचनमा महिलाको सक्रिय र निर्णायक भूमिका आवश्यक रहेको जोड दिएका थिए । उनीहरूले मीना खरेललाई विकासप्रेमी, जनमुखी तथा सक्षम उमेदवारका रूपमा प्रस्तुत गर्दै आगामी निर्वाचनमा भारी मतले विजयी गराउन सबैलाई एकजुट भएर लाग्न आह्वान् गरे । उनीहरूले चितवन–२ को समग्र विकास, महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनाका मुद्दालाई प्राथमिकतामा राखेर घरदैलो अभियानलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले चितवन क्षेत्र नं २ मा मीना खरेललाई अत्याधिक मतका साथ विजय गराउन आवश्यक रहेको बताइन् । ‘मीना दिदी महिला बालबालिकाको मात्रै आमा होइनन्, उनी समग्र देशको आमा हुन् । त्यसैले पनि चितवन २ मा मीना खरेललाई अत्यधिक मतका साथ विजय गराउन आवश्यक छ’, उनले भनिन्, ‘देशको चाबी खोल्नका समाजसेवी मीना खरेलले जित्नु आवश्यक छ ।’
यतिबेला कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको छ । लामो समयपछि रुखमा भोट हाल्न पाउनु त्यसमा पनि मीना खरेललाई भोट हाल्न पाउने भएकाले पनि चितवन–२ मा छुट्टै रौनक छाएको छ । उनले भनिन्, ‘कांग्रेसको विकल्प कांग्रेस, लोकतन्त्रको विकल्प लोकतन्त्र, भएकाले देशको विकास गर्ने नै कांग्रेसले हो यसका लागि मीना खरेलजस्तो पात्र आवश्यक छ ।’ ‘उनी कांग्रेसले मात्रै नभएर युवा, महिला, बालबालिका, जेष्ठ नागरिक सबैले रुचाएकी पात्र हुन् । मीनाले हार्नु भनेको चितवनले मात्रै हार्ने होइन सम्पूर्ण देशले नै हार्ने हो । त्यसैले हामी अब एकजुट भएर लाग्नुपर्छ’, उनले भनिन् ।
उमेदवार खरेलले महिला शक्तिको साथ र विश्वास नै आफ्नो मुख्य आधार रहेको बताउँदै जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले निर्वाचनलाई लोकतन्त्रको पर्वका रूपमा लिँदै शान्तिपूर्ण र सभ्य वातावरणमा मतदान सम्पन्न गराउन सबैलाई आग्रह गरिन् । भेलामा विभिन्न राजनीतिक दलका महिला नेतृ तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
भरतपुर । भरतपुर–७, कृष्णपुरमा रहेको अङ्कुरम् एकेडेमीले चितवन र नवलपुरका ५२ वटा पूर्वप्राथमिक विद्यालय (प्रिस्कुल) का ११० जना शिक्षक/शिक्षिकाहरूलाई प्रारम्भिक बालविकास तथा मन्टेश्वरी तालिम प्रदान गरेको छ । विद्यालयले ‘जीवनभरको सिकाइका लागि बलियो आधार निर्माणका लागि गुणस्तरीय प्रारम्भिक बालशिक्षा’ विषयक एकदिने तालिम दिइएको हो ।
पूर्वप्राथमिक विद्यालयका शिक्षकहरूलाई बालकेन्द्रित शिक्षण विधि बुझ्न, व्यवस्थित वातावरण निर्माण गर्न सक्षम बनाउन, मन्टेश्वरी सामग्रीको प्रभावकारी प्रयोग गर्न, बालअवलोकन र मूल्याङ्कन सीप विकास गर्न तथा बालबालिकाको सामाजिक तथा भावनात्मक विकासमा सहयोग गर्न सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । पूर्वप्राथमिक विद्यालयकेन्द्रित कार्यक्रममा पाँचवटा माध्यमिक विद्यालयको पूर्वप्राथमिक तहमा अध्यापनरत शिक्षक सहभागी थिए ।
सिकाइ फाउन्डेसनकी अध्यक्ष, काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनकी लेक्चरर तथा चाइल्डहुड एजुकेसन इन्टरनेसन, वासिङ्टन डिसीसँग आबद्ध प्रशिक्षक डा. मीनाक्षी दाहाल मुख्य प्रशिक्षक रहेको तालिममा विभिन्न प्रयोगात्मक विधिको प्रयोग गरी प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षक डा. दाहालले ‘सुरक्षित–सुखद र बालकेन्द्रित सिकाइ निर्माण’, ‘बालबालिकाको सामाजिक–भावनात्मक र संज्ञानात्मक विकासमा सहयोग’, ‘समावेशी अभ्यासः विविधखाले सिकारुहरूलाई सहयोग’ र ‘सिकाइलाई देखिने बनाउन बालबालिकाको सिकाइको मूल्याङ्कन’ विषयमा प्रशिक्षण दिएकी थिइन् ।
बालबालिकाको शैक्षिक, सामाजिक, भावनात्मक र शारीरिक तथा समग्र विकासमा जोड दिँदै बाल्यकाल नै विकासको सबैभन्दा मह¤वपूर्ण चरण भएकाले यस अवधिमा उचित मार्गदर्शनको अपरिहार्यतालाई मनन गरी बालबालिकालाई भविष्यको असल नागरिक बनाउन आवश्यक शिक्षण प्रणालीका बारेमा तालिममा छलफल गरिएको विद्यालयकी निर्देशक सरला पौडेलले जानकारी दिइन् ।
विद्यालयका आवासीय निर्देशक नइम चौधरीले स्वागत तथा कार्यक्रमको लक्ष्यमाथि प्रकाश पार्दै सहभागीहरुलाई ऊर्जा प्रदान र सामूहिकताको महत्वबारे जानकारी गराएको कार्यक्रममा धन्यवाद मन्तव्य शिक्षिका प्रमिला खातीले गरेकी थिइन् । कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले विद्यालयको विगत, वर्तमान र भविष्यका योजनाबारे बोलेका थिए ।
रत्ननगर । नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समितिको आयोजनामा ‘सुशासन र युवा’ विषयक अन्तर्क्रिया कांग्रेस क्षेत्रीय कार्यसमिति खैरहनीमा सम्पन्न भएको छ । कार्यक्रममा कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख गरेबमोजिम चितवनको समग्र पूर्वाधार विकास र सुशासन कायम गर्न युवाको भूमिकाबारे दुई महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. सुवासचन्द्र बरालले चितवनको पूर्वाधार विकासको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे ‘समुन्नतिको सेतु : चितवनको पूर्वाधार विकास अवधारणा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चितवनलाई पर्यटन (सौराहा, मेघौली), कृषि तथा कृषिमा आधारित उद्योग (पोल्ट्री उत्पादन), उद्योग तथा व्यापार, र शिक्षा तथा स्वास्थ्य क्षेत्रको प्रमुख केन्द्रका रूपमा व्याख्या गरे ।
उनले सडक अव्यवस्था र ढिलाइ, बाढी र खडेरीको समस्या र अव्यवस्थित सहरीकरण चितवनका प्रमुख चुनौती रहेको कार्यपत्रमा औँल्याए । यस्तै, पूर्वाधार पुनर्संरचना र समाधानका लागि कार्यपत्रमार्फत् सडक सञ्जालको विस्तार (पूर्व–पश्चिम राजमार्ग विस्तार, भरतपुर चक्रपथ), मुग्लिन–नारायणगढ खण्डको उत्थानशील व्यवस्थापन र जलस्रोतको उचित व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यसैगरी, नदीकिनार विकासका सन्दर्भमा बाढी नियन्त्रण र पर्यटन प्रवर्द्धनका लागि सौराहा–लोथर करिडोर, कयर खोला करिडोरजस्ता नदीकिनारमा इको–पार्कसहितका दिगो संरचना निर्माण गर्ने अवधारणा प्रस्तुत गरिएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख भएबमोजिम नारायणी नदी आसपासको क्षेत्रलाई ‘ग्रेटर चितवन’ नमुना सहरका रूपमा विकास गर्ने र तटबन्धलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्ने योजनालाई पनि जोड दिइएको छ ।
यस्तै, शिक्षाविद् तथा ज्ञान व्यवस्थापन विज्ञ डा. कृष्णप्रसाद पौडेलले ‘सुशासन र युवा’ विषयमा प्रस्तुतीकरण दिए । उनले सुशासनको प्रत्याभूति गराउन र राष्ट्रनिर्माणमा युवाको अर्थपूर्ण सहभागिताबारे प्रकाश पारे ।
नेपालको कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत युवा भए पनि उनीहरू बेरोजगारी, सीप अभाव र वैदेशिक पलायनजस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको भन्दै डा. पौडेलले युवाको वर्तमान अवस्थाबारे कार्यपत्रमा उल्लेख गरेका छन् ।
नेपालमा प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभाव सुशासन कायम गर्ने बाटोका मुख्य व्यवधानहरु भएको औँल्याउँदै डा. पौडेलले सुशासनमा युवाको भूमिकाबारे प्रकाश पारेका थिए ।
सार्वजनिक खर्च र सेवा प्रवाहमा निगरानी बढाउने र सूचनाको अधिकार प्रयोग गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान चलाउने र दबाब सिर्जना गर्ने, खुला डाटा र इ–गभर्नेन्सजस्ता प्रविधिको प्रवद्र्धन गर्ने, प्रमाणमा आधारित नीति निर्माणमा अनुसन्धान र सुझावमार्फत योगदान पुर्याउने काम युवाले गर्नुपर्ने उनले कार्यपत्रमा उल्लेख गरेका छन् ।
डा. पौडेलले २०४६ सालसम्म त्याग र निष्ठामा आधारित रहेको राजनीति २०५१ पछि पेसा र व्यवसायमा परिणत भएको बताए । उनले राजनीतिलाई पुनः सेवाभावमा फर्काउन युवाहरू सहभागी मात्र नभई परिवर्तनको नेतृत्वकर्ता बन्नुपर्ने कुरामा जोड दिए ।
अन्तर्क्रिया कार्यक्रमले चितवनको भौतिक पूर्वाधार विकासलाई सुशासन र युवा नेतृत्वको सशक्तिकरणसँग जोडेर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको विपद् न्यूनीकरण विज्ञ मनबहादुर थापाले बताए ।
चितवन–काठमाडौँ सम्पर्क समितिका सभापति ऋषिश्वर थपलियाले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक किरणभूषण सिंह ओलीले कांग्रेसले घोषणा गरेको भिजन–१० अवधारणा मतदातालाई बुझाउन जरूरी रहेको बताए । कांग्रेस मतदाताको घरदैलोमा पुग्दा वा मतदाता भेट्दा कांग्रेसका एजेन्डाहरु प्रष्टसँग राख्नसमेत नेताकार्यकर्ताहरुलाई आग्रह गरे ।





