२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

भरतपुर । निर्वाचन नजिकिएसँगै चुनावी उमेदवारहरुको प्रचारप्रसार कार्यक्रम पनि तीव्ररुपमा भइरहेको छ । नेपालकै चर्चाको केन्द्र बनेको चितवन–२ मा पनि आगामी निर्वाचनको तयारीसँगै नेपाली कांग्रेसकी उमेदवार मीना खरेलको प्रचार अभियान पनि निकै सशक्त र प्रभावशाली बनेको छ ।

आइतबार भरतपुर–१ मा भएको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । खरेलको पक्षमा बढ्दो समर्थन देखिएको छ । कार्यक्रममा उत्साहजनक रुपमा कांग्रेसका नेता–कार्यकर्ता र खरेलका समर्थकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

भरतपुर–१ बजार क्षेत्रको रूपमा परिचित छ र यहाँका मतदाताहरूको संख्या पनि ठूलो छ। घरदैलो कार्यक्रमका क्रममा मीना खरेललाई मतदाताहरूले खुलेर समर्थन जनाएका छन् । महिलाका अधिकार र बालबालिकाको हकमा ४० वर्षदेखि निरन्तर काम गर्दै आएकी खरेललाई जनताले सम्मानका साथ स्वागत गरेका थिए । खादा र फूलमालाले उनलाई स्वागत गरिएको थियो । नेपाली कांग्रेसका नेताहरूले खरेललाई सामाजिक अभियन्ता र काम गर्ने उपयुक्त उमेदवारको रूपमा प्रस्तुत गर्दै भनेका छन्, ‘यसपटक जनताको विश्वास जित्ने उमेदवार मीना खरेल नै हुन्।’

यसैबीच, भरतपुर–१ का मुस्लिम समुदायले पनि मीना खरेलको पक्षमा खुलेर समर्थन गरेका छन् । उनीहरूले भने, ‘हामीलाई सधैँ मीना दिदीबाट सहयोग प्राप्त भएको छ र यसपटक हामी कुनै पार्टीको पक्षमा नभई आफैँले उहाँलाई समर्थन गर्नेछौँ ।’ खरेलको कार्यशैलीलाई धर्मनिरपेक्ष र समुदायको भेदभाव नगर्ने र अगाडि पनि समाजका हितमा नै काम गर्ने आफूहरु ढुक्क भएको बताए । उनीहरूले खरेललाई आफ्ना मस्जिद बोलाएर स्वागतसमेत गरेका छन् । यसपटक कुनै पार्टी समुदायलाई नभई आफूहरुको भोट खरेललाई दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महिला मतदाताहरूले पनि खरेललाई पूर्ण विश्वासका साथ समर्थन गरेका छन् । उनीहरूले भने, ‘हामी आफ्ना परिवारका सबै सदस्यसँग मिलेर मीना खरेललाई मतदान गर्ने छौँ, किनकि उहाँ महिलाका अधिकारको पक्षमा सधैँ सक्रिय रहनुहुन्छ र हामी सबैका लागि समान अधिकारको पक्षधर हुनुहुन्छ ।’ युवा मतदाताहरूले पनि मीना खरेलको पक्षमा आफ्नो आवाज उठाउँदै भनेका छन्, ‘हामी यो पटक कुनै पार्टी र सोसियल मिडियाको पछाडि नभई काम गर्ने उमेदवारलाई समर्थन गर्नेछौँ । समाजिक मुद्दामा प्रतिबद्ध उमेदवार खरेललाई मात्र हाम्रो भोट दिनेछौँ ।’

कयौँ दिनदेखि लगातार घरदैलोमा खटिएकी नेतृ खरेलले आफू आजसम्म पनि थकान महसुस नगरेको बताइन् । अझ मतदाताहरुको आफूप्रतिको यो समर्थन र विश्वास देखेर थप ऊर्जा मिलेको उनले बताइन् ।

यसरी, मीना खरेलको अभियानमा जनताको समर्थन र विश्वास बढ्दो छ । उनका समर्थकहरूले अझै बलियो विश्वासका साथ भनेका छन् कि यसपटक मीना खरेलको जीत निश्चित छ । भरतपुर–१ मा रहेका विभिन्न समुदायका जनताले खरेललाई आफैँले गरेको काम र सङ्घर्षको कारण विश्वास गर्न थालेका छन् । त्यसैले, खरेलको जीत सुनिश्चित हुने सम्भावना बढ्दै गएको छ र यो अभियान अझ उत्साह र दृढताका साथ अघि बढिरहेको छ । जनताको विश्वास र समर्थनलाई ध्यानमा राख्दै खरेलले चुनावी प्रतिस्पर्धामा आफ्नो विजयको सम्भावना अझ सशक्त बनाइरहेकी छन् ।

–केशव भट्टराई

रत्ननगर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चितवन क्षेत्र नं १ मा कांग्रेसका तर्फबाट चुनावी प्रतिस्पर्धामा होमिएका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी प्रचारप्रसारमा व्यस्त छन् । रत्ननगर–११ र १२ मा घरदैलोमा पुगेका बुर्लाकोटीले वृद्धवृद्धाबाट आशीर्वाद थाप्दै यसपटक आफूले हार्ने छूट नभएकोले यस क्षेत्रको आमूल परिवर्तनका लागि जिताउन आग्रह गरे ।

उनले घरदैलोमा पुगेका अन्य नेताकार्यकर्तालाई भने, ‘तपाईंहरुले राजेन्द्र बुर्लाकोटीका लागि होइन, बदलिएको कांग्रेसका लागि मत माग्नुहोला । बदलिएको कांग्रेसले नै देश बदल्छ । त्यसका लागि युवानेता पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउन हरेक क्षेत्रबाट कांग्रेसलाई विजयी गराउनुपर्छ ।’

उनी सकभर आफैँ उपस्थित भएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । उनी खेतबारीमा काम गरिरहेका किसान, तरकारी बारी, मठमन्दिर, विभिन्न उत्सव मनाइरहेकादेखि काजकिरिया बसेका मतदातासम्म पुग्न भ्याएका छन् । उनले कांग्रेसले भर्खरै सार्वजनिक गरेको भिजन–१० मा आधारित प्रतिज्ञापत्रबारे मतदातालाई बुझाउने प्रयास गरिरहेका छन् ।

पूर्वी चितवन खास गरी क्षेत्र नं १ विकासमा पछाडि परेको भन्दै आफू निर्वाचित भएमा मतदाताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । यहाँको भौगोलिक अवस्थाबारे नजिकबाट बुझेका र मतदाताका आशा र अपेक्षा महसुस गरेका उनले कृषि, पर्यटन, पूर्वाधार, मानव–वन्यजन्तु द्वन्द्व र भूमिहीनको समस्या समाधानका लागि यसपटक आफूलाई मत दिन आग्रह गरेका छन् ।

उनी भन्छन्, ‘म महिला, युवा, जेनजीका मुद्दाहरु सदनमा उठाउन सक्छु र सोहीबमोजिम बजेट ल्याएर यस क्षेत्रको परिवर्तन गर्न सक्छु ।’ आफू निर्वाचित भएपछि मतको सम्मान गर्ने र जनमतअनुरुप कामकारबाहीअगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनी भन्छन्, ‘म यही क्षेत्रमा आफ्नो अमूल्य समय खर्च गरिसकेको छु । जनताको दुःख–सुखमा सहयात्रा गरिरहेको छु । सुशासन मेरो पहिलो लक्ष्य हो । मलाई पैसा कमाउनु छैन । परिवार पाल्नु पनि छैन । र, व्यक्तिगत अभीप्सा पनि केही छैन । मलाई अन्तिमपटक मौका दिनुहोस् । भोटको गुन म विकास र समृद्धिमार्फत तिर्छु ।’

उनी तडकभडक र भीडयुक्त प्रचारशैलीमा विश्वास गर्दैनन् । सरल, शान्त र कूटनीतिक शैलीबाट मतदाताको विश्वास जित्न सकिन्छ भन्ने उनले बुझेका छन् । उनी भन्छन्, ‘मलाई तिलस्मी कुरा गर्न आउँदैन । पूरा गर्न नसक्ने एजेन्डा मेरो छैन । कसैलाई गाली गर्ने स्वाभाव पनि मेरो होइन । म जे बोल्छु त्यो गर्छु र जे गर्छु त्यो मात्र बोल्ने गर्छु ।’

मतदातालाई अन्योलमा पारेर होइन आफ्नो स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै वृद्धवृद्धा, महिला, आदिवासी, जनजाति, युवा, जेनजी पुस्ताको मन जित्दै आएका बुर्लाकोटीले मतदाता भेट्दा आफू निकै उत्साहित रहेको बताएका छन् । भन्छन्, ‘चुनाव जित्ने सङ्केत मैले देखिसकेको छु । अहिले समाजमा माहोल पनि बुर्लाकोटीलाई यसपटक हेरौँ भन्ने छ । म सबै मतदाताप्रति निकै आशावादी छु ।’

क्षेत्रीय सभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक किरणभूषण सिंह ओलीले आफ्नो अमूल्य मत खेर नफाल्न मतदातालाई आग्रह गर्दै स्वच्छ छवि भएका राजेन्द्र बुर्लाकोटीको पक्षमा मतदान गर्न कन्जुस्याइँ गर्न नहुने बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।