
चितवन । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ ।
भरतपुरमा रहेको सङ्घीय अस्पताल भरतपुर अस्पतालले ट्रमा सेन्टर सञ्चालन गरेको छ । यससँगै यहाँका दुई मेडिकल कलेज र साना अस्पतालहरू समेत दुर्घटनाका घाइतेको उपचार गर्न सक्षम छन् । भरतपुर अस्पतालमा मात्र २० जना अर्थोपेडिक सर्जन र २१ जना जनरल सर्जन रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार सिटी स्क्यान, एमआरआईलगायतका उपकरणमा कमी छैन ।
यससँगै मुटु, नसालगायतका जटिल उपचार यहाँ हुन्छ । यस्तै ट्रमाको धेरै उपचार गर्ने चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि दुर्घटनाका घाइतेको उपचारका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखेका छन् । समयमा उपचार हुँदा घाइते बचाउन सक्ने चिकित्सकहरू बताउँछन् ।
चितवन मेडिकल कलेजका निर्देशकसमेत रहनुभएका आकस्मिक विभाग प्रमुख प्रा डा दयाराम लम्साल दुर्घटनाको एक घण्टाभित्रको समयलाई ‘गोल्डेन आवर’ भन्ने गरिएको भन्दै उनले जतिसक्दो छिटो घाइते अस्पताल पुर्याउन सकेमा बचाउन सकिने सम्भावना बढी हुने बताउँछन् । उनले भने, “दूरी र सुविधाका हिसाबले जहाँ नजिक हुन्छ, त्यहाँ घाइते पठाउनुपर्छ ।” पछिल्ला दिनहरूमा एम्बुलेन्समा स्वास्थ्यकर्मी राखेर उपचार गर्दै अस्पताल पुर्याउनुपर्ने मान्यता रहेको उनको भनाइ छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेल मोफसल मनोविज्ञानका कारणले पनि घाइतेहरू काठमाडौँ पठाइने भन्दै उनले त्यहाँको जति सुविधा भरतपुर अस्पतालमा रहेको बताउँछन् । मुग्लिन–मलेखु सडकका घाइते काठमाडौँ पठाउँदा उकालो र अप्ठ्यारो सडक पार गर्दै लामो दूरी तय गर्नुपर्छ भने भरतपुर आउँदा छोटो दूरी र सहज सडक पर्दछ ।
घाइतेहरूको उद्धारपछि स्थानीय अस्पताल पुग्ने र त्यहाँबाट काठमाडौँ पठाइने गरिन्छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने एक पक्षले उद्धारको काम गर्छ भने अर्को पक्षले व्यवस्थापन गर्दैगर्दा यो विषयमा ध्यान नपुगेको बताउँछन् ।
विगत लामो समयदेखि धादिङमा रहेर पत्रकारिता गर्दै आएका पोषनाथ अधिकारी पहिले नारायणगढ–मुग्लिन सडकखण्ड अप्ठ्यारो भएकाले घाइते काठमाडौँ पठाउने गरिएकामा अहिले पनि त्यसै गरिँदै आएको बताउँछन् । उनको भनाइमा घाइते भइसकेपछि नजिकको अस्पतालमा लैजाने गरिन्छ । यसरी लैजाँदा मुलेखु र गजुरीका अस्पतालहरूमा घाइते पुग्छन् । त्यहाँबाट काठमाडौँ दूरी छोटिँदै गएपछि सहज मानेर पनि त्यतै जाने गरेको उनको भनाइ छ ।
रत्ननगर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै चितवन क्षेत्र नं १ का कांग्रेस उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले घरदैलो प्रचारप्रसार र चुनावी र्यालीलाई तीव्रता दिएका छन् ।
उमेदवार बुर्लाकोटीले मङ्गलबार समर्थक कार्यकर्ताको साथमा नाचगान गर्दै रत्ननगर–१ र ३ मा चुनावी र्याली गरेका छन् । उनलाई सघाउन जिल्ला सभापति राजेश्वर खनाल, उपसभापति राजीव न्यौपाने, राष्ट्रिय सभा सदस्य गीता देवकोटा, रत्ननगर नगरपालिकाका कांग्रेस जनप्रतिनिधिलगायत नेताकार्यकर्ता सहभागी रहेका थिए ।
घरदैलोका क्रममा फागुन २१ गते रुख चिह्नमा मतदान गर्न निम्तोपत्र वितरण गर्दै उमेदवार बुर्लाकोटीले परिवारको मत कतै पनि खेर नजाने मतदान गर्न आग्रह गरे । उनले भने, ‘तपाईंहरु कोही पनि हल्लाहल्ला र भ्रमको पछि नलाग्नुहोस् । तपाईंले रोजेको उमेदवारले तपाईंहरुकै हितमा काम गर्छ । प्रत्यक्षमा मलाई र समानुपातिकमा कांग्रेसलाई भोट लिनुहोस् । भोट खेर जाँदैन । म तपाईंहरुको मतको सम्मान गर्नेछु ।’
बिहानदेखि बेलुकीसम्म उनी घरदैलोमा व्यस्त भइरहेका छन् । उनलाई महिला, युवा र जेनजी युवाले साथ र सहयोग गरिरहेका छन् । चितवन क्षेत्र नं १ का निर्वाचन परिचालन समितिका संयोजक किरणभूषणसिंह ओली भन्छन्, ‘हाम्रो उमेदवारले यसपालि हार्ने छूट छँदै छैन । गाउँ–टोल, सहर–बस्ती जहाँतहीँ राजेन्द्र बुर्लाकोटीलाई मतदान गर्न जनता आतूर देखिएका छन् । उहाँको स्वच्छ छवि, राजनीतिक र सामाजिक योगदानले नै यो लहर आएको हो । हामी निकै उत्साहित छौँ ।’
घरदैलोका क्रममा भेटिएका वृद्धवृद्धाले राजेन्द्र बुर्लाकोटी र कांग्रेसका पक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले उमेदवार बुर्लाकोटीलाई आशीर्वाद दिँदै जितको शुभकामना व्यक्त गरेका छन् ।
यसपटकको चुनावमा महिला दिदीबहिनीको सक्रियता निकै बढेको छ । केन्द्रीय सहमहामन्त्री डिला सङ्ग्रौलासहित महिला नेतृहरु उमेदवार बुर्लाकोटीको चुनावी कार्यक्रममा लागेका छन् । उमेदवार बुर्लाकोटी भन्छन्, ‘महिला शक्ति एक हुने हो भने चुनाव जित्न मलाई कुनै समस्या छैन । हरेक महिला दिदीबहिनीहरुले आआफ्नो घर र छिमेकको मत संरक्षण गरिदिनुहोला ।’
चुनावी कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विशेष महाधिवेशपछि कांग्रेस नै नयाँ पार्टी रहेको र कांग्रेसले भिजन–१० मा आधारित प्रतिज्ञापत्रमा आफ्नो दृष्टिकोण सार्वजनिक गरिसकेको बताउँदै मतदाता झुक्किनुपर्ने कारण नरहेको प्रष्ट पारे ।
उनले भने, ‘हाम्रा उमेदवार राजेन्द्र बुर्लाकोटीमा यस क्षेत्रको समस्या समाधान गर्ने हुटहुटी छ । उहाँलाई अत्यधिक मत दिएर जिताऔँ ।’ उनले चुनावको समयमा मात्रै जनताको घरदैलोमा भेटिने उमेदवारलाई होइन, जनताको दुःखसुखमा सधैँ साथ दिने उमेदवार मतदाताले रोज्नुपर्नेमा जोड दिए ।
चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामाले निर्वाचनको समयमा हुने गठबन्धनको अन्त्य काङ्ग्रेसले गरेको बताएका छन् ।
नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ प्रचारप्रसार समिति महिला विभागले आयोजना गरेको बृहत् महिला भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा हुने गठबन्धनको अन्त्य गर्न विशेष महाधिवेशन सफल भएको बताएका हुन् ।
कांग्रेसले १६५ क्षेत्रमा नै मनोनयन दर्ता गरेको बताउँदै उनले अब काँग्रेसका नेता कार्यकर्ताहरुले नराम्रो मान्ने समय गएको बताए । उनले भने, ‘अब हामी सबै मिलेर कांग्रेसका उमेदवारहरुलाई विजयी गराउन आवश्यक छ ।’
कांग्रेसका उमेदवार विजयी गराउन महिलाहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए । कांग्रेस रुपान्तरण भएर आएको बताउँदै उनले यही सन्देश आम मतदातामा पु¥याउन सके प्रभावकारी बन्ने बताए । उनले थपे, ‘हरेक आन्दोलनको महत्त्वपूर्ण हिस्सा लिएको महिलाहरुले अब नवीन कांग्रेसलाई मतदान गरी विजयी गराउन आग्रह गर्दछु ।’
आफू बागमती प्रदेशको आन्तरिक मामिल हुँदा यस क्षेत्रका जनताको मागअनुसार रङ्गशाला निर्माणमा प्रदेश सरकारले ठूलो सहयोग गरेको बताउँदै कांग्रेसले आफूले गरेका कामहरुको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।
अहिले सबैले विकासका नारा दिएका छन् भन्दै उनले भने, ‘कांग्रेसको नेतृत्वमा भएको बिकासको जससमेत अरुले लिन खोज्दैछन् ।’ कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उमेदवार टेकप्रसाद गुरूङले अहिलेको समयमा देशको रक्षाका लागि कांग्रेसका उमेदवारहरुले जित्न आवश्यक रहेको बताए ।
विनास र विकास पक्षको लडाइँ अहिलेको निर्वाचन भएको बताउँदै उनले विकासको पक्षधर कांग्रेसलाई विजयी गराउन सबै तह र तप्काका नेताहरु लाग्न आवश्यक रहेको बताए । कांग्रेसका उमेदवारलाई विजयी गराउन महिलाहरुको महत्त्वपूर्ण योगदान रहने बताउँदै उनले आगामी निर्वाचनमा आफू विजयी भएर गए महिलाका हकअधिकारका कुरामा जोड दिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, क्षेत्रीय सभापति लालबहादुर दवाडी, पूर्वकेन्द्रीय सदस्य दिनेश कोइराला, संविधानसभा सदस्यहरु रामकृष्ण घिमिरे, विष्णुमाया परियारलगायतले नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले बाह्र वर्षपछि रुख चिह्नमा मतदान गर्न पाएको भन्दै सबैको मेहनतले निर्वाचनमा जित निकाल्न सकिने बताए । अवसरवादीहरुको झुण्डले देशलाई दुर्घटना बनाउन सक्ने भन्दै उनीहरुले यसबाट सबै सजग रहन आग्रह गरे ।
महिला परिचालन समितिकी संयोजक इन्दिरा कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका महिला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यससँगै क्षेत्र नम्बर ३ का विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरिएको छ । घरदैलोसँगै मत माग्ने काममा कांग्रेस नेता तथा कार्यकर्ताहरु लागि परेका छन् ।
चितवन । चितवनको कालिका नगरपालिकामा भएको मीना खरेलको घरदैलो अभियानमा जनसागर उर्लिएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ की कांग्रेस उमेदवार खरेलले घरदैलो अभियानलाई तीव्र बनाएकी छन् । सोही क्रममा मङ्गलबार कालिकामा भएको घरदैलो अभियानमा व्यापक संख्यामा जनसहभागिता देखिएको छ ।
कालिकाको ८, ९, १० र ११ वडामा गरिएको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उर्लिदो जनसागरले अभियानलाई थप ऊर्जा दिएको थियो । घरदैलो अभियानमा उत्साहजन उपस्थितिले त्यहाँको माहोलले आमसभाको झल्को दिएको थियो ।
समर्थकहरूले बिहानैदेखि लामो लाइनमा बसी बाजागाजासहित नाचगान गरी हजारौंको संख्यामा सडकमै रुख चिह्नको रङ्गोली बनाएर मीना खरेललाई भव्य स्वागत गरेका थिए । यतिबेला खरेलप्रति देखिएको समर्थन र कांग्रेस कार्यकर्ताहरूको उत्साहले चुनावी सरगर्मी थप चुलिएको छ । घरदैलो अभियानमा यतिबेला कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको छ ।
खरेल आफ्ना एजेण्डा लिएर निरन्तर मतदाताको घरदैलोमा सक्रिय भएकी छन् । उनले चितवन–२ का विभिन्न वडा, विभिन्न टोल, विभिन्न गाउँ र घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् । घरदैलोको अभियानमा स्थानियबासीहरुले महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गर्दै महिलाको प्रतिनिधित्व सुदृढ बनाउन आफूलाई विजयी गराउन आवश्यक रहेको बताएकी छन् ।
उमेदवार खरेलले आफू सधैँ महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
‘नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन, कानुन निर्माण गर्न मैले उमेदवारी दिएकी हुँ’, उनले भनिन् । ‘मतदाताहरूबाट यति धेरै माया र साथ पाएको छु । यही माया र साथले गर्दा नै मैले विजयी भएको अनुभूतिसमेत गरेकी छु’, खरेलले भनिन्, ‘जनताको विश्वास नै मेरो शक्ति हो, कालिकाको समग्र विकासका लागि म प्रतिबद्ध छु ।’




