
भरतपुर । चितवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार मीना खरेलले पछिल्लो समय जेनजी युवाहरूको साथ पाएकी छ्न् । उमेदवार खरेललाई जिताउन विभिन्न देशमा रोजगारी र अध्ययनका शिलशिलामा रहेका युवाहरू स्वदेश फर्किएर चुनावी माहोलमा साथ दिएका हुन् ।
युथ कांग्रेस नेपाल चितवनको आयोजनामा भएको नयाँ पुस्ता–नेपाली कांग्रेस सहकार्य र साझेदारी कार्यक्रममा जेनजी युवाहरु सामेल भएका थिए । उनीहरुले खरेललाई निर्वाचनमा महिलाको सहभागिता, चुनावी एजेन्डा, भावी योजनाका विषयमा प्रश्न र जिज्ञासा राखेका थिए ।
खरेलले युवाहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै आजको दिनमा जस्तै भोलिका दिनहरुमा पनि इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
खरेलले विगतमा गरेका सामाजिक कार्यको उच्च प्रशंसा गर्दै चितवन २ का लागि मीना खरेल आवश्यक रहेको भन्दै युवाहरु अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, युके, स्पेनलगायतका देशहरुबाट आएका हुन् । चुनाव नजिकिँदै जाँदा विदेशबाट फर्किएका युवाहरू सक्रियरूपमा प्रचार–प्रसार र घरदैलो अभियानमा समेत जुटेका छन् ।
विदेशमा बस्दा पनि सामाजिक सञ्जालमार्फत अभियानमा साथ दिँदै आएका युवाहरू अहिले प्रत्यक्षरूपमा मैदानमा उत्रिएका हुन् । ‘देशका लागि केही गर्ने नेतृत्व चाहियो भन्ने सोचले हामी फर्किएका हौँ’, एक युवा समर्थक दिनेश सापकोटाले भने, ‘हामी परिवर्तनका लागि मतदान मात्र होइन, सक्रिय अभियानमा पनि सहभागी भएका छौँ ।’
उनले भने, मीना दिदीको नाम बिकाउनुपर्ने नाम होइन, उहाँ आफैँमा ब्रान्ड हो, दिदीले हिजोको दिनमा गरेको कर्मका कारण उहाँलाई हामीले साथ दिएका हौँ । हामीले साथ दिँदै गर्दा मिना दिदीले गलत गर्नुभयो भने हामी प्रश्न पनि गर्छौं ।’
उनले थपे, ‘उहाँले असहाय, गरिब, दुःखीको क्षेत्रमा लामो समय काम गर्नुभयो, उहाँको कर्मलाई मैले नजिकबाट हेरेको छु । त्यसैले मैले उहाँलाई थोरै भए पनि सहयोग गर्नुपर्छ भनेर आज उहाँलाई जिताउने अभियानमा लागेको छु ।’
यस्तै, अर्का युवा भन्छन्, ‘समाजमा उत्कृष्ट सेवा दिएकी खरेललाई जिताउन आफू विदेशबाट आएको र मीना दिदीलाई मत हालिएन भने अन्याय हुन्छ ।’
उमेदवार मीना खरेलले जेन्जी युवा, महिला, ज्येष्ठ नागरिकको अपार साथ र माया पाएको बताइन् । ‘आफ्नो निर्वाचन क्षेत्रबाट जिताएको प्रतिनिधि जिताइसकेपछि त्यो क्षेत्रको प्रतिनिधिविहीन नहोस् । प्रतिनिधिले त्यहाँ पूर्ण कार्यकाल काम गरोस् भन्ने उद्देश्यले आफ्नो सवालहरू जस्ताको तस्तै कानुन निर्माण गर्ने ठाउँमा राख्न सकियोस् आर्थिक समृद्धिको दृष्टिकोणले आफ्नो प्रतिनिधिले विकास गरोस् भन्ने मनसायले मतदाताहरुले यसपटक परिवर्तन खोजिराख्नु भएको छ’, उनले भनिन्, ।
‘म कर्ममा विश्वास गर्ने मान्छे हुँ । कर्मशील मान्छे हुँ । त्यसैले उहाँहरुले प्रत्यक्ष मैले गरेको कामहरू देखेर दिदी निर्वाचनमा उठ्नुभएको छ, उहाँलाई हामीले जिताउनुपर्छ भनेर स्वतस्फुर्त रुपमा आउनुभएको छ, म निकै खुसी छु’, उनले भनिन् ।
युवाको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति बताउँदै रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र पारदर्शी शासन प्रणालीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याएकी छन् ।
उनले भनिन्, ‘विभिन्न परिस्थिति र बाध्यताले विदेश गएका हाम्रा युवाहरुलाई आफ्नै देशको माया छ । असल नेतृत्वले निर्वाचन जितोस् र असल नेतृत्व बनोस् भन्ने उहाँहरुको चाहना छ, त्यसैले युवाको ऊर्जा र विचार नै देश विकासको आधार हो, जेनजी पुस्ताको चाहना र अपेक्षालाई नीतिगत तहसम्म पुर्याउने प्रतिबद्धता लिएको छु ।’
खैरहनी । नेपाली कांग्रेस क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताउँदै आफूलाई मतदाताको साथ सहयोग रहेको बताएका छन् ।
निर्वाचनलक्षित घरदैलो एवम् मतदाता भेटघाटमा व्यस्त रहेका उमेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने जेनजी युवाहरुको भावना सम्बोधन गर्न नयाँ युगको पार्टीको रुपमा रुपान्तरिक कांग्रेसका उमेदवारलाई जिताउन जरूरी रहेको बताएका छन् ।
पछिल्लो समय उनको पक्षमा जनमत बढ्दै गएको छ । खैरहनीमा हरेक दिन युवा तथा जेनजीहरु पार्टी प्रवेश गर्ने लहर नै चलेको छ । जेनजी युवाहरुले समाजसेवामा योगदान दिएका बुर्लाकोटीलाई जिताउन आफूहरु पार्टी प्रवेश गरेको जनाएका छन् । विभिन्न पार्टीमा आवद्ध भएका युवा तथा पहिलोपटक मतदान गर्न लागेका जेनजीहरुले समूह नै बनाएर पार्टी प्रवेश गरेका हुन् ।
उमेदवार बुर्लाकोटी भन्छन्, ‘रत्ननगरमा भएको युवा भेलादेखि अहिलेसम्म पार्टी गर्नेको संख्या दुई हजार भन्दा बढी रहेको छ । जुन गाउँमा पुग्यो त्यही गाउँमा समूहगत रुपमा नै राजेन्द्र बुर्लाकोटीलाई जिताउनुपर्छ भनेर पार्टी प्रवेश गर्नुहुन्छ । पार्टी प्रवेश गर्नेको लहरले पनि मैले चुनाव जित्ने आशा लिएको छु ।’
कांग्रेसका नेता–कार्यकर्ताहरुले गाउँबस्तीमा पुगेर चुनावी अभियान तीव्र बनाएकोमा उनले आभाार व्यक्त गर्दै भन्छन्, ‘मलाई सबैले तन, मन र धन लगाएर सहयोग गर्नुभएको छ । अब आआफ्नो परिवारको भोट सम्हाल्दै आफ्ना उमेदवारलाई जिताउन लाग्नुहोला । तपाईंहरु दृढ संकल्पका साथ लाग्नु भएको छ । कांग्रेस सभापति गगन थापा प्रधानमन्त्री बन्ने बाटो अब टाढा छैन ।’
आफू कसैप्रति गालीगलौज र प्रचारबाजीमा नलागेको बताउँदै उनले भोट भीडले होइन, गाउँ बस्तीका मतदाताबाट आउने विश्वास व्यक्त गरे ।
आफूले ५० वर्षदेखि यही क्षेत्रमा जनताको दुःख–सुखमा काम गर्दै आएको बताउँदै पार्टीले अन्तिमचोटि सम्मान गरेको र यसपटक विपक्षी पार्टीको पनि साथ र समर्थन रहेकाले आफ्नो जीत सुनिश्चित रहेको उनको भनाइ थियो ।
यस्तै, निर्वाचन संयोजक किरणभूषण ओलीले क्षेत्र नं १ मा आफ्ना जनप्रतिनिधिले गरेका विकासका कामहरु हेरेर पनि कांग्रेस उमेदवार बुर्लाकोटीलाई जनताले मत दिने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘स्वच्छ छवि बोकेका हाम्रा उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी आफ्नो जीवनमा कुनै काण्डमा मुछिनु भएको छैन । सामाजिक र राजनीतिक योगदान दिएर जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँलाई मतदाताले न्याय गर्नुहुनेछ ।





