
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड छ लाख २२ हजार ६७९ मतगणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको अद्यावधिक विवरणअनुसार मङ्गलबार बेलुकी ९ः१० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ५० लाख ८८ हजार ०७८ मत प्राप्त गरेको छ । प्रतिशतका हिसाबले रास्वपाले ४७.८९ प्रतिशत मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १७ लाख २६ हजार ८६३, नेकपा (एमाले)ले १४ लाख ३८ हजार २०३, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात लाख ८९ हजार ४३५, श्रम संस्कृति पार्टीले तीन लाख ७२ हजार ३९२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख २७ हजार ९६२ मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले एक लाख ७३ हजार ९३९, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६८ हजार ४८५ र जनमत पार्टीले ७८ हजार ५८६ मत प्राप्त गरेको छ । तीन संयुक्त पार्टीको ६१ हजार १४१ र अन्य साना पार्टीको ५० हजार भन्दा कम आएको छ । मतगणना अन्तिम चरणमा पुगेको छ ।
चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो ।
उनका अनुसार क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्र नं १ मा रास्वपा, नेपाली कांग्रेस र एमालेका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ । सो क्षेत्रमा ९६ हजार १५४ मत खसेको थियो । ९१ हजार ८९९ मत सदर भएको थियो ।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा ८७ हजार २२१ मत खसेको थियो । यसमा ८४ हजार २३२ मत सदर भएको थियो । यस्तै, क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा एक लाख ५३ मत खसेको थियो । समग्र जिल्लामा दुई लाख ८३ हजार ४२८ मत खसेको उनले जानकारी दिए ।
जिल्लामा समानुपातिकतर्फको मतगणनासमेत अन्तिम चरणमा पुर्याइएको छ । चितवन २ र ३ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ भने क्षेत्र नं १ को अन्तिम अवस्थामा पुगेको सूचना अधिकारी श्रेष्ठले बताए ।





