
रत्ननगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ । सो नतिजाअनुसार चितवन जिल्लाका सातवटा पालिकामध्ये रत्ननगर नगरपालिकाले सबैभन्दा उच्च अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ ।
मूल्याङ्कनअनुसार रत्ननगर नगरपालिकाले ७६.२२ अङ्क ल्याएर पहिलो स्थान प्राप्त गरेको हो भने इच्छाकामना गाउँपालिकाले ७४.३२ अङ्कसहित दोस्रो स्थान र भरतपुर महानगरपालिकाले ६८.०२ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । चितवनका अन्य पालिकाहरूमा माडी नगरपालिकाले ६७.१०, खैरहनी नगरपालिकाले ६५.०९, कालिका नगरपालिकाले ६४.५० र राप्ती नगरपालिकाले ३६.२० अङ्क प्राप्त गरेका छन् ।
आयोगले स्थानीय तहको प्रशासनिक, वित्तीय र सामाजिक कार्यसम्पादन मापन गर्न १७ वटा मुख्य सूचकहरू निर्धारण गरेको थियो । यी सूचकहरूमा बजेट तर्जुमा तथा पारित, राजस्व परिचालन, खर्च व्यवस्थापन, बेरुजु नियन्त्रण, ‘सूत्र’ प्रणालीको प्रयोग, आवधिक योजना, शिक्षा (भर्ना दर, टिकाउ दर, जिपिए), स्वास्थ्य (गर्भ जाँच, संस्थागत सुत्केरी, खोप) र अनलाइन पोर्टलमा विवरण प्रविष्टिजस्ता विषय समावेश थिए ।
रत्ननगर नगरपालिका प्रथम भएपछि नगर प्रमुख प्रलाद सापकोटाले यो उपलब्धिलाई सम्पूर्ण नगरवासीहरूको साथ, सहयोग र कर्मचारीहरूको मेहनत, समर्पण तथा निरन्तरको प्रयासको परिणाम भएको बताएका छन् ।
‘हामीले प्रशासनिक पारदर्शिता, वित्तीय अनुशासन, राजस्व परिचालन, शिक्षा, स्वास्थ्य र योजना कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेका छौँ’, उनले भने, ‘यो नतिजाले हामीलाई थप जिम्मेवार र जवाफदेही बनाएको छ । अब हामी अझ राम्रो सेवा प्रवाह, विकास निर्माण, सुशासन र नागरिकमुखी कामहरूलाई प्राथमिकता दिँदै रत्ननगरलाई नमुना नगर बनाउने छौँ ।’




