२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

चितवन । पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन गरिएको छ । जेनजी अभियन्ता मिराज ढुङ्गाना नेतृत्वको ‘गरी खान देऊ’ अभियान चितवन शाखाले मोटरसाइकल नचलाई हातले दोहोर्‍याएर विरोध र्‍याली आयोजना गरेको हो ।

चितवनको चौबिसकोठीबाट सुरू भएको उक्त र्‍याली लायन्स चोकसम्म पुगेको थियो । र्‍यालीको नेतृत्व गरेका युवा विशु लामा गुरूङले दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म सबै कुराको मूल्य अकासिएको बेला आर्थिक संकटको समयमा जनतामाथि थप करको भार थोपर्नु अन्यायपूर्ण भएको बताए । उनले सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको जानकारी दिए ।

अभियन्ता मिराज ढुङ्गानाले सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल, प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर र हरित कर गरी ६ प्रकारका करहरू लगाउँदै आएको बताए । हाल प्रतिलिटर पेट्रोलको मूल्य २१७ रुपैयाँ पुग्दा सरकारले झन्डै ६५ देखि ७० रुपैयाँ त कर मात्रै लिने गरेको उनको भनाइ छ ।

आन्दोलनको उद्देश्य सरकारसँग घाटामा पेट्रोल माग्नु नभई, सङ्कटको घडीमा लगाइएका अनावश्यक करहरू हटाउन दबाब दिनु रहेको ढुङ्गानाको भनाइ छ । र्‍यालीमा एक सय बढी युवाको सहभागिता रहेको थियो ।

भरतपुर । चितवन उद्योग वाणिज्य संघले आइतबार अपिल जारी गर्दै अबदेखि सोमबार व्यवसाय नियमित सञ्चालन गर्न र शनिबार मात्रै व्यवसाय बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

विगत लामो समयदेखि प्रत्येक सोमबार व्यवसाय बन्द गर्ने अभ्यास व्यावसायिक अनुशासन, ऐक्यबद्धता तथा बजार व्यवस्थापनको सकारात्मक अभ्यासका रूपमा रहँदै आएको भन्दै संघले नेपाल सरकारले शनिबार र आइतबारलाई सार्वजनिक बिदा लागू गरिसकेको अवस्थामा सोमबारसमेत बजार बन्द हुँदा व्यवसायी, उपभोक्ता तथा सेवाग्राहीमा अन्योल सिर्जना भएको जनाएको छ ।

यसै सन्दर्भमा आइतबार संघ र विभिन्न वस्तुगत संघबीच सम्पन्न संयुक्त बैठकले अब उप्रान्त सम्पूर्ण व्यवसाय सोमबार नियमित सञ्चालन गर्ने तथा शनिबार सामूहिकरूपमा व्यवसाय बन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष चिरन्जीवी सुवेदीले बताए ।

उनले संघले व्यवसाय सञ्चालन गर्ने वा नगर्ने अधिकार प्रत्येक व्यवसायीमा निहित रहे पनि एउटै दिन सामूहिकरूपमा व्यवसाय बन्द गर्ने अभ्यासले व्यवसायीहरूको साझा आवाजलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । विशेषगरी कर नीति, बजार व्यवस्थापन, व्यावसायिक हकहित, आर्थिक चुनौती तथा निजी क्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउन सामूहिक एकता महत्त्वपूर्ण हुने संघले अपेक्षा गरेको छ ।

यस्तै, शनिबार एक दिन व्यवसाय बन्द गर्दा व्यवसायी तथा कर्मचारीलाई नियमित विश्राम मिल्नुका साथै सरसफाइ, स्टक व्यवस्थापन, मर्मत सम्भार तथा आन्तरिक प्रशासनिक कार्य व्यवस्थित गर्न सहज हुने संघले जनाएको छ ।

चितवन । निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ । गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको छ ।

टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको हो । योसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल (रिचार्ज)का लागिसमेत पानी छोडिएको छ ।

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ आयोजनाका प्रमुख कुलप्रसाद चालिसेका अनुसार सो क्षेत्रमा रहेका झण्डै १२ वटाभन्दा बढी पोखरी पुनर्भलका लागि पानी छोडिएको छ । अब निरन्तर सो क्षेत्रमा पानी छोडिने उनले बताए । गर्मी याम बढेसँगै निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका ताल तलैयाहरू सुक्ने हुँदा वन्यजन्तुका लागि पानीको अभाव हुने गरेको छ । जसका कारण वन्यजन्तु बस्ती छिर्ने गर्दछन् ।

हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पानी छोड्ने गरिन्छ । नहर मर्मत गरी पानी छोडिएको हो । यस क्षेत्र गैँडा, चित्तल, बाघ भालुलगायतका वन्यजन्तुहरू र चराचुरुङ्गीको बासस्थान रहेको छ ।

चितवन । नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो ।

संघका अध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरुसहित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

विश्व मेडिकल एसोसिएसनका विज्ञहरुको भिडियो प्रस्तुतीकरण रहनेछ । देशभरबाट प्रतिनिधिमूलक रुपमा चिकित्सकहरु सहभागी हुनेछन् । अध्यक्ष डा कार्कीका अनुसार सम्मेलनमा चार वटा समूहगत छलफल गरिने छ । कार्यक्रममा ६० कार्यपत्र र अन्य वैज्ञानिक प्रस्तुतीकरणसहित गरी १०० भन्दा बढी प्रस्तुतीकरण हुनेछन् । सोही अवसरमा संघका नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरणसमेत गरिने छ ।

सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बिमा र मानव संसाधन व्यवस्थापनजस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिने उनले बताए । हरेक दुई÷दुई वर्षमा हुँदै आएको यो कार्यक्रम १२ वर्षयता तीन÷तीन वर्षमा गर्न थालिएको छ । उनका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल गरिनेछ ।

यसपटकको सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरू सञ्चालन हुने अध्यक्ष डा कार्कीले जानकारी दिए ।

भरतपुर । चितवन उद्योग वाणिज्य संघले चितवन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेललाई स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रूपमा आएका प्रहरी उपरीक्षक रामेश्वर पौडेललाई संघमा स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गदै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको बारेमा विस्तृत जानकारी गराउँदै उनले विगत लामो समयदेखि उद्यमी एवम् व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडि बढेको बताए । उनले चितवनको व्यावसायिक विकासका लागि सुरक्षा महत्त्वपूर्ण एवम् अपरिहार्य रहेको बताउँदै जिल्ला प्रहरी कार्यालयले चाल्ने सकारात्मक कदममा चितवन उद्योग वाणिज्य संघको पूर्ण सहयोग रहने जनाउँदै चितवन बसाइको पूर्ण सफलताको कामनासमेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रमुखअतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले निजी क्षेत्र र व्यावसायिक संस्थाहरु देशको आर्थिक मेरुदण्ड भएको र शान्ति सुरक्षा बिना आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने बताए । उनले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसुर बाँकी नराख्ने बताउँदै शान्ति सुरक्षा र व्यवस्थापनमा उद्योगी, व्यवसायीहरूबाट पनि सहकार्यको अपेक्षा राखेको बताए ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले प्रहरी एक्लैले समाजलाई सुरक्षित राख्न नसक्ने बताउँदै उनले व्यवसायीहरु पनि आफ्नो सुरक्षाको लागि आफँै सचेत हुनका लागि अनुरोध गर्दै व्यवसायीहरुलाई सिसी क्यामेरा पसलभित्र मात्र जडान नगरी बाहिर बाटोतिरसमेत जडानका लागि अनुरोध गरे । उनले जिल्लाको शान्ति सुरक्षाको सवालमा संघ प्रहरीसँग हातेमालो गर्दै अगाडि बढ्ने जनाउँदै जिल्ला प्रहरी प्रमुखको चितवन बसाइ सफल, उपलब्धिमूलक र ऐतिहासिक एवम् पूर्ण सफलताको कामनासमेत व्यक्त गरे ।

कार्यक्रममा संघका उपाध्यक्षत्रय नारायण प्रधान, जनक पौडेल, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर केसीलगायत संघका कार्यसमिति सदस्यहरू, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरूको उपस्थिति रहेको थियो । संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापनसहित समापन गरेको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।