
भरतपुर । चितवनबाट अपहरणमा परेका किशोरले आफू अपहरणमा परेपछि सहयोग मागेको खुलेको छ । आइतबार अपहरण गरी काठमाडौँ पुर्याइएका १६ वर्षीय किशोरको सोमबार काठमाडौँको नयाँबजारस्थित एक होटलबाट उद्धार गरिएको थियो ।
एक युवकले एउटा चिर्कटो फेला परेको भनेर काठमाडौँ प्रहरीलाई खबर गरेका थिए । जसमा लेखिएको थियो, ‘हेल्प ! मेरो नाम (गोप्य) । मेरो बाबाको नाम (गोप्य) । म नारायणगढबाट अपहरणमा परेको हो । कृपया प्रहरीलाई खबर गरिदिनुहोस् । मेरो बाबाको नम्बर (गोप्य) ।’
उनले यो कागज होटल नजिकैको एक चउरमा फ्याँकेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
यो चिर्कटो फेला परेपछि युवकले प्रहरीलाई खबर गरेका थिए । ‘यो कागज फेला परेपछि हामीलाई खबर भयो । किशोर अपहरणको विषय एकदम संवेदनशील भएकाले हामीले यहाँबाट टेकओभर गरी उद्धारको अपरेसन चलायौँ’, एसएसपी खड्काले भने ।
प्रहरीले यही विषयमा अपहरित किशोरका बुबासँग पनि कुरा गरेको थियो । प्रहरीले थाहा पाउनुअघि अपहरणमा संलग्न व्यक्तिहरूले फिरौती पनि मागिसकेका थिए । ‘उनीहरूले बुवालाई फोन गरी २२ लाख रूपैयाँ मागेका थिए । फिरौती मागिसकेको विषयमा पनि परिवारले प्रहरीलाई खबर गरेका रहेनछन् । यस विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको होला’, उनले भने ।
अपराध अनुसन्धान कार्यालयको टोली होटलमा पुग्दा तीन जना त्यहीँ फेला परेका थिए । दुई जना भने बाहिर गएका थिए । पछि उनीहरू पनि त्यहीँ आइपुगेका थिए । ‘होटलमा किशोरलाई कुटपिट र ज्यानसमेत मार्ने धम्की दिइएको थियो’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
प्रहरीले अपहरणमा संलग्न सुजित कुमार, गोलु कुमार, अर्का गोलु कुमार, बिक्की कुमार र मोहम्मद साहिदलाई पक्राउ गरेको छ । उनीहरू सबै जना भारतीय नागरिक हुन् । उनीहरू पनि १८ वर्षकै छन् । कक्षा ७ मा पढ्ने अपहरणमा परेका किशोर र सुजित कुमार साथी थिए । तर, बीचमा सुजित कुमारले विद्यालय छाडे । केही वर्षपछि सुजितले फेरि इन्स्टाग्राममार्फत किशोरसँग सम्पर्क गरे । त्यसपछि भेट्न बोलाए । बोलाएर सुरूमा गाडीमा हालेर चितवनकै एउटा होटलमा राखिएको थियो । तर, त्यहाँबाट उनीहरूले ती बालकलाई भारतीय नम्बरको गाडीमा हालेर काठमाडौँ लगेका थिए ।
चितवनबाट अपहरणमा परेको खबर भएपछि डिएसपी सुवास भट्टले अपराध अनुसन्धान कार्यालयसँग उद्धारका लागि समन्वय गरेका थिए । भट्टका अनुसार चितवनमै पनि एक जना पक्राउ परेका छन् । अपहरणमा परेका किशोरका परिवार सुनको कालिगढी सम्बन्धित काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।





