
भरतपुर । कानुनमन्त्री तथा चितवन क्षेत्र नं ३ की प्रतिनिधिसभा सदस्य सोविता गौतमले भरतपुर महानगरपालिका–२३, बेलहट्टामा हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारसँग भेट गरी समवेदना व्यक्त गरेकी छन् ।
शनिबार मध्यराति करिब ११ बजे जङ्गली हात्ती पूर्ण बोटेको घरमा प्रवेश गरी आक्रमण गर्दा उनकी श्रीमती २५ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका क्रममा हात्ती धपाउन पूर्ण बोटेले आगो बाल्ने प्रयास गर्दा कच्ची घरमा आगलागीसमेत भएको थियो ।
स्थानीयवासी र प्रहरीले संयुक्तरूपमा आगो नियन्त्रणमा लिएका थिए । शोकसन्तप्त परिवारलाई सान्त्वना दिँदै मन्त्री गौतमले अत्यन्तै दुःखद घटना भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिन् ।
उनले मानव–वन्यजन्तु द्वन्द्व नयाँ समस्या नभई वर्षौंदेखि दोहोरिँदै आएकाले यसको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर रहेको बताइन् । ‘यस्ता घटना विगतमा पनि भएका छन्, अहिले पनि भइरहेका छन् र भविष्यमा पनि दोहोरिन सक्छन् । त्यसैले दीर्घकालीन समाधानका लागि हामी अझ बढी सचेत हुनुपर्छ’, मन्त्री गौतमले भनिन् ।
उनका अनुसार वन्यजन्तुको गतिविधि प्रविधिमार्फत निगरानी गर्ने, ट्रयाकिङ प्रणालीलाई प्रभावकारी बनाउने, निकुञ्ज, स्थानीय सरकार र सरोकारवालाबीच समन्वय बढाउने तथा वन्यजन्तुको सुरक्षित बासस्थान व्यवस्थापन गर्ने विषयमा अध्ययन भइरहेको छ । ‘जनावर पनि जोगिनुपर्छ, मानिस पनि सुरक्षित रहनुपर्छ । यसको उपयुक्त समाधानका लागि सबै सरोकारवाला एक ठाउँमा बसेर दीर्घकालीन योजना बनाउन आवश्यक छ’, उनले भनिन् । मृतक परिवार अल्पसंख्यक बोटे समुदायका हुन् ।
घटनापश्चात् शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समुदायबीच छलफल भएको छ । सरोकारवालाबीचको छलफलपछि चारबुँदे सहमति गरिएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।
निकुञ्जसँग भएको सहमतिअनुसार हात्तीलाई तत्काल नियन्त्रण लिन आवश्यक पहल गर्ने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतकको घर निर्माण गराउने र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आवश्यक काम गर्ने रहेको वडाध्यक्ष दवाडीले बताए ।
चितवन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियू) सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतीक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड (विद्युतीय सूचना पाटी)मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ ।
नयाँ व्यवस्थाअनुसार आइसियूमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा निजका आफन्तलाई मोबाइल फोनमार्फत सन्देश (एसएमएस) पठाई जानकारीसमेत गराइने छ । अस्पतालमा आइसियुका शय्या प्रायः खाली नहुने भएकाले बिरामी आइसियू सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेकाको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले आइसियूजस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न उक्त व्यवस्था लागू गरिएको जानकारी दिए । उनले भने, ‘आइसियु सेवामा थप पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको नाम विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था लागू गरेका हौँ । आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा आफन्तलाई फोनमार्फत सन्देश पठाइने व्यवस्था गरेका छौँ । यसले सेवा प्रवाहलाई थप व्यवस्थित र विश्वासनीय बनाउन सहयोग पुग्नेछ ।’
अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी) काउन्टरबाट आइसियुमा भर्नाका लागि आवश्यक विवरण प्रविष्ट गरिनेछ । यस व्यवस्थाले आइसियुमा शय्या खाली भएरनभएको जानकारी सहजरूपमा प्राप्त गर्न सकिने तथा आवश्यकताका आधारमा सेवा प्रदान गर्न सहयोग पुग्ने अस्पतालले जनाएको छ । यस व्यवस्थाले आइसियु शय्याको उपलब्धतासम्बन्धी जानकारी सहज बनाउनुका साथै चिकित्सकीय प्राथमिकता र निर्धारित प्रक्रियाअनुसार सेवा प्रवाह गर्न सहयोग पुग्ने प्रवक्ता डा सापकोटाले बताए ।
छ सय शय्याको भरतपुर अस्पतालमा हाल वयस्कतर्फको सघन उपचार सेवाअन्तर्गत पुरानो आइसियु (एमआइसियू र एआइसियू० मा १८ शय्या, नयाँ आइसियू तथा सिसियूमा १८ शय्या र बर्न वार्डको आइसियुमा दुई शय्या गरी कूल ३८ शय्या सञ्चालनमा रहेका छन् । बालबालिका तथा नवजात शिशुका लागि ३५ शय्याको आइसियू सेवा उपलब्ध छ । अस्पतालको आकस्मिक विभागमा ५० शय्या छन् । अस्पतालमा दैनिक रूपमा तीन हजारभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् ।
चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीले घरमै पसेर आक्रमण गर्दा एकै परिवारका आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ११ बजे स्थानीय पूर्ण बोटेको घरमा जङ्गली हात्ती प्रवेश गरी घरभित्र सुतिरहेका आमाछोरामाथि आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक आशिका बोटे पूर्ण बोटेकी श्रीमती हुन् । दुवै शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।
चितवन । पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी ‘एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । अक्षर समूह चितवनको आयोजनामा पुस्तकको लोकार्पण गरिएको हो ।
लेखक रिजालका बुवाआमा तथा सन्तानद्वय एल्बिकबाबु रिजाल र एल्बिकानानी रिजालसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्तरूपमा कृतिको विमोचन गरेका थिए ।
विमोचनपछि कवि भूपिनले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘नैबेद’ समकालीन नेपाली समाजका विविध संकट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासङ्ग्रह भएको बताए । उनका अनुसार यस सङ्ग्रहका कथाले मनोरञ्जनभन्दा बढी पाठकलाई विचार, प्रश्न र आत्ममन्थनतर्फ डोर्याउँछन् ।
उनले विज्ञान, शिक्षा, अन्धविश्वास, वैदेशिक रोजगारी, प्रेम, राजनीति, अपराध, महामारी र मनोविज्ञानजस्ता विविध विषयलाई कथामार्फत प्रस्तुत गरिएको उल्लेख गर्दै समकालीन नेपाली समाजको मानसिक, सामाजिक र सांस्कृतिक संक्रमणलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको बताए ।
कार्यक्रममा लेखक रिजालसँग अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संवाद गरेका थिए । संवादमा ‘नैबेद’को लेखन प्रक्रिया, कथाको संरचना तथा लेखकका साहित्यिक रुचिका विविध पक्षबारे छलफल भएको थियो । कार्यक्रमको सहजीकरण साथै स्वागत अक्षर समूहका पूर्वअध्यक्ष रमेश प्रभातले गरेका थिए ।
शिखा बुक्सद्वारा प्रकाशित ‘नैबेद’ मा १४ वटा कथा समेटिएका छन् । पुस्तकको मूल्य ५९५ रुपैयाँ तोकिएको छ ।
भरतपुर । पर्यटनको दिगो विकास र पर्यटकीयस्थलको संरक्षण तथा संवर्द्धनका लागि सरसफाइ तथा अतिथि सत्कारको महत्त्वपूर्व भूमिका रहने तथ्यमाथि जोड दिइएको छ । शनिबार भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीमा आयोजित ‘भरतपुरको धार्मिक तथा पर्यटन विकास एवं प्रवर्द्धनमा शिक्षक तथा विद्यार्थीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उक्त तथ्यमाथि जोड दिइएको हो ।
बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालय एवं भरतपुर महानगरपालिकाको सहयोगमा भरतपुर धार्मिक तथा पर्यटन विकास समिति चितवनको आयोजनामा सञ्चालित अन्तर्क्रिया कार्यक्रममा भरतपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा होटल व्यवसायी महासंघ, नेपालका अध्यक्ष दिनेशकुमार चुकेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले चितवनमा पछिल्लो समय सडक कालोपत्र, खानेपानी, स्वास्थ्य, शिक्षा र पर्यटन पूर्वाधारका क्षेत्रमा तीव्र विकास भएको बताए । चितवनका २८ वटा पर्यटकीयस्थल समेटेर उनले ‘डकुमेन्ट्री’ प्रदर्शन गरेका थिए । महानगरका २९ वटै वडामा धार्मिक महत्त्व बोकेका मठमन्दिर रहेको र ती मठमन्दिरहरुका बारेमा अझै पनि प्रचारप्रसार हुन बाँकी रहेको बताए ।
त्यसैगरी ‘ताल किनारा परिक्रमा मार्ग’बारे जानकारी दिँदै उनले टाइगर ताल, राइनो ताल, बिसहजारी ताल, किङफिसर ताल, बाटुलीपोखरीलगायतका तालतलैयाका बारेमा डकुमेन्ट्रीमार्फत जानकारी दिए । अध्यक्ष चुकेले मनकामनादेखि भरतपुरको घोलाघाटसम्म जलयात्राको रोमाञ्चक अनुभूति गर्न सकिने बताए ।
वातावरणको संरक्षणमा टेवा पुर्याउन आफूहरुले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिँदै आएको भन्दै उनले लुम्बिनीमा थन्किएका केही विद्युतीय बसहरु चितवनको पर्यटन प्रवर्द्धनका लागि यहाँ चितवनमा आउन सक्ने सम्भावना रहेको पनि बताए । त्यसका लागि कार्यविधि बनाउने काम भइरहेको उनको भनाइ थियो ।
एक फरक प्रसङ्गमा उनले अहिले मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटक धेरै भित्रिँदा त्यहाँ भारतीय रूपैयाँ बढी भएको र नेपाली रूपैयाँसँग सटही हुन नसक्दा त्यहाँ समस्या भएको र राज्यले त्यसको उचित सम्बोधन गर्न नसकेको गुनासो गरे । ‘विशुद्ध शाकाहारी खाना पाइने होटलको अभावमा भारतीय पर्यटकहरुलाई अप्ठ्यारो पर्ने गरेको छ, यसतर्फ पनि होटल व्यवसायीहरुले सोच्नुपर्छ’, उनले भने । नेपालकै पहिलो ‘बखान’ सहकारीको बारेमा बोल्दै उनले सहकारीले अहिले तोरीको तेल उत्पादन र बिक्रीवितरण गर्दै आएको बताए ।
अध्यक्ष चुकेले दुईदिने बिदाका कारण आन्तरिक पर्यटन चलायमान बनेको बताउँदै विद्यालयले विद्यार्थीलाई पर्यटन प्रवर्द्धनका लागि प्रोत्साहित गर्नुपर्ने बताए । विद्यार्थीले अध्ययनसँगसँगै प्रयोगात्मकरुपमै पर्यटनबारे जानकारी लिनुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा जिज्ञासा राख्दै अङ्कुरम् एकेडेमीका छात्र डेनिस लामिछानेले भने, ‘हामीलाई पर्यटनको महत्त्वबारे जानकारी त छ, घुमघाम गर्न मन पनि लाग्छ तर जतिबेलै ‘पढ पढ’ भन्ने अभिभावकलाई यो कुरा कसले सम्झाइदिन्छ ?’
जिज्ञासाकै क्रममा चितवन माविका शिक्षक बाबुहरि आचार्यले विद्यालयको पाठ्यक्रममै लघु भ्रमणको अवधारणा रहेको भए पनि धेरैजसो सामुदायिक विद्यालयहरुलाई खाजा र यातायात व्यवस्थापनमा आर्थिक कठिनाइ रहेको बताए । उनले चितवनका पर्यटकीयस्थलहरुमा शाकाहारी खानाको सहज उपलब्धता नहुने र त्यहाँ पाइने चटपट, पानीपुरीलगायतका खाजामा खाद्य स्वच्छताको ख्याल नगरिएको हुन सक्ने भएकोले सोबारे स्थानीय सरकारले अनुगमन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा मन्तव्य राख्दै अङ्कुरम् एकेडेमीमा प्रधानाध्यापक सुमन पौडेलले हरेक वर्ष विदेश भ्रमणका नामम ठूलो रकम बाहिरिने गरेको तथ्य पेस गर्दै त्योभन्दा ठूलो रकम आन्तरिक पर्यटनमा चलायमान हुने गरेको बताए । बाटुलीपोखरीको जलकुम्भीबारे बोल्दै उनले भने, ‘अहिले त्यहाँ आकर्षणको केन्द्र नै जलकुम्भी बनेको छ, तर जलकुम्भीले उक्त पोखरीको अस्तित्व सङ्कटमा पर्दै गएको छ । जलकुम्भीले बाटुलीपोखरी आकर्षक त देखिएको छ, तर त्यसले त्यहाँको पारिस्थितिक प्रणाली नै बिग्रने चिन्ता बढाएको छ ।’
नेपाल सानो देश होइन, यो मध्यम आकारको देश हो । हामीले जब–जब प्रगति र परिवर्तनको कुरा आउँछ अनि सानो देश भनेर बहाना बनाउँछौँ, अनगिन्ती सम्भावना हुँदाहुँदै पनि हामीले सानो देश भनेर बहाना बनायौँ तर सम्भावना उजागर गर्नतर्फ लागेनौँ । उनले भने– ‘सिंगापुर चितवन राष्ट्रिय निकुञ्जभन्दा पनि सानो देश हो तर त्यहाँ सबै सम्भावनाहरु उजागर भई विकास भएको छ ।’ नेपालमा धेरै ठाउँहरु सामाजिक सञ्जालमा भाइरल हुने र चहलपहल बढ्ने तर केही समयपछि ती स्थान सुनसान हुने गरेको बताउँदै उनले पर्यटनको दिगो विकासका लागि अतिथि सत्कार र सरसफाइको महत्त्वपूर्ण भूमिका रहने बताए ।
विशिष्ट अतिथि एवम् वडा नं–७ की वडा सदस्य अमृता गौतमले भरतपुर धार्मिक तथा पर्यटन विकास समितिले राज्यसँगसँगै पर्यटन विकासमा लिएको अग्रसरताको प्रशंसा गरिन् । ‘राज्यको दायित्व समितिले वहन गरेको छ, यसले यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्न मद्दत पुगेको छ’, उनले भनिन् ।
कार्यक्रमका प्रमुखअतिथि भरतपुर–१ का वडाध्यक्ष केशव महर्जनले पर्यटकीयस्थलमा फोहोर व्यवस्थापनको समस्या रहेको भन्दै पर्यटकीय क्षेत्रलाई राम्रो र दिगो बनाउन सरसफाइ र अतिथि सत्कारको महत्त्वपूर्ण भूमिका हुने बताए । पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायी र सरकारको मात्र पहल पर्याप्त नहुने भन्दै उनले विद्यालय, कलेज, समुदाय र सबै पक्षको उत्तिकै भूमिका रहने बताए । साना व्यापारीहरुलाई प्रोत्साहन गर्न नारायणी नदीकिनारमा व्यापार गर्न दिइएको र त्यहाँ उपलब्ध हुने खाजामा खाद्य स्वच्छताबारे आफूहरु सचेत रहेको बताए ।
सरसफाइ निरन्तरको प्रक्रिया रहेको भन्दै उनले विद्यार्थीलाई मठमन्दिरलगायतका स्थल सरफाइका लागि प्रयोग गर्न सकिने बताए । ‘इन्डोनेसियाको बालीमा मठमन्दिरको सरसफाइमा विद्यार्थीहरु खटिन्छन्’, उनले भने, ‘यसले एकातिर विद्यार्थीले सरसफाइ र मठमन्दिरको महत्त्व बुझ्न सक्छन् भने ती ठाउँहरुको संरक्षण पनि हुन्छ ।’
भरतपुर धार्मिक तथा पर्यटन विकास समितिका उपाध्यक्ष भरत दवाडीले सञ्चालन गरेको अन्तक्र्रिया कार्यक्रम होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेको सभापतित्वमा सम्पन्न भएको थियो । अन्तर्क्रिया कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, होटल व्यवसायी संघ चितवनका कृष्णकुमार महतो, विकास गुरूङ र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।





