
रत्ननगर । रत्ननगरमा ‘औद्योगिक ग्राम स्थापना र उद्योगीहरुका समस्या’ विषयक अन्तर्क्रिया कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिकाको सहयोगमा गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले लगानी सुरक्षाका लागि औद्योगिक ग्राम स्थापनाको आवश्यकता औँल्याएका छन् ।
कार्यक्रमका प्रमुखअतिथि एवं रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले नगरको औद्योगिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । व्यवसायीले उद्योगमा गरेको लगानी सुरक्षाका लागि औद्योगिक ग्राम आवश्यक रहेको उनले बताए ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संघका अध्यक्ष शंकर गिरीले व्यवसायीले भोग्दै आएको समस्या निराकरणका लागि औद्योगिक ग्राम आवश्यक रहेको भन्दै औद्योगिक ग्राम स्थापनाका निम्ति राज्यको सहयोग चाहिएको बताए ।
उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनका प्रमुख विनोद पौडेलले औद्योगिक ग्राम स्थापनासम्बन्धी सरकारी मापदण्ड, जग्गा छनोट प्रक्रिया, आवश्यक पूर्वाधार र उद्योगीहरुले पाउने सेवासुविधा तथा सहुलियतका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
रिजाल फुड एण्ड बेभरेजेज प्रालिका प्रबन्ध निर्देशक पुरूषोत्तम रिजालले ‘समृद्ध रत्ननगरको प्रस्थानविन्दु : नगरस्तरीय उद्योग ग्रामको अवधारणा, आवश्यकता र व्यावहारिक रोडम्याप’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा रत्ननगरको भौगोलिक र आर्थिक अवस्थालाई ध्यानमा राख्दै औद्योगिक ग्रामलाई ‘प्लग एन्ड प्ले’ मोडेलमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।
रिजालले बढ्दो सहरीकरण र उद्योगबीचको द्वन्द्व अन्त्य गर्न, उद्योगीहरुको पलायन रोक्न तथा साना उद्यमीहरुलाई प्रवद्र्धन गर्न औद्योगिक ग्रामको स्थापना अपरिहार्य रहेको बताए । उनले कृषिजन्य उद्योग, पर्यटन सहयोगी हरित उद्योग र मेडिकल क्लस्टरलाई मुख्य आधार बनाउनुपर्ने सुझाव दिए ।
संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा संघका पूर्वअध्यक्षहरु अनिलकृष्ण श्रेष्ठ, केशवनारायण श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञानबहादुर विसुराल, कोषाध्यक्ष विनोद घिमिरे, कार्यसमिति सदस्यहरु तथा स्थानीय उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।
त्यसैगरी, रत्ननगर नगरपालिकाको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वच्छ र स्वस्थ माछा तथा मासु उत्पादनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रम उपमेयर यादवप्रसाद पाठकले उद्घाटन गरेका थिए ।
मासु पसलमा गर्नुपर्ने सुधार, मासु व्यवसायीले अपनाउनुपर्ने सतर्कता तथा ऐननियम र नियमावलीको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष गिरीले बताए । मासु व्यवसायीको लापर्बाहीका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै उनले व्यवसायीले अवलम्बन गर्नुपर्ने न्यूनतम सेवा मापदण्डका विषयमा जानकारी गराउने र कार्यान्वयनका लागि आग्रह गर्ने उद्देश्य रहेको बताए ।
उपमेयर पाठकले मासु व्यवसायीले लापर्बाही गरे त्यसको असर मानव स्वास्थ्यमा देखिने भन्दै जिम्मेबार बन्न आग्रह गरे । अनुगमन गर्दा व्यवसायीको फ्रिजमा कुहिएको मासुसमेत भेटिने गरेको भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे । कार्यक्रममा पशु चिकित्सकहरु डा। रविन बस्ताकोटी र डा। अनुष्काराज भण्डारीले सहजीकरण गरेका थिए ।
रत्ननगर । रत्ननगर वडा नं–६, बछौलीस्थित मध्यवर्ती क्षेत्र पशुसेवा उपभोक्ता समितिको अध्यक्षमा पुनः गोपीकृष्ण श्रेष्ठ चयन भएका छन् । आइतबार सम्पन्न सो संस्थाको २६औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बुद्धिप्रसाद दुवाडी, सचिवमा सुवास विडारी, कोषाध्यक्षमा मोहनबहादुर बस्नेत र सदस्यहरुमा भीमप्रसाद सापकोटा, माधव राय क्षेत्री, तुलप्रसाद उप्रेती, राधिकाकुमारी महतो र तिलक खतिवडा चयन भएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र सचिव सुवास विडारीले पशु स्वास्थ्य सुधार कार्यक्रम तथा वार्षिक कार्ययोजना, आर्थिक वर्ष २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
रत्ननगर नगरपालिका वडा नं–६ का वडाध्यक्ष किरण महतो प्रमुखअतिथि रहेको उक्त कार्यक्रममा वडा नं–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख रविन चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष गणेश खतिवडा, बूढीराप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल चौधरी, मृगकुञ्जका पूर्वअध्यक्षहरु वासु ढुङ्गाना, वासु चापागाईं, बूढीराप्तीका पूर्वअध्यक्षहरु हिराबहादुर गुरूङ, नारायण तिमिल्सिना, खैरहनी–१२ का संस्थापक अध्यक्ष टीकाराम तिमिल्सिना, कुमरोज वनका अध्यक्ष राजुप्रसाद सिलवाल, मिलीजुली वनका अध्यक्ष मेघनाथ पौडेललगायतले मन्तव्य राखेका थिए ।
मृगकुञ्जका कोषाध्यक्ष बालकृष्ण अम्गाईंले सञ्चालन गरेको बन्द सत्रमा मृगकुञ्जकी उपाध्यक्ष सरस्वती लामासहित पदाधिकारी, सदस्यहरु र बूढीराप्तीका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । मध्यवर्ती क्षेत्र पशुसेवा उपभोक्ता समितिले मृगकुञ्ज र बूढीराप्तीअन्तर्गतका उपभोक्ताहरुलाई पशु स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
रत्ननगर । रत्ननगर–११ स्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण र जैविक विविधता प्रवर्द्धनका लागि वृक्षरोपण गरेको छ । वनले आइतबार एक कार्यक्रमका बीच मनिखोला पार्कनजिक रहेको खण्ड नं २ मा विभिन्न प्रजातिका बिरूवाहरु रोपेको हो ।
वनका अध्यक्ष गोविन्द सिङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले वृक्षरोपणको उद्घाटन गरेका थिए ।
प्रकृतिको सन्तुलन कायम राख्न र उपभोक्ताहरुको आयआर्जनमा समेत टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विशेषगरी लोपोन्मुख अवस्थामा रहेका पलाँस, मौवा र सिसौका बिरूवाहरु रोपिएको वनका अध्यक्ष सिङ्तानले जानकारी दिए । वृक्षरोपण कार्यक्रमका लागि संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र, कुलेखानी, मकवानपुरअन्तर्गतको गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना र डिभिजन वन कार्यालय, भरतपुरले आर्थिक सहयोग गरेका अध्यक्ष सिङ्तानले बताए ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि आचार्यले वनको दिगो व्यवस्थापन र रैथाने तथा लोपोन्मुख प्रजातिका बिरूवाहरुको संरक्षणमा पञ्चकन्या सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गरे । वन व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आवश्यकताअनुसार गरिने वृक्षरोपणले वन संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्रका जलाधार व्यवस्थापन अधिकृत निकेश कठायतले सामुदायिक वनको हैसियत बिग्रिन नदिन वृक्षरोपणलाई निरन्तरता दिनुपर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ चितवनका उपाध्यक्ष कृष्ण बगाले, रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपक पौडेललगायतले मन्तव्य राखेका थिए । वन सचिव तीर्थकुमार विकले सञ्चालन गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष पार्वतीदेवी मगरले स्वागत मन्तव्य राखेकी थिइन् ।





