
रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१०, भानुचोकका १२ वर्षीय सुभन भण्डारी ‘द भ्वाइस अफ किड्स नेपाल सिजन–५’को ब्याटल राउन्डमा प्रवेश गरेका छन् ।
सुभन नेपालभरबाट छनोट भएका ४६ प्रतियोगीमध्ये एक हुन् । हाल उनी काठमाडौँको बुढानिलकण्ठस्थित बाल विकास बोर्डिङ हाइस्कुलमा कक्षा ८ मा अध्ययनरत छन् ।
ब्लाइन्ड अडिसनमा उनले ‘चरीले त छोडेर गइहाली…’ बोलको गीत प्रस्तुत गर्दै आफ्नो सशक्त गायन प्रतिभा प्रदर्शन गरेका थिए । उनको प्रभावशाली प्रस्तुतिपश्चात् कोच वाङ्देन शेर्पाबाहेक अन्य तीनै जना कोचले आफ्नो कुर्सी घुमाएका थिए । तीनमध्ये एक कोचबाट छनोट हुने अवसर पाएपछि सुभनले कोच अर्जुन सापकोटाको टोली रोज्दै ब्याटल राउन्डमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
सुभनकी आमा अम्बिका चालिसे भण्डारीका अनुसार सुभन सानैदेखि गायन र अध्ययन दुवैमा रुचि राख्दै आएका छन् । ‘सुभन सानैदेखि पढाइ र गायन दुवैमा रुचि देखाउँथ्यो । उसले दुवै क्षेत्रलाई सँगसँगै अगाडि बढाइरहेको छ,’ उनले भनिन् । सुभनका बुबा पुष्पराज भण्डारीका अनुसार ब्लाइन्ड अडिसन पार गर्नु सुभनको सफलताको सुरूवात मात्र हो ।
‘यो सफलता सुभनको पहिलो खुड्किलो मात्र हो । उसले जीवनमा अझ धेरै मेहनत गर्न बाँकी छ । हामी उसको उज्ज्वल भविष्यको कामना गर्दछौँ’, उनले भने । ‘द भ्वाइस अफ किड्स नेपाल’को ब्याटल राउन्डमा प्रवेशसँगै सुभनले आफ्नो सांगीतिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। उनको सफलताले चितवनवासी तथा शुभेच्छुकहरूमा उत्साह थपिएको छ ।
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वमन्त्री विक्रम पाण्डेले चितवनको भरतपुर महानगरपालिका–२३, बेलहद्रहीमा जङ्गली धुव्रे हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।
शनिबार मध्यराति करिब ११ बजे जङ्गली हात्तीले पूर्ण बोटेको घरमा प्रवेश गरी आक्रमण गर्दा उनकी श्रीमती २५ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका क्रममा हात्ती धपाउन पूर्ण बोटेले आगो बाल्ने प्रयास गर्दा कच्ची घरसमेत जलेर नष्ट भएको थियो ।
चितवन ३ का पूर्वसांसदसमेत रहेका पाण्डेले आफ्नो व्यक्तिगत सहयोगमा वियोग र विपत्तिमा परेका बोटे परिवारका लागि खाद्यान्न, लत्ताकपडा, ओछ्यान, डसना, ग्यास चुलो तथा सिलिन्डरलगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।
पाण्डेले दुःखको घडीमा पीडित परिवारलाई केही राहत पुग्ने उद्देश्यले व्यक्तिगतरूपमा सहयोग गरेको उल्लेख गरे । उनले प्राकृतिक तथा वन्यजन्तुजन्य विपद्का कारण पीडामा परेका नागरिकलाई सबैले साथ दिनुपर्ने बताए ।
भरतपुर । चितवनको भरतपुरस्थित वैष्णव रेस्टुरेन्टमा एक ग्राहकले खाना खानेक्रममा सागमा शङ्खेकिरा भेटिएपछि जिल्ला प्रशासन कार्यालयले रेस्टुरेन्टमा तालाबन्दी गरेको छ ।
सो रेस्टुरेन्टमा खाना खान पुगेका सेवाग्राहीले सागमा शङ्खेकिरा फेला पारेपछि प्रशासनलाई खबर गरेका थिए । त्यसलगत्तै प्रशासनको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा रेस्टुरेन्टमा प्रयोग भइरहेको तेलको गुणस्तर पनि कमजोर देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।
उनका अनुसार रेस्टुरेन्टलाई तत्कालका लागि बन्द (सिल्ड) गरिएको छ । ‘आवश्यक सुधारका लागि प्रतिबद्धता जनाउने, तोकिएको जरिवाना बुझाउने तथा मापदण्ड पूरा गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइनेछ’, उनले भने ।
प्रशासनले खाद्य स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्ने भन्दै होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र उपभोक्ता सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।
चितवन । स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई उपचार सेवावापत ९२ करोड ३६ लाख ४२ हजार ९४७ रुपैयाँ भुक्तानी गरेको छ। अस्पतालले बिमामार्फत प्रदान गरेको सेवाबापत अझै करिब ३६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जनाएको छ।
अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलका अनुसार अस्पतालले २०७४ भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म बिमा कार्यक्रममार्फत अस्पतालले २ अर्ब ४७ करोड ४८ लाख रुपैयाँभन्दा बढी प्राप्त गरिसकेको छ।
गत आर्थिक वर्षमा अस्पतालले बिमामार्फत ४ लाख ४१ हजार पटक सेवा दिएको थियो भने चालु आर्थिक वर्षमा यो संख्या ५ लाख नाघेको अस्पतालले जनाएको छ।
चितवनसहित मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ भन्दा बढी जिल्लाका बिरामीले भरतपुर अस्पतालबाट स्वास्थ्य बिमा सेवा लिने गरेका छन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले बिमा सेवाग्राहीलाई उच्च प्राथमिकता दिँदै प्रतीक्षा समय घटाउने अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार भिडियो एक्स–रे सेवाको प्रतीक्षा सूची हटाइएको छ भने सिटी स्क्यान मेसिन मर्मत नहुँदासम्म निजी अस्पतालसँग सहकार्य गरी बिमाको दररेटमै सेवा उपलब्ध गराइएको छ।
सेवा प्रवाहलाई थप सहज बनाउन अस्पतालले अनलाइन टिकट प्रणाली लागू गरेको छ। हाल दैनिक करिब २०० जनाले अनलाइनमार्फत टिकट लिने गरेका छन् भने यो संख्या ४०० सम्म पुग्ने अपेक्षा गरिएको छ। नगद काउन्टरको संख्या पनि ८ बाट बढाएर १० पुर्याइएको छ।
डा. बगालेका अनुसार अस्पतालमा आउने बिरामीलाई लामो समय लाइनमा बस्न नपरोस् भन्ने उद्देश्यले सेवा व्यवस्थापनमा सुधार गरिएको हो। बिमा बोर्डले निर्धारण गरेको केही औषधि र सेवाको शुल्क वास्तविक खरिद मूल्यभन्दा कम भए पनि बिरामीलाई निरन्तर सेवा प्रदान गरिएको उनले बताए।
नयाँ बिमा शुल्क संरचना लागू भएपछि बहिरङ्ग सेवामा २५ हजार रुपैयाँसम्मको उपचार सुविधा सहज बनेको र सेवाग्राहीले पहिलेभन्दा बढी औषधि तथा उपचार सेवा प्राप्त गरिरहेको अस्पतालले जनाएको छ।
रत्ननगर । रत्ननगर–१० मा रहेको शुभारम्भ एकाडेमीमा ज्ञानराज/खिलकुमारी विष्ट पुस्तकालय स्थापना गरिएको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सविता बोहराको अध्यक्षता तथा लाइसियम डेभलपमेन्ट सञ्चालक समितिका अध्यक्ष डा. शरदचन्द्र काफ्लेको प्रमुख आतिथ्यतामा पुस्तकालय शुभारम्भ गरिएको हो ।
कार्यक्रममा भरतपुर–१२, शुभलक्ष्मी टोल निवासी ९६ वर्षीय पुस्कालय अभिवृद्धिकर्ता दाता ज्ञानराज विष्ट र उनकी धर्मपत्नी ८५ वर्षीया खिलकुमारी विष्टलगायत संवद्र्धक दाताहरु वासुराज विष्ट, शोभा विष्ट, बटुकराज विष्ट, कल्पना विष्ट, भवानी विष्ट, माधवी विष्ट र इन्दिरा विष्टलाई सम्मान गरिनुका साथै हालसालै तथ्याङ्क शास्त्रमा पिएचडी सम्पन्न गरी डाक्टरको उपाधि प्राप्त गर्न सफल सञ्चालन समितिका अध्यक्ष डा. शरदचन्द्र काफ्लेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुखअतिथि डा. काफ्लेले विभिन्न अनुसन्धानको विश्लेषण गर्दै डिजिटल दुनियाबाट फिजिकल दुनियामा प्रवेश गराउन विद्यालयमा स्थापित पुस्तकालयको ठूलो महत्त्व रहेकोले यसको कुशल व्यवस्थापन भई भरपूर उपयोग हुने विश्वास व्यक्त गर्दै दाता र दाता परिवारप्रति आभार प्रकट गरे ।यस्तै, सभापति सविता बोहराले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् ।
विद्यालयका सहप्राचार्य भीमाकुमारी थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा रत्ननगर–१० का वडा सदस्य गोमा भण्डारी, बैरिया माविका पूर्वप्रधानाध्यापक निलकण्ठ शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्वागत मन्तव्य राख्दै विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले डिजिटलाइज बन्दै गएको मानवीय दैनिकीले धैर्यता र आपसी सद्भावमा ल्याएको कमीलाई चिर्दै पुस्तकालयले धैर्यतासँगै ज्ञानको अभिवृद्धि गर्न कोसेढुङ्गा साबित हुने र परिवारजनमा आमाबाबुप्रतिको कर्तव्यसमेत बोध हुने विचार व्यक्त गरे ।
संवद्र्धक दाता तथा ज्ञानराज विष्टका ज्येष्ठ सुपुत्र बासुराज विष्टले आफू विद्यालय जान नपाए पनि बुबाले पाँच भाइबहिनीलाई पढाउन गरेको कठिन परिश्रमको चर्चा गर्दै सानो छँदा बुबाले कपडापछि किन्दा हुन्छ पहिला किताव कापी किन्नुपर्छ भन्ने गरेको स्मरण गरे ।
विद्यालयका प्राचार्य पशुपति उपाध्यायले पुस्तकालयको व्यवस्थापनमा कुनै कमी नहुँने, सार्वजनिक बिदाको दिन समुदायका लागि पुस्तकालय खुल्ला गर्दै पठनसंस्कृतिको विकास गर्ने बचनवद्धता प्रकट गर्दै दाता परिवारप्रति आभार प्रकट गरे ।
चितवन। चितवनमा कृष्णसार संरक्षण तथा पर्या-पर्यटनको नयाँ क्षेत्र स्थापना गर्ने प्रक्रिया प्राविधिक एवं प्रशासनिक अल्झनका कारण सुस्त बनेको छ।
कृष्णसार अनुकूलको खुला वातावरण बनाउन रत्ननगरको टिकौली चौर क्षेत्रका केही रुख हटाउनुपर्ने निर्णय मन्त्रालयस्तरबाट स्वीकृत हुन नसक्दा कृष्णसार स्थानान्तरणमा ढिलाइ भएको हो।
डिभिजन वन कार्यालय चितवनका अनुसार कृष्णसार खुला घाँसे मैदानमा बस्न रुचाउने प्रजाति भएकाले प्रस्ताव गरिएको क्षेत्रको झाडी सफा गर्न र केही रुखहरू व्यवस्थापन गर्न अनिवार्य देखिएको छ। प्राविधिक टोलीको गहन अध्ययन र छलफलपछि सो क्षेत्रबाट १२९ वटा रुखहरू हटाउनुपर्ने निष्कर्ष निकालिएको थियो। टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा तारबार, घाँसेमैदान र दुई वटा पोखरी निर्माण भइसकेका छन्।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार रुख कटानको अनुमतिका लागि राष्ट्रिय निकुञ्ज विभाग, वन विभाग, वन तथा वातावरण मन्त्रालय र बागमती प्रदेश मन्त्रालयमा प्रतिवेदन बुझाइसकिएको छ। प्रतिवेदन पठाएको एक महिनाभन्दा बढी समय भइसके पनि रुख काट्ने अन्तिम निर्णय अझै आउन नसकेकाले थप प्रक्रिया अघि बढाउन ढिलाइ भएको उनले बताए।
सुरक्षाका दृष्टिकोणले रुखहरू नहटाई कृष्णसार ल्याउँदा ती वन्यजन्तु चितुवालगायत अन्य हिंस्रक प्रजातिको सहज आहारा बन्ने जोखिम रहने वन कार्यालयको प्राविधिक विश्लेषण छ। जानीजानी कृष्णसारलाई जोखिममा पार्नुभन्दा प्रशासनिक प्रक्रिया पूरा गर्न केही हप्ता पर्खिनु उपयुक्त हुने उनले बताए।
रत्ननगर नगरपलिकको पहलमा विसं २०७७ मा अध्ययन सुरु गरी २०७८ देखि कृष्णसार ल्याउन आवश्यक पूर्वाधार निर्माणको काम थालिएको थियो। पश्चिम नेपालमा मात्रै पाइने लोपोन्मुख कृष्णसारलाई रत्ननगर नगरपालिका-९ स्थित टिकौली क्षेत्रमा निर्माण गरिएको संरक्षण केन्द्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा ल्याउने तयारी भइरहेको हो।





