२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

चितवन। चितवनको माडी नगरपालिकाले बाँझो खेतीयोग्य जमिनको सदुपयोग गर्दै भूमिहीन, विपन्न र युवा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न ‘भूमि बैंक’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेपछि नगरपालिकाले भूमि बैंकसम्बन्धी कार्यविधि तयार गरी आगामी आर्थिक वर्षदेखि कार्यक्रम लागू गर्ने प्रस्ताव अघि सारेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार भूमि बैंक कुनै भौतिक कार्यालय नभई पालिका मातहत सञ्चालन हुने अभिलेखीकरण प्रणाली हो, जसले जग्गाधनी र खेती गर्न इच्छुक किसानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ ।

“एउटा वर्गसँग खेती गर्न जग्गा छैन वा महँगो भाडा तिर्न सक्दैन, अर्को वर्गसँग जग्गा भएर पनि खेती गर्ने जनशक्ति छैन”, उनले भने, “भूमि बैंकले यी दुई पक्षलाई पालिकाको रोहबरमा जोड्ने छ ।”

उनका अनुसार यस प्रणालीमा जग्गाधनी र किसानबिच प्रत्यक्ष लेनदेन हुने छैन । दुवै पक्ष पालिकामार्फत मात्रै जोडिने भएकाले भविष्यमा आउन सक्ने कानुनी तथा व्यावहारिक जटिलता न्यूनीकरण हुने विश्वास गरिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सेवा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।

कृषि शाखा प्रमुख सुरेश सिंखडाका अनुसार माडीमा करिब आठ हजार ५०० हेक्टर खेतीयोग्य जमिन रहेकामा हाल करिब छ हजार ५०० हेक्टरमा मात्र खेती भइरहेको छ । बाँकी करिब दुई हजार हेक्टर जमिन बाँझो रहेको छ ।

उनका अनुसार माडीका धेरै जग्गाधनी भरतपुरलगायत अन्य क्षेत्रमा बसाइँ सरेकाले खेतीयोग्य जमिन उपयोगविहीन बनेको छ । पालिकाले यस्ता जग्गा न्यूनतम शुल्कमा लिई खेती गर्न चाहने तर जग्गाविहीन वास्तविक किसानलाई उपलब्ध गराउने योजना बनाएको छ ।

सामान्य खेतीयोग्य जमिनका लागि प्रतिकट्ठा वा प्रतिविघा औसत रु एक हजार ५०० देखि दुई हजारसम्म भाडा निर्धारण गरिनेछ भने बगर तथा कम उब्जाउ भएका क्षेत्रमा यो दर अझ कम हुन सक्ने उनले बताए ।

जग्गा बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न नगरपालिकाले कर प्रणालीमा पनि परिवर्तन गर्ने तयारी गरेको छ । प्रस्तावित कार्यविधिअनुसार नियमित खेती भइरहेको जग्गामा प्रतिकट्ठा रु ४० कर लाग्नेछ भने खेतीयोग्य भएर पनि बाँझो राखिएको जग्गामा प्रतिकट्ठा रु १६० कर तिर्नुपर्ने व्यवस्था गरिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार खेती नगरी जग्गा बाँझो राख्नेले खेती गर्ने किसानको तुलनामा चार गुणा बढी कर तिर्नुपर्ने व्यवस्था गरिनेछ । यसले जग्गाधनीलाई आफैँ खेती गर्न वा भूमि बैंकमार्फत जग्गा उपलब्ध गराउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम प्रभावकारी बनाउन नगरपालिकाले कृषक सूचीकृत गर्ने अभियानलाई पनि तीव्रता दिएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर ६ सम्मका चार हजार २०० भन्दा बढी किसान सूचीकृत भइसकेका छन् । आगामी वर्ष बाँकी वडामा पनि अभियान सञ्चालन गरी कृषकको विस्तृत तथ्याङ्क तयार गरिने कृषि शाखा प्रमुख सिंखडाले बताए ।

नगरपालिकाले भूमि बैंक सञ्चालनका लागि आवश्यक कानुनी कार्यविधि र कार्ययोजना अन्तिम चरणमा रहेको जनाएको छ । कार्यक्रम कार्यान्वयनमा आएपछि तरकारी, धानलगायत कृषि उत्पादन वृद्धि हुनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । 

चितवन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।

वार्षिक करिब दुई लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिइन् । केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न केन्द्रलाई व्यवस्थित गर्नुपर्ने बताइन् । त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने उनको भनाइ थियो ।

मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीका सेवासुविधा तथा स्थायी नियुक्तिसम्बन्धी समस्याबारे पनि जानकारी लिइन् ।

उनले प्रजनन केन्द्र तथा निकुञ्ज क्षेत्रमा रहेका हात्तीको पालनपोषण र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिइन् । हाल केन्द्रमा नौ वटा ढोई र सात वटा छावा छन् । यहाँका छावालाई हुर्काएर तालिम दिई विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ । निकुञ्जमा एउटा हात्तीको स्याहारका लागि तीन जनाको दरबन्दी छ ।

त्यसअघि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले केन्द्रको अवस्था तथा समस्याबारे मन्त्री चौधरीलाई जानकारी दिएका थिए ।

यसैगरी, मन्त्री चौधरीले असार २० गते भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका २१ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरत बोटेका अभिभावकसँग भेट गरे ।

मन्त्री चौधरीले माडी नगरपालिका–१ सेरुवाका बाघको आक्रमणबाट घाइते भई अपाङ्ग भएका सूर्य महतो तथा सोही वडाका गैँडाको आक्रमणबाट घाइते हुनुभएका मङ्गले बोटेसँग पनि भेट गरे ।

उनीहरूलाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति रु पाँच लाखका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताइन् ।

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले विकास निर्माण, ढल निकास, बजार अनुगमन, मल आपूर्ति, शैक्षिक गुणस्तर, सुकुमबासी समस्या र कृषि अनुदानका विषयमा सुझाव दिएका छन् । साउनदेखि हालसम्म भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव सङ्कलनका लागि सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो ।

कार्यक्रममा नगरवासीले नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका विषयमा सुझाव दिएका छन् । नगरवासीहरुले कृषि तथा पशुपालनमा उत्पादनमा आधारित अनुदान वितरण, रत्ननगर हरियाली पार्कको प्रगति, पञ्चनदी र लौरीघोल तालको संरक्षणलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहभागी अधिकांश नगरवासीले स्थानीय सरकारले सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका थिए । कार्यक्रममा तुलसी गिरीले उपभोक्ता समितिको काममा बेहोर्नु परेको झन्झट र कर्मचारीको ढिलासुस्तीका विषयमा आफ्नो अनुभव राखेका थिए ।

यस्तै, नेकपा माओवादीका नगर इन्चार्ज रूद्र सीले सुकुमबासीका समस्याका विषयमा आफ्ना भनाइ राखेका थिए । यस्तै, रत्ननगर–१२ की निर्मला दङ्गाल, रत्ननगर–४ का केशवराज दाहाल, लक्ष्मीधर शर्मा, प्रमिला पाण्डे, नगेन्द्रराज पाण्डे, गोकर्ण गिरी, सीमा श्रेष्ठ, दीपक थापा, प्याब्सन नगरका अध्यक्ष भुवन थापालगायतले नगरको शैक्षिक, भौतिक, आर्थिक तथा किसानका समस्याबारे आआफ्ना भनाइ राखेका थिए ।

नागरिकको गुनासो र सुझाव सुनेपछि नगरप्रमुख प्रलाद सापकोटाले अन्य पालिकाको तुलनामा स्वास्थ्य, शिक्षा, खेलकुद र पूर्वाधार विकासका सवालमा तीव्ररुपमा काम भइरहेको र जनतालाई अधिकार दिलाउने सवालमा पनि स्थानीय सरकार गम्भीरताका साथ लागिपरेको बताए ।

उनले भने, ‘नगरपालिकाले भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा २५ हजार रूपैयाँको निःशुल्क उपचार गर्ने सुविधा दिएको छ । यस्तो सुविधा नेपालका ७५३ पालिकामै छैन ।’ नगरवासीले भएका कामको प्रशंसा र हुन नसकेका कामको खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।

उनले सौराहाको पर्यटन प्रवद्र्धन गर्न र दीर्घकालीन आय वृद्धि गर्न निर्माणाधीन रत्ननगर हरियाली पार्क केही कानुनी जटिलताका कारण रोकिएको र अब छिट्टै ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाइने बताए । उनले युरिया मलको समस्या स्थानीय सरकारले चाहेर पनि समाधान गर्न नसक्ने बताउँदै सङ्घीय सरकारबाट आएकोजति मल वडाहरुमा वितरण गरिएको बताए । उनले दूध र महमा उत्पादनमा आधारित अनुदान दिन सुरू गरिएको र आगामी दिनमा पनि कृषि औजार तथा प्राविधिक सेवा दिने नगरको नीति रहेको बताए ।

कार्यक्रममा उपप्रमुख यादवप्रसाद पाठकले नगरपालिकाले करमात्रै लिने गरेको, तर विकास नभएको भन्ने सवालको खण्डन गर्दै नगरको विकास निर्माणका बारेमा सबै वडाको अवलोकन गर्न अनुरोध गरे । पर्यटकीय सौराहामा १६ वटै वडामा खर्च हुने बजेटभन्दा बढी लगानी गरिएको भन्दै भएका कामको जस दिन कन्जुस्याइँ गर्न नहुने उनले बताए । उनले नगरका अव्यवस्थित र भूमिहीन गरी २५ सय सुकुमबासीमध्ये १७ सय कित्ताको जग्गा नापचाँच भइरहेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले चैत मसान्तदेखि असार मसान्तसम्म कामको चाप बढी हुने भएकाले काममा ढिलासुस्ती हुने गरेको स्वीकार गर्दै कतिपय प्रक्रिया झन्झटिलो रहेकोले यसलाई आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए । एक लाख नागरिकको सेवाकै लागि कर उठाउने भएकाले कसैमाथि विभेद नरहेको उनले बताए । शैक्षिक संस्थावरपर सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइ गर्दै नियमित अनुगमन गर्ने, शिक्षामा सुधार गरी नीतिगतरुपमा कार्यान्वयनमा लैजाने तथा गत वर्ष सुरू भएका ठेक्कालाई क्रमागतरुपमा म्याद थप गरी सम्पन्न गर्ने र किसानको समस्या समाधानका लागि ट्रयाक्टरको भाडा मूल्य तोक्दै कार्यान्वयनमा लैजाने उनले बताए ।

कार्यक्रममा वडाध्यक्षहरु सोहेन्द्रराज खरेल र रामकुमार चौधरीले प्रश्नकर्ताको जवाफ दिएका थिए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विषयगत समिति, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

रत्ननगर । रत्ननगर वाङ्मय प्रतिष्ठान, रत्ननगर नगरपालिकाको आयोजनामा शनिबार २१३औँ भानु जयन्तीको अवसरमा भानुभक्तको साहित्यिक योगदानमाथि चर्चा, रत्नश्री पुरस्कार वितरण, कृति विमोचन तथा रचनावाचन कार्यक्रम गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षता एवम् सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रत्ननगर–३ निवासी गीता लामिछानेलाई २० हजार रुपैयाँ राशिको रत्नश्री सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित स्रष्टा लामिछानेले आफूलाई प्रतिष्ठानले उचित मूल्याङ्कन गरेकोमा आभार व्यक्त गर्दै सो सम्मानबाट आफूलाई आगामी दिनमा अझै राम्रो गर्न प्रोत्साहित गरेको बताइन् ।

स्रष्टा लामिछानेको बारेमा साहित्यकार केशवराज आमोदीले प्रकाश पारेका थिए । सोही अवसरमा यमुना न्यौपानेको यमुना तरङ्ग कवितासङ्ग्रहको विमोचन गरिएको थियो । कृतिको बारेमा चर्चा गर्दै कपिल अज्ञातले न्यौपानेले मनका भावनाका तरङ्गले शब्दमा बुनेको बताए ।

गायत्री गुरुकुलका वटुकहरुले स्वस्ती तथा रामायणको श्लोक वाचन गरी उद्घाटन गरिएको कार्यक्रममा तिलकराज शर्माले स्वागत तथा राजेन्द्र घायलले गीतमार्फत स्वागत गरेका थिए ।

कार्यक्रममा भानुभक्तका योगदानका विषयमा डा. एकनारायण पौड्याल, पठन संस्कृतिका अभियन्ता उदय अधिकारी, समालोचक डिआर पोखरेल, भरतपुर प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति इन्द्रप्रसाद रेग्मी, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, श्यामजी अतिथि सेढाईं र प्रा. पूर्णप्रसाद अधिकारीले चर्चा गरेका थिए ।

प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनालले सञ्चालन एवम् अशोक भूषालले सहजीकरण गरेको कार्यक्रममा धनराग गिरी, गोकर्ण मल्ल, यमुना न्यौपाने, योगेश खनाल, खैरहनी वाङ्मय प्रतिष्ठानका सचिव रामशरण थपलिया, लीला अधिकारी दाहाल, अनिता अर्याल, सुरेशचन्द्र आचार्य, सविता अर्याल, राजेन्द्र समर्पित, रमा अधिकारी चापागाईं, गिरिराज डल्लाकोटी, चिरञ्जीवी दाहाल, करुणा उदाषी, मुकुन्द पौडेल, सर्वज्ञा पौडेल, अशोक भूषाल, रुद्रराज कँडेल र हरिराज गजुरेलले आआफ्ना रचना वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले आगामी दिनमा साहित्यिक स्रष्टाहरुमाथि बहस कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।