२०८३ असार ३० मंगलवार
२०८३ असार ३० मंगलवार
 
चितवन । निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधारणलाई अनुरोध गरेको छ । वर्षाका कारण बाढीपहिरो जानसक्ने भएकाले अत्यावश्यकबाहेक नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा यात्रा नगर्न स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको हो ।
 
सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माद्वारा जारी सूचनामा उक्त सडकखण्डका विभिन्न स्थानमा पहिरो जानसक्ने भएकाले यात्रा गर्दा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ । स्थानीय सरकार, डिभिजन सडक कार्यालयलगायत सरोकार भएका निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।  
 
जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निरन्तर रूपमा परेको वर्षात्का कारण नारायणगढ–मुग्लिन सडकखण्डसहित अन्य राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध हुनसक्ने भन्दै यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
 
बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, सडक, सिँचाइ तथा जल स्रोत आयोजना, वन लगायतका निकायलाई मेसिनरी औजारसहित तयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । उनका अनुसार समितिको बैठकले तुईन खोला र सेती दोभानमा पहिरोको उच्च जोखिम रहेको औँल्याएको छ ।
 
बैठकले मनसुनजन्य विपदबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुरानो होल्डिङ सेन्टरलाई खाली गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले विसं २०५८ मा आएको विपद्का कारण तत्कालीन जिल्ला विकास समिति र नेपाल रेडक्रस सोसाइटीले दुवै संस्थाको नाममा जग्गा खरिद गरी होल्डिङ सेन्टरको रूपमा रहेको ठाउँ खाली गर्न भनेको हो । 
 
भरतपुर महानगरपालिका-२३ मा रहेको सेन्टरमा रहेका वास्तविक आश्रयविहीनलाई अन्य वैकल्पिक व्यवस्था भए–नभएको पहिचान गरी आश्रय आवश्यक नपर्नेलाई उक्त सेन्टरबाट हटाउनसमेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । होल्डिङ सेन्टर सफा गरी तयारी अवस्थामा राख्नसमेत समितिले निर्देशन दिएको हो ।
 
तत्कालीन समयमा सो होल्डिङ सेन्टरमा ४० घर निर्माण गरेर बाढी प्रभावितलाई राखिएको थियो । एक बिघा क्षेत्रफलमा होल्डिङ सेन्टर स्थापना गरी बाढी प्रभावितलाई राखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले जानकारी दिए । विपद् व्यवस्थापन समितिको बैठकले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार साँझ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको छ, सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध बनेको छ,” सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ ।

मेसिन सम्बन्धित स्थानमा पुगिसकेको भए पनि निरन्तर ठूलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको जनाइएको छ । “मेसिन सम्बन्धित स्थानमा पुगिसकेको भए पनि निरन्तर ठूलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको छ । सडक अवरुद्धका कारण रोकिएर बसेका सवारीसाधनहरू सुरक्षित स्थानतर्फ रहनुहुन आग्रह गरिन्छ,” सडक डिभिजन भरतपुरका सडक सुपरभाईजर ईश्वर क्षेत्रीले भने ।

निरन्तर वर्षा भैरहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलबसहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ ।

गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा योगेन्द्रप्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हालेसंगै रोकिएको भुक्तानी थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार अध्यक्षको अभावमा   तलब, भत्ता र नियमित गर्नुपर्ने भुक्तानी रोकिएको थियो । कार्यकारी निर्देशक समेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारीको जिम्मेवारी दिइएको थियो ।

अध्यक्षको अभावमा औषधिलगायतका अत्यावश्यक सामग्री खरिदमा समेत समस्या भएको थियो । क्यान्सर अस्पतालको नियमावलीमा मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्दा अध्यक्ष र कार्यकारी निर्देशकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । खर्च गर्ने खातामा भने कार्यकारी निर्देशक र लेखा प्रमुखले हस्ताक्षर गरेर भुक्तानी गर्न सकिने प्राबधान रहेको जनाइएको छ ।

अस्पतालमा अध्यक्ष नियुक्ति भए पनि सञ्चालक समितिका पदेनबाहेक सदस्य रिक्त छ । अर्थ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव वा तोकिएको व्यक्ति र भरतपुर महानगरपालिकाका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ ।

कार्यकारी निर्देशक नेपालले दैनिक काममा अहिले बाधा नरहेको जानकारी दिए । उनले भने ‘ठूला नितिगत निर्णयका लागि संञ्चालक समितिको निर्णय आवश्यक पर्दछ । त्यसबाहेक नियमित कामका लागि अध्यक्ष र कार्यकारी निर्देशकले काम गर्न सक्दछन् ।’ अध्यक्ष चयन संगै अस्पतालका नियमित कामहरु सहज भएको उनले जानकारी दिए । अस्पतालमा करिव ८०० चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सेवारत छन् ।

भरतपुर । बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जङ्गली ध्रुवे हात्तीको आक्रमणबाट अकालमा निधन भएपछि हात्तीको स्वभावका विषयमा बहस थालिएको छ । विज्ञहरुले हात्तीले रिस साँध्ने भए पुस्तौँसम्म रिस साँध्छ भन्ने विषयमा भने उनीहरु स्पष्ट छैनन् । हात्तीले रिस साँध्ने र वैमनश्यता राख्ने भए पनि यो कति समयसम्म रहन्छ भन्ने यकिन हुन सकेको छैन ।

ध्रुवेले गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा आमा छोराको ज्यान लिएको थियो । शनिबार राति घरमै बसिरहेका बेला अचानक जङ्गलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको अकालमा मृत्यु थियो । हात्ती धपाउन आशिकाका श्रीमान् पुनु बोटेले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट भएको थियो ।

पुनु बोटेका हजुरबा र हजुरआमालाई यही ध्रुवे हात्तीले २०६९ सालमा माडीको द्रौपतीनगरमा यसरी नै आक्रमण गरेर मारेको थियो । केराबारीको बीचमा खरको सानो घर भएका बोटे दम्पतीको ध्रुवेले आक्रमण गरी मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । एकापरिवारका चार जनाको १४ वर्षको फरकमा ज्यान लिएपछि हात्तीले प्रतिशोध लिएको त होइन भन्ने प्रश्न उब्जिएको हो ।

हात्तीका विषयमा विद्यावारिधि गरेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोकराम हात्तीले आफूप्रति नकारात्मक मानिस पहिचान गरेर आक्रमण गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘हात्ती अत्यन्तै बुद्धिमान प्राणी भएकाले आफूलाई चोट पुर्‍याउने वा नकारात्मक व्यवहार गर्ने व्यक्तिलाई चिन्न सक्छ ।’ उनी हात्तीले ‘इगो’ वा ‘रिस’ राख्न सक्ने व्यवहार देखाए पनि त्यसलाई पुस्तान्तरण हुने वैमनश्यताको रूपमा व्याख्या गर्न नमिल्ने बताउँछन् ।

उनले हात्तीलाई कसैले ढुङ्गा हाने, दुःख दियो वा सतायो भने उसले त्यही व्यक्तिलाई लक्ष्य बनाएर आक्रमण गर्न सक्ने बताउँदै भने, ‘तर एउटा पुस्तापछि अर्को पुस्तालाई त्यही कारणले आक्रमण गर्छ भन्ने आधार छैन । यस्तो सम्बन्ध पुष्टि गर्ने प्रमाण भेटिएको छैन ।’ राम हात्तीले मानिसको व्यवहार र भावनासमेत बुझ्न सक्ने क्षमता राख्ने बताउँछन् । निकुञ्जमा लामो अनुभवसँगै अध्ययन गरेका रामले भने, ‘त्यसैले नकारात्मक व्यवहार गर्ने व्यक्तिलाई पहिचान गरेर प्रतिक्रिया दिन सक्ने सम्भावना रहन्छ ।’

उनले निकुञ्जमा भएको एउटा घटनाको उदाहरण दिँदै भन्नुभयो, ‘एक जना गेम स्काउटले हात्तीलाई ढुङ्गा हानेका थिए । त्यसको भोलिपल्ट हात्ती आएर उसैको कोठा खोज्दै झ्याल फुटाउने, सामान फाल्ने काम गर्यो, अरूलाई भने केही गरेन ।’ यसले हात्तीले आफूलाई दुःख दिने व्यक्तिलाई सम्झन सक्ने देखाएको उनी बताउँछने् । हात्तीले दुःख दिएपछि क्षमा पूजा गरिएको जनाउँदै उनले त्यसपछि मात्रै उक्त व्यक्ति बसेको कोठामा हात्ती आउन छाडेको बताए । हात्तीले आफू नजिक रहेको व्यक्तिले आफूप्रति कस्तो सोचेको छ भन्नेबारेमा बुझ्न सक्ने क्षमता भएकाले यसलाई गणेशको रुपमा समेत पूजा गर्ने गरिएको उनले बताए ।

राष्ट्रिय निकुञ्जहरुमा प्रमुख संरक्षण अधिकृतको रुपमा लामो समय अनुभव संगालेका हात्तीविज्ञ डा नरेन्द्रमानबाबु प्रधान पनि हात्तीले रिस राख्न सक्ने सम्भावना स्वीकार गर्छन् । केही घटनाले त्यस्तो सङ्केत गरे पनि सीमित घटनाका आधारमा निश्चित निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ । हात्तीले रिस संगाल्ने भए पनि लामो समय रिस राख्ने कुरामा एकिन गर्न नसकिएको उनको भनाइ छ । उनले भने, ‘हात्तीले रिस साँध्न सक्छ भन्ने देखिन्छ । तर कुनै एउटा घटनालाई आधार बनाएर १४ वर्षपछि पनि त्यही परिवारमाथि आक्रमण गर्यो भनेर ठोकुवा गर्न गाह्रो हुन्छ, ।’

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन हात्तीको स्मरण शक्ति बलियो हुने भएकाले आफूलाई दुःख दिने व्यक्तिप्रति रिस राख्ने व्यवहार देखाउने गरेको बताउँछन् । उनले माउतेमाथि हात्तीले गरेको आक्रमणका घटना चितवन, बर्दियालगायतका स्थानमा भएको उल्लेख गरे ।

उनले भने, ‘हात्तीले बाटो, स्थान र व्यक्तिसमेत सम्झने क्षमता राख्छ । त्यसैले रिसको व्यवहार देखिन सक्छ । तर एउटै परिवारका पुस्तामाथि आक्रमण गर्नुको कारण यही हो भनेर भन्न सकिने अवस्था छैन ।’ हात्ती हिँडडुल गरिरहने क्षेत्रमा घर भएका कारण पनि ती क्षेत्रहरुमा हात्तीको आक्रमण भइरहेको उनको भनाइ छ । बोटे परिवारको माडी र भरतपुरको बेलहठ्ठामा भएका दुवै घर हात्ती हिँड्ने क्षेत्रमा पर्ने भएकाले संयोग भएको हुन सक्ने उनी बताउँछन् । यद्यपि आफूलाई हानि पुर्‍याउन खोज्ने मानिसलाई आक्रमण हात्तीले गर्ने उनको भनाइ छ ।

हात्ती प्रजनन एवं तालिम केन्द्र सौराहाका प्रमुख मणिपुरण चौधरी हात्ती रिसाहा स्वभावको हुने बताउँछन् । आफ्नो हजुरबा, बुबा, आफू र छोरासमेत हात्ती प्रजनन केन्द्रमा काम गर्दै आएको भन्दै उनले रिस उठेपछि आफ्नै माउतीलाई पनि हात्तीले नछाड्ने गरेको उदाहरण दिए । उनले भने, ‘हात्ती रिसाहा स्वभावको हुन्छ, आफूलाई नराम्रो गर्ने व्यक्तिलाई अवसर हेरेर आक्रमण गर्न सक्छ ।’

झण्डै १८ वर्ष अघि एउटा घटना स्मरण गर्दै उहाँले माउते गोदीलाल चौधरीलाई निकुञ्जले पालेको वीरेन्द्रप्रसाद हात्तीले निकुञ्जभित्र आक्रमण गरेर मारेको बताए । यस्ता घटना अधिकांश निकुञ्जमा हुने गरेको भन्दै उहाँले घरपालुवा हात्तीसमेत रिसाउँदा क्रुर हुने भन्दै जङ्गली हात्ती झनै आक्रामक र रिस साँध्ने बताउँछन् ।

बच्चा हात्तीमा समेत चर्को रिस हुने उनले बताए । उनले भने, ‘तालिम दिने क्रममा पनि सुरुमा निकै रिसाउँछ । फकाएर, समय दिएर मात्र तालिम दिन सकिन्छ । आफूलाई दुःख दिने व्यक्तिलाई भने उसले सम्झेर आक्रमण गर्न सक्छ ।’

भरतपुर । १७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असार २७ गते खैरहनी नगरपालिकास्थित होटल नमस्ते मिलीजुली खाजा घरका सञ्चालक ३५ वर्षीय विकासकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रवक्ता चन्द्रभूषण यादवका अनुसार २०८३ साल असार ११ गते होटल सञ्चालक श्रेष्ठले आफ्नै होटलमा काम गर्ने १७ वर्षीया बालिकालाई कोठामा बोलाई शारीरिक सम्पर्क गरे ५० हजार रूपैयाँ दिने प्रलोभन देखाएका थिए ।

प्रहरीका अनुसार घटनापछि श्रेष्ठले प्रयोग गर्ने ह्वाट्सएप र इन्स्टाग्राममार्फत बालिकालाई अश्लील शब्द लेखी सन्देश तथा अश्लील भिडियोहरुसमेत पठाउने गरेका थिए । घटनाको सम्बन्धमा पीडितले असार २७ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।