
चितवन । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले स्टाफ नर्स पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो ।
अस्पतालका अनुसार आवेदन दिन इच्छुक उम्मेदवारले बिएससी नर्सिङ, बिएन वा पिसिएल नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, नेपाल नर्सिङ काउन्सिल (एनएनसी)मा दर्ता भएको अनिवार्य योग्यता तोकिएको छ।
सूचनामा एकदेखि दुई वर्षसम्मको कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको भए पनि नयाँ स्नातक तथा फ्रेसर उम्मेदवारलाई समेत आवेदन दिन प्रोत्साहन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा दक्ष तथा प्रतिबद्ध नर्सिङ जनशक्ति भित्र्याई बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले दरखास्त आह्वान गरिएको जनाएको छ ।
चयन हुने स्टाफ नर्सलाई मासिक ३४ हजार ७३० रुपैयाँ तलब उपलब्ध गराइने सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा तथा आवश्यक कागजातसहित अस्पतालले तोकेको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।
अस्पतालले योग्य, दक्ष र सेवाभावी नर्सिङ जनशक्तिलाई आफ्नो टोलीमा आबद्ध भई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान गर्न आग्रह गरेको छ ।
रत्ननगर । अविरल वर्षाका कारण आएको बाढीले रत्ननगरका १४५ घर डुबानमा परेका छन् । एउटा सुकुमबासी बस्तीसहित पाँचवटा वडाका १४५ घर डुबानमा परेका हुन् ।
रत्ननगर वडा नं–८ स्थित रमाइलो सुकुमबासी बस्तीका २० घर डुबानमा परेका छन् । त्यहाँका बासिन्दाहरुलाई सोमबार राति एक बजे सुरक्षित स्थानमा राखिएको थियो । रत्ननगर वडा नं–८ मा उक्त २० घरसहित ३५ घरधुरी, वडा नं–९ मा ७५ घरधुरी, वडा नं–१० मा २० घरधुरी, वडा नं–१५ मा १० घरधुरी र वडा नं–७ मा ५ घरधुरीमा बाढी पसेको उपमेयर यादवप्रसाद पाठकले बताए ।
बाढीबाट जोगिन खोज्दा रत्ननगर–९ का ६८ वर्षीय रमेश लामा घाइते भएका छन् । वडा नं–९ ले डुबान र क्षतिको विवरण सङ्कलन गरी नगरपालिकामा पठाएको छ । ‘नगरपालिकासँग सहकार्य गरी राहत वितरण गर्दैछौँ’, वडाध्यक्ष अनन्त अधिकारीले भने, ‘अन्नपात र लत्ताकपडा पनि बगाएको छ, त्यसको व्यवस्थापन छिट्टै गर्नेछौँ ।’
रमाइलो सुकुमबासी बस्तीका अगुवा रामशरण अधिकारीले बस्तीमा बाढी पस्न सुरू गरेपछि सोमबार राति नै सुरक्षित ठाउँमा आएको बताए । ‘राति गाउँकै घर–घरमा मिलेर बसियो’, उनले भने, ‘अन्न हुनेले भात पकाएर खाए, नहुनेले चाउचाउ र बिस्कुट खाएर बस्नुभएको छ । उपमेयर आएर नाम टिपेर लैजानुभएको छ, छिटै केही व्यवस्था हुन्छ कि भन्ने आशामा छौँ ।’
राप्ती र ढुङ्ग्रे खोला शान्त हुँदा योपटक भने पर्यटकीय नगरी सौराहा भने जोगिएको छ । राप्तीकिनारमा रहेका सौराहाका रेस्टुरेन्टहरु समेत सुरक्षित रहेका छन् ।
रत्ननगर । रत्ननगरमा चरिचरनका लागि जङ्गलनजिक राखिएका चितवनका ६ जना किसानको ६८० वटा मौरीसहितका घार बाढीले बगाएको छ । मौरीसहितका घार बगेपछि किसानहरुले ६५ लाख रूपैयाँ बढीको क्षति व्यहोर्न बाध्य भएका छन् ।
रत्ननगर वडा नं–११ स्थित मनिखोला पार्कबाट रत्ननगर वडा नं–१२ का किसान शंकर भट्टको २५०, रत्ननगर वडा नं–४ का रोशन विकको ७० घार र भरतपुर वडा नं–१४ का विकाश ढकालको ९५ घार गरी ४१० घार तथा रत्ननगर वडा नं–९, लालपर्साबाट रत्ननगर वडा नं–४ का दीपक थापाको ९० घार, वडा नं–३ का एकबहादुर गुरूङको ९० घार र खैरहनीका लोकनाथ पराजुलीको ९० घार गरी २७० मौरीसहितका घार बाढीले बगाएको छ ।
जङ्गली स्रोतको खोजीमा किसानहरुले मनिखोला पार्क र लालपर्सास्थित स्थानीय कृष्ण ओझाको गाई फार्मनजिक मौरीका घार राखेका थिए । बाढीका कारणले भट्टको मौरीपालन व्यवसायमा ठूलो धक्का परेको छ । एकैरातमा २५० मौरीको घारमा क्षति पुग्दा उनले २५ लाख घाटा व्यहोर्न बाध्य भएका छन् । ‘मेरो त सबै सकियो’, उनले भने, ‘अब उठ्न सक्ने अवस्था नै रहेन ।’ रत्ननगर नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिएपछि यहाँका किसानहरु उत्साहित भएका थिए । बाढीले मौरीसहितको घार बगाएपछि किसानहरु निराश भएका छन् ।
नेपाल मौरीपालक महासंघ रत्ननगरका अध्यक्ष इन्द्रप्रसाद रिमालले बाढीले मौरीपालन क्षेत्रमा ठूलो सङ्कट निम्त्याएको बताए । यस्तो नियति बिरलै किसानहरुले भोग्दै आएको भन्दै बाढीले किसानहरुलाई उठ्नै नसक्ने गरी घाइते बनाएको उनले बताए । सङ्कलन गरिएको मौरीको घारमा रहेका मौरीहरु समेत बाँच्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘एकैरातमा सबै सखाप भयो’, किसान थापाले भने, ‘बाढीले बगाएका केही घार सङ्कलन गरेका छौँ, त्यो केही पनि काम लाग्दैन । घार बाढीले बगाएपछि मौरीहरु सबै मरेका छन्, फिर्ता ल्याउन नसक्ने गरी क्षति भयो, अब केही पनि बाँकी छैन ।’ थापाले दुई हप्ताअघि १०० घार अन्यत्र लगेका थिए । ‘१०० घार धन्न लगेछु’, उनले भने, ‘नत्र त्यो पनि बग्ने रहेछ ।’
किसान पराजुलीले जङ्गली स्रोतको खोजीमा लालपर्सामा मौरीसहितको घार ल्याएर राखेको बताए । ‘लगानी पूरै डुब्यो’, उनले भने, ‘उत्पादन दिने बेला भएका मौरीका घार सबै बगे ।’ बिहान आउँदा खेतमा केही घार रहेको भन्दै सङ्कलन गरे पनि त्यो फेरि प्रयोगमा आउने अवस्था नरहेको उनले बताए ।
खगेरी खोलामा आएको बाढी पसेर ओझाको गाई फार्ममा समेत ठूलो क्षति गरेको छ । ओझाको फार्ममा ४ वटा गाई, चारवटा भैँसी, तीनवटा पाडा र तीनवटा बाच्छी थिए । वस्तुभाउ सुरक्षित रहे पनि गाईभैँसीका लागि राखिएको दाना, चोकरसहित घरमा रहेको अन्नपात र लत्ताकपडासमेत बाढीले बगाएको छ ।
भरतपुर । नारायणगढ–मुग्लिन सडकमा सकेसम्म रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको छ । डिभिजन सडक कार्यालय भरतपुरले जुनसुकै बेला सो सडकखण्डमा पहिरो खस्न सक्ने भएकाले राति यात्रा नगर्न सुझाव दिएको हो ।
स्थानीय प्रशासनले पनि जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको यात्रा सकेसम्म नगर्न सबैमा अनुरोध गरेको छ ।
गत सोमबार रातिदेखि लगातार नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा पहिरो खसेको थियो । सबै स्थानमा खसेको पहिरो हटाइएपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिए । सडकमा खसेको पहिरो पन्छाउन मंगलबार राति नै दुईवटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो । मंगलबार बिहानैदेखि अवरुद्ध सडक खुलाइएको थियो ।
इन्जिनियर अर्जुन घिमिरेका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुइन खोलालगायतमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । त्यसमध्ये सेतीदोभान पूर्ण रूपमा सडक दुईतर्फी तथा अन्य ठाउँमा एकतर्फी अवरुद्ध थियो ।
भरतपुर । चितवन जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत खर्च भएको छ । चितवन बिकासका लागि प्राप्त रु १० अर्ब २१ करोड ८५ लाखमध्ये रु पाँच अर्ब ९६ करोड ९३ लाख खर्च भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भिमार्जुन ज्ञवालीले पूँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताए । उनले भने, ‘बोलपत्रदाताले रकममा ठेक्का सकार्नु र निर्माणको काम ढिला हुनु मुख्य रहेको छ ।’
चालुतर्फ रु १४ अर्ब १८ करोड ४८ लाखमध्ये रु १३ अर्ब ५० करोड ३७ लाख खर्च भएको छ । स्थानीय तहमा जाने अनुदान रकम चालु बजेटतर्फ आउने भएकाले चालु खर्चको रकम धेरै देखिने गरेको हो ।
चितवन । जल तथा मौसम विज्ञान विभागले निरन्तर वर्षाका कारण चितवनसहित देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही तथा चितवन लगायतका जिल्लामा बग्ने साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
त्यसैगरी गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा पनि साना नदी तथा खोलाको बहाव बढ्ने र मध्यम जोखिम रहेको विभागले जनाएको छ ।
विभागले नदी किनार, तटीय क्षेत्र तथा होचा स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन, अनावश्यकरूपमा नदी तथा खोलामा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनाको पालना गर्न अनुरोध गरेको छ ।
रत्ननगर । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पुगेको छ ।
पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।
रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीन लामाका अनुसार रत्ननगर–११ अन्तर्गत पञ्चकन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र रत्ननगर–९ को लालपर्सामा राखिएका मौरीघार सोमबार परेको अविरल वर्षाको बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो । अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उनले बताए ।
रत्ननगर–१२ का मनिखोला क्षेत्रमा शङ्कर भट्टको २५० घार, रत्ननगर–४ का रोशन विकको ७० घार र भरतपुर–१४ का दिनेश ढकालको ९५ घार गरी ४१५ घार प्रभावित भएका छन् । यस क्षेत्रमा केही घार सुरक्षित अवस्थामा फेला पर्ने सम्भावना रहे पनि अधिकांश मौरीगोला नष्ट भएको कृषि शाखा प्रमुख लामाले बताए ।
त्यसैगरी लालपर्सा क्षेत्रमा खैरहनीका लोकप्रसाद पराजुलीका ९० घार, रत्ननगर–४ का दीपक थापाका ९० घार र रत्ननगर–३ का एकबहादुर गुरूङका ९० घार गरी २७० घार प्रभावित भएका छन् । तीमध्ये करिब २५० घार बाढीले पूर्णरूपमा बगाएको र केही घारमात्रै भेट्टाएर सुरक्षित स्थानमा सारिएको प्रमुख लामाले जानकारी दिए । पानीको बहाव उच्च भएकाले सबै घार रहेको स्थानमा पुगेर एकिन विवरण सङ्कलन गर्न अझै कठिनाइ भइरहेको उनको भनाइ छ ।
“बाढीपछि केही घार भेटिए पनि अधिकांशका मौरीगोला नष्ट भइसकेका छन् । लालपर्सामा प्रभावित २७० घारमध्ये करिब २५० घार बाढीले बगाएको छ । एउटा घारको औसत मूल्य करिब रु १० हजार पर्छ । अधिकांश घारमा मह निकाल्ने समय भएकाले प्रतिघार चारदेखि पाँच किलोग्रामसम्म मह उत्पादन हुने अवस्थामा थियो । घारसँगै मौरीगोला र उत्पादन हुन लागेको महसमेत नष्ट हुँदा किसानलाई प्रारम्भिक रूपमा कम्तीमा रु ६० लाखबराबरको क्षति भएको अनुमान गरेका छौँ’, प्रमुख लामाले भने ।
नगरपालिकाले प्रभावित क्षेत्रको थप स्थलगत अनुगमन गरी विस्तृत क्षतिको विवरण सङ्कलन गरिरहेको उनले जानकारी दिए ।





