२०८३ श्रावण ३ आईतवार
२०८३ श्रावण ३ आईतवार

चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनको रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमनसँगै दुई संस्थाबीचको १५ वर्षदेखिको जग्गा विवाद समाधानको प्रयास प्रारम्भ गरेका छन् ।

रामपुर कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो भने कृषि तथा वन विज्ञान विश्वविद्यालय छुट्टै विश्वविद्यालय हो । मन्त्री पोखरेलले दुवै संस्थाको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको अवलोकन गरी क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र सरोकार भएकासँग छलफल गरे ।

रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच लामो समयदेखिको जग्गा विवादका कारण दुवै संस्थाको शैक्षिक विकास, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजना प्रभावित भएको विषय उठाइएको थियो ।

शिक्षामन्त्री पोखरेलले सरकारले समन्वयात्मक र कानुनी प्रक्रियामार्फत गर्ने बताउँदै रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको शैक्षिक हित सुरक्षित हुने गरी समाधान खोजिने स्पष्ट पारे ।

यी शैक्षिक सस्थाहरु नेपालको कृषि शिक्षा, अनुसन्धान, प्रविधि विकास तथा दक्ष जनशक्ति उत्पादनका महत्त्वपूर्ण आधार भएकाले कुनै पनि संस्थालाई कमजोर बनाउने नभई दुवैलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले आवश्यक पहल गर्ने बताए ।

सरोकारवालाहरूले सरकारको सक्रिय पहलबाट १५ वर्षदेखि कायम विवाद अन्त्य भई दुवै संस्थाको शैक्षिक तथा अनुसन्धान गतिविधिले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् ।

अनुगमनमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य प्रभा ढकाल तथा शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकारद्वय शैलेन्द्र झा र सरोज गौतम सहभागी थिए ।

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले मनसुनी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै सडकमार्गबाट नारायणगढ–मुग्लिन हुँदै काठमाडौँसम्म आवतजावत गर्ने सबै सवारीसाधन र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी गरिएको सूचनामा जल तथा मौसम विज्ञान विभागले सम्भावित भारी वर्षा हुने क्षेत्रका लागि जारी गरेको ‘रेड अलर्ट’लाई ध्यानमा राख्दै यात्रा गर्नुअघि सडकको अवस्थाबारे यकिन जानकारी लिन अनुरोध गरिएको छ ।

सूचनाअनुसार काठमाडौँसम्मको सडकखण्डका विभिन्न स्थानहरुमा पटक–पटक पहिरो जाने गरेको अवस्थालाई ध्यानमा राख्दै सडकमा सञ्चालन हुने सार्वजनिक तथा निजी सबै प्रकारका सवारीसाधनका सवारीधनी, चालक, सहचालक र यात्रुले विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख छ ।

विगतका वर्षहरूमा रातिको समयमा बाढी र पहिरोका कारण गम्भीर क्षति भएको अवस्थालाई दृष्टिगत गर्दै सम्भावित भारी वर्षा हुने दिनमा विशेषगरी रातिको यात्रा गर्दा थप सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

साथै, सडकको कुनै खण्डमा अवरोध भए–नभएको यकिन जानकारी प्रहरी प्रशासनबाट लिएर मात्र यात्रा गर्न तथा सडक अवरुद्ध भएमा यात्रुलाई खाना, पानीको व्यवस्था मिलाउन र बाढी तथा पहिरोबाट सुरक्षित स्थानमा मात्र रोक्न अनुरोध गरिएको छ ।

सडक सञ्चालनमा आएको आधिकारिक जानकारी प्रहरी प्रशासनबाट प्राप्त भएपछि मात्रै यात्रा अघि बढाउन पनि प्रशासनले आग्रह गरेको छ । आपत्कालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बल नेपालका टोल–फ्रि नम्बर १००, १०३, १११४ र १२३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शनिबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

विभागका अनुसार सम्भावित वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनु पर्नेछ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुनसक्ने विभागले जनाएको छ ।

शनिबार राति पनि देशभर अधिकांश स्थानमा बदली रही पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

चितवन । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा शनिबार र आइतबार मुसलधारे वर्षा हुने जनाउँदै सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले पनि नारायणगढदेखि काठमाडौँसम्मको सडकमा विभिन्न स्थानमा पहिरो जाने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

भरतपुर । भरतपुर–१० स्थित सडकमा शनिबार दिउँसो २ः५५ बजेको समयमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते भएका छन् ।

लुम्बिनी प्रदेश ०१–००१ च ३४८९ नम्बरको बलेरोले ना ३६ प ९४४२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर–१२ बस्ने ४० वर्षीय रमेश पाण्डे घाइते भएका छन् ।

घाइतेको पुष्पाञ्जली अस्पताल, भरतपुरमा उपचार भइरहेको र बलेरो तथा चालक कपिलवस्तुको जयनगर–२ बस्ने २६ वर्षीय सागर सुनार नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको आज अनुगमन गरेका छन् । चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासिय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण–सिकाइको अवस्थाबारे उनले जानकारी लिएका हुन् ।

मन्त्री पोखरेलले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकसँगको छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे जानकारी लिउका थिए ।

उक्त छलफलमा शिक्षक, कर्मचारी र अभिभावकले विद्यालयको पूर्वाधार विकास, शैक्षिक स्रोत–साधनको व्यवस्थापन तथा स्थानीयस्तरमा देखिएका समस्याका बारेमा आफ्ना सुझाव राखेका थिए ।

अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताए । यस्ता विद्यालयले भोगिरहेका समस्या समाधान गर्न मन्त्रालय आवश्यक पहल गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

अनुगमनमा प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य प्रभा ढकाल तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झा र मन्त्रीका सल्लाहकार सरोज गौतमलगायत सहभागी थिए ।

कालिका । कालिका नगरपालिका वडा नं–७, सगुनटोलस्थित भित्रि सडकखण्डमा शुक्रबार राति ११ः०० बजे मोटरसाइकलको ठक्करबाट साइकलमा सवार दुई महिला घाइते भएका छन् ।

ना ३९ प ५४५० नम्बरको मोटरसाइकलको ठक्करबाट कालिका–१ बस्ने ५५ वर्षीया बिनाकुमारी श्रेष्ठ र रत्ननगर–११ बस्ने ६० वर्षीया रनु श्रेष्ठ घाइते भएका हुन् ।

दुवै घाइतेको एलाइभ हस्पिटल, भरतपुरमा उपचार भइरहेको र उपचारमा मोटरसाइकल चालक रत्ननगर–११ बस्ने ३० वर्षीय विकाश परियार संलग्न रहेको प्रहरीले जनाएको छ ।

रत्ननगर । रत्ननगर नगरपालिकाले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्र धूमपान तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रचारप्रसारमा कडाइ गर्ने जनाएको छ ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार रत्ननगरभित्र रहेका सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, कलेज, स्वास्थ्य संस्था, होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात, व्यापारिक प्रतिष्ठान तथा अन्य सार्वजनिक स्थानहरूमा ऐनले तोकेका प्रावधानहरू अनिवार्यरूपमा लागू गरिने भएको छ ।

सूचनामा सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णरूपमा निषेध गरिएको उल्लेख छ । साथै, १८ वर्षमुनिका बालबालिकालाई चुरोट, बिंडी, सुर्ती लगायतका कुनै पनि सुर्तीजन्य पदार्थ बिक्री वा वितरण गर्न नपाइने व्यवस्था गरिएको छ ।

त्यसैगरी विद्यालय, स्वास्थ्य संस्था तथा बालबालिका वा ज्येष्ठ नागरिक गृहसँग सम्बन्धित क्षेत्रको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री तथा वितरण गर्न प्रतिबन्ध लगाइएको छ। नगरपालिकाले यस्तो संवेदनशील क्षेत्रको वरपर सुर्तीजन्य पदार्थको पहुँच रोक्न विशेष निगरानी गरिने जनाएको छ ।

सूचनाअनुसार सुर्तीजन्य पदार्थको विज्ञापन, प्रचारप्रसार तथा प्रायोजन गर्न समेत निषेध गरिएको छ । प्रत्येक सार्वजनिक कार्यालय तथा संस्थाले आफ्नो परिसरमा ‘धूमपान निषेधित क्षेत्र’सम्बन्धी सूचना बोर्ड अनिवार्यरूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै फुटकररूपमा चुरोट, बिंडी तथा सिगरेटको खिल्ली बिक्री–वितरण गर्न पनि रोक लगाइएको छ । विद्यालयको पोसाकमा रहेका विद्यार्थीहरूलाई धूमपान तथा सुर्तीजन्य पदार्थ, ई–सिगरेट र भेप बिक्री तथा वितरण नगर्न, नगराउन सम्बन्धित व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

नगरपालिकाले सूचनामा उल्लेखित प्रावधानहरूको उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ । जनस्वास्थ्य संरक्षण, युवा पुस्तामा बढ्दो सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण तथा स्वस्थ समाज निर्माणका लागि उक्त व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ ।

रत्ननगर । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल १६ करोड ६७ लाख ३ हजार ८३६ रुपैयाँ ९३ पैसा राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा बढी हो ।

नगरपालिकाले करिब १५ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । नगरपालिकाको १६ वटा वडाहरूमध्ये वडा नम्बर १ ले सबैभन्दा बढी राजस्व संकलन गरेर शीर्ष स्थानमा रहेको छ । वडा नं. १ बाट मात्र १ करोड २९ लाख १० हजार ९७० रुपैयाँ ८४ पैसा राजस्व उठेको छ ।

वडागत रूपमा हेर्दा वडा नं. २ ले १ करोड १४ लाख ८३ हजार ११४ रुपैयाँ ६६ पैसा, वडा नं. ३ ले ४९ लाख ६० हजार ६०५ रुपैयाँ ८२ पैसा, वडा नं. ४ ले ४३ लाख ४ हजार ३५२ रुपैयाँ, वडा नं. ५ ले ३० लाख ७९ हजार ८८६ रुपैयाँ, वडा नं. ६ ले ९८ लाख ९६ हजार ५२१ रुपैयाँ ८ पैसा, वडा नं. ७ ले ५० लाख ७६ हजार ११४ रुपैयाँ २६ पैसा राजश्व संकलन गरेको छ ।

यस्तै,वडा नं. ८ ले ३९ लाख ६४ हजार ९८५ रुपैयाँ, वडा नं. ९ ले ५५ लाख १८ हजार ३०४ रुपैयाँ ७० पैसा, वडा नं. १० ले ९३ लाख ५७५ रुपैयाँ २५ पैसा, वडा नं. ११ ले ३२ लाख २५ हजार २१० रुपैयाँ, वडा नं. १२ ले ६३ लाख ८४ हजार ७६८ रुपैयाँ, वडा नं. १३ ले ७० लाख ६२ हजार १८२ रुपैयाँ, वडा नं. १४ ले ७४ लाख ८४ हजार ७३४ रुपैयाँ, वडा नं. १५ ले ४३ लाख ७३ हजार २५२ रुपैयाँ ७८ पैसा र वडा नं. १६ ले ५० लाख ८० हजार ९७७ रुपैयाँ ६१ पैसा राजस्व संकलन गरेका छन् ।

सबैभन्दा कम राजस्व संकलन गर्ने वडा नं. ५ भएको छ भने वडा नं. १ ले सबैभन्दा धेरै राजश्व संकलन गरेको छ । नगरपालिका कार्यालयबाट भने ६ करोड २५ लाख १९ हजार २८३ रुपैयाँ ७५ पैसा राजस्व संकलन भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।