
भरतपुर । अनलाइन सट्टेबाजी र अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले कालिका नगरपालिका–६, खोलेसिमल बस्ने ४४ वर्षीय नारायण श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार श्रेष्ठले अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबार गरिरहेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा उनीसँग रहेको रेडमी कम्पनीको मोबाइल फोन जाँच गर्दा बेटिङका लागि पैसा लोड–अनलोड गर्न प्रयोग हुने मोबक्यास नामक मोबाइल एप्लिकेसन भेटिएको प्रहरीले जनाएको छ ।
उक्त खातामा इपिओएस लिमिट दुई लाख ७१ हजार ६२९ रुपैयाँ ६९ पैसा, ब्यालेन्स १३ लाख ६२ हजार २० रुपैयाँ ४० पैसा रहेको र पछिल्लो तीन महिनामा ३८ लाख १५ हजार ८५० बराबरको कारोबार भएको देखिएको प्रहरीको दाबी छ ।
त्यस्तै, श्रेष्ठसँगै फेला परेको एप्पल कम्पनीको अर्को मोबाइल जाँच गर्दा त्यसमा रहेको बाइनान्स एप्लिकेसनमार्फत ३३ हजार १५०.३३ अमेरिकी डलर बराबरको कारोबार देखिएको प्रहरीले जनाएको छ । यसको हालको नेपाली रुपैयाँमा मूल्य करिब ५० लाख १८ हजार ९६९ रुपैयाँ ७४ पैसा बराबर रहेको उल्लेख गरिएको छ ।
पक्राउ परेका श्रेष्ठमाथि अभौतिक मुद्रा सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिए ।
रत्ननगर । ६४औँ इन्जिनियर्स दिवसको अवसरमा पूर्वी चितवनका इन्जिनियर समूहको आयोजनामा रत्ननगर–१३, अमेलियास्थित राष्ट्रिय आधारभूत विद्यालयको अटिजम कक्षाका लागि शैक्षिक सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।
सो सामग्री कार्यक्रम संयोजक ई. रुपेश भट्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरि पुरीलाई २० थान कुर्ची, ५ थान टेबल र वाल पेन्टका सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुखअतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले म्यासेजमार्फत पठाएको शुभकामना सन्देश कार्यक्रम सञ्चालक ई. रोशन काप्रीले वाचन गरेका थिए । नगरप्रमुख सापकोटाले पूर्वनिर्धारित कार्यक्रममा अत्यावश्यक कार्यका कारण उपस्थित हुन नसकेकोमा म क्षमाप्रार्थी रहेको जनाएका थिए ।
उनले ६४औँ इन्जिनियर्स दिवसको अवसरमा विशेष आवश्यकता भएका बालबालिकाको शिक्षाका लागि गरिएको यो सहयोग अत्यन्त प्रशंसनीय र अनुकरणीय कार्य भएको जनाउँदै यस मानवीय अभियानका लागि पूर्वी चितवन इन्जिनियर्स ग्रुप तथा सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
रत्ननगर नगरपालिकाले पनि यस विद्यालयको अटिजम स्रोत कक्षालाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाउन करिब २५ लाख रुपैयाँबराबरको लागतमा एसी हलसहितको कक्षाकोठा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको र आगामी दिनमा पनि शिक्षा र विशेष आवश्यकता भएका बालबालिकाको हितका लागि नगरपालिका सधैँ साथमा रहने उनको भनाइ थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीले धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगले विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने बताए ।
कार्यक्रम संयोजक रुपेश भट्टले इन्जिनियरको दायित्व केवल भौतिक संरचना निर्माणमा मात्र सीमित नभई समाज र भावी पुस्ताको भविष्य निर्माणमा पनि उत्तिकै महत्त्व रहेको बताउँदै सामाजिक रुपान्तरणको अभियानमा सामाजिक कार्यमा जोडिन पाउँदा खुसी लागेको बताए ।
चितवन । सर्वोच्च अदालतले नेपालमा हात्ती संरक्षण तथा अवैध व्यापार नियन्त्रण गर्न सरकारका नाममा ऐतिहासिक निर्देशनात्मक आदेश जारी गरेको छ । जनहित संरक्षण मञ्च (प्रो पब्लिक)का तर्फबाट अधिवक्ता सञ्जय अधिकारीसहित प्रकृति तथा वन्यजन्तु संरक्षण अभियन्ता सृष्टिसिंह भण्डारी, बाबुराम प्रसाद यादवलगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले हात्ती संरक्षणका लागि दूरगामी महत्त्वको आदेश जारी गरेको हो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले गत पुसमा गरेको फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएको छ । फैसलामा हात्ती मानवीय मनोरञ्जन वा आर्थिक आर्जनको साधन मात्र नभई उच्च बौद्धिक चेतना भएको एक संवेदनशील जीवित प्राणी भएको ठहर गर्दै उसको प्राकृतिक जीवनशैली र सम्मानजनक अस्तित्वको रक्षा गर्नु सरकार तथा नागरिकको कर्तव्य भएको उल्लेख गरिएको छ ।
आदेशमा ६ बुँदे निर्देशनात्मक आदेश दिइएको छ । जसमा निजी स्वामित्वमा रहेका हात्तीको अनिवार्य दर्ता र अभिलेखीकरण गर्न, अन्तरदेशीय तस्करी नियन्त्रणका लागि सीमाक्षेत्रमा निगरानी बढाउन भनिएको छ । त्यस्तै, हात्तीमाथि हुने क्रूर व्यवहार अन्त्य गर्न, वैज्ञानिक र पशुकल्याणमैत्री व्यवस्थापन प्रणाली लागू गर्न तीनै तहको सरकारलाई भनिएको छ ।
सर्वोच्चले घरपालुवा तथा निजी स्वामित्वमा रहेका सबै हात्तीको अनिवार्य दर्ता तथा अभिलेखीकरण गर्न भनेको छ । दर्ता नभएका हात्तीको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न, स्वामित्व हस्तान्तरण, खरिद–बिक्री र स्थानान्तरणलाई कानुनी अनुमति तथा अभिलेख गर्न सर्वोच्चले आदेश दिएको छ ।
आदेशमा भनिएको छ, ‘घरपालुवा तथा निजी स्वामित्वमा रहेका हात्तीहरुको अनिवार्य दर्ता तथा अभिलेखीकरण गर्नु, दर्ता नभएका हात्तीको पहिचान गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्नु तथा हात्तीको स्वामित्व हस्तान्तरण, खरिद विक्री तथा स्थानान्तरणलाई कानूनी अनुमति र अभिलेख प्रणालीसँग आवद्ध गर्नु ।’
हात्तीको अन्तरदेशीय तस्करी र अवैध व्यापार नियन्त्रणका लागि सुरक्षा निकाय, वन प्रशासन र संरक्षण निकायबीच प्रभावकारी समन्वय गर्न अदालतले भनेको छ ।
नेपाल–भारत सीमाक्षेत्रमा विशेष निगरानीको व्यवस्था गर्न तथा हात्तीको अवैध बिक्री, ओसारपसार र तस्करीमा संलग्न व्यक्ति वा संस्थामाथि अनुसन्धान र अभियोजन गर्न पनि सरकारलाई निर्देशन दिइएको छ । ‘नेपाल–भारत सीमाक्षेत्रमा विशेष निगरानीको व्यवस्था गर्नु तथा हात्तीको अवैध बिक्री, ओसारपसार तथा तस्करीमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम अनुसन्धान र अभियोजन गर्नू’, सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ।
हात्तीमाथि हुने यातना, हिंसा र अमानवीय व्यवहार रोक्न अदालतले वैज्ञानिक तथा पशुकल्याणमैत्री व्यवस्थापन अपनाउनुपर्नेमा जोड दिएको छ । आदेशमा भनिएको छ, ‘हात्तीमाथि हुने यातना, हिंसा तथा अमानवीय व्यवहार रोक्नु, हात्ती व्यवस्थापनमा वैज्ञानिक तथा पशुकल्याणमैत्री विधि अपनाउनु, हात्ती पर्यटनलाई पशुकल्याणमैत्री बनाउनु तथा बिरामी तथा वृद्ध हात्तीको उचित उपचार र संरक्षण सुनिश्चित गर्न हात्ती अवकाश तथा पुनस्र्थापना केन्द्र स्थापना गर्नू ।’
सर्वोच्चले निजी स्वामित्वका हात्तीलाई क्रमशः ‘चेन फ्री’ प्रणालीमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ । मानव–हात्ती तथा जङ्गली र घरपालुवा हात्तीबीच हुन सक्ने द्वन्द्वलाई ध्यानमा राख्दै खुला र प्राकृतिक वातावरणमा पालनपोषण गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार वैज्ञानिक मापदण्ड विकास गर्न तथा पर्यटकलाई सुरक्षित दूरीबाट मात्र हात्ती अवलोकन गराउने ‘अब्जर्भेसन–ओन्ली’ नीतिमा आधारित नैतिक हात्ती आश्रयस्थल विकास गर्न आदेश दिइएको छ। त्यसैगरी तालिमका नाममा वा अन्य कुनै बहानामा हात्तीलाई बाँधेर राख्ने काम रोक्न, संरक्षण केन्द्र र व्यवस्थापन प्रणालीलाई वैज्ञानिक बनाउने निर्देशन दिएको छ।
जङ्गली हात्तीको दीर्घकालीन संरक्षणका लागि प्राकृतिक बासस्थान, परम्परागत तथा अन्तरदेशीय जैविक मार्ग (वाइल्डलाइफ करिडोर)को संरक्षण, पुनस्र्थापना र प्रभावकारी व्यवस्थापन गर्न अदालतले सरकारलाई निर्देशन दिएको छ ।
चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनीहरू घाइते भएका हुन् ।
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेनजिकै नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार बिहान करिब ७ः१० बजे काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका कारण केही समय सडकमा रोकिएका सवारीसाधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार बेलुकी १०ः०० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।
चितवन । जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार अनुमान गरिएको जस्तो बाढीको खतरा नरहेको जनाएको छ । यद्यपि, आज र भोलि देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
विभागले शनिबार विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने र त्यसका कारण बाढीपहिरो तथा डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेको थियो । सोही आधारमा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी गरिएको थियो ।
विभागका बाढीविद् सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरिएको स्तरको बाढीको जोखिम नदेखिएको बताउनुभयो । “अति भारी वर्षाको सम्भावना भनिए पनि भारी वर्षा एक–दुई स्थानमा मात्रै भयो । वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले हामीले प्रक्षेपण गरेअनुसार ठूलो बाढी जोखिम आएन”, उनले भने, “ तर आज र भोलि केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम छ ।”
उहाँका अनुसार आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ ।
यद्यपि झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने स–साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्वतयारीका गतिविधिलाई सशक्त बनाएको छ ।
प्राधिकरणका अनुसार अन्य जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ ।
चितवन । वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए । दुर्घटनापछि केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मुग्लिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताए। उनका अनुसार ओभरटेक नै सडक दुर्घटना र सवारीजामको प्रमुख कारण बन्दै गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना गरे दुर्घटना र सवारीजाम दुवै उल्लेख्य रूपमा घटाउन सकिने बताए । उनले ट्राफिक नियमको पालनाबाट चालक र यात्रु दुवैले प्रत्यक्ष लाभ पाउने उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा सवारी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताउँदै सडक खुलेपछि आआफ्नो लेनमै सवारी चलाउन र ओभरटेक नगर्न चालकलाई आग्रह गरे । उनले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समान सहयोग आवश्यक रहेको बताए ।
उनले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै सबैलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे ।
चितवन । भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनःनियमित रूपमा सुरु गरिएको छ । सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आइएको थियो ।
अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार नौ वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्स–रे ट्युब बिग्रिएपछि असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो । उक्त उपकरण खरिद सम्झौताअनुसार सम्बन्धित कम्पनीले नेदरल्याण्डबाट नयाँ एक्स–रे ट्युब ल्याएर जडान गरेपछि सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको उनले जानकारी दिए ।
सेवा अवरुद्ध रहेकै अवधिमा बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले गत असार १० गतेदेखि निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग समन्वय गरी सिटी स्क्यान सेवालाई निरन्तरता दिँदै आएको थियो । अस्पतालका अनुसार दैनिक करिब ५० जना बिरामीले सिटी स्क्यान सेवा लिने गरेका छन् ।
यसैबीच, अस्पतालले दूरबिन (ल्यापारोस्कोपिक) तथा चिरफार (ओपन) विधिबाट गरिने पित्तथैली निकाल्ने शल्यक्रिया (कोलेसिस्टेक्टोमी) को पालो व्यवस्थापनमा पनि परिवर्तन गरेको छ । अस्पतालका प्रवक्ता एवं सहप्राध्यापक डा रामप्रसाद सापकोटाका अनुसार तोकिएको समयभन्दा अगावै शल्यक्रिया सम्पन्न गराउने उद्देश्यले शल्यक्रियाको तालिका हेरफेर गरिएको हो ।
विसं २०८३ को माघ महिनाभन्दा पछाडिको मितिमा शल्यक्रियाको पालो पाएका सेवाग्राही तथा बिरामीलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको उनले बताए । उनले अस्पतालसँग सम्पर्क गरी नयाँ शल्यक्रियाको मिति सुनिश्चित गर्न सम्बन्धित बिरामीलाई आग्रह गरेका थिए ।
चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ ।
गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए ।
सार्क मुलुकका २२ हजार ८८३ तथा अन्य मुलुकका ८८ हजार ६६५ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् । एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन् ।
गत आर्थिक वर्षमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व सङ्कलन गरेको जनाएको छ । काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत शीर्षकमा रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व सङ्कलन भएको छ ।





