
चितवन । विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना व्यक्ति पक्राउ गरेको छ ।
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो ।
नवलपरासीको (वर्दघाट–सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगरलाई मंगलबार सार्वजनिक गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले दुवैलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानघाटबाट पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुको साथबाट कार्तोस भनिने बन्दुक एक थान र सोमा लाग्ने गोलीगठ्ठा बरामद गरिएको छ । पक्राउ परेका चौधरीको घर खानतलासी गर्दा बाघको दाँतजस्तो देखिने आखेटोपहार सात थान, माउजर भनिने बन्दुक एक थान, गोलीगठ्ठा र भारतीय ५०० का नोट १३६ थान बरामद गरिएको थापामगरले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा मार्ने उद्योग र संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री मुद्दामा अनुसन्धान सुरु गरिएको निकुञ्जले जानकारी दिएको छ ।
दुवै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) र दफा २६ (१) बमोजिम सजायको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट एक्कासि गायब भएको माडीगजलाई एक महिनापछि नियन्त्रणमा लिइएको छ । माडीगज भाले हात्तीको नाम हो । उक्त हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले गिदेनी पोष्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेर हात्ती तर्सिएर भागेको थियो ।
प्राविधिक टोलीले सोमबार लामिचौर नजिकै डार्ट गरेर शरीरमा झुम्म पर्ने औषधि सुईबाट शरीरमा पठाएर नियन्त्रणमा लिइएको हो । तेह्र वर्षको उक्त हात्तीलाई हाल लामिचौर पोष्टमा राखिएको छ । माउतेले थप स्याहार गरेर पूर्ववत् अवस्थामा फर्काएपछि हात्तीलाई गिदेनी पोष्ट लगिने छ ।
गैँडा, बाघजस्ता जनावरवाट तर्सने र मात लागेर हात्ती भाग्ने गर्दछन् । त्यसरी भागेका हात्तीलाई राम्रो हेरचाह गरेर केही दिनमा पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ । निकुञ्जमा ५३ वटा ठूला र तीन वटा बच्चा हात्ती रहेका छन् । ती हात्तीले निकुञ्ज सुरक्षामा सघाउने गर्दछन् ।
भरतपुर । चितवनमा गत आर्थिक वर्ष २०८२/०८३ को एक वर्षको अवधिमा सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ । सो अवधिमा जिल्लाका विभिन्न स्थानमा ५४५ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनमा अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको संख्या भने घटेको पाइएको छ । ती दुर्घटनामा परी ९९९ जना घाइते भएका छन् । यस अवधिमा पूर्व–पश्चिम राजमार्गमा १३७ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो भने २१४ जना घाइते भएका थिए ।
यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ४८ दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १८० जना घाइते भएका थिए । पृथ्वी राजमार्गअन्तर्गत २२ सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो । ६२ जना घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार सहरी सडकखण्डमा ५५ दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा ७३ घाइते भएका थिए । अन्य भित्री सडकमा २८३ दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो भने ४७० घाइते भएका थिए । गत आवमा ९७ जना गम्भीर घाइते र ९०२ जना सामान्य घाइते भएको उनले बताए ।
आव २०८१/०८२ मा जिल्लाका विभिन्न सडकमा भएको सवारी दुर्घटनामा १२० जनाको ज्यान गएको थियो । सवारी दुर्घटना पनि कमी आएको छ । सो आवमा एक हजार ५० वटा दुर्घटनामा परी एक हजार ८७७ जना घाइते भएका थिए । यसमध्ये १७२ जना गम्भीर घाइते भएका थिए ।
गत आर्थिक वर्षमा तीव्र गतिका कारण धेरै दुर्घटना भएको पाइएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३८ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको छ भने २२ प्रतिशत दुर्घटना चालकको लापर्बाहीका कारण भएको देखिन्छ । यस्तै, १७ प्रतिशत (रोड युजर) सडकका कारणले भएको उनले बताए ।
जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चितवनमा भएका दुर्घटनामा धेरैजसो दुईपाङ्ग्रे सवारीसाधन परेका छन् । दुईपाङ्ग्रे सवारीसाधनबाट दुर्घटना हुँदा ५२ जनाको मृत्यु भएको छ । १८ जना पैदलयात्रीको सवारी साधनको ठक्करबाट मृत्यु भएको छ । यस्तै, जिप तथा कारको ठक्करबाट आठ जना, टेम्पो दुर्घटनाबाट आठ जना, शारीरिक शक्तिबाट चल्ने सात वटा, बस दुर्घटनामा पाँच जना, ट्रक, ट्याङ्कर दुर्घटनाबाट तीन माइक्रो दुर्घटनाबाट एक र पहिचान नखुलेका सवारीसाधनबाट तीन जनाको मृत्यु भएको उल्लेख छ ।
कार्यालयको तथ्याङ्कअनुसार गत आवमा तीव्र गतिका कारण २०९ दुर्घटना भएको छ । चालकको लापर्बाहीले १२१ दुर्घटना भएका छन् । यस्तै, यात्रुका कारण ९७, मादक पदार्थ सेवन गरेर ३५, ‘ओभरटेक’ गर्ने क्रममा २८, सडकका कारण ३५, यान्त्रिक समस्याका कारण आठ, मौसमका कारण छ, पशुचौपायका कारण तीन र अन्न्य कारणले तीन सवारी दुर्घटना भएको छ ।
प्रमुख थापाका अनुसार जिल्लामा भएका दुर्घटना साँझ र रातको समयमा बढी भएको छ । गत आवमा साँझ ६ः०० बजेदेखि राति १२ः०० बजेसम्मको समयमा २१४ वटा दुर्घटना भएको छ । यस्तै, दिउँसो १२ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म १५६, बिहान ६ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म १२४ र राति १२ः०० बजेपछि ६ः०० बजेसम्म ५१ वटा दुर्घटना भएका छन् ।
कार्यालयले एक वर्षमा १० हजार ८० सवारी चालकलाई कारबाही गरेको जनाएको छ । यसमध्ये एक हजार ३७९ जना मापसे गरेका र एक सय जना लापसे सेवन गरेका हुन् । अन्य ट्रफिक नियम पालना नगर्नेहरु रहेका छन् । उनीहरुबाट एक करोड ७५ लाख ७७ हजार ५०३ रुपैयाँ राजस्व संकलन गरिएको जनाइएको छ ।
भरतपुर । मङ्गलबार बिहान ७ः०० बजेको समयमा एक पुरुष नारायणी पुलबाट हाम्फालेका छन् । गैंडाकोट नगरपालिका–१ निवासी अन्दाजी ४० वर्षीय सन्तोष रानाभाटले पुलबाट हाम्फालेको प्रारम्भिक जानकारी प्राप्त भएको गैंडाकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रानाभाटले प्रयोग गरेको लेडिज साइकल पुलमै छाडिएको अवस्थामा फेला परेको छ । घटनापछि तत्काल वडा प्रहरी कार्यालयको विपत् व्यवस्थापन टोली तथा सशस्त्र प्रहरी उद्धार टोली परिचालन गरी नारायणी नदीमा खोजी कार्य सुरू गरिएको छ ।
घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार नदीमा बेपत्ता भएका रानाभाटको खोजी कार्य जारी रहेको छ ।
नारायणी पुलबाट नदीमा हाम्फालेर आत्महत्या वा आत्महत्याको प्रयास गर्ने घटनाहरू पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । पुलमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउन तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
प्रहरीले घटनासम्बन्धी कुनै थप जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
चितवन । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार सो अवधिमा भरतपुर आँखा अस्पतालबाट एक लाख ७९ हजार २६, भरतपुर उकालोको सिटी क्लिनिकबाट १९ हजार ५३८ तथा अन्य सबै खालका शिविरबाट ४२ हजार २७० जनाले आँखा परीक्षणसहित विभिन्न सेवा लिएका हुन् ।
यस्तै, विद्यालयमा सञ्चालित शिविरबाट ४६ हजार ८५ जना विद्यार्थी लाभान्वित भए । यस्तै दुईवटा सेकेन्डरी आँखा अस्पतालमा २७ हजार ३५७ जना, दुईवटा सर्जिकल आई केयर सेन्टरमा नौ हजार ४६४ र १९ वटा आँखा उपचार केन्द्रबाट ५७ हजार २८६ जनाले सेवा लिएका छन् । त्यो अघिल्लो आवको तुलनामा १६ प्रतिशत बढी हो ।
अघिल्लो आवको तुलनामा विद्यालयको शिविरमा ६० प्रतिशतभन्दा बढीको आँखा परीक्षण गरिएको छ । घिमिरेका अनुसार अघिल्लो आवमा २८ हजार ७६४ जना विद्यार्थीको मात्र आँखा परीक्षण गरिएको थियो । सेकेन्डेरी आँखा अस्पतालबाहेक सबैमा अघिल्लो वर्षको तुलनामा धेरै बिरामीलाई सेवा दिइएको छ ।
गत आवमा ११ हजार ६३९ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आवमा ११ हजार ३२३ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।
नेपाल नेत्रज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठ आँखा उपचारमा भरतपुर आँखा अस्पतालले दिएको विशिष्टिकृत सेवाका कारण बिरामीको आकर्षण बढेको बताउँछन् । गुणस्तरीय सेवा दिनेमा अस्पताल टिम लागि परेको उनको भनाइ छ ।
भरतपुर आँखा अस्पताल मातहत कावासोती र पर्साको ठोरीमा सेकेन्डेरी अस्पताल, चोरमाराको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर सञ्चालनमा छ । भरतपुरको ओरालोमा सिटी क्लिनिक छ भने १९ वटा आँखा उपचार केन्द्र विभिन्न जिल्लामा सञ्चालित छन् । संघले सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा उपचार केन्द्र सुरू गर्ने तयारी गरेको छ ।
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको क्षतिबापत रु एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा सामान्य क्षति भएको उपचारका लागि रु एक लाख ३४ हजार १७६, गम्भीर घाइतको उपचारका लागि रु २९ लाख ४२ हजार ४८१, पाँच जना मानिसको मृत्यु भएको र उनीहरुलाई रु ५० लाख राहत प्रदान गरिएको छ ।
यस्तै वन्यजन्तुबाट पशुधनमा भएको क्षतिबापत रु २३ लाख ६० हजार २००, भण्डारण गरेको अन्न क्षतिबापत रु ७० हजार, घरगोठ क्षतिबापत रु तीन लाख ३९ हजार ६५०, अन्न बाली क्षतिबापत रु २१ लाख आठ हजार ३००, कुखुरा क्षतितर्फ रु ४३ हजार ५०० राहत वितरण गरिएको उनले जानकारी दिए ।
निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुले पुर्याएको क्षतिबापत हरेक वर्ष राहत प्रदान गर्दै आएको छ ।
चितवन । बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरुले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन् । भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामीमध्ये ३० प्रतिशत हाराहारी त्यस्ता बिरामी आउन थालेको भन्दै सजग रहन आग्रह गरिएको हो ।
अस्पतालका निर्देशक डा. पुष्पा गिरी श्रेष्ठले नेपाल नेत्रज्योति संघ भरतपुरबाट सञ्चालित भरतपुर आँखा अस्पतालसहित मातहतका सेकेन्डेरी अस्पताल, सर्जिकल सेन्टर र उपचार केन्द्रमा आउने बिरामीमा समस्या देखिएको बताइन् ।
दैनिक एक हजार ५०० हाराहारी बिरामी बहिरंग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरुमा आउने गर्दछन् । मुख्य रुपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन् । यस्तै, हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ । हिलो छिरेको आँखालाई मिचेपछि नानीमा सङ्क्रमण भएर बिरामीहरु आउने गरेको उनले बताइन् ।
असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन् । डा श्रेष्ठले भनिन्, ‘आँखामा हिलो परेपछि आफैँ औषधि किनेर प्रयोग गर्दा थप समस्या हुने गरेको छ ।’ आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उनले सुझाव दिइन् । आफू खुसी औषधि प्रयोग गरेका कारण पाँच प्रतिशत हाराहारी बिरामीमा घाउ बढेर अल्सरसमेत हुने गरेको उनले बताइन् ।
नेपाल नेत्रज्योति संघ चितवनको मुख्य अस्पताल भरतपुरमा रहेको छ । कावासोती र पर्साको ठोरीमा सेकेन्डेरी अस्पताल, चोरमाराको मध्यबिन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर छ भने भरतपुरको ओरालोमा सिटी क्लिनिक छ । तीबाहेक १९ वटा आँखा उपचार केन्द्र विभिन्न जिल्लामा छन् । सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा उपचार केन्द्र सुरू गर्ने तयारीमा छ । उनले संघ मातहतका वा अन्य आँखा उपचार गर्ने केन्द्र वा अस्पतालमा आँखा देखाएर मात्र औषधि प्रयोग गर्न सुझाव दिएकी छन् ।
चितवन । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको आतंक मथ्थर भएको छ । ध्रुर्वे जंगली हात्ती हो । दाह्रा काटिएसँगै यो चितवन राष्ट्रिय निकुञ्जभित्रै थन्किएको छ ।
ध्रुवे हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति ध्रुर्वेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो । ध्रुर्वेको गलामा आधुनिक रेडियो कलर जडानसमेत गरिएको छ । जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना संकलन भइरहेको निकुञ्जले जनाएको छ ।
ध्रुवे हात्ती बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पुनः यो किसिमको घटना हुन नदिन उच्च सतर्कता अपनाइएको हो ।
हात्तीले विसं २०७४ मा नेपाली सेनाका एक सेनानी (मेजर) लाई आक्रमण गरेर मारेको थियो । निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुवेले विसं २०६८/६९ ताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि २०६९ सालको पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ ।
ध्रुवे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो । विसं २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म १५ जनालाई मारेको थियो ।
निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवेलगायतका जङ्गली भाले हात्ती छन् । निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन हुने गर्दछन् । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन् ।
चितवन । चितवन घर भएकी १३ वर्षीया एक बालिका (नाम गोप्य)लाई जबर्जस्ती करणी गरी फरार युवक र फरार प्रतिवादीलाई घटनास्थलसम्म ल्याएर वरदातपश्चात् भगाउने र लुकाउने कार्यमा संलग्न अर्का युवक गरी दुई प्रतिवादी पक्राउ परेका छन् ।
सामाजिक सञ्जाल टिकटकमार्फत चिनजान भएको पुरूष व्यक्तिले यही साउन २ गते राति १०ः०० बजेको समयमा चितवनकी १३ वर्षीया बालिकालाई घरबाट बोलाई मोटरसाइकलमा राखेर माडीको मरथा खोलानजिक लगी जबर्जस्ती करणी गरी फरार भएका थिए ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा भारतको बेतिया घर भई माडी–३ बस्ने १९ वर्षीय सर्फराज मियाँ र वारदातपश्चात् मुख्य प्रतिवादीलाई भगाई लुकाउने कार्यमा संलग्न माडी–३ बस्ने २३ वर्षीय आजाद आलम पक्राउ परेका हुन् ।
बालिका करणीपश्चात् प्रतिवादी फरार रहेको जानकारी हुनासाथ खटिएको प्रहरी टोलीले साउन ३ गते दुवै प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीले वारदातको समयमा प्रयोग भएको मे १ प ७१०४ नम्बरको मोटरसाइकलसमेत बरामद गरी पक्राउ परेका प्रतिवादीहरुलाई सोमबार करणीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिए ।
चितवन । आर्थिक वर्ष २०८२/०८३ को एक वर्षमा हात्ती, गैँडा, बाघलगायतका जंगली जनावरको आक्रमणमा परी पाँच जनाले ज्यान गुमाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो । सोही अवधिमा दुई जनाको हात्ती र एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए । मृतकमध्ये तीन जना भरतपुर महानगरपालिका, एक जना खैरहनी र एक जना माडी नगरपालिकाका रहेको निकुञ्जले जनाएको छ ।
अघिल्लो आव २०८१/०८२ मा १३ जना र आर्थिक वर्ष २०८०÷८१ मा ११ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको थियो । निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (वर्दघाट–सुस्तापूर्व), पर्सा र मकवानपुर जिल्ला पर्दछ । मध्यवर्तीको ठूलो भूभाग चितवनमा पर्ने भएकाले बढी जोखिम यहाँकै बासिन्दा पर्ने गरेको तथ्यांकले देखाएको छ ।
वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत उपलब्ध गराउँदै आएको छ ।





